लोकगीत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लाेकगीत अथवा लोक सङ्गीत लाेक संस्कृतिकै प्रमुख अङ्ग हाे । यसलार्इ नेपाली प्राकृतिक कविता पनि भन्ने गरिन्छ । यसले अाफ्नाे रूप र विधा अाफैंले जन्माउँछ । याे सरल, सुबाेध र लाेकप्रिय हुन्छ । यसकाे कलेवरमा लाेक जनजीवन छर्लङ्गिने एेना हुन्छ । त्यसैले लाेकगीत भनेकाे समष्टिकाे मनबाट जन्मिने कुरा हाे । [१] लोक सङ्गीत अथवा लोकगीत जनसमूदायको गीत हो । यो एकपछि अर्कोमा मौखिक रुपमा हस्तान्तरिक हुने गर्दछ । लोकगीतका रचनाकार पाइदैनन् । यो समाजको गीत हो । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पूस्ताबाट अर्को पूस्तामा हस्तान्तरण गर्दै जान्छ ।

नेपाली लोकगीत[सम्पादन गर्ने]

नेपाल विश्वको मानचित्रमा १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफल ओगटेको सानो मुलुक हो । नेपाल सानो भएर पनि विश्वमा एउटा सुन्दर मुलुकको रुपमा चिनिन्छ । नेपाललाई सुन्दरताको खानीको रुपमा स्थापित गर्न तीन तत्वको विशेष भूमिका रहेको छ । प्रथमतः भौगोलिक, दोस्रो प्राकृतिक र तेस्रो यहाँको सांस्कृतिको विविधता हो । भौगोलिक दृष्टिकोणबाट नेपाल अति नै सुन्दर मुलुकको रुपमा विश्वमा परिचित नाम हो । विश्वको अग्लो हिमाल सगरमाथा रहेको देशको रुपमा छुट्टै पहिचान बोकेको देश हो । यहाँको भौगोलिक बनावट आफैमा सौन्दर्ययुक्त छ । हिमाल, पहाड, तराईको भौगोलिक अवस्थाले नेपालका जनताले तीनै भुभागको परिवेशलाई महसुस गर्न सक्छन् । नेपाल प्राकृतिक रुपमा धनी मुलुकको रुपमा विश्वमा चिनिन्छ । नेपालको वन—जंगलहरूले, खोलानालाहरूले यहाँको सौन्दर्यतामा सुनमा सुगन्ध थपिदिएको छन । हिमाली भेगमा चिसो मौसम, पहाडमा न चिसो न तातो मौसम र तराईमा गर्मी मौसम यी तीनै वातावरण पाइने सुन्दर देश नेपाल । चारैतिर हरियाली वनजंगलले नेपाली वातावरणलाई मनमोहक बनाउँदछ । त्यसैले भनिन्छ हरियो वन नेपालको धन । नेपालको ६ हजार नदिनालाले नेपालभूमिलाई सिचाईं दिएर सिञ्चित गरेको छ । नेपाली भूमिको उर्वरा शक्तिलाई बढाइदिएको छ । जलस्रोतको धनी मुलुक नेपाल जलविद्युतको प्रचुर सम्भावना बोकेको छ । नेपालको सुन्दर पक्ष वा तत्व भनेको यहाँको प्राकृतिक स्रोत हो । नेपालको अर्को सुन्दर पक्ष भनेको सांस्कृतिक विविधता हो । नेपालको तथ्याङ्क विभागको सन् २०११ को रिपोर्ट अनुसार नेपालमा कुल १३० जाति रहेको उल्लेख छ । प्रत्येक जातिको आ-आफ्नै संस्कार, संस्कृति रहेको छ । विविध संस्कृतिले सजिएको सुन्दर नेपाल विश्वमा सांस्कृतिक पक्षमा धनी मुलुकको रुपमा पहिचान बनाएको छ । कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यसदेशको सम्पत्ति हो । एकसय तीस जातिका विविध संस्कृति रहेको नेपाल, सांस्कृतिक रुपमा आफ्नो छुट्टै पहिचान बोकेको राष्ट्रको रुपमा स्थापित छ । संस्कृतिको बलियो पक्ष संगीत हो । यहाँका प्रत्येक जातजातिका आआफ्नै संस्कार, सस्कृति रहेका छन् । उनीहरूको आफ्नै लोकसंगीत, लोकसंस्कार, लोकसंस्कृति रहेको छ । लोकसंगीत भनेको लोकगीत, लोकवाद्य र लोकनृत्य हो । लोकसंगीत भित्रको लोकगीतलाई यहाँ अध्ययनको विषय बनाइएको छ ।

