सामग्रीमा जानुहोस्

सारङ्गी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सारङ्गी
नेपाली सारङ्गी
वर्गीकरण तारवाद्य (Chordophone)
सम्बन्धित वाद्ययन्त्रहरू
  • एसराज (भारत)
  • सारिन्दा (भारत)

सारङ्गी एक तारवाद्य हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ। सारङ्गी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ। यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ। आधुनिक समयमा कुटुम्ब र नाइट जस्ता सांगीतिक समूहहरूले सारङ्गी जस्ता परम्परागत नेपाली वाद्ययन्त्रहरूको प्रयोग गरी पुराना नेपाली धूनहरूलाई पुनर्जीवित गर्दै आफ्नो एउटा छुट्टै पहिचान बनाएका पनि छन्।[]

प्रायः सारङ्गी गन्धर्वहरूहरू, घुमन्ते गायक, सँग जोडिएको छ, जसले नेपालको विकट भूगोलमा सूचना र मनोरञ्जन दुवै पुऱ्याउने गर्थे। जब पढ्न पाउनु र सूचनामा पहुँच हुनु केवल केही वर्गको मात्र पहुँच हुने गर्दथ्यो, तब गन्धर्वहरूले सूचनालाई सबैको पहुँचमा पुऱ्याएर एक किसिमको समानताको सेवा प्रदान गरेका थिए। तर बदलिँदो समयसँगै गन्धर्वहरूको भूमिका पनि परिवर्तन भएको र यसले नेपालले आफ्नो कुनै अमूर्त पहिचान गुमाउन सक्ने धाराणाहरू पनि पाइन्छन्।

परम्परागत नेपाली सारङ्गीको आकार, निर्माण सामग्री, वा स्केलमा कुनै निश्चित मापदण्ड वा एकरूपता हुँदैन। यो एउटै काठको टुक्राबाट बनाइएको हुन्छ। यसमा एउटा घाँटी र खोपिएको दुई-खण्डे भाग हुन्छ। प्रायः सजिलै उपलब्ध हुने काठहरू जस्तै: साज, सिसौ, खिर्रो, बकाइनो, सल्ला, सौर, लाँकुरी, चिलाउने वा आँपको काठबाट यो बनाइन्छ।

बनावटका मुख्य पक्षहरू:

[सम्पादन गर्नुहोस्]
  • बनावट: सारङ्गीको माथिल्लो खण्ड खुला छोडिन्छ भने तल्लो खण्ड, जहाँ पुल अडिन्छ, त्यसलाई भेडा वा बाख्राको सुकाएको छालाले छोपिएको हुन्छ।
  • घाँटी र तार: यसको घाँटीमा 'फ्रेट' (Fret) हुँदैन। तारहरूलाई किला (Tuning pegs) मा बाँधेर ट्युनिङ गरिन्छ। सारङ्गीको आकार बजाउने व्यक्तिको रोजाइअनुसार फरक-फरक हुन सक्छ।

नेपाली सारङ्गीमा जम्मा चारवटा तार हुन्छन्।

  1. रम्परागत तार: सुरुमा तारहरू भेडाको आन्द्राबाट बनाइन्थ्यो (जसलाई विश्वका अन्य संगीत परम्परामा पनि गाईवस्तुको आन्द्राबाट बनाइएको जस्तै)। गन्धर्वहरूले दशैं जस्ता ठूला चाडपर्वमा बलि दिइएका भेडाका आन्द्राहरू संकलन गर्थे। ती आन्द्रालाई केही दिनसम्म एउटा भाँडोमा सड्न छोडिन्थ्यो। आन्द्रा पूर्ण रूपमा सडिसकेपछि, त्यसलाई निकालेर भित्रका मसिनो नसाहरू मात्र राखिन्थ्यो, जसलाई बुनेर तार बनाइन्थ्यो।
  2. आधुनिक तार: अचेल आन्द्राको सट्टा ब्याडमिन्टनको तार, नाइलन वा स्टिलका तारहरूको प्रयोग बढी हुन थालेको छ।
  3. धनु (Bow): परम्परागत रूपमा धनुमा घोडाको पुच्छरको रौं प्रयोग गरिन्थ्यो, तर वर्तमान समयमा नाइलनका रौंहरू प्रयोग गरिन्छन्।

बजाउने शैली

[सम्पादन गर्नुहोस्]

सारङ्गीबाट धून निकाल्ने विभिन्न विधिहरू छन्, जसमा धेरैजसो वादकहरूले बायाँ हातका औंलाहरूले तारलाई हल्का थिचेर र दाहिने हातले धनु चलाएर बजाउने गर्दछन्। तर, प्रसिद्ध वादक भरत नेपाली र उनका शिष्यहरूले भने तारमा बायाँ हातको नङले घर्षण गराएर विशिष्ट ध्वनि निकाल्ने फरक शैली प्रयोग गर्छन्। परम्परागत रूपमा गन्धर्वहरूले गीतको मुख्य धूनसँगै बीचका दुई तारबाट निरन्तर 'मूल नोट' निकाल्ने गर्थे, जसले मादल बाहेक अन्य बाजा नहुँदा पनि संगीतमा एउटा पूर्णता र विशेष सांगीतिक वातावरण प्रदान गर्दथ्यो। तथापि, आधुनिक समयमा सारङ्गीलाई अन्य धेरै वाद्ययन्त्रहरूसँग मिसाएर बजाइन थालेकाले वादकहरूले ड्रोन तारलाई निरन्तर बजाइरहनु पर्ने बाध्यता हटेको छ। पहिले सारङ्गीलाई एउटै 'की' (Key) मा मात्र सिमित राखेर बजाइने गरिए तापनि अहिलेका आधुनिक वादकहरूले 'मोडल' प्रविधिको प्रयोग गरी यसलाई विभिन्न स्केलहरूमा ढाल्न सफल भएका छन्। अचेल लोक धूनहरूमा मात्र नभई आधुनिक र पश्चिमा संगीतका विधाहरूमा समेत सारङ्गीको नयाँ र प्रयोगधर्मी प्रयोग हुन थालेको छ। जुनसुकै सांगीतिक शैली र अन्य जुनसुकै वाद्ययन्त्रसँग पनि घुलमिल हुन सक्ने खुबी रहेको सारङ्गी वादकहरूको धाराणा रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Shyam Nepali: The sarangi has no limitations", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२६-०२-१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. युट्युबमा उपलब्ध सारङ्गी बजाएको भिडियो