धमारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

धमारी नेपालको सुदुर तथा मध्य पश्चिम सँगै भारतमा पर्ने कुमाऊँ, गढवाल आदि क्षेत्रहरूमा जनस्तरबाट सिर्जित लोकभावनाको अभिव्यक्ति र त्यहाँका जनमानसका अन्तरहृदयबाट उद्घाटित भावनाको सहज उद्गारमा आबद्ध आख्यानात्मक अलिखित साहित्यलाई बुझाउँछ । अलिखित, जनश्रुतिमा आधारित, अज्ञात रचयिता, सहज जनउद्गार लोकसंस्कृति र ऐतिहासिकताको संवाहक, कोरा औपदेशिकताको अभाव, आख्यानात्मकता, स्थानीयताको प्रचुरता, वस्तुपरकता, भाषिक सरलता, मनोरञ्जनात्मकता आदि धमारीका प्रमुख विशेषता हुन्। सुदुर पश्चिमेली लोकसाहित्यमा धमारीको आफ्नो छुट्टै विशिष्ट स्थान र पहिचान छ र सामाजिक मूल्य र मान्यताबोध र सम्बर्द्धनमा धमारीले महत्वपूर्ण भूमिका खेलेको छ। मूलतः भक्तिभावमा आधारित भएर पनि धमारीहरूले मानवीय मनोभावहरूका अलावा विभिन्न अवस्थामा गरिने क्रियाकलापलाई पनि समेटेको पाइन्छ। मानव जीवनमा नैतिक चेतनाको जागरण गराउने, मनोरञ्जन प्रदान गर्ने, सामूहिक सांस्कृतिक मूल्य बोकेको साहित्यिक उपविधाको रूपमा धमारी रहेको छ। समाजमा गुरूको स्थान ओगट्न सफल लोकगाथा अन्तर्गत रहेको धमारी अन्य ठाउँको जस्तो अस्वाभाविक तथा देखावटी मात्र नभई वास्तविक समाजको चित्रण गरी यसले समाजमा दर्पणको कामसमेत गरेको छ। धमारीमा विशेषगरी देवी-देवताको भक्ति तथा महिमा गान, अनुकरणीय वीरपुरुषको जीवन चरित्रदेखि लिएर त्यहाँको जनजीवनसँग सम्बन्धित रहनसहन, लवाई-खवाई , वेषभूषा, कलाकौशल, सुख-दुःख, मिलन-विछोड, आदर्शमुखी नैतिका अतिरिक्त चोरी, डकैती, ठगी, नारीहरूको चरित्रहत्या, थिचोमिचो, विभिन्न परिस्थितिवश आफ्नो जन्मभूमिलाई त्यागेर मुग्लान पस्नुपर्नेजस्ता वास्तविक कुराहरूको यथार्थ चित्रणसमेत गरिएको पाइन्छ। उदाहरणका लागि श्रीकृष्ण, गणेश, सीता, रघुनाथ, पार्वती, नाग आदिका धमारीलाई लिन सकिन्छ। यी विभिन्न क्षेत्रमा गाइने धमारीमा ध्वनि भिन्नता भए पनि आख्यानात्मकमा एकरूपता पाइन्छ। यिनका कतिपय पक्षहरू एक अर्को ठाउँसँग मेल खान्छन् भने कतिपय पक्षहरू फरक हुन्छन्। कुनै पनि साजसज्जा शृङ्गारपटारविना गाइने धमारी यसै अवसर वा पर्वमा मात्र गाइन्छ भनी किटान गर्न सक्ने अवस्था नभए पनि मुख्यतया सुदूरपश्चिममा महत्वपूर्ण पर्वका रूपमा मनाइने गौरापर्वमा विशेषगरी गाइन्छ। यसका अतिरिक्त नवजात शिशु जन्मेको छैटौँ दिनमा छैटी खेल्दा, स्थानीय देवीदेवताको जाँत (जात्रा) गर्दा आदि पर्व विशेषमा गाउने चलन छ। यस्ता अवसरमा गाइने धमारीलाई धमारी खेल्ने पनि भनिन्छ। यसरी गाइने धमारी लामो लर्को तानेर सङ्गीतमय शैलीमा गाइन्छन्। धमारी गाउने गायकहरू अर्धगोलित पङ्क्तिमा दुई समूहमा विभाजित भई प्रत्येक पदलाई दुवै समूहले दुईदुई पटक गाउँछन्। ती गायकहरूमध्ये धमारी मुखाग्र भएका एकजनाले आफ्नो समूहका सबै गायकले सुन्नेगरी धमारी गीत भन्ने गर्छन्। धमारी गीत भन्ने मान्छेलाई गितेरु भनिन्छ। धमारी गायकहरू लोकगीतभन्दा छुट्टै दोहोरो, पैतलो (खुट्टाको चाल) चली सिङ्गो जिउ झुकाएर हातको इसाराका साथ एकै स्वरमा गाउँछन्। यसमा देउडा खेलको जस्तो हातेमालो गरिदैन। यस प्रकारले धमारी खेल्दा ढोल (ढालेक), झाँझ (मुजुरा), ठाडोवाजो (नरसिंहेबाजा) आदि वाद्यवादनका साधनहरू बजाउँदै धमारी खेल खेल्ने चलन छ । जनमानसका अन्तहृदयबाट उद्घाटित भावनाको सहज उद्गारमा आबद्ध आख्यानात्मक अलिखित साहित्यलाई बुझाउने यस धमारीले सुदूरपश्चिमेली समाजका रीतिरिवाज, रहनसहनलाई झल्काउने काम गरेको छ। सुदूरपश्चिमेली समाजको वास्तविक जीवन बोकेको धमारी आधुनिकताको चपेटमा प‍रेर लोप हुने अवस्थामा पुगेको छ ।[१]