लोक सङ्गीतको शाब्दिक अर्थ[सम्पादन गर्ने]

लोक सङ्गीतको कुरा गर्दा लोक र सङ्गीतको फरक फरक अर्थ लाग्ने भएकाले यहाँ लोक र सङ्गीतको फरक फरक अर्थला प्रष्ट पार्न आवस्यक पर्छ । लोक र सङ्गीतको अर्थलाई नियालेर हेर्दा निम्नानुसारको भिन्नता पाइन्छ ।

लोक
ब्रह्माण्डको कुनै एक भाग अथवा खण्ड संसार, जगत्, दुनियाँ, समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय जन समुह भनि नेपाली बृहत शब्दकोशमा लोकलाई परिभाषित गरेको छ [२] । लोक शब्दको प्रचलन प्राचीन कालदेखि नै विभिन्न रुपमा प्रयोग हुँदै आएको छ । वैदिक कालदेखि लोक शब्द जन को पर्यायवाची शब्दका रुपमा प्रयोग गरिएको छ । भने ऋग्वेदमा प्रयुक्त देहि लोकम्का अनुसार लोकको प्रयोग स्थानका अर्थमा पनि भएको छ । संहिता, ब्राह्मणग्रन्थ र उपनिषदहरूमा लोक शब्दलाई मूलतः जगत वा ब्रह्माण्डका रुपमा ग्रहण गरिएको र समयान्तरमा यस शब्दलाई मूलतः जगत्वा ब्रह्माण्डका रुपमा ग्रहण गरिएके र समयान्तरमा यस शब्दले स्वतन्त्र अर्थ लिदै गएको स्पष्ट हुन्छ । वैदिक साहित्यमा समेत चर्चित लोक शब्द उत्तरवैदिक कालमा वेदभिन्न भन्ने रुढ अर्थ लिँदै वेद र लाकजस्ता विपरीतार्थी प्रकृतिमा पनि परिभाषित हुँदै आएको छ । वैदिक साहित्य र लौकिक साहित्य भन्ने भेदले यस कुराको पुष्टि गर्छ । फलस्वरुप रामायण, महाभारत र भगवद्गीता जस्ता ग्रन्थहरूमा लोक शब्द वेदइतर काव्यसृजनाका सन्दर्भमा समेत अभिहित हुन पुगेको छ । ऐतहासिक क्रममा पनि अशोकको शिलालेखमा आइपुग्दा यस शब्दको प्रयोग समस्त प्रजाजनका हितका निम्ति भएको पाइन्छ [३] । यसरी प्राचीनकाल देखि नै लोक शब्दको प्रयोग हुँदै आएको पाईन्छ । लोक शब्दलाई मुख्यतय जन र ठाउँ गरी दुई अर्थमा प्रयोग हुँदै आएको छ । लोक जनको अर्थ लोकविश्वास, लोकप्रथा, लाकधर्म, लोककल्याण, लोककला आदि हो भने लोक ठाउँको पृथ्वीलोक, स्वर्गलोक, सत्यलोक, मत्र्यलोक, मृत्युलोक, परलोक आदिको रुपमा प्रयोग हुदै आएको छ । ऋग्वेदमा लोकलाई जन, ठाउँ(जीव, स्थान)को रुपमा प्रयोग हुदै आएके पाईन्छ । अथर्ववेदमा ठाउँ(पार्थिवलोक, दिव्यलोक)को रुपमा, उपनिषद्मा ठाउँ(प्रत्येक वस्तुमा व्याप्त)को रुपमा, अष्टाध्यायी ठाउँ(लौकिक, सार्वलौकिक)को रुपमा नाट्यशास्त्रमा जन(साधारण जनता)को रुपमा, महाभारतमा जन(सामान्य जनता)को रुपमा, गीतामा जन(साधारण जनता)को रुपमा, बौद्ध दर्शनमा जन(समस्त मानव)को रुपमा प्रयोग