तियाडी थान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तियाडी थान
300px
तियाडी थान नेपा-५, दैलेख
तियाडी थान नेपाल-এ অবস্থিত
तियाडी थान
तियाडी थान
नेपालको नक्सामा तियाडी थान अवस्थित क्षेत्र
निर्देशांक:२८°५२′०९″उत्तर ८१°३४′२०″पूर्व / २८.८६९१९५° उत्तर ८१.५७२२९१° पूर्व / 28.869195; 81.572291निर्देशाङ्क: २८°५२′०९″उत्तर ८१°३४′२०″पूर्व / २८.८६९१९५° उत्तर ८१.५७२२९१° पूर्व / 28.869195; 81.572291
नाम
वास्तविक नाम:तियाडी थान
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:भेरी
जिल्ला:दैलेख
स्थान:नेपा, दुल्लु, दैलेख
कला र संस्कृति
मुख्य देवता:तेडी मष्टो
प्रमुख चाडपर्व:कार्तिक शुक्ल सप्तमी, अष्टमी र अषाड शुक्ल सप्तमी, अष्टमी
वास्तुशैली:माँडु शैली

तियाडीथान अथवा तियाडी स्थान दैलेख जिल्लाको नेपा गा.वि.स.को वडा नं. ५ मा अवस्थित छ। प्रत्यक बर्ष कार्तिक शुक्लपक्ष अथवा तिहार पछाडीको सप्तमी र अष्टमी तिथीमा र अषाड शुक्लको सप्तमीअष्टमी गरेर दुई पटकको चार दिन यहाँ अग्नी वेताल तियाडी मोसानी देवता को पूजा गरिन्छ। पूजा गरिने दिन दैलेख नेपा गा.वि.स. वडा नं. १ देखी वडा नं. ५ सम्मका सबै भक्तजनहरू लगायत बाहिर जिल्ला सुर्खेत, बाँके, बर्दिया, कैलाली, अछाम आदी ठाउँबाट प्रसस्त भक्तजनहरू भेला हुने गर्दछन्। हुनत दैलेखको नाउलेकटुवाल, विनायक, छिउडी, डाडीमाडी लगायत सात ठाउँमा तियाडी देवताको स्थान बनाईएका छन्। यस कारण तियाडीका सात भाई छन् भन्ने भनाई रहेको छ। सबै भन्दा मुख्य स्थान नेपाको तियाडी स्थानलाई नै मानिन्छ। वि.सं. १८९५ मा तियाडी देवताका धामी सुर्जु कार्की काँपेर छरेको अछेता काठमाडौं सिंह दरबारमा पुगेकाले तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले यो देवतालाई गुठी सहित लाल मोहर प्रदान गरेका थिए भन्ने भनाई रहेको छ। [१]

तियाडी देवताको उत्पत्ती[सम्पादन गर्ने]

तिवारी जातको बाहुन मरेर त्यसैको हंसबाट उत्पन्न भएको यो देवताको नाम पहिले तिवारी देवता भनिन्थ्यो। पछी अपभंश हुँदै गएपछी तियाडी भनिन थालियो भन्ने भनाईका साथै तियाडीको उत्पत्ती नाउले गाउँमा भएको अनुमान गरिन्छ। यसको बारेमा एक कथा यस प्रकार रहेको छ। परापूर्व कालमा एकजना तिवारी ताम्रपत्रमा रैका/राईका आदेशलेखाउने जुम्लाको रैका मल्ल राजाको भान्छे बाहुन थिए। एक दिन राजासँग तिवारीले आफ्नो एक लौकीको विरुवा रोप्ने मन भएकोले लौकीको बिउ रोप्नको लागी जमिन मागे। यो सुनेर राजाले तिवारीलाई दरबार नजिकै लौकीको बिउ रोप्ने आदेश दिए। राजाको आज्ञा पाए पछि उक्त भान्छे बाहुनले दरबार नजिकै लौकाको बिउ रोपे। केही दिन पछी लौकीको विरुवा उम्रेर फैलिन थाल्यो। यसरी फैलिने क्रममा लौकाको मुन्टाले राजगद्दी छुन पुग्यो। यो देखेर राजाले गद्दी छुन लागेको लौकाको मुन्टालाई काटे। यसरी मुन्टा काटे पछी लौकाको लहरा पुरै सुकेर गयो। यसरी लौकाको लहरा सुकेको देखेर तिवारीले राजालाई मेरो लौकाको विरूवा कसरी सुक्यो भनेर सोधे। यो सुनेर राजाले तिम्रो लौकाले मेरो राजगद्दी छुन लागेको थियो मैले त्यसको मुन्टा काटें त्यसैले सुकेको हो भनेर उत्तर दिए। यो सुनेर तिवारीलाई साह्रै दुःख लाग्यो। तिवारीले राज दरबार भित्र नै आत्मदाह गरेर आफ्नो प्राण त्यागे। तिनै तिवारीको हंश (प्राण वायु)बाट अग्नि बेताल देवता तियाडी(तेडी मष्टो) उत्पन्न भए। उक्त तिवारीको हाडबाट हडेनी देवता र मांशबाट मंशानी देवता उत्पन्न भएको किंवदंती पाईन्छ।[१]

तियाडीको नेपामा आगमन[सम्पादन गर्ने]

