डम्फु
स्वरूप
डम्फु हाम्रो चिनारीसँग जोडिएको बाजा हो। ठेट तामाङ भाषामा यसको नाम 'डाम्बा' भएपनि 'डम्फु' यसको नेपालीकरण भएको नाम हो। डम्फुको आकार गोलो हुन्छ। अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा-बाख्राको छालाले बेरेर खील मारेको हुन्छ। अर्कापट्टी खुला रहन्छ। यो देब्रे हातले समाती दाहिने हातका औँलाले पिटेर बजाउने बाजा हो। प्राचीनकालमा पेङ दोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डम्फुमा बनाएका हुन भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ। त्यसैले हरेक डम्फुमा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ।