सामग्रीमा जानुहोस्

तेडी मष्टो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तेडी देवता र ताडकासुर(तारकासुर) देवता भनेका एकै हुन् । ताडकासुर, ताडकेश्वर, ताडेश्वर, तेड़ेश्वर भन्दै गर्दा यसको अपभारंम्सबाट तेडी नाम रहेको हो । यो मष्ट(मष्टो) देवता हो । शिव पुराणमा यसलाई ताडकासुर (तारकासुर ) भनिएको छ । डोटेली समाजमा तेडी भनियो । यो सत्यता हुँदा हुँदै पनि यसको बिषयमा विभिन्न ब्याख्या गर्ने गरेको पनि पाईन्छ ।

डोटी रैकाराजा(जुम्लाको रैका मल्ल राजा )का कुलदेवता तेडी र निमाउने को स्थापना डोटी गडसेरामा नागीमल्ल राजाका वंशजले गरेको भनाइ पाईन्छ । रैकाराजाले तेडी देवता (तियाडी थान)लाई पूजा आराधानाकालागि त्यस भेगमा जमिनगुठ दिएकाछन् । डोटी राजा रुद्रशाहीका पालामा वि.स.१६८७–९४ देखिका अभिलेखमा तेडी देवताको उल्लेख पाईएको छ । यी राजाले वि.स.१६८७ मा यस तेडी देवतालाई भूमीदान दिएका थिए । त्यस्तै वि.स.१७६५ मा रैका राजा मान्धता शाहीबाट विनलो परियोको पानीघट्ट र ऐरी भन्ने खेत संकल्पगरी दिइयो भन्ने उल्लेखगरी तेडी देवतालाई गुठ चढाएको बताईएको छ । प्रा.डा.सूर्यमणि अधिकारी बाइसेराज्यको इतिहास पृष्ठ ३११ मा लेख्छन, डोटेली राजाहरुका कुलदेवता तेडी देवता भन्ने मष्टो थिए । डोटेली परम्परामा तेडीदेवताको ठूलो स्थान छ । डोटी रैका राजाका मष्टो कुलदेवता मध्य र पूर्वी नेपालमा कूलदेवतालाई वराहमष्टो भन्ने चलन छ । वास्तवमा मष्टो र वराहको कुनै सम्बन्ध छैन । वाह्र (१२) भाइ मष्टो भन्दा भन्दै वराहमष्टो भन्न थालेको वुझिन्छ भनेर डा.सूर्यमणी अधिकारीले पनि बाईसे राज्यको इतिहासको पेज न.२८७ मा लेखेका छन्् । मष्टो जहाँ बस्यो त्यहाँ स्थानका नामबाट मष्टाको नाम रहन गयो । कर्णाली क्षेत्रमा रहेका १२ भाइ मष्टा यसप्रकार छन् । क्र.स मष्टाका नामहरु प्रमूख स्थानहरु ज्येष्ठानुक्रम मष्टो देवता

  • १ ढँडार मस्टो बझाङ्ग भातेखोला जेठो
  • २ खापर÷खापरे मस्टो खप्तड माइलो
  • ३ तेडी मस्टो गडसेरा डोटी साइँलो
  • ४ कवा मष्टो अछाम कवालेख राइँलो
  • ५ कालासिल्ला मस्टो अछाम विनायक ठाइँलो
  • ६ रुमाल मस्टो कालिकोट खिड्किसैन काइँलो
  • ७ वुडु मस्टो जुम्ला अन्तरे
  • ८ थार्प मस्टो जुम्ला र मुगु जन्तरे
  • ९ गुरो मस्टो हुम्ला र मुगु मन्तरे
  • १० दाह््रे (दाढे) मस्टो जुम्ला,मुगु र जाजरकोट पानी मन्तरे
  • ११ दुधे मस्टो जुम्ला, मुगु र जाजरकोट लखन्तरे
  • १२ बाबिर मस्टो जुम्ला कान्छो

तेडी मष्टो पूज्ने

[सम्पादन गर्नुहोस्]

तेडी देवताका पूजारी परिवारका दीर्घराज जोशीका अनुसार स्रोत : दीर्घराज जोशी, कश्यप गोत्रीय,पहाड गडसेरा, हाल धनगडी हसनपुर गैरालेक मालिका पूर्णिमामा पूजिन्छन् । मालिका पूजिए पछि मात्र तेडी र निमाउने अन्तरगतका देवताहरु पूजिन्छन् । यो स्थान तेलेको लेकदेखि दक्षिण पश्चिममा रहेको छ । तेडीको “अनामजेलीभराँड” लाई भँराडे र पूजारी मात्र गएर पूज्ने गर्दछन् । तेडी १२ गाँई शाहीहरु आएपछि पूजिन्छ । यो रैका शाहीको कुलदेवता हो । गडसेरामा रहेको तेडीको माडौ रैका शाहीका पूर्वजले तामाले छाएका छन् । त्यहाँ तामाको गजुर छ । रैका शाही खान्दानका शंकर शाही डोटी जिल्ला सभापती भएको समयमा वजेट छुट्ट्याएर तामाको गजुर बनाएका हुन् । तेडीको पाईतलो गडसेरा हो । नाभी दिपायल हो, भने तेडीको शिर गीरचौका हो । गीरचौकामा तेडी पूज्दा गडसेराको तेडी पूज्ने पूजारीको खोजी हुन्छ । शाला गाउँका खड्यात, पुनेवाटी खडयत र शाहीहरु तेडी पूज्ने गर्दछन् । यस तेडीका धामी र भँराणेहरु पनि खड्यात थरका क्षेत्रीहरु छन् । तेडी दूधधारी देवता हुन् ।

