मारूनी नाच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मारूनी नृत्य
250px
मारुनी नाचको दृश्य
वास्तविक नाममारूनी नाच
भाषानेपाली
प्रकारपरम्परागत नृत्य
नाच्ने समयदशैं, तिहार
समुदायमगर, खस जाति, लिम्बु, कुमाल
वर्षहरेक वर्ष
देशFlag of Nepal.svg नेपाल

मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, खस जाती, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। परम्परागत रुपमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने नाच हो । धान काटेर थन्काइ सके पछि मारुनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारुनी नाच तीजको दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारुनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । वर्षमा करिब तीन महिनाको अवधी भित्र मात्र कुनै कुनै दिन नाचिने यस परम्परागत नृत्यमा रामायण, महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मादलको तालमा मारुनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ । यो परम्परागत नृत्य बुढा पाकाहरूले मात्र जानेका र हालको पिंढीले झन्झट मान्ने भएकाले अब आएर यो मारुनी नाच लोप हुने परिस्थीतीमा पुगी सकेको छ।[१]कति पय समूदायमा त लोप नै भई सकेको यो परम्परागत नृत्यको जगेर्ना गर्नु पर्छ भन्ने विचारले अहिले पाल्पा, पर्वत, डडेल्धुरा, म्याग्दी, कास्की, बागलुङका केही स्थानियहरू लागि परेका छन् ।[२][३][४][५][६]दुई अथवा तिन जना मादले, दुई वा तिन जना मारुनी, एक पुर्सिङ्गे अथवा पुछ्रुङ्गे, कम्तीमा आठ जना बढीमा बिस जना गायकहरू मिलेर समूहगत रुपमा नाचिने यस परम्परागत नृत्यमा सबै काम नियम पूर्वक हुनु पर्ने परम्परा छ । नाच आरम्भ गर्दा र नाच समाप्त गर्दा ठोकन राख्नु पर्ने यस नृत्यको परम्परागत नियम हो । ठोकन राख्दा कसै कसैलाई देवता चढेर काँप्न पनि थाल्छन् । ठोकन राखे पछि ढोका उघार्ने गित गाएर नाचको आरम्भ गरिन्छ । आरम्भ पछि देवी बन्दना गर्ने देवी गित गाएर यो दिनको नृत्य अगाडी बढाइन्छ । यसै गरि रामायण, महाभारतका गाथाहरू गाएर नाच्ने र बीच बीचमा ख्याली र टप्पा गाएर रमाईलो गर्ने, समय भएमा डाँडी गित गाउँने, अन्तमा आशिका गित गाएर बिट मारि सके पछि ठोकन राखेर नाच समाप्त गरिन्छ ।[७] मारुनी नाचको परम्परागत नियमहरूमा प्रायः एक रुपता पाइए पनि नाचमा प्रयोगहुने गितहरूको लय र भाषामा स्थान र समुदाय अनुसार फरक फरक रहेको छ। गितमा एक रुपता पाइए पनि गितमा प्रयोग हुने लय र शब्दहरूमा कतै पनि एक रुपता पाईंदैन ।

नाचको परम्परागत नियम[सम्पादन गर्ने]

मारूनी नाच नेपाली समुदायको परम्परागत नृत्य भएता पनि यो नाचलाई जहिले कहिले जहाँ तहीं प्रदर्शन गर्दा अनिष्ठ हुन्छ भन्ने विश्वास गरिन्छ । मारूनी नाच प्रदर्शन गर्ने समुदायहरूमा दशैंको फूलपातीको दिन कालरात्रीको विशेष पूजा आजाका साथ नाचको आरम्भ गरिन्छ अथवा नाच बाँधिन्छ भने दशैं र तिहारको समयमा देउसी, भैलो, खेल्दा मारूनी नाचको प्रदर्शन गरिन्छ । चाडवाडहरू सिद्धिएपछी फेरी विशेष पूजाआजा गरेर नाच फुकुवा गरिन्छ अथवा नाचको अन्त गरिन्छ । नाच फुकुवा गरीसके पछी नाचमा प्रयोग गरिने मादल, खाँकर, मारूनीको लुगा, लाखेको खपर र लौरो आदी सबै सामानहरू मन्दिरमा लुकाएर राखिन्छ । यसरी नाच फुकाइ सकेपछी अर्को वर्ष नाच नबाँधुन्जेलसम्म नाचको प्रदर्शन गर्नु त परै जावस यदी गुरु मादल बजेको सुनिएमा पनि अनिष्ठ हुन्छ भन्ने जन विश्वास गरिन्छ । मारूनी नाच बाँध्ने र फुकाउने समयमा देवीको पूजा गरिने भएकोले यस नाचलाई देवीको नाच पनि भनिन्छ ।[८]

ठोकन राख्नु
मारूनी नाच आरम्भ गर्नु भन्दा पहिले कम्तिमा दुई जना मादलेले विशेष तालमा मादल बजाउनुलाई ठोकन राख्नु भनिन्छ । नाचको आरम्भमा र अन्त्यमा ठोकन राख्ने गरिन्छ । मादल बजाउनमा निकै सिपालु मान्छेलाई मात्र ठोकन राख्न दिईन्छ । मादलेरू उभिएर करिब छ सात मिनेट सम्म विशेष तालमा कहिले छिटो छिटो, कहिले ढिलो, कहिले ठुलो, कहिले सानो आवाजमा मादल बजाउने गर्छन् । ठोकन राख्दा कुनै प्रकारको गीत गाउनु पर्दैन र नाच पनि नाच्नु पर्दैन । ठोकनको बेला देवता काँप्ने मान्छेहरू र तन्त्र मन्त्र गर्नेहरूलाई देवी चढेर काँप्न पनि थाल्छन् । यसरी काँप्न थालेका मान्छेहरूलाई ठोकनको माध्यमबाट नै बसाल्ने काम गरिन्छ । मारूनी नाच बन्द गर्ने अन्तिम दिन अथवा मारूनी नाच फुकाउने दिन बाहेक अरु दिनमा मारूनी नाच सकिए पछि ठोकन राखेर नै मारूनीका वस्त्र र गहनाहरू उतार्ने चलन रहेको छ । [७]

मारूनी नाँचका मुख्य पात्रहरू[सम्पादन गर्ने]

मारूनी नाचको एक समूह

मारुनी नाँचमा कम्तिमा दुइ जना मारूनी दुई देखि तिनजना मादले, एक जना पुरसिङ्गे र ६ जना देखि १० जना सम्म गायकहरू हुनु पर्छ । गायकहरूमा एक जना गुरु हुन्छ गुरुलाई रौरा पनि भनिन्छ[७] जसलाई मारुनी नाचको बारेमा सबै थाहा छ, जसले मारूनी नाचमा गाइने हर गितहरूको लय जानेको छ, जसले नाचमा बजाइने ताल र नाचिने चालको बारेमा पूरा ज्ञान छ, त्यसैलाई मात्र गुरु अथवा रौरा मानिएको हुन्छ । खास गरेर दशैं, तिहार, देउसी,भैलीमा र न्वारन, पूजा इत्यादी उत्सवहरूमा यो मारूनी नाच नाचेको देखिन्छ । मझौटे गीत, टप्पा र ख्याली गीत रमाइलो गरिने गीतहरू भएकाले यी गीतहरूमा एकजना मादले, एक जना पुर्छुङ्गे (पुर्सिङ्गे) र एक जना मारूनीले मात्र नाच्ने गर्छन् । भने अन्य सबै गीतहरूमा समूहमा नाच्ने गाउने गरिन्छ । समूहमा नाच्दा कम्तिमा २ जना मारूनी ३ जना मादले र ३ जना पुर्सिङ्गे गरेर जम्मा ८ जना जति नाच्दछन् । गीत गाउनेहरू एकापट्टी कम्तीमा ५, ६ जना र अर्को पट्टी ५, ६ जना बसेर गाउँछन् भने एक तर्फ १५ - २० जना र अर्को तर्फ पनि १५ - २० जना उभिएर गाउने गर्छन् । जुङ्घा दाह्री नआएको केटालाई महिलाको परम्परागत भेषभुषा चोली, पटुकी, सारी, फरिया, कण्ठमाला, टिक्की आदिले सिङ्गार पटार भएर नाच्ने मान्छेलाई मारूनी भनिन्छ । मारूनीलाई खाम भाषीहरूले सिङारू पनि भन्छन् । मारूनीसँग नाच्ने पुरुषलाई पुर्सिङ्गे अथवा पुर्छुङ्गे भनिन्छ भने मादल बजाउँदै नाच्ने मान्छेलाई मादले भनिन्छ । मारूनी नाचमा मुखौटो लगाएर व्याङ्गत्मक कला पर्दर्शन गर्ने व्याक्तिलाई लाखे भनिन्छ र गित गाउने मुख्य मान्छेलाई गुरु अथवा रौरा भनिन्छ । [७]

गुरु
गुरु अथवा रौरा मारुनी नाचको मुखिया हुन्छ । गुरु गायक समूहमा बसेर गीत गाउँने भएपनि गुरुलाई मारूनी नाचका सम्पूर्ण कुराहरूको जानकारी थाह हुनुपर्छ । नाचको गुरु हुनको लागि कुन गीतलाई कुन लयमा गाउने, कुन तालमा मादल बजाउने, कुन तालमा मारूनीले नाच्ने भन्ने कुराको जानकारी हुनुका साथै सबै गीतहरू कण्ठस्थ हुनु पर्छ । कुनै व्याक्तिलाई एक पटक गुरु बनाइ सके पछि जिवनभर त्यही व्याक्ति मारूनी नाचको गुरु रहन्छ । गुरु नभएको खण्डमा मारूनी नाच बन्न पनि सक्दैन । मारूनी नाच लोप हुने स्थितीमा पुग्नाको कारण नै गुरुको अभाव हो । हुनत सबै ठाउँमा गुरुको आवस्यकता त्यत्तिकै हुन्छ । त्यो भन्दा पनि मारूनी नाच जस्ता परम्परागत लोक नृत्यहरू गुरुको अभावले नै पछिल्लो पिढींमा हराएर जान सक्छन् । मारूनी नाचको पुरानो गुरु मर्नगएमा अर्को नयाँ थाम्न अथवा बनाउन नसकेर कति पय ठाउँमा नाच नै बन्द भइ सकेका छन् । हरेक नाचका गुरुले आफ्नो आफ्नो परम्मरा अनुसार नाच चलाउने गरेकाले नाचको ताल एकै भए पनि गाउने गीत र लयहरू सबै ठाउँमा फरक फरक छन् । नाच्न, मादल बजाउन र गीत उच्चारणको लय निकाल्न गुरुले नै सिकाउनु पर्ने हुन्छ ।
मारूनी
मारूनी पनि यो मारूनी नाचको एक मुख्य पात्र हुन् । दुइजना जुङ्घा दारी न आएका कलिला केटाहरू अथवा जुङ्घा दारी खौराएका ठुला पुरुष मानिसलाई महिलाको कपडा जस्तै:- चोलो, गुन्यू, चुरा, पोते, तिलहरी आदी महिलाले लगाउने गहनाहरू पहिराएर मारूनी बनाइन्छ। मारूनीहरू मादलेकोसँगै अगाडि पछाडी घुमेर नाँच्दछन् । मारूनीलाई सिङारू (सिंगारीयको मान्छे) पनि भनिएको सुनिन्छ । सिङारू एक पटक बनि सके पछि नाचको पुरा अवधि सम्म तिनै मानिसहरू बाहेक अरु बदलिन पाउदैनन् ।
पुरसिङ्गे
पुरसिङ्गे मारूनीहरू सँगै नाच्ने एक अर्को पात्र हो । पुर्सिङ्गेलाई कतै कतै पुछ्रुङ्गे पनि भनिन्छ । पुरसिङेले महिलाको कपडा लगाउनु पर्दैन । यदी मारुनी नाँचमा तिन जना मादलेहरू छन् अथवा एक जना मात्र मारुनी छ भने त्यहाँ पुरसिङेलाई एक जना मादले सँग नाच्ने जिम्मा दिईन्छ। पुरसिङेले हाउ भाउ तथा ताल चाल पुरै मारुनीकै मिलाउनु पर्ने भएकाले यसलाई पुरसिङे (सिङारुको काम पुरा गर्ने) को उपाधी दिएको हुनु पर्छ । पुरसिङेहरू एक पछि अर्को बदलिएर नाँच्न सक्छन् यसको लागि नाच्ने कला हुनु जरुरी छ । पाल्पा तिरको मारुनी नाचमा कमरमा पटुका बाँधेर पुर्सिङ्गे बनाइन्छ । [७]
मादले
मादलेको पद बाटै थाह भएको छ की यिनिहरू मादल बजाउने मान्छे हुन्छन् । मादलेहरूले मादल कमरमा भिरेर बजाउदै मारूनीसँगै नाच्ने गर्छन्। मादलेहरूमा एकजना गुरु मादल भिरेको हुन्छ गुरुमादल बजाउने मान्छेले मादलको ताल निकाल्छ । नाच रमाईलो पार्न मादलेको नै विशेष भुमिका रहन्छ । गाउँने र नाच्नेलाई मादलको ताल दिएर उत्तेजित र उत्साहित गर्न मादलेको भुमिका रहेको हुन्छ । जोशिला मादलेहरूले नाच नचाउँदा कुखुराको भाले जुधे जस्तो तालमा उफ्रेर नाच रमाईलो पार्छन् । मारूनी नाचमा गीत अनुसार मादलको ताल पनि अलग अलग हुने भएकाले यदी मादलको ताल बिग्रियो भने र गुरुलाई स्वर तथा गीत परिवर्तनको संकेत दिनु परेमा गुरु मादल बजाउने मादलेले नै मादलमा जोरले ठोकेर ताल दिन्छ अथवा गुरुको अगाडि गएर मादल ठोक्छ । यसै गरी मारूनीलाई नचाउने मुख्य काम मादलेहरूको हो । मादलेले जुन चालमा खुट्टा चाल्छ, जुन तालमा मादल ठोक्छ, त्यसै तालमा मरूनीले नाच्नु पर्ने हुन्छ र मादलेहरू एक पछि अर्को बदलिन सक्छ ।
लाखे
लाखे पनि मारूनी नाचको एक मुख्य पात्र हो । एक जनालाई मुखमा लाखे खपर अथवा कार्टुनिस्टहरूले प्रयोग गर्ने मुखौटा लगाएर र शरीरमा पराल बाँधेर एक लाखे बनाइन्छ । लाखेको हातमा एक बाङ्गे लौरो हुन्छ । लाखेको मुख्य काम नाँचमा व्यांगात्मक कलाहरू देखाएर मनोरञ्जन गराउनु हो । यो बाहेक लाखेले दर्शकहरूबाट केही पैँसा माग्ने पनि गर्छ । लाखेलाई मारूनीको पतिको रूपमा बनाइएको हुन्छ । कतै कतै मारूनी नाचमा लाखे र मारूनीलाई महादेवपार्वती को जोडी पनि भनिन्छ । त्यसैले लाखेलाई धेरै जिस्कायो भने भैरवहनुमान चढेर बहुलाउछ भन्ने विश्वास गरिन्छ । लाखेलाई नाचमा गुरु महाराज भनेर बोलाउनु पर्ने परम्परा छ । लाखेले हिन्दी भाषाको प्रयोग गर्नु पर्ने हुन्छ । कहिल्यै हिन्दी नबोल्न जान्ने मान्छेलाई पनि मारूनी नाचमा लाखे बनाएको बेला खरर हिन्दी बोल्न सकेको सत्यता रहेको छ ।[८]

