सामग्रीमा जानुहोस्

मैतीदेवी

निर्देशाङ्कहरू: २७°४२′२१″N ८५°२०′०३″E / 27.70595°N 85.33408°E / 27.70595; 85.33408
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री मैतीदेवी मन्दिर
मैतीदेवी
मैतीदेवी मा पर्दछ काठमाडौँ
मैतीदेवी
मैतीदेवी मन्दिरको स्थान काठमाडौँमा
प्राथमिक विवरण
स्थान:मैतीदेवी, काठमाडौँ
निर्देशाङ्क२७°४२′२१″N ८५°२०′०३″E / 27.70595°N 85.33408°E / 27.70595; 85.33408
सम्बन्धनहिन्दुत्व
देवतापंचकुमारी (पाँच देवी)
जिल्लाकाठमाडौँ
राज्यबागमती प्रदेश
देशनेपाल
वास्तुकला प्रकारनेपालका मन्दिर शैली
काठमाडौँको मैतीदेवी मन्दिर

मैतीदेवी काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो। करिब ४०० वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौँ उपत्यकाको मध्य भागमा अवस्थित छ। चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ।

जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए। बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई 'माइती देवी' हुँदै मैतीदेवी भन्ने गरिएको हो।

अर्को किंवदन्ती अनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे। त्यसलाई सार्न उनले हजार प्रयत्न गरे तर सकेनन्। उनी थाकेर त्यही भसक्कै निदाए। त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए। त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए। पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन्। त्यसैले कतिपयले यसलाई मयूरतीर्थ पनि भन्ने गरेका छन्।

यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी, त कतै मयती देवी आदि पनि भन्ने गरिएको पाइन्छ।

यहाँ सबैभन्दा पहिले राजा गुणकामदेव (ललितपुर घाँयाबुमा प्राप्त ने. स. १०७ को शिलालेखबाट यिनको शासनकाल १०४३ भन्ने बुझिन्छ) ले कान्तिपुर शहरको स्थापना गरेपछि यसका वरीपरी गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृका जस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ इतिहासविद्हरूको छ।

इतिहासविद् भुवनलाल प्रधानका अनुसार यहाँ पहिलो पटक मन्दिर निर्माण काठमाडौँ राज्यका राजा प्रताप मल्ल (ने. स. ७६१-९४, वि.स. १६९८-१७३१) ले गरेका हुन्। हाल रहेको मन्दिर भने सन् १७११ मा चतुर्देशी सेवा खलकले बनाएका थिए।

वि. स. १९२९ ताका भीम शम्सेरले पञ्चवलीको पूजा गर्ने चलन चलाए र वि.स. १९४९ मा मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला) बनाएका थिए। सो सत्तलको जीर्णोद्धार वि.स. २०३६ मा भएको पाइन्छ। चन्द्र सम्शेरले मन्दिरको ढोका दैनिक रूपमा खोल्ने र लगाउने व्यवस्था गरेका थिए। १९६५ मा मन्दिरको छानामा सुनको जलप लगाइएको थियो।

वि.स. २०५८ सालबाट पुनः जीर्णोद्धार सुरु भएको थियो। यस पटकको जीर्णोद्धारमा अठार लाख बजेट छुट्याइएको थियो। पुरातत्व विभागले ४ लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ६ लाख र बाँकी प्रबन्ध समितिले व्यहोरेको थियो।

सन् १९९८ मा मन्दिर अंकित हुलाक टिकट प्रकाशित भएको थियो।

हालको मन्दिर ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७.०० मिटर उचाईको छ। भित्ताको मोटाई ०.४५ से.मी. रहेको छ। यसमा दच्ची आप्पा (इट्टा) प्रयोग भएको छ भने सिमेन्टका रूपमा सुर्की-चुना, इँट्टाको धुलो र थोरै पतिशत सिमेन्ट प्रयोग गरिएको छ। मन्दिर रहेको जग्गाको क्षेत्रफल ८ रोपनी ९ आना ३ दाम रहेको छ।

अनुष्ठान र पर्व

[सम्पादन गर्नुहोस्]

घना वस्तीको बीचमा रहेको मन्दिर प्राङ्गणमा लाश जलाउने घाट रहेको छ। यहाँ नेवार समुदायका सात जातिहरू (मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही) को दाह संस्कार गर्ने परम्परा छ।

पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो। तर २०१९ साल फागुनमा काठमाडौँबाट दिल्लीका लागि उड्ने विमान निर्धारित समयभन्दा ढिला उडेको घटना पछि मन्दिरसँग सम्बन्धित मूर्तिहरूको पूजा फेरि व्यवस्थित गरिएको थियो।

वंशावली अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका थिए।

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]