  • यी चैत्र अष्टमीको नवरात्री र
  • मार्गशुक्ल अष्टमी गरी दुई पटक तेडी पूजिन्छ ।

निमाउने, वेताल, किमकडे, पँरणे र निराल पँञ्चरात्री बस्ने यी सबैको मिलाउने भएपछि तेडी सच्याउन पनि यी सबै बस्नु पर्दछ । किमकडे चोखालको कुलदेवता हो । निराल रावल पातलीको कुलदेवता हो । वेताल पनि रावल पातलीको देवता हो । निमाउने देवतालाई बोकाको बलि गर्नु पर्दछ ।

“तेडी मष्टो र निमाउने” सम्बन्धमा[]

[सम्पादन गर्नुहोस्]

रैका वंशजको कुलदेवता “तेडी मष्टो र निमाउने” सम्बन्धमा स्थानीय जानकारहरुका अनुसार ः श्रोत : कोमल प्रसाद भट्ट, वर्षः ६९, सुब्बासाप, भारद्वाज गोत्रीय, भागेश्वर कूलदेवता, गडसेरा गाविस वार्ड नम्बर ९, भुलखेत हाल श्रीपुर गाविस वार्ड नम्बर २, भँुयारा, (वडेहा) तेडी देवताका करिया १२ गाँइ रैका शाही र खडायत हुन् । खडायत भनेका लगाएको काम गर्ने वाला हुन् । पातली थरका क्षेत्रीहरु गैरिलेकको मालिकामा समावेस हुन्छन् । तेडी पूज्ने स्थान गैरीलेकको मालिकामा छ । चोखालको पनि तेडी पूज्ने स्थान अलग छ । तेडी सच्याउँदा कश्यप गोत्रीय वोहराको गादी र तल्लो चोखालको पोेटेलो (कपडाको एक धर्सौ) भएर मात्र सच्चिने गर्दछ । तेडीका अन्य पनि करिला छन् । तेडीको देव कचहरीमा निर्णय हुन्,नसकेको कुराको निर्णय भुलखेतका भारद्वाज गोत्रीय भट्टले भनेको कुरा निर्णायक हुन्छ । भारद्वाज गोत्रीय भट्टलाई तेडीको जेठो टीको तिलक वनाउनुभन्दा पहिले सुरुवाबाट लगाई दिने गर्दछन् । तेडीका धामी र भँराणे खड्यात छन् । तेडीका पूजारी मष्टोलाई कुलदेवता मान्ने चिउर्याल भाट/भट्ट बामनका भैयाद मानिने कश्यप गोत्रीय जोशी छन् । पहिलेका दिनमा दानसिह खडयतका दुई भाइ थिए । ती दुई भाइमा एक जना धामी र एक जना भँराणे भए कालान्तरमा यी दुई जनामा आपसमा झगडा हुन् गयो । प्रसादे खडयतको छोरी मरी त्यो लास तेडीको सिहासनमा राखि दियो । धामीपट्टीको मानिने प्रसादेको अपुताली भयो । तेडी देवताको खुट्टा “गडसेरा”, नाभी “दिपायल” र शरीर सेती नदीदेखि उत्तर दिपायलबाट एक दिनको पैदल बाटोमा रहेको स्थान “गिरीचौका” लाई मानिन्छ तेडी पुजन विधि — भारद्वाज गोत्रीय भट्ट ब्राह्मणले वेद पढी दिने, अत्रि गोत्रका ओझाले कर्मकाण्ड गर्ने र कश्यप गोत्रीय जोशीले पूजन गर्ने गर्दछन् । यस देवताको बयाँल हुन्छ । बझाङमा पनि ढँडारमष्टा (मुलमष्टो)को पूजा सुवेडा गाउँका भारद्धाज गोत्रीय सुवेदीले गर्नुपर्दछ । भातेखोलाका जोशी र सुवेडाका कुशाभट्टका सन्तानले यस देवताको पूजा गरेको भन्ने छ । यस मानेमा गडसेराको भातेखोला, निमाउने देवता र ढँडारमष्टोको सम्बन्ध कुनै न कुनै रूपमा एउटै छ ।

