जटामसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिभाषा र परिचय[सम्पादन गर्नुहोस्]

लाम्चा पात हुने, पातका बीचमा सेता धर्सा हुने, नीला रङका फूल र बोटका फेदमा खैरा झुसे भुत्ला हुने, हिमालयमा पाइने, विभिन्न भेद हुने र औषधीका निम्ति उपयुक्त एक सुगन्धी बुटीलाई जटामसी भनिन्छ । यो बाह्रै महिना पाइने र धेरै वर्षसम्म बाँच्ने वनस्पति हो । जटामसी ६० से.मि.सम्म अग्लो पाइन्छ । यसको गानु वा फेद जमिन बाहिरबाट जमिन भित्रसम्म धसिएको हुन्छ । जमिन भित्रको मूल काण्ड वा जरालाई राता वा खैरा जटाजस्ता झुस (मसिना जरा) ले ढाकेको हुन्छ, यसैले यसलाई जटामसी नाम दिइएको हो । जमीन माथिको काण्डबाट पात पलाउने र फूल फुल्ने गर्दछ । यसको अण्डाकार, लाम्चा पात ६ से.मि. सम्म लामा हुन्छन् । फूलहरू गुलावी, प्याजी वा सेतो रङ्गका फुल्ने गर्दछन् ।

माथितिर फुकेको र तलतिर साँघुरिएको जमीन मुनिको काण्ड (राइजोम) राता र खैरा रौँँ जस्ता बाक्ला भुत्लाहरूले ढाकिएका हुन्छन् । यसै कारणले यसलाई स्थानीय भाषामा भुत्ले पनि भन्ने गरिन्छ । काण्डहरूको भित्री रङ्ग सेतो सेतो खालको हुन्छ । यसको मूल जरो पहेँलो, २० देखि ३० से.मि. सम्म लामो र २ देखि ७ र कहिलेकाही त १२ वटासम्मका काण्डहरूसँग जेलिएको हुन्छ ।

जमीनको सतह नजिकको काण्ड वरिपरिवाट पलाएका पातहरू लामा भालाकार वा चम्चाकारका तथा फूल फुल्ने काण्डवाट पलाई आएका पातहरू अण्डाकार र लामा हुन्छन् । यो भ्यालेरिनेसी (Valerianaceae) परिवारको वनस्पति हो । यसलाई अंग्रेजीमा Spikenard, Indian Nard(a), Na(o)rdus root, Musk root, Indian Spikenard वा Indian valerian भनिन्छ । यसको ल्याटिन नाम Nardostachys jatamansi DC., Nardostachys grandiflora DC. वा Nardostachys jatamansi (D.Don) DC.हो ।

पाइने स्थान[सम्पादन गर्नुहोस्]

जटामसी नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रको ३,०००–४,५०० मिटर उचाईमा र खासगरी उच्च हिमाली भेगमा पर्ने मुस्ताङ्ग, गोरखा, कर्णाली प्रदेश र दार्चुलासम्म पाइने गर्दछ । नेपालबाट निकासी हुने ६० प्रतिशत भन्दा बढी जटामसी कर्णाली क्षेत्रबाट निकासी हुन्छ ।

जटामसी भारतको पञ्जाबदेखि सिक्किमसम्म, भुटान र चीनको दक्षिण पश्चिम भागमा पनि भेटिन्छ । हिमाली धुपी, गुराँस, पाटन क्षेत्र तथा ढुङ्गाका खोँचहरू भएको उत्तरी मोहडामा यो प्रसस्त फैलने गर्दछ । जटामसीको बिरुवा भएका तल्लो भेगमा भोजपत्र, सुनपाती, हिमाली धुपी हुन्छन् भने माथिल्लो क्षेत्रमा पदमचाल, पाँचऔँले आदि उम्रिएको भेटिन्छ ।

बेच्न योग्य अङ्ग[सम्पादन गर्नुहोस्]