भएको पाईन्छ [४] । लोक शब्दको अर्थविस्तार हुँदै जाँदा त्यसले विभिन्न अर्थग्रहण गरेको छ । शब्दकोशहरू यस शब्दको भिन्न भिन्न अर्थ दिइएको छन्, जस्तो संसार, जगत, प्रदेश, दुनिया, जनता, समाज आदि लोककै विविध अर्थ हुन् । आमरकोशमा लोकस्तु भुवने जने [५] भनेर लोक शब्दको अर्थ संसार र जनतालाई बताइएको छ । यस प्रकार लोक शब्दले व्याप्ति लिँदा विभिन्न अर्थ अँगालेको र निकै ठूलो परिधि ओगटेको पाइन्छ । व्यवहारमा भने आवरकोले जनाए जस्तै प्राय यसशब्दका दूइटा अर्थ विशेष रुपमा प्रचलित देखिन्छन्, एउटा विशाल भूमिका साथै त्यसअन्तर्गत आउने स्थानविशेष र अर्को लोकव्यवहारमा रमाउने जनसामान्य [६]। भूत, वर्तमान र भविष्य तिनै कालका जनसमुदायलाई समेट्ने लोक शब्दमा सबैतिर फन्को मार्न सक्ने विशेष व्याप्ति निहित छ । वस्तुतः विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक एकाइको समष्टिरुप मानवजगत् हो । यसमा जनता मात्र नभएर भूमि, देश, गाउँ, बस्ती, समुदाय धेरै थोक हुन्छन् तापनि संस्कृति र साहित्यका सन्दर्भमा लोक शब्दले लोक भूमिलाई नै अँगालेको छ र यस शब्दले जनसामान्यसितै सम्बन्ध गाँसेको छ । यसरी विविध रुपमा लोकसंस्कृति, लोकसाहित्य एवं लोकसङ्गीत जस्ता जनताका व्यवहार र बोलिसँग गाँसिएको लोक शब्दको अर्थ पनि जनसाधारणका रुपमा नै प्रचलित भएर यसले आफ्नै प्रकारको महत्वपूर्ण परिचय दिने गरेको छ । सामान्यतया जनसाधारण भन्ने अर्थमा लोक शब्द अर्थिदै बहुप्रचलित र चर्चित हुन पुगेको छ । यसैले विशेष भूखण्डमा बसोबास गर्ने सर्वसामान्य जनता लोक हुन् र उनीहरूका संस्कृति, साहित्य, सङ्गीत, गीत नै लोकसंस्कृति, लोकसाहित्य, लोकसङ्गीत, लोकगीत हुन् ।
सङ्गीत
लोकगीतलाई परिभाषित गर्दै गर्दा यहाँ सङ्गीतको चर्चा आवश्यक देखिन्छ । हिन्दू दर्शनका अनुसार सङ्गीतको उत्पति वेदका निर्माता ब्रह्माद्वारा भएको हो भनिएको छ भने बौद्ध दर्शनका अनुसार बुद्ध द्वारा सङ्गितको निर्माण भएको हो भन्ने छ । हिन्दू दर्शन अनुसार यो सङ्गीत कला ब्रह्माले शिवलाई दिए र शिवद्धारा सरस्वतीलाई प्राप्त भयो ।[७] अतः सरस्वतीलाई वीणा—पुस्तक धारिणी भनेर सङगीत र साहित्यकी अधिष्ठात्री मानिएको छ ।[७] सरस्वतीद्धारा संङगीतको कला नारदलाई प्राप्त भयो । नारदले स्वर्गका गन्दर्भ, किन्नर तथा अप्सरालाई सङगीत शिक्षा दिए । यसरी नै भरत, नारद, हनुमान आदि ऋषि संङ्गीतकलामा पारङ्गत भई भू—लोक (पृथ्वी)मा संगीतकलाको प्रचारकोलागि अवतरित भए । [७] गन्दर्भलाई गाउने, किन्नरलाई बजाउने र अप्सरालाई नाच्ने पात्रको रुपमा स्थापित गरी शिक्षा दिक्षा दिइएको स्पष्ट हुन आउछ । यसरी सङ्गीतलाई पारिभाषिक रुपमा अध्ययन गर्दा उत्पत्तिदेखिनै गायन, बादन र नृत्यलाई एउटै संङ्गीतको रुपमा प्रारम्भ भएको स्पष्ट हुन्छ । संगीत रत्नाकरका अनुसार गीतं वाद्यं तथा त्रयं सङ्गीतं मुच्यते अर्थात गायन, बादन र नृत्यको संगमलाई सङ्गीत भनिन्छ । गायन, वादन र नृत्य यी तीन कुराको समष्टि रुपनै सङ्गीत हो । लोकको अर्थ कुनै पनि भूभाग वा त्यहाँ बस्ने मानवजातिहरूको समूह भन्ने बुझाउँदछ । यस अर्थमा लोक शब्दले एकातिर धरातल बुझाउँदछ भने अर्कातिर धरातलमा बसोबास गर्ने मानवसमूह भन्ने अर्थ दिन्छ [८]। लोक सङ्गीतले कुनै पनि भूभागमा बस्ने मानवसमूहको आप्mनो परम्परागत लोगगीत, लोकवाद्य र लोकनृत्यलाई बुझाउदछ । लोकसङ्गीत भनेको लोकगीत, लोकवाद्य, लोकनृत्य हो । लोकङ्गीत भित्रको लोकगीतलाई यस अध्ययनको विषय बस्तु बनाइएको छ ।[७]

लोकगीत[सम्पादन गर्ने]

लोकगीत वस्तुतः त्यही हुन सक्छ जसमा रचयिताको निजी व्यक्तित्व हुँदैन । रचयिताले लोकमाससँग तादात्म्य राख्छ र समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै चीज भन्न थाल्ने व्यक्तित्वहीन रचना गर्छ । त्यही रचना लोकको आफ्नो गीत हुन्छ, जुन गीत परम्परामा गाँसिन्छ र परम्पराले समय—समयमा अनुकूल परिवर्तन गर्दै रहन्छ [९] । जन समाजमा परम्परादेखि गाउँदै र चल्दै आएको गीत लोकगीत हो [२]। लोकगीत भनेको  लोक  जीवनको रागात्मक स्वतःस्फूर्त लयात्मक अभिव्यक्ति हो । यसमा लोक जीवनको दुःखसुख, आँसु—हाँसो, आशा—निराशाका साथै लोकका चाल चलन, विधि व्याहार, आस्था र मान्यताहरूको चित्रण हुन्छ [१०] । लोकगीत सामान्य जनताका संवेदनशील भावुक हृदयका त्यस्ता उद्गार हुन् जुन सङ्गीतका सुदृढ धारामा छन्दोबद्ध भएर प्रवाहित हुन्छन् र तिनले लोकगीतको नाम धारण गर्छन् [११]। लोकसमुदायले परम्परागत रुपमा गाउदै सुनाउदै आएको सर्वाधिक प्रिय गेयात्मक लोकसाहित्यिक विधा लोकगीत हो । लोकगीतमा लोक जीवनमा लहरिदै बड्ने र प्रसार हुने हुँदा लोकगीतमा स्वाभाविक रुपमा लोकसमुदायका अाँसु—हाँसो, सुख—दुःख, मिलन—विछोड, जीवन यापनका अनेक उकाली ओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वास आदिले स्थान पाएको हुन्छन् । आफ्नै विषय, आफ्नै परिवेश र आफ्नै लयमा आफैले परम्परादेखि प्रयोगमा ल्याइआएको हुँदा तथा त्यसको विशिष्ठ लयात्मकता, गेयात्मकता, समेतका कारणले लोकगीत लोकसमुदायमा सर्वाधिक रुचि र उपयोगको विधा रहिआएको छ [१२] । विभिन्न भूभागमा बस्ने मानवजातिहरूले आफ्नो जातिय र राष्ट्रिय भाषामा आआफ्नो परम्परागत जातीय संस्कृति र दुःखसुखका आन्तरिक भावहरू सरल र मौखिक रुपमा अभिव्यक्त गरेको पाइन्छ । त्यही नै पछि गएर लोकगीत हुन जान्छ । साधारण अर्थमा लोकगीत भन्नु नै लोकको गीत हो [८]। लोकगीत लोकहृदयको स्वस्फूर्त सुकोमल लयात्मक अभिव्यक्ति हो । लोकजीवनको रागात्मक प्रवृत्तिका क्रममा समानसंभ्यता र संस्कृतिमा प्रकाश पार्दै मौखिक परम्परामा जीवन्त