सामग्रीमा जानुहोस्

मयूर नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मयूर नाच रुकुम जिल्लाको साँस्कृतिक चिनारी मध्यको एक महत्त्वपूर्ण नाच मान्निछ । रुकुमका स्थानीयहरु यो नाच विशेष गरी दसैँ तिहार तथा विशेष जमघट, पूजाआजा गर्ने जस्ता महत्त्वपूर्ण समयहरूमा प्रदर्शन गर्ने गर्दछन् ।[१]

मयुर नाच के हो ?

मयुर नाच खासगरी कर्णाली प्रदेशको सल्यान तथा रुकुमको प्रसिद्ध परम्परागत नाच हो । यो नाच जाजरकोट, सुर्खेत, बाँके, बर्दिया र दाङमा पनि नाचिन्छ । यो नाच दशैँदेखि तिहारसम्म र मेलापर्वहरूमा पनि नाचिन्छ ।

नाचको समूहमा १२ देखि २२ जनासम्म नचारु हुन सक्छन् । जोडा सङ्ख्या भने अनिवार्य हुनुपर्छ । उमेरको कुनै हद हुँदैन । तथापि एउटै उमेर समूह र एउटै उचाइ भएमा अझै सुन्दर देखिन्छ । नचारूहरू नाचमा भने पोख्त हुनुपर्छ । नयाँ नचारूले पहिल्यैदेखि एकदुई महिनाको तालिम लिएका हुन्छन् ।

पहिले यसलाई गरूवा नाच वा स्यारेङ्गे नाच पनि भनिन्थ्यो । मयुरको प्वाँखलाई कलात्मक तरीकाले कपडामा बुनी ऐनाहरू जोडिएको आकृतिलाई गरुवा भन्ने गरिन्छ । गरुवा पहिरेर नाचिने भएकोले गरुवा नाच भनिएको हुनुपर्छ । खासगरी २२ दाप्का १ देखि २२ चोटी लठ्ठी जुधाउने नाचको ताल हुन्छन् र थप अन्य हाउभाउ पनि हुन्छन् । सिठ्ठी बजाउँदै अगुवाले जुन ताल झिक्छ पछाडिकाले पनि त्यही ताल समात्नुपर्ने हुन्छ । तर मादलको ताल बुझेमा अगुवालाई हेरिरहनु पर्दैन । नाचलाई दिशा निर्देशित गर्ने वादकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । वाद्यवादन सामग्रीमा झ्याली, मादल, डौँरी तथा मुरली हुन्छन् ।

नचारूको निश्चित पोशाक हुन्छ । गरुवालाई कम्मरमा बाँध्ने प्रत्येकको रुमाल हुन्छ । नचारू (केटाहरू) ले सेतो धरो गुथ्छन् जो यहाँको परम्परागत पहिरन पनि हो । एकै प्रकारको कमिज र इष्टकोट पहिरन्छन् । हरेकले खुट्टामा नेवर (पैँचन) पहिरेको हुन्छन् । वाद्यवादन सामग्रीसँग नेवरहरू बज्दा सेरेङ सेरेङ बज्ने निकै सुमधुर ध्वनी निस्कन्छ । नचारूले हात खुट्टा कमर र जीउ विभिन्न भावभङ्गीमा हल्लाउँदै नाच्छन् । मुख्य गरी खुट्टाले ताल हान्न जान्नुपर्छ र हातका पञ्जा फिरफिर पार्न जान्नुपर्छ । हातको माझी औँलामा गोलो प्रकारको आकर्षक छाप्री लगाएका हुन्छन् ।

अगुवादेखि पछुवासम्मले लगाउने गरुवाको डिजाइन र ऐनाको सङ्ख्या पनि क्रामसङ्ख्याअनुसार अलग अलग हुन्छ । लठ्ठीहरूलाई पनि आकर्षक रूपमा सिँगारिएको हुन्छ । अगुवाको लठ्ठी पनि विशेष प्रकारको हुन्छ ।

हाल आएर आधुनिक लय, आधुनिक बाजामा केटा र केटी दुवैले यो नाच (रिमिक्स) नाच्ने गर्दछन् । जसले नाचमा थप सुन्दरता र आकर्षण त पैदा गरेको छ तर परम्परागत गरुवा नाच भने लोप हुँदै जाने जोखिम पनि बढेको छ ।

जब कसैको घरमा यो नाच नाच्न सुरू गरिन्छ मादलको ताल सुनेर गाउँलेहरू जुनसुकै स्थानमा भए पनि एकैछिनमा नाच्ने थलोमा उपस्थित भैहाल्छन् । कोही भैँसी दुहुँदा दुहुँदै, कोही दाउरा घास काट्दा काट्दै, कोही हल्लो जोत्दा जोत्दै, आफ्नो काम स्थगित गरेर फुरुरङ्ग पर्दै उफ्रँदै आउँछन् र नाचको रौनक अरू थपिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]