मारूनी नाचका केही गीतहरू[सम्पादन गर्ने]

ख्याली गीतमा नाचिरहेको मारूनी

मारूनी नाचमा मारूनी नचाउनको लागि मुख्यतया पौराणिक कथामा आधारीत गीतहरू गाइन्छन्। यसका साथै मारूनीको रूपको वर्णन, नाचको सुरुवात तथा अन्तमा प्रयोग हुने आरम्भ गीत र समापन गीत, नाचको बीच बीचमा सल्यानी टप्पा गीत, ख्याली गीत आदी पनि गाइन्छन् । मारूनी नाचको गीतमा भोजपुरी र नेपाली भाषाको मिश्रण भएको देखिन्छ । मारूनी नाचलाई नियालेर हेर्दा यस परम्परागत नृत्यको आरम्भमा देवी देवताहरूको प्राथना सम्बन्धी गीतहरू र ढोका खोल्ने गीतहरू गाएर नचाइन्छ, बीचमा रामायण तथा कृष्ण चरित्रका कथाहरूमा आधारित गीतहरू गाएर नचाइन्छ, समय कटाउन डाँडी गीतहरूको प्रयोग गरिन्छ भने रमाइलो गर्न ख्याली, मझौटे र टप्पा गीतहरूको प्रयोग गरिएको पाइन्छ । यसैले मारूनी नाचका गीतहरूलाई निम्न चरणहरूमा वर्गिकरण गर्न सकिन्छ ।

आरम्भ गीतहरू[सम्पादन गर्ने]

मारूनी नाचको आरम्भमा ढोका खोल्ने गीत, मारूनी बाँध्ने गीत र देवी देवताहरूको प्रार्थना गीतहरू गाएर मारूनीलाई नचाइन्छ । सबै भन्दा पहिले देवी बाँध्ने गीत गाएर नाचको आरम्भ गर्ने प्रचलन तथा परम्परा रहेको छ ।