धमारी शब्दको अर्थ[सम्पादन गर्ने]

धमारी शब्दको व्युत्पत्ति धमार+ईबाट भएको देखिन्छ । धम+आरबाट व्युत्पन्न भएको धमारी शब्दमा धमले एक किसिमको आवाजलाई सङ्केत गर्छ भने धमार शब्द सङ्गीतशास्त्रमा निकै प्रचलित शब्दको रूपमा रहेको पाइन्छ। धमारी शब्दले एक किसिमको गेयात्मक रागलाई बुझाउँछ भने लोकप्रचलनमा धार्मिक तथा अन्य विभिन्न उत्सव तथा पर्वहरूमा गाइने गीत विशेषलाई पनि सङ्केत गर्दछ । समाजमा भूतप्रेत वा मानिसकै कुदृष्टि परी मानिस वा वस्तु बिरामी परेको अवस्थामा बल्दो आगोमा सुकेको खुर्सानी, गन्धक तथा अन्य जडिबुटी हाली त्यसको धमार (धूवाँ) दिएमा बिरामी मानिस, वस्तु निको हुन्छ भन्ने अर्थमा समेत धमार शब्द प्रयोग भएको पाइन्छ।[१]

धमारी का विविध रूप[सम्पादन गर्ने]

प्रस्तुत गरिने स्थान अनुसार धमारी गीतका विविध रुपहरू रहेका छन् । यि भिन्न भिन्न गीतका आधारमा धमारीलाई निम्नानुसार विभाजन गर्न सकिन्छ ।

१) धार्मिक र पौराणिक धमारी
पुराणमा भएका किम्बदन्तीहरूलाई आख्यानीकरण गरी गाइने धमारीलाई पौराणिक धमारी भनिन्छ। यस्ता धमारीहरू जस्तैः गणपति (गणेश)को धमारी, भागेश्वरको धमारी, दुर्गा देवीको धमारी, गौराको धमारी, राम धनुषको धमारी, कृष्णको धमारी, गोविन्दको धमारी, राधाको धमारी, रुक्मिनीको धमारी आदि विभिन्न धमारीहरू पौराणिक धमारी अन्तर्गत पर्दछन्। यस्ता धमारीका केही अंशहरू यसप्रकार छन्
हिउँ हिमाञ्जल पानीका छाया
सातभाइ महालिङ्ग उत्पन्न भया
उत्पन्न भया मानाराया गया
मानाराया गया सुनगुफा पस्या

उपर्युक्त चार पङ्क्ति भागेश्वर देवताको धमारीबाट लिइएका हुन्। यसमा शिवलिङ्गको उत्पत्ति र तिनीहरूको बस्ने स्थानका बारेमा आख्यानीकरण गरी गाउने गरिन्छ।
इनरा विन्नरा वन सुती सीता रानी
सुती सीता रानी सपनु भयो
ससुराज्यू दशरथ मेरो विन्ती लउन
आजको सपना मेरो विचार अरी देउन
माथिका यी चार पङ्क्तिमा सीता रानीवनमा सुतेका बेला सपना भयो र त्यस सपनालाई आफ्ना ससुरा दशरथलाई सुनाउन खोजेको अवस्थाको वर्णन गरिएको छ। सीताले नराम्रो सपना देखेकी छन्। अब सङ्कट आउने भयो भन्ने चिन्ताले आफूले देखेको सपनालाई भनेको प्रसङ्ग यस धमारीमा देखाइएको छ।[१]

२) ऐतिहासिक धमारी
इतिहाससँग सम्बन्धित विषयवस्तु अभिव्यक्त गरी कथिएका धमारी ऐतिहासिक धमारी हुन्। यस्ता धमारीमा पहिलेका राजा(महाराजाले गरेका कार्यको वर्णन गरिन्छ। जस्तै:- नागमल्लको धमारी, रघुनाथ शाहीको धमारी आदि।