रहेर जातीय जीवनलाई चिनाउँदै लोकको साझा ढुकढुकी हुनु यसको गरिमा हो । धर्तीका काखमा सुखदुःख भाग्दै रमाएका असङख्य जनाका हृदयमा कलकलाउने र तिनका सुरिला कण्ठमा सलबलाउने अविच्छिन्न तथा सहज गीतिप्रवाह नै हो लोकगीत [६] । लोकगीत भन्नाले साधारण शब्दमा लोकले गाउने अथवा लोकको गीत भन्ने बुझिन्छ । सजिलो प्रकारबाट गाउन सकिने  साथै जनसाधारणले बुझ्ने गीतलाई लोकगीत भनिन्छ । यसकारण जनसाधारणको गीत नै लोकगीत हो । लोकगीत जनसाधारणबाट जन्मेको हुन्छ, जनसाधारणले नै सुरक्षित गरीराखेको हुन्छ । लोकगीत जनसाधारणबाट नै प्रचार प्रसार तथा संरक्षण र सम्बर्धन भएको हुन्छ । लोकगीतमा सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, ऐतिहासिक, सांस्कृतिक परिस्थितिहरुको चरित्र चित्रण पनि पाईन्छ । त्यसैले विद्वानहरूले लोकगीतलाई लोकजीवनको वास्तविक दर्पण पनि भनेको छन् । लोकगीत सरल हुन्छ, प्रचार प्रसार मौखिख रुपमा नै हुन्छ । लोकगीत कुनै पनि स्थानका जाति, समाजबाट जन्मेको हुन्छ । त्यस लोकगीतमा त्यसै स्थानको रहनसहन, चाडपर्व, उत्सव, रीतिरिवाज, संस्कृकितआदिको वर्णन पाईन्छ । लोकगीत कुनै पनि जाति, स्थान, समाजको साझा सम्पत्ति हो ।

लोकगीतका तत्वहरू[सम्पादन गर्ने]

एउटा पूर्ण लोकगीत हुनका लागि आवश्यक पर्ने अङ्गहरूलाई(संरचनालाई) लोकगीतको तत्वको भनिन्छ । लोकगीतको तत्वको बारेमा विभिन्न विद्वानहरूले आआफ्नै धारणाहरू व्यक्त गरेका छन् । लोकगीतको लागि अत्यावश्यक तत्वहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।

भाका
लोकजीवनमा गीत गाउने खास तौरतरिका वा शैली नै भाका हो [१०]। लोकगीतको शैली भनेको मुख्यतः लोकगीतको गायन वा कथन शैलि वा तरिका हो । कुनै विषय वा विचारको कथन गर्न अंगालिएको ढङ्ग पिन लोकगीतको शैली हो [१३] । भाषै पिच्छे, ठाउँवैपच्छिे भाका फरक हुन सक्छन् । एउटै भाषाका लोकगीतमा पनि फरक ठाउँमा फरक फरक भाका हुनसक्छन् । यस दृष्टिले भाका भनेको लयको सूक्ष्म र स्थानिय वा क्षेत्रगत भेद हो । भाकाले लोकगीतलाई अझ विशिष्ट तुल्याउँदछ [१२]। लोकभाकाले स्थानीय ठाउँको, क्षेत्रको प्रतिविम्ब देखाउदछ । जुन ठाउँ, क्षेत्रको लोकभाका हो त्यसले त्यसै ठाउँ, क्षेत्रको पहिचान झल्काउदछ । जस्तै हाक्पारे भाकाले पूर्वको पहिचान बोकेको हुन्छ यसलाई पूर्वको भाकाको रुपमा सहजै बुझ्न सकिन्छ । देउडा भाकाले पश्चिमको पहिचान बोकेको हुन्छ, यसलाई पश्चिमको भाकाको रुपमा सहजै सकिन्छ । त्यसैले लोकगीतको परिचय नै लोकभाकाले दिएको हुन्छ । लोकगीतका लागि अनिवार्य तत्व भाका हो ।
भाषा