देवी बाँध्ने गीत
देवी बाँध्ने गीत प्रत्यक पल्ट मारूनी नाचको आरम्भमा गाईने गीत हो । यस गीतमा नाच्नु पर्दैन । ठोकन राखे लगत्तै देवी बाँध्ने गीत गाएर देवीको बन्दना गर्ने प्रचलन रहेको छ । यो गीत गाउने बेला मादलेहरू र गायकहरू बसेर नै गाउछन् । नाच बाँधेको दिन अथवा कालरात्रीको दिनमा भने दुर्गा देवीको मन्दिरमा यो गीत गाउँदा उभिएर नै गाउँने चलन रहेको छ । गाउनेहरू दुई समूहमा बाँडिएर पालै पालो गरि गाउने गरिन्छ । देवी बाँध्ने गीत ३३ चरणको हुन्छ भने यो गीत गाउँदा सबै चरणहरू गाउनु पर्ने हुन्छ । यो गीत गाउन करिब ५० मिनेटको समय लाग्दछ ।[७] गीत गाउने बेलामा मारूनी र पुरसिङ्गेलेई बीचमा राखेर गाउने गरिन्छ । जुनसुकै नाचमा पनि यो गीत गाउनै पर्छ । अन्य गीत गाउनको लागि ढोका खोल्ने गीतको रुपमा यस गीतलाई लिईन्छ । तर स्टेजमा प्रदर्शन गरिने औपचारीक कार्यक्रमहरूमा भने यो गीत गाउनु पर्दैन । मारूनी नाचको पहिलो गीत यस प्रकार छ ।
हा हा सरस्वती माया हो शरण तुमारा
हे हे पहिले ज समझौला गुरुजी हमारा
हा हा सरस्वती माया हो शरण तुमारा
[७]
बाधैला गीत
बाधैला गीत देवी बाँध्ने गीतको झुमरी हो । देवी बाँध्ने गीत गाएर सके पछि बाधैला गीत गाउने गरिन्छ । देवी बाँध्ने गीतमा नाच्ने नगरिए पनि यो गीत गाउने बेलामा नाच्नु पर्छ । गीत पालै पालो गरेर दुई समूहमा बाँडिएर गाउने गरिन्छ । यो गीतमा दुई जना मादले, दुई जना मारूनी र पुरसिङ्गे नाच्ने गर्छन् । बाधैला गीत नाचेर सके पछि अन्य जुन सुकै गीत गाउन हुने मान्यता रहेको छ [७]गीतको पहिलो चरण यस प्रकार रहेको छ ।
हा हा बाधैला हो सखी वीर हनुमान हो बाधैला
हे हे पूरवै बाधौं पश्चिम बाधौं बाधौं चारै ओर
हा हा बाधैला हो सखी बाधैला
[७]
मारूनी बाँध्ने
मारूनी नाचको आरम्भ गरिने दिनलाई नाच बाँध्ने अथवा मारूनी बाँध्ने भनिन्छ । त्यो दिन विशेष पूजा आजा सहित मारूनी बाँधे पछि मारूनी बाँध्ने गीतहरू गाएर नाचको आरम्भ गरिन्छ ।
पूरवै सुमेरू हो पश्चीमै सुमेरू धार मधुम
चारै दिशा चारै किल्ला सुमेरू धार मधुम
उघारैलो उघारैलो उघारैलो उघारैलो
सुन है सँघार रूप है दवार
उघारैलो उघारैलो उघारैलो उघारैलो[८]
हामरो नाचकी सरस्वती देवीले शरण देउ
शरण देउ माय-२, सरस्वती देवीले शरण देउ

(यसमा सरस्वतीको मात्र नभएर सबै देवी देवताहरूको नाम लिइन्छ।)
हा हा फूलै चढाउँला फूलै चढाउँला, भगवती देवीलाई फूलै चढाउँला
(यस गीतमा भगवती देवीका साथै सबै देवीहरूको नाम लिएर फूल चढाउँला भनेर गाइन्छ ।[८]

पौराणिक गीतहरू[सम्पादन गर्ने]

मारूनी नाचमा प्रार्थना गीतहरू पछि रामायण, महाभारत, कृष्ण चरित्र जस्ता पौराणिक कथामा आधारित गीतहरू गाएर नाच्ने परम्परा छ । नयाँ घर बनाएको खुसियालीमा नाच्दा, बालको न्वारन तथा पास्नीमा नाच्दा र देवी देवताको मन्दिरहरू नाच्दा पौराणिक गीतहरूको बढी महत्व हुन्छ । पौराणिक गितहरूमा रामायण र कृष्ण चरित्रका गीतहरू धेरै प्रचलनमा रहेका पाइन्छन् ।

रामायण गीतहरू
मारूनी नाचको रामायण गीत भगवान रामको लीलामा आधारित गीत हो । यस गीतमा भगवान राम जन्मनु भन्दा पहिले देखि रावण मारेको कथालाई श्रृङ्खलाबद्ध रुपमा प्रस्तुत गरिन्छ । रामायण गीतको नाच नचाउन सिङ्गो दिन लाग्छ । गीत गाउँदा गीतको लय र ताल कहिले ढिलो र कहिले छिटो हुने भएकाले हेर्ने दर्शकहरूका लागी पनि रमाईलो हुन्छ । यस गीतको नाचमा नाच्ने र गाउँनेहरूलाई पनि आनन्द आउँछ । रामायण गीतको बीच बीचमा ख्याली गीत र मझौटे गीतहरू पनि प्रस्तुत गरेर नचाउने गरिन्छ । रामायण गीतका केही चरणहरू यस्ता छन् :-
वशिष्ठ गुरुजीलाई बोलाई पो ल्यायो घोराई -२, चिना हेरन
हे हे पहले ज लेखौ श्री मा श्री, श्री माथी दुवो अक्षेता
हा हा बिते काल भई पो सक्यो छैन हामीलाई पुत्र फल
हा हा साठी बरिष पुगीमा सक्यो, छैन हामुलाई पुत्र फल
हा हा हुन्छ पुत्र -२, दशरथ राजालाई हुन्छ पुत्र
हे हे सुमेरू पर्वतमा गई, पुत्रफल ओखती खोजी ल्याई
हा हा देउन गुरुजी -२, पुत्र फल ओखती देउन गुरुजी
हे हे जेठी रानी कौशिला कान्छी पियारी कैकेयीलाई देउन गुरुजी
हा हा यिनैको दासी भईमा बस्यो हामी रानी सुमित्रा
हे हे दोनो भाग तीनैमा लगाई देउन गरुजी पुत्रफल ओखती
हा हा देउन गुरुजी -२, यिनै तिनै रानीलाई देउन
हे हे देउन गुरुजी पुत्रफल ओखती देउन गुरुजी
गर्भ रह्यो आज -२, यिनै तिनै रानीलाई गर्भ रह्यो
हे हे एकै मास दुवै र महिना गर्भ रह्यो -२

[७]