बास्नादार, सुगन्धित करीव ६ देखि ९ से.मि. लामा आलो वा सुकेको काण्ड तथा जराहरू बजारमा बेच्न योग्य मानिन्छन् ।

उपयोग[सम्पादन गर्नुहोस्]

अवैध व्यापारमा प्रयोग हुने यसको जरा (राइजोम) र काण्ड सुगन्धित तेल निकाल्न र औषधीका लागि उपयोग गरिन्छ । यो तेल धूप र अत्तर निर्माणमा व्यापक मात्रामा प्रयोग गरिन्छ । यसको काण्डको सारतत्व कलेजोको रोग, छारे रोग आदिको उपचारमा प्रयोग हुन्छ ।

संकलन अवधि[सम्पादन गर्नुहोस्]

यसको संकलन समय आश्विनदेखि कार्तिक महिनासम्म हो ।

प्रकार[सम्पादन गर्नुहोस्]

  • नक्कली जटामसी : लगभग एक मिटर अग्लो, एउटै भेट्नुमा ससाना तीनवटा पात हुने, डल्लो मालाकार सेतो पूmल फुल्ने र ओखतीमूलोमा प्रयोग हुने एक जातको वनस्पति ।
  • पिशाचिका : जटामसीको एक भेद ।
  • सानु जटामसी : गुलाबका जस्ता पात र हरिया रङका हाँगा हुने, फेदमा भुत्ला भएका, लामालामा दुईटा मूलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी, एक जातको जटामसी ।

आयुर्वेदका ग्रन्थमा जटामसी, जटामसी विशेष र सानो जटामसी गरी तीन थरी जटामसीको चर्चा गरिएको पाइन्छ ।

पर्यायवाची नामहरू[सम्पादन गर्नुहोस्]

  1. जटामसी : अनलद, केशनी, क्रव्याद, क्रव्यादी, चक्रवर्तिनी, जटा, जटामांसी, जटाला, जटावती, जटिला, जननी, तपस्विनी, तामसी, नलदा, पिशिता, पेशी, भूतकेशी, भूतजटा, माता, मांसिनी, मांसी, मिशी, मिसी, मृगभक्षा, मेषी, लोमशा, शिखा र हिंस्रा ।
  2. सानो जटामसी : अभ्रमांसी, आकाशमांसी, कृष्णा, खसम्भवा, गन्धमांसी, गौरी, निरालम्बा, पर्वत ।

फाइदा[सम्पादन गर्नुहोस्]

  • जटामसीले दिमागको ग्रहण गर्ने क्षमता (मेधा) र शरीरको कान्ति बढाउँदछ ।
  • यसले बल र आनन्द दिन्छ ।
  • जटामसीले शीतल गर्दछ ।
  • यसले रक्तविकार, विषविकार, वातविकार, कफविकार र पित्तविकार नाश गर्दछ ।
  • जटामसीले भूतबाधा, ज्वर, डाह, घाँटीका रोग, रक्तपित्त, वीसर्प र कुष्ठरोग नाश गर्दछ ।
  • यो सुगन्धी र शीतवीर्यको हुन्छ ।
  • यसले सुजन, घाउखटिरा, नसाजन्य रोग र माकुरो आदिको विषले जरो आई शरीर सुन्निने रोग नाश गर्दछ ।
  • यो अन्य धेरै थरी ओखतीमा मिसाएर प्रयोग हुन्छ ।

जटामसी–गण[सम्पादन गर्नुहोस्]

जटामसी, नखी नामक सुगन्धित द्रव्य, तेजपात, ल्वाङ, तगर, शिलाजित र गन्धकलाई जटामसी–गणका द्रव्य भनिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

