चैत गीत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चैत गीत नेपालको मध्य तथा सुदूर पश्चिममा प्रचलित गीत हो । सुदूर पश्चिममा गाइने चैतलाई विशेष गरेर गौरा पर्वका समयमा सार्वजनिक ठाउँमा या गौरा घरको आगनमा गाउँघरका पुरुषहरू जम्मा भइ गोलाकार घेरामा आवद्ध भएर गाउँदै घुम्दै खेल्ने गर्दछन् । धमारी तथा देउडा जस्तै गोलो घेरा बनाएर गाइने यो नृत्यमा देउडा र धमारीको जस्तै पदचाल र हस्त मुद्राको तालमेल मिल्नु पर्दछ । चैत भन्नाले कुनै पनि वीर पुरुषको चरित्र गाथा भन्ने बुझिन्छ । यसको आफ्नै नियम हुन्छ । पदचालमा गीतको कुन पंक्तिको कुन शब्दमा खुट्टा उठाउने, सार्ने या घुम्ने हो कमर कसरी बटार्ने हो । हात कुम छाती र माथिल्लो शरिरलाई कसरी लचकदार बनाउने भन्ने आफ्नै नियम हुन्छ । यसमा पदचाल सामान्य देउडाको भन्दा फरक र विशिष्ठ शैलिको हुन्छ । चैत गाउने सहभागीहरूको सिमा तोकिएको हुँदैन । आवस्यकता अनुशार सहभागीहरू बढ्न र घट्न सक्दछन् । चैत गीतमा देवी देउता भगवानको अवतार, राजामहाराजा शक्तिशाली पैकला वीर विरङ्गनाहरूको चरित्र गाथा प्रस्तुत गरिन्छ ।[१]

केही चैतहरू[सम्पादन गर्ने]

चैत मध्यको एक चैत पिरी बोहराको चैत हो । पिरी बोहरा तत्कालिन डोटी राज्यका सेनापति थिए । कुमाउँ राज्यले डोटी राज्य माथि युद्धको घोषणा गरेपछि तत्कालिन डोटेली राजा हरि शाही प्रथमले डोटी राज्यको नेतृत्व गर्दै दलबल सहित पिरी बोहरालाई कुमाउँको युद्धमा लड्न पठाएका थिए । पिरी बोहराले कुमाउँको युद्धमा निकै रण कौशल देखाएका थिए । तर अन्तिम चरणमा लड्दालड्दै वीरगति प्राप्त गरेका थिए । त्यो युद्धमा डोटी राज्यले एक वीर पैकला गुमाउनु पर्दा डोटीका तत्कालिन राजाले युद्धमा भए गरेको सम्पूर्ण घटनाको सार संक्षप प्रस्तुत हुने गरी चैतको रचना गर्न लाएका थिए । आज पनि सुदूर पश्चिमका जनता चाड पर्वमा विशेष गरेर गौरा पर्वको अवसरमा आफ्नो राष्ट्रिय समाज र स्वजातिय अस्तित्वकोलागि आफ्नो जीवन उत्शर्ग गर्ने वीर शहिद प्रतिको श्रदा प्रकट गर्ने उद्देस्यले यस्ता वीर गाथाहरूलाई प्रस्तुतीको रुपमा गाउने गर्दछन् । [१] पिरी बोहराको चैत गीत यस प्रकार रहेको छ :- [१]

डोटी कुमाउँ ढुकुरी कीखेट, पीरी मल्ल चलिया रैका जुकी भेट
पिरी मल्ल कुवार बिजय चन्द बाले तपी राम शाहीको कुमाउँ पैकलाकी रोज
मारी हाल्यो बकरी बनाइहाल्यो भोज, डोटेली कुमाउँ पैगलाकी रोज
कुमाउको पैगलो बिजय चन्द होइन, डोटीको पैगलो गढ पिरी बोहरा होइ
जाओ जोलिया चेला निन्तोला जानु, निन्तोला गई पिरी बोहरालाई बोलाई कोट ल्याउनु
सोही पिरी बोहराको घर त रायन, उच्चो महल होली पोली आगन
बाउँ हात बरजी दाइना हात साइ, बाउलो लुलाइ बोहरा बसीजालो जाइ
पहुँचो जोलिया चेलो निन्तोलाजाई, आजभोली बहरी बैठी सवाइ
आजभोली बोहराकी बैठी सवाइ तुमकन बोहराकी बैठी सवाई तुमकन बोहरा ज्यु कोट बोलाई छ
कालो त कोट थियो आज के बोलायो, तुम पर राजाकी दुनीमाया भइछ, दुनी माया जन बोल कुमाया भइछ
पहिली त कही हाल्यो मुखै की बात, उती खोईहाल्यो ककलैकी पात
घोडा चढी छटौ छइट घोड चढी आस, पैयाहिटी छटै छइट पैयाहिटी आस
भात खाई छटौ छइट भात खाई आस, भोकै जवती छटौ छइट भोकै कोट आस
ताँ भात खा बोहरा यहाँ हात चुठ, ताँ घोडा कस बोहरा यहाँ घोडा चढ ।
ताँ बागो पहिर यहीं फेटा कस
भाई जितारो सँग मेरो बोललेन सुनमथ बामन सुइत हेराइ देन
बामन सुनभात विन्ती मेरी लिय पिथौरागढकी सुइत केराइदिय
हालि हाल्यो भुलौटी हेरीहाल्यो पाती आजभोली बोहरा ज्यू सुइत लिइ न आथी
भाइ जितारे सँग बहिनी नहुन्छ पौनी विन्तुहेराली कीत जोकोइ लगाईन आउन
हातकी हैरौता धुलौट राखी फिरी हाल्यो धुलौटी फिरीहाल्यो
साइत मिलाइ हाल्यो बुधवार राती
भाई जितारो सँग मेरो बोल लेन हतियार पतियार केरो बाहिर सारी
बोहराकी ज्युनार पाकिगया झर सातका सतिया भाइको बासिगया घर
ता है बोहराले चलभलो किया धौनु धिपाउनु बोहराको कोट पहुँच्यो जाय
घोडो बाँध्यो दुबी चौर आफु गयो सवाइ
को हसो जन्म भूमी के हो तेरो नाउँ निन्तोला जन्म भूमी पिरो बोहरा नाउँ
कैको पुत कैको तु जाय कुजरै कृष्णको पुत बोहरा काथारानी जाय
कैको पुत बोहरा कैको तु नाती कुजरैको पुत बोहरा विष्णु नाती
नई ढोग ढोगी बोहरा नई सेवा लाइ हाल्ला ढाई राजै सेवा आल्ला राई

पिरी बोहराको मृत्यु पश्चात वियोगात्मक दुस्को गायन :-

लोही रगत भिजिरहेछ पिरी बोहराको गौतैको बागो पिरी बोहराको
पहरिल लैया पिरी बोहराको माथाकी शाही पिरी बोहराको
पहरिल लैया पिरी बोहराको पुनको छोरो पिरी बोहराको
पहरिल लैया पिरी बोहराको छ कसे बालो पिरी बोहराको
पहरिल लैया पिरी बोहराको ढाल तरवार पिरी बोहराको
पहरिल लैया पिरी बोहराको खुँडा खुकुरी पिरी बोहराको
पहरिल लैया पिरी बोहराको खाँडो कटान पैरी बोहराको
पहरिल लैया पिरी बोहराको बाउलीको बाउँडा पिरी बोहराको
पहरिल लैया पिरी बोहराको घुम्रेली जुल्फी पिरी बोहराको ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]