उपरोक्त गीतहरूमा अयोध्याका राजा दशरथलाई धेरै वर्षसम्म पुत्र नभएकोले राजाका कुलगुरु वशिष्ठ ऋषिलाई दरबारमा बोलाएर राजा दशरथको चिना हेर्न लगाइयो । गुरु बशिष्ठले पहिले श्री लेखेर त्यसमाथी दुवो अक्षता राखी चिना हेरे । गुरु वशिष्ठले राजा दशरथको चिना हेरे पछि सुमेरू पर्वतमा गएर पुत्रफल ओखती ल्याएर रानीलाई खान दिएमा राजा दशरथको छोरा हुनेछन् भने । राजाको आज्ञा अनुसार सुमेरू पर्वतबाट पुत्रफल ओखती ल्याएर राजा दशरथकी रानी कौशिला र कैकेयीलाई बाँडेर दिन लागेको समयमा अर्की रानी सुमित्राले जिवन भर दाशी भएर बसेकीले आफुलाई पनि छोरा चाहिएको इच्छा प्रकट गरिन् । सुमित्राको कुरालाई मानेर राजा दशरथको आज्ञा अनुसार गुरु वशिष्ठले पुत्रफल ओखती तिन भाग लगाएर तिनवटै रानीलाई दिए पछि तिनवटी रानीलाई गर्भ रहेको कथा उल्लेख गरिएको छ ।
बारहै बरषको सोमवारे औँसी लैजाउ लैजाउ श्रवण तिरथ घुमाउन
यो गीतमा बाह्र बर्षमा एक पटक सोमती आमावस्या परेकोले यो पुण्य तिथीमा श्रवण कुमारका आमा बाबुले तिर्थ घुम्ने इछ्छा प्रकट गर्छन् ।
हा हो शिव शिव राम राम बनिजलाई बाण लाग्यो
यो गीतमा श्रवण कुमारले आफ्ना आमा बाबुलाई घुमाउन लगेको क्रममा जंगलको कुवामा पानी भर्दा राजा दशरथको बाण लागेर घाइते श्रवण कुमारलाई देखेर राजा दशरथले पश्चाताप गर्छन्।
बाहिर बस्यो लक्षुमन भित्र पस्यो राम
हेर दाजु राम चन्द्र देहलीका थाम
हेरें भाइ लक्षुमन लेख्यो वनवास

यो गीतमा रामलाई राजा दशरथले वनवासको आज्ञा गरेका दिन रामलक्ष्मण दरबार प्रवेस गर्दा राम भित्र पसे भने लक्ष्मणले दैलो अथवा देहलीमा रामले वनवास जानु पर्ने सूचना टाँसेको देखेर दुइ भाइले आपसमा कुरा गर्छन् ।
लैगो लैगो सिता लैगो, लङ्कापति रावन्नेले सिता लैगो
यो गीतमा राम वनवास गएको बेला लंकाको राजा रावणले सीतालाई हरण गरेर लगेको कुरा वर्णन गरिएको छ ।
हा हो श्री राम नारायणले अश्वमिरी जग्य लायो
यो गीतमा भगवान श्रीरामले अश्वमेध यज्ञ लगाएको प्रसंग उल्लेख छ ।[८]
सिकारै खेलन जाम, भैया लक्षुमन सिकारै खेलन जाम
ए अघि लागे रामजी पछि लागे लक्षुमन, सिकारै खेलन जाम
भैया लक्षुमन सिकारै खेलन जाम
ए काँधै लिम्ला धनुकाण, काँधै लिम्ला थोकरा सिकारै खेलन जाम

यस गीतमा राम र लक्ष्मण सिकार खेल्न जान सल्लाह गर्दाको समयलाई उल्लेख गरिएको छ ।[१]

कृष्ण चरित्र
रामायण जस्तै भगवान श्रीकृष्णको चरित्र लिलालाई वर्णन गरेर गाइने मारूनी गीतहरू कृष्ण चरित्र अथवा महाभारतका गीतहरू हुन् । यि गीतहरूमा भगवान कृष्णका आमा बाबु देवकी र वसुदेवको विवाहको कथा देखी महाभारतको युद्ध पछिसम्मका कथाहरूलाई बख्यान गरेर गाउँने र नाच्ने गरिन्छ । कृष्ण चरित्र रामायणको तुलनामा केही लामो छ र मादलको ताल पनि रामायण भन्दा भिन्न हुन्छ । गीत लामो भए पनि केही चरण गाएर बीचमा छोड्ने र अर्को पटक नाच्दा क्रमबद्ध रुपमा अगाडी बढाउने गरिन्छ । यो गीत गाउँदा मुख्य गरी दुई भाकामा गाउने गरिन्छ ।[७] रामायणको तुलनामा यो गीतको नाच बढी रमाईलो हुन्छ ।
हा हा नचरी लैजाउ -२, हरी जीको दुवारैमा नचरी लैजाउ
हे हे कंशको घरमा यसोभन जगे नचरो लैजाउ बालै नचरी
हा हा किन आयो रिखी-२, तुमरै घर वासुदेव किन आयो
हे हे पूरवै दिशाको सोह्रमा रिखी, देवकी चेलीलाई हेरन आयो
हा हा ओ कामधेनु गाईको रुपैमा गरी बरु हेरन पो आयो
हे हे शिरै हेरम लट्टामा दारी, पावै हेरम बदमको फूल
हा हा देवकीलाई वासुदेव मागन पो आयो देवकीलाई वासुदेव
हे हे गोकुलै देशको सोह्रमा रिखी मथुरैमा जाई
हा हा ओ हाँसी हाँसी चिठी र पतर लेखिदिउँ बरिमनलाई
हे हे गुदरीमा खेलीमा खेली रोवैला सबै जना
हो हो एक हात कँगिया ज एक हात डोरिया
हे हे एक हात दरिपन हेरी एक हात टिकिया
हा हो आयो -२ धोबिनी लुगै धुन पो आयो
हे हे मलमल कपडा लुगै, धोवैला धोबिनी
हा हो खोलै बसी यशोदा, लखै धुन पो आवैला खोलै
हे हे खोलै बसी यशोदा,धुरुमा धुरु रोवैला
हा हो केश ही ज नुहाई धुवाई पो आयो
हे हे सुनैझरी गंगा जल पानी, ढुङ्गै माथी वरको
हा हा निमती बोलाउ आज -२ सबै देवताहरूलाई निमती बोलाउ
हे हे निमती बोलाउ आज -२ कलशेउली र मढेउलीलाई निमती बोलाउ

[७]

उक्त गीतमा भगवान कृष्णका पिता वशुदेव मथुराका राजा कंशका घरमा कंशकी बहिनी देवकीको हात माग्न गए देखि देवकीको विवाहको तयारी सम्मको कथा वर्णन गरिएको छ । यसै प्रकार रामायण तथा महाभारतलाई गीतहरूको पारामा ढालेर गाउँदै मारूनीलाई नचाइन्छ।

रमाइलो केन्द्रित गीतहरू[सम्पादन गर्ने]

मारूनी नाचमा दर्शकहरूलाई आकर्षण गर्ने खालका गीतहरू गाएर नाच नचाउने गरिन्छ । यी गीतहरूमा गाउने भन्दा नाच्नेहरू धेरै फुर्तिला देखिने भएकाले यस्ता गीतहरूको नाचमा दर्शकहरू बढी आकर्शित हुन्छन् । ख्याली, टप्पा, मझौटे आदि गीतहरू मारूनी नाचका रमाईलो केन्द्रित गीतहरू हुन् ।