माथि उल्लिखित धमारीहरूका ठाउँपिच्छे भिन्न स्वरूपका मूलपाठहरू पाइन्छन्। यसरी प्राप्त विभिन्न धमारीका मूलअंशको नमुनाका रूपमा रघुपतिको धमारी।
विपति पडौजन कोई, रघुपति विपति पडौजन कोई
ए ! पइलि विपति पडी दशरथ राजा सौँ।
ए ! भानिजको पाप लगाई- रघुपति विपत्ति पडौजन कोइ।
विपति पडौजन कोइ रघुपति विपत्ति पडौजन कोई।
ए ! दोसरी विपत्ति पडी बे रामचन्द्र राजौँ सौँ।
ए ! चौद्ध बरष वनवास रघुपति विपति पडौजन कोई।
विपति पडौजन कोई रघुपति विपत्ति पडौजन कोई।
ए ! तेसरी विपत्ति पडी सत्यकी सीता सौँ।
ए ! रावरणले लङ्का पुर्‍याइ रघुपति विपत्ति पडौजन कोइ
विपति पडौजन कोइ रघुपति विपत्ति पडैजन कोई
ए ! चौथी विपति पडी लछिमन भौल्या सौँ।
ए ! बारवर्ष निरहारी रघुपति विपति पडौजन कोई।
विपति पडौजन कोई ।
माथि उल्लिखित रघुपतिको धमारी त्रेतायुगीन अयोध्याका राजा दशरथ र उनका छोरा राम-लक्ष्मण, बुहारी सीता तथा इष्टको भूमिका निर्वाह गरेका हनुमानको जीवनमा आइलागेका ठूलाठूला आपत्ति-विपत्तिको वर्णनमा आधारित छ। प्रस्तुत धमारीको आकार पूरै नभए पनि रामायणमा वणिर्त विस्तृत विषयवस्तुलाई यस धमारीले ओगटेको छ। यस धमारीमा प्रयुक्त पडी सौँ, कोई, जन आदिजस्ता शब्दको प्रयोग र तिनको पुनरावृत्तिले प्राचीनकालीन अनुप्रासयुक्त भाषाको संस्मरण गराएका छन्। अयोध्यावासी राजा दशरथले झुक्किएर आफ्नै मानिसलाई वाणहानी मारेको, रामले राज्य त्यागेर वनवास जानु परेको, सीतालाई रावणले हरण गरेको, लक्ष्मणले बाह्र वर्षम्म निराहारी जीवन बिताउनु परेको जस्ता विषयवस्तु यस धमारीले बोकेको छ।[१]

१) सामाजिक धमारी
लोकजीवनका विभिन्न पक्षलाई झल्काउने सामाजिक जीवनमा नै घटेका समसामयिक विषयवस्तुभएका, मनोरञ्जन गर्नका लागि गाइँदै आएका धमारीलाई सामाजिक धमारी भन्न सकिन्छ। यस्ता धमारीहरू कलि युगको धमारी, पवर्त वर्णनको धमारी, बरुवालक मेरो स्वामीको धमारी, वारमासेको धमारी, अन्न रसकी धमारी, पुत्र विदेश जाँदाको धमारी। बनौराको धमारी, भोर दिन साउन लाग्यो धमारी आदि हुन्। पुत्र विदेश जाँदाको धमारीका केही अंश:
राइझुमा राइझुमा माल जानदे
एकल्याको पुत्ररै छ माल जानदे
उरनको चोलो ल्याउँला माल जानदे
दाज्यू मालगया कहिले आउला फर्की
लेक उन्यू फुलिजाला उहिले आउँला फर्की
ताल माछा बोलिजाला उहिलै आउँला फर्की
गाडसिली पलाईजाला उहिलै आउँलो फर्की
मालको सर्‍याटो लागि मालै रयो छ
होइन होइन गोठालादाइ मेरो विन्ती लेउन
ताल माछो बोल्या छकि खवर सुनाइ देउन
गाड सिली पलायोकी ....।

माथि उल्लिखित 'पुत्र विदेश जाँदाको धमारी'ले सुदूरपश्चिमको वास्तविक समाजको चित्रण गरेको छ। आर्थिक सङ्कटले छोराहरू सानैदेखि मुग्लानतिर पस्न बाध्य भएको समाजको वास्तविकता यस धमारीले दिन खोजेको छ। विदेशबाट र्फकन प्रायः असम्भव जस्तै हुने अवस्था यसमा एक्लै छोरालाई बाहिर पठाउँदाका आमाका वेदना, श्रीमतीको सम्झनाका साथै भाइबहिनीको माया हुँदाहुँदै पनि तिनीहरूलाई छोड्न विवश भएका युवाले आफ्नो पीडालाई व्यक्त नगरीकनै उनीहरूलाई आश्वासन दिइरहेको प्रसङ्ग यसमा झल्केको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]