सामग्रीमा जानुहोस्

जटामसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जटामसी
सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[]
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: Dipsacales
परिवार: Caprifoliaceae
उपपरिवार: Valerianoideae
DC. (1830)
वंश: Nardostachys
(D.Don) DC. (1830)
प्रजाति:
N. jatamansi
वैज्ञानिक नाम
Nardostachys jatamansi
(D.Don) DC. (1830)
पर्याय[]
  • Fedia grandiflora Wall. (1829), nom. nud.
  • Fedia jatamansi Wall. ex DC. (1830), not validly publ.
  • Nardostachys chinensis Batalin (1894)
  • Nardostachys gracilis Kitam. (1954)
  • Nardostachys grandiflora DC. (1830)
  • Nardostachys jatamansi C.B.Clarke (1881), nom. illeg.
  • Patrinia jatamansi D.Don (1825)
  • Valeriana jatamansi D.Don (1821), nom. illeg.
  • Valeriana jatamansi (D.Don) Wall. (1829), nom. illeg.

जटामसी (वैज्ञानिक नाम: Nardostachys jatamansi)[] क्याप्रिफोलियासे परिवार अन्तर्गत फूल फुल्ने वनस्पति हो। हिमाली क्षेत्रमा पाइने यो विरुवाको पातहरू लाम्चा तथा बीचमा सेता धर्सा हुन्छ भने यसको फूलको रङ निलो र बोटको फेदमा खैरो झुसे भुत्ला हुन्छ। यो बाह्रै महिना पाइने र धेरै वर्षसम्म बाँच्ने वनस्पति हो।[] जटामसी ६० से.मि.सम्म अग्लो पाइन्छ। यसको गानु वा फेद जमिन बाहिरबाट जमिन भित्रसम्म धसिएको हुन्छ। जमिन भित्रको मूल काण्ड वा जरालाई राता वा खैरा जटाजस्ता झुस (मसिना जरा) ले ढाकेको हुन्छ, यसैले यसलाई जटामसी नाम दिइएको हो। जमिन माथिको काण्डबाट पात पलाउने र फूल फुल्ने गर्दछ। यसको अन्डाकार, लाम्चा पात ६ से.मि. सम्म लामा हुन्छन्। फूलहरू गुलावी, प्याजी वा सेतो रङ्गका फुल्ने गर्दछन्।

माथितिर फुकेको र तलतिर साँघुरिएको जमिन मुनिको काण्ड (राइजोम) राता र खैरा रौँँ जस्ता बाक्ला भुत्लाहरूले ढाकिएका हुन्छन्। यसै कारणले यसलाई स्थानीय भाषामा भुत्ले पनि भन्ने गरिन्छ। काण्डहरूको भित्री रङ्ग सेतो सेतो खालको हुन्छ। यसको मूल जरो पहेँलो, २० देखि ३० से.मि. सम्म लामो र २ देखि ७ र कहिलेकाहीँ त १२ वटासम्मका काण्डहरूसँग जेलिएको हुन्छ।

जमिनको सतह नजिकको काण्ड वरिपरिवाट पलाएका पातहरू लामा भालाकार वा चम्चाकारका तथा फूल फुल्ने काण्डवाट पलाई आएका पातहरू अन्डाकार र लामा हुन्छन्।

जरा सहितको काण्डका टुक्राहरूबाट जटामसीका विरुवाहरू उमारिन्छ। बीउबाट पनि यसको बोटहरू उमार्न सकिन्छ। यसरी उमारिएका विरुवाहरूलाई मल जल गरी तयार गरिएको बारीमा वा खेतमा सारिन्छ। एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से. मी. दुरीमा राखिन्छन् र एक ड्याङ्गबाट अर्को ड्याङ्ग ६० से. मी.को फरकमा हुनु पर्दछ। हरेक दुई महिनाको अन्तरमा गोड्नु पर्दछ। जटामसी नेपालको पूर्व, मध्य तथा सुदूर पश्चिम क्षेत्रको ३,०००–४,५०० मिटर उचाइमा र खासगरी उच्च हिमाली भेगमा पर्ने ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, (खुम्जुङ, दुधकुण्ड, स्याङबोचे), गोरखा (खरीबिरे, प्रोक, गम्दा, सिर्दिवास), लमजुङ (बाहुन डाँडा, चौधखोला, डुलिबेसि), कास्की (गोरुजुरे, माछापुच्छ्रे, हिमालफेंदी) पर्वत (धानढुङ्गा, जलजल, नागी), बागलुङ (तारा खोला मैकोट), गुल्मी (झुले, खुँजो), मुस्ताङ, म्याग्दी, रोल्पा, दैलेख, जुम्ला, जाजरकोट जिल्लाहरूमा यसको व्यावसायिक खेती गरिन्छ। नेपालबाट निकासी हुने ६० प्रतिशतभन्दा बढी जटामसी कर्णाली क्षेत्रबाट निकासी हुन्छ।

