हुड्केली नाच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हुट्केली नाचको एक झलक

हुड्केली नाच अथवा हुड्के नाच नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। यो सुदूरपश्चिमाञ्चलमध्यपश्चिमाञ्चलको लोकप्रिय नाच मध्ये पर्छ । हुड्केली नाच हुड्काको तालसँग नाचीन्छ। पश्चिम नेपालको चर्चीत देउडा भाकामा गाइने हुड्केली गितमा पौराणीक कथा, राजा महाराजाहरू गाथाको बर्णन र पुराना लडाईका कथाहरू समाबेश गरिन्छ । जसलाई स्थानिय भाषामा कर्खा अथवा भारत भनिन्छ । बिबाह ब्रतबन्ध पास्नी तथा अन्य सुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ । हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । यो नाच नाच्नेले टाउकोमा सेतो फेटा पगडी बाँधेको हुन्छ भने सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छड्के पारेर कम्मरमा बधेको हुन्छ । प्राय वीरगाथा गाइने यस नाचमा ताण्डब नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन । यो नाचलाई भारतको उत्तराखण्डमा लोकप्रिय नाचको रुममा लिइन्छ । उत्तराखण्डमा हुड्के नाचलाई छलिया नाच भनिन्छ । हुड्केली पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा प्रचलित नाच्ने र गाउने लोकनृत्य एवं गीत हो । यो दमाई जातिबीच कायम छ । यसलाई हुड्के नाच भनेको पनि पाइन्छ । विवाह, उत्सव, विभिन्न सांस्कृतिक तथा राजनीतिक कार्यक्रममा पनि हुड्केली नाचिन्छ । भारतको कुमाउँ, गढवाल हुँदै पश्चिम नेपाल आएको हुड्केली नाच अहिले भारतको राजस्थानमा पनि नाच्ने गरिन्छ ।

हुड्केली नाचको तयारीमा शंकर सिंह विष्ट‎

डोटी क्षेत्रमा प्रचलित हुड्केली वा भारत नामक लोककाव्य[सम्पादन गर्ने]