ख्याली गीत
ख्थाली गीतको मारूनी नाच रमाईलो केन्द्रित नाच हो । यो गीत गाउँदा बढीमा १० मिनेटको समय लाग्छ । [७] अन्य गीतहरूमा झैं ख्याली गीतमा नाच्न धेरै मारूनी र पुरसिङ्गेहरू चाहिंदैनन् । ख्याली गीतमा नाच्दा एक जना मारूनी, एक जना पुरसिङ्गे र एक जना मादले भए पुग्छ । ख्याली गीतको एक चरण मात्र हुन्छ । माया पिरतीको वर्णन, पुरानो जमानाका राजा महाराजाहरूको बख्यान, पुराना युद्धहरूको वर्णन, तन्नेरी र तरूनीहरूको ख्याल ठट्टा तथा रिती रिवाजका संस्कारलाई एकै चरणमा सकिने गरि ख्याली गीत गाउने गरिन्छ । मारूनी नाचमा दर्शकहरूलाई ख्याली गीतको नाच मन पर्छ । ख्याली गीतमा मारूनी र पुर्सिङ्गे फनफनी घुमेको दृष्य निकै रमाईलो हुन्छ भने मादलेको नाच्ने र बजाउने कला पनि हेर्न लायक हुन्छ । यसैले मारूनी नाचमा रकम जुटाउन ख्याली गीतको नाच नचाउने गरिन्छ । ख्याली गीतमा पैंसा झार्ने, टिपाउने र रकम दिने मान्छेलाई गीतैबाट धन्यवाद दिने गरिन्छ । ख्याली गीत पनि फरक फरक खालका हुन्छन् । जस्तै :- दग्गा ख्याली, रामायण ख्याली, झाम्रे ख्याली, श्रृङ्गार रस ख्याली, बिदा ख्याली, वीररस ख्यालीट, चरित्र ख्याली, आदि फरक फरक खालका ख्यालीहरू हुन् । [७]
देखो महारानी चाँदीको ढोका के यती रमाईलो दरबार
हा हा राजाको हुकुम हे दुनियाँको सास्ती झिङ्गटीले छायो दरबार
जान्न र भन्थें आबै पल्लाघरे ठिटाले भुल्लै पार्यो
हा हा पुरवै दिशाको मादला हो पश्चिमैको मारूनी आज मलाई भुल्ल पार्यो
सल्लेनीको बाङ्गे पिपल खस्यो है बुलाकी
हा हा ऐना हेरी टिकी लाउँदा खस्यो है बुलाकी[७]
शिरखण्ड काठको मादलु मेरो बजाउ गुरु दम दम
हा हा बजाउ गुरु दम दम
नाच मेरी मारूनै आगनीमा छम छम
हा हा आगनीमा छम छम
नाची देउन मारूनै मादलेको अगी पछि
[८]

यस्तै प्रकारका अनेक गितहरू बीच बीचमा गाएर मारूनीको हौशला बढाएर नचाइन्छ।

मझौटे गीतहरू
मझौटे गीतहरू मारूनी नाचको समूहगत रुपमा नाच्ने रमाइलो केन्द्रित गीतहरू हुन् । यो नाचमा ३ जना मादले, कम्तिमा दुई जना मारूनी र ३ जना पुरसिङ्गे नाच्ने गरिन्छ । प्रहर अनुसारको बखान, फूलको बखान, दिशाहरूको बखान आदि मझौटे गीतहरूमा समेटेर गाउने गरिन्छ । मझौटे गीतहरू गाएर मारूनी नाच्दाको दृश्य निकै रमाईलो हुन्छ । दर्शकहरूको माझमा मादलेहरूले कुखुराको भाले जुध्दा उफ्रिए झैं बुरुक्क बुरुक्क उफ्रेर खुट्टा ठोक्काई ठोक्काई नाचलाई निकै रमाईलो बनाउछन् । नाच्नेहरूको हौसला बढाउन गायक समूह र दर्शकहरूबाट चर्को स्वरमा "सौभी......सौभी" जस्ता शब्दहरूको साङ्केतिक आवाज समेत निकाल्ने गरिन्छ । एउटा मझौटे गीत गाएर नाच्न सामान्यतया ४५ मिनेटको समय लाग्छ ।[७] बिहानको प्रहरमा बिहानी मझौटे, अपरान्हमा दोपहरी मझौटे र बेलुकी पख सन्ध्या कालिन मझौटे गीत गाएर नाच्ने गरिन्छ । छोरीको माया मझौटे गीतहरूको चरण :-
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे पुरवै दिशाको झुलुमुले घाम के यती नरिमाईलो झुलुमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे पश्चिमै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलुमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे उत्तरै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलुमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे दक्षिणै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलुमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
[७]
टप्पा
टप्पा सल्यान जिल्ला तिरको प्रचलित गीत भएर होला यसलाई सल्यानी टप्पा पनि भनेको सुनिन्छ। केही टप्पा गितहरू:-
चामल सरी आटो जुमलाको तिते फापर
जुम्ला जाने बाटो सिकाइ देउन मारानी
हा हा सँगै जाउँला बेंसी सितल पाटी झर्यौ भेना
बनाइएलो आँसी, चिर्ते मिर्ते फलामको'
[८]

यस्तै प्रकारका अनेकौँ टप्पाहरू नाचको बिच बिचमा गाएर रमाइलो टप्पा नाच नाचिन्छ।

डाँडी गीतहरू[सम्पादन गर्ने]