(क) अमरकोश, कुलचन्द्र शर्मा ।

(ख) नेपाली बृहत् शब्दकोश ।

(ग) भावप्रकाश निघण्टु, टीकाकार डा. कृष्णचन्द्र चुनेकर ।

(घ) आचार्य बालकृष्णको वनएमजीडटकममा प्रकाशित लेख ।

(ङ) पेयर डी अमरकोश ।

(च) द आयुर्वेद इन्साइक्लोपेडिया, स्वामी सदाशिव तिर्थ ।

(छ) राज निघण्टु, टीकाकार डा.सतिश चन्द्र सांख्यधर ।

(ज) नेपालमा अधिक चोरी शिकार र अवैध व्यापार हुने वन्यजन्तु तथा वनस्पतिहरूको जानकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वि.सं.२०७५ ।

(झ) मदनपाल निघण्टु ।

(ञ) अर्कप्रकाश ।

जटामसी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Nardostachys
प्रजाति:
N. grandiflora
वैज्ञानिक नाम
Nardostachys grandiflora
DC.

===============================================================

अन्य नाम : नेवारीमा “नस्वां”

अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ। जटामसी नेपालको लोपोन्मुख जडीबुटी भएकाले अन्तर्राष्ट्रिय व्यापारमा विशेष निगरानीका साथ आयात–निर्यात गर्ने/गराउने चलन छ । जटामसीको वैज्ञानिक नाम 'नार्डोस्टाकिस जटामन्सी' रहे पनि वनस्पति नामकरणको हालको अन्तर्राष्ट्रिय नियमबाट यसको नाम 'नार्डोस्टाकिस ग्राण्डिफ्लोरा' निर्धारण भएको छ। यो नामले जटामसीको जरालाई भन्दा फूलको विशेषतालाई बढी महत्त्व दिएको देखिन्छ।

खेती[सम्पादन गर्नुहोस्]

जरा सहितको काण्डका टुक्राहरूबाट जटामसीका विरुवा उमारिन्छ। बीउबाट पनि यसको बोटहरू उमार्न सकिन्छ। यसरी उमारिएका विरुवाहरूलाई मल जल गरी तयार गरिएको बारीमा वा खेतमा सारिन्छ। एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से. मी. दुरीमा राखिन्छन् रएक ड्याङ्गबाट अर्को ड्याङ्ग ६० से. मी.को फरकमा हुनु पर्दछ। हरेक दुई महिनाको अन्तरमा गोड्नु पर्दछ। नेपालको निम्न लिखित जिल्लाहरूमा जटामसीको खेती गर्न सकिन्छ , ताप्लेजुङ्ग , संखुवासभा , सोलुखुम्बु , (खुम्जङ्ग , दूधकुण्ड , थ्यांगबोचे ) , गोरखा ( खरीबिरे , प्रोक , गम्दा , सिर्दिवास ) , लमजुङ्ग ( बाहुन डाँडा , चौधखोला , डुलिबेसि ), काश्की ( गोरुजुरे , माछापुच्छरे , हिमालफेंदी ) पर्वत ( धानढुगां , जलजल , नागी ) , वाग्लुङ्ग (तारा खोला मैकोट) , गुल्मी ( झुले , खुंजो ) , मुस्ताङ्ग , म्याग्दी , रोल्पा , दैलेख , जुम्ला , जाजरकोट आदि स्थान।

सङ्कलन[सम्पादन गर्नुहोस्]

हिँउ हटेपछि श्रावणदेखि कार्तिक सम्ममा जमीन विस्तारै खनी विरुवा पल्हाउने केही भाग त्यही छोडी काण्ड मात्र सङ्कलन गर्नुपर्दछ। यसले गर्दा विरुवा मासिने डर रहन्न र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ।

४. सुकाउने तथा संरक्षण सङ्कलन गरिएको जरा र काण्डहरूबाट माटो राम्ररी झारेर वा बगेको पानीमा पखाली सकेपछि यसमा रहेका गुण , तत्त्व संरक्षण गरी राख्न हावामा राम्ररी सुकाउनु पर्दछ। त्यसपछि यसलाई बोराहरूमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]