अभिव्यक्तिको प्रमुख माध्यम भाषा हो । लोकगीत पनि भाषाका माध्यमबाट प्रकट हुन्छ । त्यसैले लोकगीत पनि एक प्रकारको भाषिक अभिव्यक्ति हो । लोकगीतको  भाषिक अभिव्यक्ति लयात्मक हुन्छ । लोकगीतमा लोकले प्रयोग गर्ने भाषाको प्रयोग भएको हुन्छ [१३] । लोकगीत भाषिक अभिव्यक्तिको कला हो । लोकगीतको उत्पत्ति पनि भाषिक प्रयोगसँगै भएको हो । भाषाविना लोकगीतको रचना असम्भव छ । फरकफरक भाषिक समुदायमा फरकफरक किसिमका लोकगीतको प्रचलन भेटिन्छ । लोकगीतमा व्याकरणको सीमा भित्र मात्र नरहने हुदाँ लोकगीतमा लेख्य र कथ्यभन्दा पनि बेग्लै भाषाको समेत प्रयोग भेटिन्छ [१४]। लोकगीतको अभिव्यक्तिको माध्यम वा लोकभावनालाई प्रकट गर्ने साधन भाषा हो । लोकभावनाले भाषामा प्रकट भई मूर्तरुप प्राप्त गर्दछ ।  लोकगीतको भाषा लोककोभाषा हुन्छ । लोकभाषा भनेको बोलीचालीको कथ्य भाषा हो, जुन कथ्य स्वरुपमा सम्पादन भएको पाइन्छ । बोलीचालीको कथ्य भाषामा ठेट र झर्रा शब्द हुन्छन् [१२]। लोकगीत प्रस्तुतकर्ताको भाषाको माध्यमबाट जनसमुदाय सम्म पुग्ने गर्दछ । त्यसैले भाषा लोकगीत अभिव्यक्ति गर्ने माध्यम हो । लोकगीतको भाषामा स्थानियता पाईन्छ, ठेट र झर्रा शब्दहरू प्रयोग भएका हुन्छन् । लोकगीतमा स्थानिय चलनचल्तिका भाषा प्रयोग गरिएको हुन्छ । लोकगीत व्याकरण सिमा भित्रमात्र नरहने हुँदा लोकगीतको भाषा लेख्य, कथ्य भन्दा पनि केहि फरक भाषाको प्रयोग लोकगीतमा पाईन्छ । अर्थात लोकगीतको भाषा आफ्नै प्रकारको पाईन्छ भन्न सकिन्छ  । त्यसैले लोकगीतको महत्वपूर्ण तत्व मध्ये भाषा एक हो ।
कथ्य
लोकगीतको गायकले लोकगीतमा कुनै न कुनै भाव व्यक्त गरेको हुन्छ । लोकगीतमा कैयौं अर्थहीन शब्द वा पङ्क्तिहरूको प्रयोग हुन सक्ने भए पनि हरेक लोकगीतमा कुनै न कुनै कथ्य, वा समष्टि भाव व्यक्त भएकै हुन्छ । यसलाई विषय बस्तुको रुपमा लिन सकिन्छ । लोकगीतमा भाव र कथ्यकै माध्यमबाट सन्देश वा जीवन दर्शन समेत उपलब्ध हुन्छ [१४]। लोकगीतमा जे भनिन्छ त्यो नै कथ्य वा भाव हो । लोकगीतमा यो वा यस्तै कथ्य हुन्छ भन्न सकिन्न तापनि लोकजीवनका विविध पक्ष, विचार र विश्वासहरू लोकगीतमा कथ्य वा भावका रुपमा व्यक्त भएका हुन्छन् । मायाप्रीति, मिलनविछोड, हर्षविस्मात्, सुखदुःख, मेलापात, खेतीपाती, चाडपर्व, संस्कार, उकालीओराली आदि लोकगीतका कथ्य हुन् । लोकगीत भन्ने वित्तिकै यसमा कुनै न कुनै कथ्य वा भाव हुन्छ भन्ने स्पष्ट हुन्छ । उपयुक्त भाव भए लोकगीत अधिक प्रभावकारी हुन्छन् [१२]। लोकगीत गायकले लोकगीत गायनका क्रममा जीवन जगत्का विभिन्न पक्षहरूमध्ये कुनै पनि पक्षलाई लोकगीतको विषय वस्तु बनाउने गर्दछन् । धर्म, पुराण, इतिहास, राजनीति, समाज, संस्कृति आदिका कुनै पनि विषयलाई  वाणी दिइएको हुन्छ । लोकगीतले कुनै न कुनै भाव बोकेको हुन्छ । एउटा विचार प्रस्तुत गरेको हुन्छ । प्रत्यक्ष अप्रत्यक्ष एउटा सन्देश दिएको हुन्छ [१५]। त्यसैले लोकगीतमा कथ्य महत्वपूर्ण तत्व हो ।
लय