डाँडी गीत मारूनी नाचको मेरुदण्ड हो । डाँडी गीतमा नाच्न, गाउन र बजाउन विशेष सीप चाहिन्छ । ढिलो नाँच, लामो भाका र फरक फरक ताल डाँडी गीतका विशेषता हुन् । आम दर्शकहरूलाई यो गीतको नाच मन पर्दैन । डाँडी गीतमा नाच ढिलो हुन्छ, गीतको लय पनि गाह्रो हुन्छ र मादलको ताल पनि गाह्रो हुन्छ । दर्शकहरू नभएको बेला समय बिताउनको लागि डाँडी नाच नाच्ने गरिन्छ । तालमेल नमिल्ने भएकाले नाच्नेलाई पनि दिक्क लाग्छ । यदी गाउने, बजाउने र नाच्नेको तालमेल मिल्यो भने यो नाचको बेग्लै प्रभाव हुन्छ र नाचमा पनि निकै रमाइलो महसुस हुन्छ । यो नाचले नाच्ने, गाउने र बजाउनेलाई निकै मख्ख बनाउँछ । डाँडी नाचमा रमाउँदा देवीले समात्छन् भन्ने मत रहेको छ ।[७] देवीले समात्नु भनेको मोहीत हुनु वा बेखबर हुनु पर्छ । यस्तो बेला नाच्ने, बजाउने र गाउने मान्छेहरू रमाईलोमा चुर्लुम्म डुब्ने गर्दछन् । आफु नाच्दा कसले के गर्दैछ, कसलाई दर्शकले हेर्दैछ भन्ने कुराको थाह हुन्न । रक्सीले मातेर लठ्ठिएको अनुभुती हुन्छ । एउटा डाँडी गीत नाच्न कम्तिमा पनि एक घण्टाको समय लाग्छ । नगेनी डाँडी, ढल देवी डाँडी, गुरु डाँडी, शिशुपाल डाँडी, निम्तो डाँडी, गर्भ डाँडी, विहे डाँडी, महस्तीको फूल डाँडी आदी डाँडी गीतहरू रहेका छन् । युवाहरूले डाँडी गीतमा त्यती चाँसो राख्दैनन् । नाच्ने क्रममा डाँडी गीत आरम्भ हुने बित्तिकै युवाहरू नाच छोड्न थाल्छन् । यस कारण मारूनी नाचको मेरूदण्ड मानिएको यो डाँडी गीतको नाच अब प्रायः सबै ठाउँमा छुटी सकेको छ । नाच बाँध्ने बेला कालरात्रीको दिन देवी मन्दिरमा एक चरण ढल देवी डाँडी गाउनै पर्छ भन्ने मान्यता छ । प्रत्यक डाँडी गितको एक झुमरी हुन्छ । ढल देवी डाँडीका शब्दहरू यस प्रकार रहेका छन् :-
तुमारैमा ढलदेवी -२, यसुरान सुहाय तुमारैमा
हारे तुमदेवी कालिका हाय पुजैला
तुमारैमा ढलदेवी -२, यसुरान सुहाय तुमारैमा
हारे यहिला हो कालिका शरण गनझिर
तुमारैमा ढलदेवी -२, यसुरान सुहाय तुमारैमा
हारे ईरगावोन्त लिलादेवी मिरगावन्त छाईजा
जता हेरौं गंगाजल -२ निरमुल राजै जता हेरौं
हारे मारी हालौं यसुरान साढी हालौं सुहाय
जता हेरौं गंगाजल -२ निरमूल राजै जता हेरौं
हारे उचै हो रे घर घर निचे दुवार
नही र सुनी राजै -२ बोलियाको नही र सुनी
हारे घर घर कुयाँली बन्दन बरू छाईजा
पर जाओ लोग -२ सबै दुखदास परजाओ
हारे बरिमाल भन्यो सुनी -२ सबै सबो सङ पायो

[७]

झुमरी गीत
हरेक डाँडी गीतको एउटा झुमरी हुन्छ । एउटा झुमरी गीत गाउन सामान्यतया एक घण्टा लाग्छ ।[७] डाँडी गीत गाएर सकिए पछि झुमरी गीत गाउनु पर्ने हुन्छ । डाँडी गीत नगाईकन झुमरी गीत गाउन हुन्न भन्ने प्रचलन रहेको छ । डाँडी गीतको तुलनामा झुमरी गीतको नाच रमाईलो हुन्छ । डाँडी गीतमा वाक्क दिक्क भएर बसेकाहरू झुमरी गीतको नाच आरम्भ गर्ने बित्तिकै फेरी तरङ्गित हुन थाल्छन् । झुमरी गीतमा एउटै शब्द र वाक्यलाई बारम्बार दोहोराउँदै गाउँने गरिन्छ । माथी प्रस्तुत गरिएको ढलदेवी डाँडी गीतको झुमरी यस प्रकार रहेको छ:-
एसा न हो कि र मन मेरो -२
हा हा कवोन कि गुन पिया हो हामु तेज गयेला
एसा न हो कि र मन मेरो
हो हो तीने युग भैले
हा हा कवोन कि गुन पिया हो हामु तेज गयेला
एसा न हो कि र मन मेरो हा हा मै मरेकी एसा न हो कि र मन मेरो
हो हो उनै युग भैले
हा हो बारहै बरिषको पिया हो हामु तेज गयेला
एसा न हो कि र मन मेरो मै मरेकी एसा न हो कि र मन मेरो
हे हो ईरख ईरख भैले
हा हा कवोन गुन पिया हो हामु तेज गयेला
एसा न हो कि र मन मारो हा हा मै मरेकी एसा न हो कि र मन मेरो
हा हो ईनै ईरख भैले
हा हो बारहै बरिषको पिया हामु तेज गयेला
एसा न हो कि र मन मेरो हा हा मै मरेकी एसा न हो कि र मन मेरो'
[७]

समापन गीतहरू[सम्पादन गर्ने]

मारूनी नाचको अन्तिम चरणमा गाइने गीतहरूलाई समापन गीतको रुपमा वर्गिकरण गरिएको छ । अन्त्य गीतहरू गाएर नाचे पछि मारूनी नाच समापन गरिन्छ । मारूनीको वस्त्र फुकाउने गीतहरू, आशिका गीतहरू आदी रस चरणमा आउँछन् ।

मारूनी फुकाउने गीतहरू
मारूनी नाचको अन्तिम दिन मारूनी फुकाउने गीतहरू गाएर मारूनीले लगाएका कपडा गहना आदी फुकाल्न लगाइन्छ। केही फुकाउने गीतहरू:-
शिरैको शिरफूल खोलेर राख, हिजो थीयौ जनाना आज मरिद
आङको चोलिया खोलेर राख, हिजो थियौ जनाना आज मरिद
[८]

यसरी नै फुकाउने गितहरू गाएर मारूनीको पहिरन उतार्न लगाएर मारूनी नाचको समापन गरीन्छ।

