सिलोक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिलोक अथवा श्लोक पद्यात्मक शैलीमा लेखिएको लयात्मक रचना हो ।[१] यसलाई लोकपद्य पनि भनिन्छ । सिलोकहरू प्राय विवाहका बेलामा र अन्य उत्सवमा अनुभवी बुढापाकाहरूले गाउने प्रचलन छ । सिलोक विभिन्न प्रकारको हुन्छ । विवाहमा यज्ञमण्डपमा दुलहीतर्फका घरगाउँलेहरू र दुलाहातर्फका जन्तीहरूबीच प्रश्नोत्तरका रूपमा भनिने प्रतिस्पर्धात्मक सिलोकलाई जन्ते सिलोक भन्ने चलन छ । यसका अलावा गोठाला, खेताला, मेलापात, जाग्रामका बेलामा सहज रूपमा समय बिताउन सिलोक भट्याइन्छ ।[२]

जन्ती र घरगाउँले (दुलहीपक्ष) बीच गरिने कबितात्मक सवाल जवाफ

सिलोक

विवाहमा गाइने सिलोकका केही नमुना यस्ता छन्-

सवाल- कहाँबाट आयौ तिमी जन्ती कहाँ बस्यौ बास ?

जन्तीका मुखमा फुरौला अड्के कहाँबाट फेर्छौ सास ?

जवाफ- घरबाट आयौँ हामी जन्ती यहीँ बस्यौँ बास

जन्तीका मुखमा फुरौला अड्के नाकबाट फेर्छौं सास।

सवाल- कति बाट्यौ दाम्लानाम्ला कति बाट्यौ कुचा ?

कति आयौ बूढापाका कति आयौ फुचा ?

जवाफ- चाहिँदो बाट्यौँ दाम्लानाम्ला चाहिँदो बाट्यौँ कुचा चाहिँदो आयौँ बूढापाका चाहिँदो आयौँ फुचा।

सवाल- कसकी छोरी श्रीसीता रानी कसका छोरा राम ?

कसका छोरा वीर हनुमान कसका छोरा जूनघाम ?

जवाफ -जनककी छोरी श्रीसीता रानी दशरथका छोरा राम पवन -वायु) का छोरा वीर हनुमान कश्यपका छोरा जूनघाम।

सवाल- कहाँ पलायो कर्कलो निगुरो कहाँ पलायो तामा कसका हौ तिमी नातिपनातिको हुन् तिम्रा मामा ?

जवाफ- खोलाखाली पलायो कर्कलो निगुरो बाँसमा पलायो तामा जिजुबाजेका हौँ नातिपनाति आमाका दाजुभाइ हुन मामा।

सवाल- तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ लायो चरीले गुँड

ईन ईन चरीका के के नाम लाउँछौ अर्थ कि छोड्छौ ठाम ?

जवाफ- तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ लायो चरीले गुँड ईन ईन चरीका हीरामोती नाम लायौँ अर्थ छोड्दैनौ ठाम।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
  2. नेपाली लोकसाहित्य, पूर्व आधुनिक साहित्य तथा आधुनीक नेपाली निबन्ध, कृष्णविलास पौड्याल

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]