चुत्रो
चुत्रो | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | दुईदलीय वनस्पति |
गण: | Ranunculales |
परिवार: | Berberidaceae |
वंश: | बेर्बेरिस DC. |
प्रजाति: | B. aristata
|
वैज्ञानिक नाम | |
Berberis aristata DC. |
चुत्रो (Berberis aristata, संस्कृत नामः दारुहल्दी, नेवारी नामः “मरप्यासी”) एक पहाडी फल हो। यो फल २ प्रकारको हुन्छ। पहिलो गर्मी याम (वैसाख देखि असार सम्म)मा पाक्ने हुन्छ भने दोस्रो चिसो याम (असोज देखि मंसिर सम्म)मा पाक्ने हुन्छ। यसको फलको आकार जौको दाना जस्तै अलि ठूलो हुन्छ। यसको पात र हाँगाहरूमा काँडाहरू हुन्छन्। यसको हाँगाहरूमा त्रिशूल जस्तै तिन मुख भएको काँडा हुने हुनाले कतै कतै यसलाई तिर्षुला अथवा तिर्खुला भनेको पनि सुनिन्छ। यसको फलको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो र पाकेपछी कालो हुन्छ। यसलाई नेपालको सुदुर पश्चिम र भारतको कुमाउँ गढवालमा किल्मोडी पनि भनिन्छ। यसको रुखको बोक्रा पहेँलो रंगको हुन्छ। यसको बोक्रा तीतो हुनुको साथै धेरै बिमारीहरूको ओखती पनि हुन्छ।
परिचय
[सम्पादन गर्नुहोस्]चुत्रोको बोट नेपालको महाभारत पर्वत श्रृङ्खलामा समुद्री सतहभन्दा १,९०० मी. देखि ३,००० मी. उचाइका खुल्ला पाखोमा पाइन्छ। यो १.८२ देखि ५.४ मी. अग्लो हुने सदावहार काँडेदार झाङ्ग हो। यसको हरेक आँख्लाबाट फराकिलो भालाकृत , अण्डाकृत र माथितिर फराकिलो तल साँगुरिदै जाने पातहरू निस्केका हुन्छन्। कुनै कुनै पातहरू काँडामा परिणत भएको हुन्छ। पात साधारण ३ देखि ४ मिलिमिटर लामा , डाँठ भएको वा डाँठ नभएको , पातका किनारा करौंती जस्तै चिरिएको र किनारामा स–साना तीखो काँडाहरू लागेको हुन्छ। पातको नाप १.५ से.मी. देखि २.३ से.मी. चौडा र २ देखि ५.५ से.मी. लामो हुन्छ। फूलहरू पहेंलो र झुप्पा झुप्पामा फुलेको पाइन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै योनि पाइन्छन्।
खेती
[सम्पादन गर्नुहोस्]चुत्रोको खेतीको लागि कुहिएको उद्भिज पदार्थ र वालुवा मिसिएको मलिलो माटोको आवश्यकता पर्दछ। यो विरुवालाई बीउबाट अंकुरण गराइन्छ। सबभन्दा पहिले बीउ फलबाट अलग्याइन्छ र मलजल गरी तयार गरिएको ड्याँगमा वा नर्सरी बेडमा लगाइन्छ। एक वर्षमा विरुवा तयार हुन्छ। बीस वर्षमा विरुवा ४ मी.को झाङ्ग बन्दछ। आषाढ , श्रावणतिर विरुवाको हाँगा काटी गाड्नाले पनि नयाँ विरुवा तयार हुन्छ। नागबेली र चिराइतो खेती गर्न सकिने जिल्ला ( जस्तै:कालिकोट) हरुमा खेती गर्न सकिन्छ।
सङ्कलन
[सम्पादन गर्नुहोस्]बोक्रा वर्षात ऋतुमा सङ्कलन गरिन्छ र जरा शरद् ऋतुमा जमीनमुनिबाट खनेर झिकिन्छ।
सुकाउने तथा संरक्षण
[सम्पादन गर्नुहोस्]सङ्कलन गरिएको बोक्रा र जरालाई स–साना गरी टुक्राइन्छ। ती टुक्राहरूलाई घाममा राम्ररी सुकाउनु पर्दछ। सुकेको बोक्रालाई बोरामा बन्द गरी ओभानो गोदाममा थन्काइन्छ।
उपयोगिता
[सम्पादन गर्नुहोस्]आयुर्वेदिय पद्धति अनुसार यसको जरा र बोक्रा पाकेको घाउ , खटिरा , श्वेत प्रदर , आँखाको रोग , कमलपित्त र ज्वरो शान्त गर्नमा प्रयोग गरिन्छ। पानीमा बाक्लो गरी पकाएको झोल रसोत वा रसान्जनको नामले प्रख्यात छ।
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
Berberis pinnata (California barberry)
-
Berberis swaseyi
-
Berberis darwinii (calafate or michay)
-
Berberis empetrifolia, fruit