शङ्ख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शङ्ख बजाउदै साधु

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ।

जीउँदो शंख

शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो। धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ।

किसिम[सम्पादन गर्नुहोस्]

शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ। लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ।

हिन्दु धर्ममा प्रयोग[सम्पादन गर्नुहोस्]

रामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मङ्गल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ। शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ। शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो। यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ। यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ। बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ। पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ। कतिपय जातिमा मुर्दालाई घाट लैजाँदा शंख बजाउने चलन छ।

औषधीका रूपमा प्रयोग[सम्पादन गर्नुहोस्]

आयुर्वेद उपचारमा शंख भस्मको ठूलो महत्त्व छ। शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच/छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ। यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन्। शंख भस्म अम्लपित्त, अनुहारको चाया, डन्डिफोरखत हटाउन उपयोगी हुन्छ। अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निद्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो हुन्छ। कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ। आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएको औषधी प्रयोग हुन्छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ[सम्पादन गर्नुहोस्]