तियाडी थानमा धामी काँप्नको लागी बनाएको फलेडी (चौकी)

नाउलेकटुवालमा तिवारीको हंसबाट उत्पत्ती भएपछी त्यहाँका रामु खंड्का र चामु खंड्का नामका दुबै भाईहरू काँप्न थाले। त्यो देखेर रामु खंड्का लगायत नाउलेका अन्य मानिसहरूले चामु खंड्कालाई नाउले गाउँबाट भगाए। त्यसपछी चामु खंड्का काँप्दै नेपाको देउटाकुरा भन्ने ठाउँमा गएर कराउन थाले। चामु खंड्का कराएको नेपा ५ का चंसु उपाध्याय भन्ने व्याक्तिले सुने। चंसु उपाध्याय देउटाकुरामा गएर चामुलाई तपाइँ को हो किन कराएको भनी सोधे। चामुले आफ्नो परिचय दिएर मलाई बस्ने ठाउँ दिनु पर्यो। म खंड्का हुँ मलाई मेरा भाईले घरमा बस्न न दिएर यहाँ आएको हुँ भने। त्यसपछी चामु खंड्कालाई चंसु उपाध्यायले आफ्नो घरमा लगेर गए। चामु खंड्का चंसु उपाध्यायको घरमा गएपछी चंसुका छोरा हरिदास उपाध्याय पनि काँप्न थाले। यो देखेर चंसु उपाध्यायले आफ्नो छोरासँग किन काँपेको भनेर सोधे। हरिदासले म तियाडी अग्नी बेताल देवता हुँ मलाई तिम्रो छोरा हरिदास मन परेकोले म तिम्रो छोरा माथी चढेको हुँ भने। यो सुनेर चंसु उपाध्यायले म तिम्रो सेवा गर्न सक्दैन तिम्रो सेवा गर्ने मान्छे धौलु कार्की नामको व्याक्ती छन् त्यहीं जाउ भनेर चामु खंड्कालाई पनि धौलु कार्कीको घरमा पठाए। चामुले काँप्न न छोडेकाले धौलु कार्कीले चामु खंड्कालाई साथमा लिएर नाउले गाउँ गए। नाउले गाउँ गएपछी पहिले जस्तै रामु खंड्का र चामु खंड्का दुवै भाइ काँप्न थाले। चामु खंड्काले रामु खंड्कालाई काँप्दै तँलाई बाहुन चाहिन्छकी खलीको टाकुरो चाहिन्छ रोज भनेर सोधे पछी रामु खंड्काले "खलि मेरो बाहुन तेरो" भन्ने उत्तर दिए। त्यसपछी रामु खंड्काले नाउलेको खलिमा तियाडीथान बनायर पूजा गर्न थाले भने चामु खंड्का धौलु कार्कीको साथमा लागेर नेपा आए। यसरी धौलु कार्की लगायत नेपाका सबै वासिन्दाहरू मिलेर तियाडीको थान अथवा मन्दिर बनाएर पूजा गर्न थाले। उनै धौलु कार्कीका संतानहरू अहिले सम्म तियाडीका धामी रहँदै आएका छन्। [१] मन्दिरको व्यवस्थापन तियाडी मन्दिर संरक्षण तथा विकास समितीले गरेको छ। मन्दिरको ढोका खुलेको दिन गाउँमा गोरू जोतेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ। यस कारण मुख्य पूजा गरिने दिन बाहेक अरू दिन मन्दिरको ढोका बन्द राखिन्छ।

मन्दिर कोष[सम्पादन गर्ने]

तियाडीथान मन्दिरको नाममा १६ मुरी बिउ लाग्ने जमिन गुठीमा रहेको छ भने मन्दिरमा पूजाको दिन प्रयोग हुने नौताल बाजाहरू जस्तै:- नगरा, झ्याली, नरसिङ्गा, सनई, शंख आदी मन्दिरको सम्पती रहेको छ। गुठका मुखिया धर्म बहादुर कार्की रहेका छन्।

कसरी पुग्ने[सम्पादन गर्ने]

तियाडीथान मन्दिरमा पुग्नकोलागी निम्न मार्गहरू रहेका छन्।

  1. मध्य पहाडी मार्ग बाट दैलेखको दुल्लु सम्म बस अथवा मोटरमा जान सकिन्छ। दुल्लुबाट शान्ती बजार हुँदै पिपलधारी सम्म सहायक मोटर मार्ग बनेको छ। शांती बजारबाट २ कि.मी.मा तियाडीथान रहेको छ।
  2. कर्णाली राजमार्गमा पर्ने तल्लो डुङ्गेश्वरबाट दुल्लू सम्म सहायक मोटर मार्ग बनेको छ। तल्लो डुङ्गेश्वर - दुल्लु रोडमा पर्ने शांती बजारबाट माथी उल्लेखित पहिलो बाटो भएर तियाडीथान पुग्न सकिन्छ।

हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरीय लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ टंक बहादुर कार्की (सचिव तियाडी मन्दिर संरक्षण तथा विकास समिती), लक्ष्मी प्रसाद नेपाल (सदस्य नेपाली काँग्रेस जिल्ला कार्य समिती), कलम खनाल (शिक्षक), लोकराज उपाध्याय (पुत्र मुख्य पुजारी तियाडीथान), प्रेम हमाल नेपा-५, दैलेख