जटामसी भारतको पन्जाबदेखि सिक्किमसम्म, भुटानचीनको दक्षिण पश्चिम भागमा पनि भेटिन्छ। हिमाली धुपी, गुराँस, पाटन क्षेत्र तथा ढुङ्गाका खोँचहरू भएको उत्तरी मोहडामा यो प्रशस्त फैलने गर्दछ। जटामसीको बिरुवा भएका तल्लो भेगमा भोजपत्र, सुनपाती, हिमाली धुपी हुन्छन् भने माथिल्लो क्षेत्रमा पदमचाल, पाँचऔँले आदि उम्रिएको भेटिन्छ।

सङ्कलन र संरक्षण

[सम्पादन गर्नुहोस्]

हिँउ हटेपछि साउनदेखि कात्तिकसम्ममा जमिन विस्तारै खनी विरुवा पल्हाउने केही भाग त्यही छोडी काण्ड मात्र सङ्कलन गरिन्छ। यसले विरुवा मासिने डर रहदैन र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ। सङ्कलन गरिएका जरा र काण्डहरूबाट माटो राम्ररी झारेर वा बगेको पानीमा पखाली सकेपछि यसमा रहेका गुण, तत्त्व संरक्षण गरी राख्न हावामा राम्ररी सुकाउनु पर्दछ। त्यसपछि यसलाई बोराहरूमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ।

अवैध व्यापारमा प्रयोग हुने यसको जरा (राइजोम) र काण्ड सुगन्धित तेल निकाल्न र औषधीका लागि उपयोग गरिन्छ। बास्नादार, सुगन्धित लगभग ६ देखि ९ से.मि. लामा आलो वा सुकेको काण्ड तथा जराहरू बजारमा बेच्न योग्य मानिन्छन्। यो तेल धूप र अत्तर निर्माणमा व्यापक मात्रामा प्रयोग गरिन्छ। यसको काण्डको सारतत्व कलेजोको रोग, छारे रोग आदिको उपचारमा प्रयोग हुन्छ।

  • नक्कली जटामसी : लगभग एक मिटर अग्लो, एउटै भेट्नुमा ससाना तीनवटा पात हुने, डल्लो मालाकार सेतो फूल फुल्ने र ओखतीमूलोमा प्रयोग हुने एक जातको वनस्पति।
  • पिशाचिका : जटामसीको एक भेद।
  • सानु जटामसी : गुलाबका जस्ता पात र हरिया रङका हाँगा हुने, फेदमा भुत्ला भएका, लामालामा दुईटा मूलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी, एक जातको जटामसी।

आयुर्वेदका ग्रन्थमा जटामसी, जटामसी विशेष र सानो जटामसी गरी तीन थरी जटामसीको चर्चा गरिएको पाइन्छ।

पर्यायवाची नामहरू

[सम्पादन गर्नुहोस्]
  1. जटामसी : अनलद, केशनी, क्रव्याद, क्रव्यादी, चक्रवर्तिनी, जटा, जटामांसी, जटाला, जटावती, जटिला, जननी, तपस्विनी, तामसी, नलदा, पिशिता, पेशी, भूतकेशी, भूतजटा, माता, मांसिनी, मांसी, मिशी, मिसी, मृगभक्षा, मेषी, लोमशा, शिखा र हिंस्रा।
  2. सानो जटामसी : अभ्रमांसी, आकाशमांसी, कृष्णा, खसम्भवा, गन्धमांसी, गौरी, निरालम्बा, पर्वत।
  • जटामसीले दिमागको ग्रहण गर्ने क्षमता (मेधा) र शरीरको कान्ति बढाउँदछ।
  • यसले बल र आनन्द दिन्छ।
  • जटामसीले शीतल गर्दछ।
  • यसले रक्तविकार, विषविकार, वातविकार, कफविकार र पित्तविकार नाश गर्दछ।
  • जटामसीले भूतबाधा, ज्वर, डाह, घाँटीका रोग, रक्तपित्त, वीसर्प र कुष्ठरोग नाश गर्दछ।
  • यो सुगन्धी र शीतवीर्यको हुन्छ।
  • यसले सुजन, घाउखटिरा, नसाजन्य रोग र माकुरो आदिको विषले जरो आई शरीर सुन्निने रोग नाश गर्दछ।
  • यो अन्य धेरै थरी ओखतीमा मिसाएर प्रयोग हुन्छ।

जटामसी, नखी नामक सुगन्धित द्रव्य, तेजपात, ल्वाङ, तगर, शिलाजित र गन्धकलाई जटामसी–गणका द्रव्य भनिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Chauhan, H.K. (२०२१), "Nardostachys jatamansi", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2021, डिओआई:10.2305/IUCN.UK.2021-3.RLTS.T50126627A88304158.en, अन्तिम पहुँच ७ डिसेम्बर २०२५  |article-number= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "CITES Appendices I, II and III", CITES: Convention on International Trade in Endangered Species of Wild Fauna and Flora, ७ फेब्रुअरी २०२५, अन्तिम पहुँच ७ डिसेम्बर २०२५ 
  3. "Nardostachys jatamansi (D.Don) DC.", Plants of the World Online, अन्तिम पहुँच २९ अप्रिल २०२४ 
  4. "औषधीय गुणले युक्त जटामसी", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०१-०१ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]