सुदूरपश्चिमको डोटी क्षेत्रमा प्रचलित हुड्केली वा भारत नामक लोककाव्यमा पाइने बिगा पनेरूको भारत शीर्षकको पाठमा वर्णित एक जना नारी पात्र हुन् । धेरैजसो भारतमा जस्तै ऐतिहासिक घटनालाई आधार बनाएर अनेकौँ काल्पनिक उपघटना जोडी ‘बिगा पनेरूको भारत’ कथिएको छ । नेपाल एकीकरण हुनुभन्दा पहिलेको डोटी तथा कुमाउँ क्षेत्रको राजनीतिक, सांस्कृतिक, सामाजिक र ऐतिहासिक परिदृश्यलाई समेटेर यो पाठ प्रस्तुत गरिएको छ । यसमा चर्चा गरिएका प्रमुख पात्र बिगा पनेरू हालको डडेल्धुरा जिल्लाको भद्रपुर गाउँ विकास समिति, वडा नम्बर–१ र ६ मा पर्ने नौलाकोट भन्ने गाउँका निवासी थिए । उक्त गाउँमा आज पनि तिनको परिवारका पछिल्ला सदस्य बसोबास गर्दछन् । वशिष्ठ गोत्रीय ती पनेरू आफ्नो समयका असामान्य साहस, वीरता तथा स्वाभिमान कायम गरेर चर्चित बनेका व्यक्ति मानिन्छन् । शत्रुका हातबाट मर्नुभन्दा आफ्नै हातले परिवार सहित आफ्नो जीवन समाप्त गरेर तिनले कुमाउँमा ख्याति आर्जन गरेका थिए । पहाडी साइ अर्थात् पहाड शाही डोटी राज्यका विक्रमीय सम्वत् १६९९ देखि १७२३ सम्म शासन गर्ने राजा थिए । त्यस बखत कुमाउँमा बजि चन्न अर्थात् राजा बाजबहादुर चन्द (विक्रमीय सम्वत् १६९५ देखि १७३४) को राज थियो । तिनै बजि चन्न भनिने बाजबहादुर चन्दको नाम मुखान्तरण हुँदै जाँदा भारत लोककाव्यमा जगि चन्न भनिएको छ । स्वाभिमानी, वीर तथा साहसी इतिहास प्रसिद्ध एक जना नायकको जीवनमा घटेको ज्यादै मार्मिक र वियोगान्त घटनालाई ‘बिगा पनेरूको भारत’ मा वण्र्य विषय बनाइएको छ । मध्य कालमा पनि अन्यायी शासकका विरुद्ध निकै प्रेरणाप्रद सङ्घर्ष र क्रान्तिका क्रियाकलाप हुने गरेका कुराको सशक्त प्रमाण पनि यो पाठ हो । मध्य कालमा प्रचलनमा रहेका रीतिरिवाज, सोच, मनोदशा, आर्थिक व्यवहार जस्ता कुरा पनि यसबाट बुभ्mन सकिन्छ । डोटी राज्यको राजदरबार अजैमिरकोटका राजा पहाड शाहीले राज्यलाई प्राप्त हुने कर नबुझाएको दोष लगाएर सजाय तोक्दा उनको राज्य छोडी बिगा पनेरू छिमेकी राज्य कुमाउ“मा शरणार्थी बन्दछन् । तात्कालिक कुमाउँ राज्यको राजधानी चम्पावत गएर त्यहाँका राजा जगि चन्दलाई रिझाए पनि उनका प्रमुख सहयोगी विजयसिंह गेडासित कुरा नमिल्दा कुमाउ“मा बिगाले कष्ट भोग्नु पर्ने अवस्था आउँछ । शरणार्थी बनेर जानै नहुने ठाउँमा गएपछि दुःख भोग्नु त स्वाभाविकै थियो । त्यस्तो अवस्थामा बिगा पनेरू निकै ठुलो चिन्तामा पर्दछन् । अर्को उपाय नदेखी राजाकहाँ गएर लत्रनु पर्ने स्थिति बिगा पनेरूका अगाडि देखा पर्दछ । त्यस क्रममा तिनी घरका परिवारसित समस्याको समाधान खोज्न सल्लाह गर्दछन् । अरूहरू बिगा पनेरूले गरेको निर्णय मान्य हुने कुरा सुनाउँछन् तर तिनकी भाइ बुहारी भने भिन्न विचार प्रस्तुत गर्दै यस्तो भन्दछिन् ; “अब तपाईँ बुढो हुनु भयो । तपाईँमा पहिलेको जस्तो जोस र जुझारू स्वभाव रहेन । आफ्नो क्षमताको विचार नगरी अर्काको मुलुकमा शरणार्थी बन्नु नै गलत थियो तर जे भयो भयो । अब आएर हामीले लत्रनु भनेको सारा डोटेलीहरूको नाक काट्नु हो । यस घरका सदस्यहरू कुमाउँका राजा जगि चन्द र तिनका मान्छेसित भिड्न डराए पनि म चाहिँ एक्लै गएर तिनीहरूसित जुध्न सक्तछु । तपाईँहरू हातमा चुरा र कपालमा धागो लगाएर घरभित्र पर्दा हालेर बस्नु होस् । म तरवार बोकेर दुश्मनसित भिड्न निस्कन्छु । तपाईँहरू सबै जनाको रक्षा म गर्छु । तपाईँहरू मर्न डराउनु हुन्छ । म चाहिँ अहिले नै मर्नु परे पनि हाँसी हाँसी मर्न तयार छु । बाँकी कुराको निर्णय जे गर्नु हुन्छ म केही भन्दिनँ तर अर्काको देशमा आएर आप्mनो स्वाभिमान बेच्न, झुक्न र लत्रन भने बाँचेसम्म मेरो परिवारका सदस्यलाई म दिन्नँ । सल्लाको थाँक्रोमाथि काँक्राको बेली -लहरा । रोकी रोकी युद्ध गर्छे कार्कीकी चेली -छोरी) ।” तिनका कुरा सुनेर सबै जना नाजवाफ भए । नभन्दै त्यस परिवारले कुमाउँनी राजासित भिड्ने र आप्mनो स्वाभिमान बचाउने काम ग¥यो । राजा जगि चन्दका निकटका सारा सहयोगीको अन्त्य गरेर दुश्मनको हातबाट मर्नुभन्दा आफैले मृत्यु वरण गर्नु उचित हुने विचार गरी तदनुरूप युद्ध कौशल देखाउँदै बिगा पनेरूको परिवारका सबै सदस्यले आफ्नो ज्यान आफै समाप्त गरे । यो कथा दमाई जातिले प्रस्तुत गर्ने भारतमा आज पनि सुनाइन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]