बाघभैरव मन्दिर
बाघभैरव मन्दिर काठमाडौँको कीर्तिपुरमा छ । यो मन्दिरलाई कीर्तिपुरवासीले आराध्यदेवका रूपमा पूजा गर्छन् ।
अवस्थिति
[सम्पादन गर्नुहोस्]काठमाडौँ उपत्यकाबाट सात किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट १४०५ मिटरको उचाइमा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटरको क्षेत्रफलमा रहेको छ ।
पूर्व-पश्चिम भागमा लाम्चो आकारमा फैलिएको कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै सर्वाधिक ठूलो र महत्त्वपूर्ण मन्दिर हो । प्यागोडा शैलीको तीन तल्ले मन्दिर जसको माथिल्लो छानो पित्तल, त्यसभन्दा तलको दुई छाना झिँगटीले छाएको छ ।
मन्दिरको सबैभन्दा माथि ११, बीचमा छ र सबैभन्दा तल एक गरी १८ वटा गजुर छन् । मन्दिरको भुँइतलामा प्राचीन महाभारत र रामायणका दृश्यहरू देख्न सकिन्छ ।
ऐतिहासिक तथ्य
[सम्पादन गर्नुहोस्]कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले नेपाल संवत् २१९–२४६ (ई सं १०९९–११२६)को बीचमा गरेको गोपाल राज वंशावलीमा उल्लेख छ । कीर्तिपुर नगरको स्थापनासँगै निर्माण भएको मानिने बाघभैरवको मन्दिरको करिब ९०० वर्षको इतिहास रहेको मानिन्छ । बाघभैरव मन्दिरका सम्बन्धमा नेपाल संवत् ६२३ सम्म कुनै अभिलेख पाइँदैन । नेपाल संवत् ६३५ कात्तिक महिनामा पाटनका महापात्र जगतपाल वर्माले उक्त मन्दिरको भव्य जीर्णोद्धार गरिएको पाइन्छ । तत्पश्चात पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षपछि नेपाल संवत् ९२३मा रणबहादुर शाहकी धाइआमा हस्तीकलाले बाघभैरवको जीर्णोद्धार गरेको उल्लेख पाइन्छ ।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]बाघभैरवको उत्पत्ति सम्बन्धमा कुनै खास प्रमाण फेला नपरे पनि पौराणिक लोककथा एवम् जनश्रुतीअनुसार परापूर्वकालमा हाल मन्दिर भएको ठाउँमा जङ्गल थियो । उत्तरको भिरालो जङ्गलमा भेडाबाख्रा चराउन गएका गोठाला केटाकेटी माटाका विभिन्न मूर्ति बनाउने क्रममा बाघको मूर्ति निर्माण गरे । बाघको मूर्ति बनेपछि त्यलाई सुहाउने जिब्रो बनाउनका लागि पात खोज्न गए । त्यस क्रममा बाघको मूर्तिमा भैरव उत्पन्न भई त्यहाँ भएका भेडाबाख्रा खाइदिएको र पात लिएर फर्कदा आफ्ना भेडाबाख्रा नदेखेपछि उनीहरू रुन कराउन थाले पछि आफूहरूले बनाएको बाघको मूर्तिको मुखमा रगत लतपतिएको देखेपछि त्यही बाघले नै आफ्ना भेडाबाख्रा खाएको भन्दै रिसले मूर्तिमा जिब्रो राखेनन् । पछि मूर्तिमा भगवानको उत्पत्ति भएको भन्दै मन्दिर बनाएर मूर्ति राखे भन्ने किंवदन्ती छ । त्यही किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मूर्तिमा जीब्रो नरहेको मानिदै आएको छ ।
जात्रा
[सम्पादन गर्नुहोस्]यस मन्दिरमा प्रत्येक वर्षको सिंह सङ्क्रान्ति (भदौ १ गते) बाघभैरव जात्रा लाग्छ । जात्राका अवसरमा खटजात्रा गर्ने प्रचलन छ । खटजात्रा चलाउने परम्परा वि.सं. २०१४ भदौ १ गतेदेखि सुरु गरिएकोमा खटजात्रा सुरु गरिएको ५० वर्षका अवसरमा वि.सं. २०६४ सालमा स्वर्ण महोत्सव भएको थियो ।
पर्यटकीय महत्त्व
[सम्पादन गर्नुहोस्]कीर्तिपुर क्षेत्रको ऐतिहासिकता एवम् सांस्कृतिक महत्त्वसँग बाघभैरव मन्दिर प्रत्यक्ष सम्बन्धित देखिन्छ । धार्मिक, सांस्कृतिक महत्त्वका साथै प्राचीन प्रस्तरकला र काष्ठकलाको अनुपम सङ्गम बाघभैरव मन्दिर नेपालको ऐतिहासिकताको अध्ययन र पर्यटकीयका लागि पनि महत्त्वपूर्ण स्थल हो । काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि पनि बाघभैरवको मन्दिर परिशर उपयुक्त स्थल मानिन्छ ।
जीर्णोद्धार
[सम्पादन गर्नुहोस्]बाघभैरवको मूर्ति २०३८ साल र २०६९ सालमा जीर्णोद्धार गरियो । विशेष पूजाआजासहित जीर्णोद्धार गर्न सकिने प्राचीन प्रचलनअनुसार मूर्ति निर्माणका लागि कीर्तिपुरका विभिन्न सात स्थान र काठमाडौँको म्हैपीबाट माटो ल्याउने प्रचलन छ ।
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
बाघ भैरव मन्दिर
-
बाघ भैरव मन्दिर
-
बाघ भैरव मन्दिर
-
बाघ भैरव मन्दिर परिसर