  • श्रावण शुक्ल पुर्णीमामा मालिका पूजे पछि मात्र तेडी देवता पूजिन्छ । तेडी देवताको स्थापना रहेको स्थान भन्दा माथि गडसेरा गाविस वार्ड नम्वर ७ धामी गाउँदेखि माथि रहेको डाँडालाई गैरीलेक भनिन्छ । यसै डाँडाको टुप्पामा मालिकाको स्थापना रहेको छ । रैकाराजा मल्लबाट शाही भएपछि तेडी पुजिने तिथि मितिमा पनि हेरफेर गरेर वर्षमा तेडी देवता चार पटक पूजिन थालेका हुन् ।
  • १— वैशाष शुल्क अष्टमी तिथि,
  • २— भाद्र शुक्ल अष्टमी तिथि, (यो तिथि कहिले काँही श्रावणमा पनि पर्दछ)
  • ३— कार्तिक शुक्ल अष्टमी तिथि
  • ४— माघ शुक्ल अष्टमी तिथि गरी चार पटक पूजिन्छ । त्यो भन्दा पहिले तेडी दुई पटक पूजिन्थ्यो । हाल पनि वैशाख शुक्ल अष्टमी र श्रावण मालिका पूजिएपछि गरी दुई पटकनै पूजिन्छ ।
  • तेडीसँग सम्बन्धित अन्य देवताहरु
  • मसानी,
  • किमकडे,
  • पँरणे,
  • निरालयको स्थानमा तेडीको पनि शिला राखिएको हुन्छ । पूजारी एक हातले तेडीको सुरुव र अर्को हातले यिनै सम्बन्धित देवताको सुरुव समाती पूज्ने गर्दछन् । निमाउनेसँग तेडी देवता हुने नै भयो । तेडीलाई बलि चढ्दैन् । दूध चढ्छ किनभने यी तेडेनामका बाहुनका पिचास हुन् पिचासलाई बलि चढ्ने कुरै भएन ।

निमाउने ÷निभाउने ः— रैका शाहीको कुलदेवता निमाउने हो । तेडी देवता निमाउनेका घोडा चढ्दछ । कार्तिक शुक्ल सप्तमीका दिन “अनामजेली” भन्ने घरमा निमाउने पूजिन्छ । त्यस दिन १२ गाँई शाही र कठायतहरु आउने गर्दछन् । राती १२ वजे निमाउने पूज्ने गर्दछन् । यसको विहान वँयाल गरेर तेडी माँडौमा तेडी पूजिन्छ ।

  • मंसिरशुक्ल द्वितीयाकादिन विहान भातेखोलामा निमाउने पूजिने र त्यसको वँयाल गएर त्यसै दिन धामी गाउँमा दिउसडी हुने गर्दछ । गडसेराको भातेखोलामा निमाउने पुजिने र बझाँङ्ग जिल्लाको “भातेखोला” गाविस वार्ड नम्बर २ मा ढँडारमष्टो पुजिने भएको कारण निमाउनेका नामहरु खापरे, ढँडारमष्टो, काफलीकेदार, अठौती मल्ल(कटारीमल्ल) पनि भएको हुनु पर्दछ । गडसेरा धामी गाउँको तल अगेरोखेतको बीचमा दुई माँडौ भन्ने स्थानमा तेडीको बयाँल जान्छ । त्यहाँ तेडी पूजिन्छ । अनामजेलीमा बोका काटिन्छ । यो अनामजेली शाहीको कुलदेवताको स्थान हो । निमाउने खुन खाने देवता हो । यहाँ दूध चढ्दैन । रैका शाहीहरूमा आफ्ना कुलदेवता निमाउनेको बोका पाल्ने चलन छ । यो बोका पूजारी गएको समयमा जहाँ पनि जहिले पनि काट्दा हुन्छ तिथि÷मिति, दिनवार हेर्नु आवश्यक हुँदैन् ।

निमाउनेलाई सेती पारी गिरिचौका तिर “दाडेबाघ (दाढेमष्टो)” पनि भन्ने गरिन्छ । २०३६ सालको जनमत संग्रहमा गडसेराका कोमल प्रसाद भट्ट बझाँग गएका रहेछन् । बझाँगबाट घर फर्कदा गिरी चौका क्षेत्रमा बास भएछ । त्यहाँ निमाउनेको जाँत भइरहेको हुँदा त्यो स्थानमा गएछन् । निमाउनेले त्यहाँ मुखका दाँतले बोका काटेर बाहिर मिल्काई दियो । यो देखेर अचम्म लागेको कुरा भट्टजीको छ । उनी भन्छन् त्यहाँ गडसेराका मान्छेलाई “कालाखोला” को मान्छेभन्दा रहेछन् । भित्र बोलाएर गडसेरा निमाउनेकालागि भोकर, दमाउ सहितका सामन लैजा भनेछ । तर त्यो सामान भट्टजीले ल्याउन मानेनन् । निमाउनेलाई खप्तडमा बसेका कारण “खापरे” पनि भनियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. डा सुर्यमणि अधिकारी , बाइसे राज्यको इतिहास , पृष्ट २८६,२८७बाट
  2. स्थलगत अध्ययन अनुसन्धान , विभिन्न व्यक्तिहरूसँगको भेटघाट, सोधपुछ, जानकारी सङ्कलन |