लोकगीतमा लय अनिवार्य तत्व हो । दुइ क्रिया विचको समय लय कहलाउँदछ । घडीको सुइको पहिलो झड्का एक सेकेण्डमा भयो र दोस्रो झड्का डेड सेकेन्डमा भयो भने सङ्गीतको भाषामा त्यो लय विग्रिएको मानिन्छ । जव घडिको सुइ प्रत्येक झड्का १ सेकेण्डका दरले बड्छ अर्थात समान रुपमा चल्छ तब सङ्गीतको भाषामा लय मानिन्छ । द्रुत लय, मध्यलय र विलम्बित लय गरी लय मुख्य तीन प्रकारको हुन्छ [७]। समयको समान चाललाई लय भनिन्छ । द्रुत, मध्य र विलम्वित गरी मुख्यतया तीन प्रकारको हुन्छ [१६]
  1. द्रुत लय:- दु्रतको अर्थ चाँडो हो । जुन लयको चाल छिटो हुन्छ त्यो दु्रत लय हो । घडिको एक झड्कालाई  एक मात्रा मान्ने हो भने सोह्र झड्कामा सोह्र मात्रा हुन्छ ।
  2. मध्यलय-: जुन लयको चाल छिटो पनि हुदैन ढिलो पनि हुदैन भने त्यसलाई मध्यलय भनिन्न्छ ।  घडिको २ झड्कालाई एक मात्रा मान्ने हो भने ३२ झड्कामा १६ मात्रा हुन्छ ।
  3. विलम्वित लय:- जुन लयको चाल ढिलो हुन्छ त्यो विलम्वित लय हो । घडिको ४ झड्कालाई एक मात्रा मान्ने हो भने ६४ झड्कामा सोह्र मात्रा हुन्छ ।

लोकगीतमा लयको अर्थ लोकगीतको समयको समान चाललाई बुझाउदछ । लोकगीतको लय  स्थान, विषयबस्तु, वातावरण अनुसार फरकफरक हुने गर्दछ । विरहका भाका वा लोकगीतहरू प्रायः केहि ढिलो हुने गर्दछन् भने मनोरञ्जनका लोकगीतहरू छिटो लयमा गाउने गरिन्छ । नेपालका अधिकांश लोकगीतमा बढि मध्य र केहि दु्रतलयमा पाउन सकिन्छ भने विलम्वित लयको लोकगीत भने अतिनै कम पाईन्छन् । कतिपय एउटै लोकगीतमा फरक फरक लय हुने गर्दछ । जस्तै, मध्य पश्चिमका चुड्काहरूमा पाइन्छ । पूर्व—पश्चिम जुनसुकै स्थानको लय भए पनि जति फरकफरक लय भएपनि  अन्तत्वगत्व दु्रत, मध्य र विलम्वित लयमा नै लोकगीतहरू बाँधिएको पाईन्छ । लोकगीतलाई लयले बाँधेको हुन्छ अर्थात लोकगीत लयमा नङ र मासुको सम्बन्ध रहेको हुन्छ । त्यसर्थ लयलाई लोकगीतको महत्वपूर्ण तत्वको रुपमा मानिन्छ ।

ताल
संगीतमा समय नाप्ने साधन वा यन्त्रलाई ताल भनिन्छ । जसरी भाषाको लागि व्याकरणको आवश्यता पर्दछ त्यसै गरी संगीतमा तालको आवश्यकता पर्दछ [७]। समयको नापलाई ताल भनिन्छ । गायन वादन वा नृत्यको समय नाप्ने क्रियालाई ताल भन्दछन् । ताल विभिन्न प्रकारहरु हुने गर्दछन् । झ्याउरे ताल ६ मात्राको हुन्छ, ख्याली ताल १६ मात्राको हुन्छ आदि । लोकगीतको सृजनामा स्वतः तालको उपस्थिति हुने गर्दछ, भलै समय, परिस्थितिले हातको तालिमात्रै बजाएर गाउने परम्परा भए होलान् तर जहा हातको तालि बजाउन सकिन्छ त्यो नै बास्तवमा ताल हो लोकगीतको समयलाई नाप्ने यन्त्र हो, हातको हरेक तालिले नै लोकगीतको समयलाई नापिरहेको हुन्छ । कुनै पनि सृजना गीत हुनको लागि समान गतिको आवश्यकता पर्दछ, जसबाट मात्र मानवको मनलाई ध्यानाकार्षण  गर्न सक्दछ । लोकगीत लोकको गीत भएकोले प्रायः लोकगीत समूहमा गाईन्छ । एकैचोटि सामूहिक रुपमा गाउनको लागि लोकगीतको लय समानहुन अति नै आवश्यक हुन्छ । त्यो कसैले १, कसैले २, कसैले १.५ सेकेण्डमा उठाएर हुदैन । एकै समयमा उठाउने र एकै समयमा छाड्ने गर्नु पर्ने हुन्छ । यसरी एकै समयमा उठाउनु र छाड्नु भनेको तालको नियममा रहनु हो यसर्थ लोकगीतको अभिन्न अंगको रुपमा ताललाई बुझ्न सकिन्छ । समग्रमा भन्ने हो भने गन्दर्भलाई गाउने, किन्नरलाई बजाउने र अप्सरालाई नाच्ने पात्रको रुपमा स्थापित गरी शिक्षा दिक्षा दिइएको प्रसङ्गले संङ्गीतको प्रचलन प्राचिनकाल देखिकै मान्न सकिन्छ । ऋग्वेदमा, अथर्ववेद, उपनिषद्, अष्टाध्यायी, नाट्यशास्त्र, महाभारत, गीता, बौद्ध दर्शनअािदमा लोक शब्दको प्रयोग पाइन्छ । जसबाट लोकसंङगीतको प्रचलन प्राचीनतम रहेको स्पष्ट पार्दछ ।

केही चर्चित नेपाली लोकगीतहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली साहित्य काेश (२०५५), नेपाली लाेक संस्कृति र साहित्य, काठमाडाैं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  2. २.० २.१ (२०७१), नेपाली बृहत् शब्दकोश, कमलादी, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान
  3. श्रीवास्तव, पूर्णिमा (सन् १९७५), लोकगीतों में समाज, जयपुरः मङ्गल प्रकाशन
  4. लुइटेल, खगेन्द्रप्रसाद (२०६८), लोक साहित्य परिचय, भोटाहिटी, काठमाण्डौः विद्यार्थी पुस्तक भण्डार ।
  5. (आमरकोष ३,नार्थवर्ग,श्लो. २)
  6. ६.० ६.१ पराजुली, कृष्णप्रसाद (२०६४), नेपाली लोकगीतको आलोक, बागबजार, काठमाडौंः रत्न पुस्तक भण्डार ।
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ वसंत, (सन् २००७) संगीत विशारद, हाथरस(उ.प्र.)ः संगीत कार्यलय
  8. ८.० ८.१ तिवारी, शोभा (२०६९), लोकसङ्गीततार्पण, साझा प्रकाशन
  9. बर्मा, धीरेन्द्र (२०२०), हिन्दी साहित्य कोष भाग १, वाराणसी ज्ञानमण्डल लिमिटेड
  10. १०.० १०.१ बन्धु, चूडामणि (२०७१), नेपाली लोकसाहित्य, काठमाडौ, नेपालः एकता बुक्स
  11. अनिल, सन्तराम (सन् १९७५), कन्नौजी लोकसाहित्य, आगरा अभिनव प्रकाशन एन्ड कम्पनी
  12. १२.० १२.१ १२.२ १२.३ लामिछाने, कपिलदेव (२०६८), नेपाली लोकगीतको अध्ययन, विवेक सिर्जनशील प्रकाशन
  13. १३.० १३.१ गिरी, जितेन्द्रदेव (२०७२), नेपाली लोकवार्ता, कमलादी, काठमाण्डौः नेपाल प्रज्ञा—प्रतिष्ठान
  14. १४.० १४.१ आचार्य, गोविन्द (२०६२), लोकगीतको विश्लेषण, रामशाहपथ, काठमाडौंः पैरवी प्रकाशन
  15. न्यौपाने, कुसुमाकर (२०७२), लोकगीत सिद्वान्त, कमलादी, काठमाडौं नेपाल प्रज्ञा—प्रतिष्ठान
  16. गोपाली, धनबहादुर (२०६९), सङ्गीत सूत्र भाग १, काठमाडौंः रामकेशरी गोपाली, गोपाली प्रकाशन समिति

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]