आशिष दिने गीत
आशिष दिने गीत नाच्ने समूहको तर्फबाट घरबेटीलाई आशिष दिंदा गाइन्छ । यस्ता गीतलाई आशिका अथवा आशिक दिने गीत पनि भनिन्छ । यो गीत गाउन करिब ५५ मिनेटको समय लाग्छ ।[७] "मुखियाको नामै सुनी आयौं हामी खेलन" भनेर आशिका गीतको सुरुवात गरिन्छ । अरु दिनको औपचारीक नाचमा आशिका गीत गाउने गरिन्न । नयाँ घरको पछेटा, छोराको न्वारन, पास्नी जस्ता खुशीको अवसरमा नचाइने मारूनी नाचमा आशिका गीतहरू गाएर घरबेटीलाई आशिष दिइन्छ । मारूनी नाच्दा नाच्नेहरूलाई दान दक्षिणा दिनको लागि तयार भएको बेला आशिका गीत गाउन थालनी गरिन्छ । नाच्नेहरूले आशिका गाउन थाले पछि घर परिवारका सबै जना नाच हेर्न आशनमा बस्छन् । गीत गाउने बेलामा नाच्ने समूहका सबैले नाच्दै गाउदै आशनमा बसेका सबै जनालाई फूलमाला र टिका लगाउने गर्छन् । घर परिवारका सदस्यहरूले नाच्ने समूहलाई दिन भनेर एक नाङ्लोमा गक्ष अनुसारको रुपैयाँ धान र सगुन अगाडी राखेर आशनमा बस्नु पर्ने चलन छ । [८] घर परिवारका महिला सदस्यहरूले नाच्ने समूहका गुरु, मादले, मारूनी र लाखेलाई पनि टिका र फूलमाला लगाइ दिन्छन् । मारूनीले नाङ्लो उचालेर टाउकोमा राखेर नचाउँदाको दृष्य निकै रमाइलो हुन्छ । सिपालु मारूनीले त दुवै हात छोडेर धानले भरिएको नाङ्लो टाउकोमा राखेर फन फनी नाच्छन् । आशिका गीत गाउँदा लाखेले घर परिवारका सदस्यहरूका गाला मुसार्दै, जुङ्घा मुसार्दै पैंसा माग्छ । घर परिवारका सदस्यहरूले आशन मुनी आफ्नो गछे अनुसार पैंसा राखेर बस्छन् । आशिका गीतहरू ठाउँ र समूदाय अनुसार फरक फरक हुन्छन् । आशिका गितका केही चरणहरू यस प्रकार रहेका छन् ।
मुखियाको नामै सुनी आयौं हामी खेलन
मदेशको काँस र तामा -२, भरी भराउ हवैला
पर्वतैको सुन र नुन -२, भरी भराउ हवैला
तिन र कन्या पाँचै र पुत्र-२, लाखै बरिष जिवैला
मुखियाले दिएको दान -२, कुमै चढाएम्
मुखियाले दिएको दान -२, शिरै चढाएम्
[७]
यस्तै शब्दले भरिएका गीतहरू गाउँदै आशिष दिने गीत सकिए पछि घर परिवारका सदस्यहरूले आशन छोडेर जानु पर्ने हुन्छ । घर परिवारका सदस्यहरूले आशन छोडेर गएपछि नाच्ने समूहले आशन उठाएर छोडेको पैंसा बटुलेर राख्छन् । [८]

मरुनी नाचमा प्रयोग हुने बाजाहरू[सम्पादन गर्ने]

मारूनी नृत्य एक परम्परागत नृत्य भएकाले यस नृत्यमा परम्परागत बाजाहरूको नै प्रयोग गरिएको पाइन्छ । मारूनी नाचमा प्रयोग हुने बाजामा मादल मुख्य बाजा हो, मादलमा एक गुरु मादल पनि हुन्छ । मादल मादलेहरूले कमरमा भिरेर बजाउदै नाँच्दछन् । मरूनी नाचमा बजाउन प्रयोग हुने मादल अन्य मादलहरू भन्दा ठुलो र बलियो हुन्छ । यसै गरी खाँकर अर्को मुख्य बाजा हो, खाँकरलाई मारुनी, पुर्सिङ्गे तथा मादलेहरूले नाँच्दा खुट्टामा लगाउँछन्। खाँकर एक पितल र काँसको मिश्रण धातु (जसलाई नेपालको गाउँले भाषामा "भरत धातु" पनि भनिन्छ) बाट बनेको गोलाकार रिङ हो । रिङ भित्र साना साना फलामका गोटीहरू भरेको हुन्छ, जसले गर्दा खाँकर हल्लिदाँ "छम-छम" गरेर बज्दछ । यसै गरी मुजुरा मारूनी नाचमा प्रयोग गरिने अर्को बाजा हो । मुजुरा गायक टोलीले बजाउने गर्छन् । परम्परागत मारूनी नाचमा अन्य बाजाहरूमा बाँसुरी, बिनायो मुरचङ्गा, हार्मोनियम, गितार, सारङ्गी आदी बाजाहरूको प्रयोग भएको त कतै भेटिएको छैन तर आधुनिक मारूनी नाचमा यि बाजाहरूको पनि प्रयोग गर्न सकिन्छ ।

चित्र सङ्ग्रह[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ "मारुनी नाच जोगाउँदै स्थानिय", कान्तिपुर, २०१८/०९/१५। 
  2. "लोपोन्मुख मारुनी संरक्षणमा पर्वतका युवा" (नेपालीमा), सेतोपाटी 
  3. "मारुनी नाच संरक्षणमा स्थानीय" (नेपालीमा), नागरिक नेटवर्क, ३१ साउन २०७५। 
  4. "मगर समूदायको लोकप्रिय मारुनी नाच" (नेपालीमा), म्यादीकाली, २६ मंसिर २०७४। 
  5. "मारुनी नाच संरक्षणमा पर्वतका युवाहरु जुट्दै" (नेपालीमा), redionrn, १४ बैशाख २०७४। 
  6. "मगर समुदायको मारुनी नाच जोगाउँदै युवा" (नेपालीमा), कान्तिपुर साप्ताहिक, १९ मंसिर २०७४। 
  7. ७.०० ७.०१ ७.०२ ७.०३ ७.०४ ७.०५ ७.०६ ७.०७ ७.०८ ७.०९ ७.१० ७.११ ७.१२ ७.१३ ७.१४ ७.१५ ७.१६ ७.१७ ७.१८ ७.१९ ७.२० ७.२१ ७.२२ "मारुनी नाच एक परिचय", पाल्पा समाचार, ५ जनवरी २०१८। 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ ८.७ ८.८ ८.९ दैलेख जिल्लाको पिपलकोटका मगर समुदायले नाच्ने मारूनी नाचका गुरु तथा पूर्व गाविस उपाध्यक्ष पदमबहादुर बुढा

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]