बालाजु बाइसधारा मेला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बालाजु बाइसधारामा स्नान गर्दै भक्तजनहरू
बालाजु बाइसधारा मेलामा स्नान गर्दै भक्तजनहरू

काठमाडौं उपत्यकाको उत्पत्तिका सम्बन्धमा विभिन्न धार्मिक ग्रन्थले आ-आफ्नै किसिमले उल्लेख गरेका छन्। पौराणिक साहित्यमा हिमवत् क्षेत्रमा अनगन्ती क्षेत्र तीर्थ, देवस्थल, ऋषिमुनिहरूका आश्रम तथा नदीहरूको चर्चा र माहात्म्य पाइन्छन्। यस क्रममा बालाजुको बाइसधारा अर्थात् ल्हुतिपुन्हि क्षेत्र पनि एक प्राचीन धार्मिक तीर्थस्थलको रूपमा रहेको देखिन्छ। बौद्ध धर्मावलम्बीहरू र हिन्दू धर्मावलम्बीहरू दुवैको आस्था केन्द्रको रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि अनुपम नमुना मानिन्छ।

चैत शुक्ल पूणिर्माका दिन यस स्थलमा भव्य मेला लाग्छ। यस दिनलाई नेवारहरू ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन्। यस पूणिर्मामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन्। यसै दिन 'मन्नादी' देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गरेमा उनीहरूलाई बढी फलिफाप हुने विश्वास रहिआएको छ। त्यस्तै यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।

बालाजु काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्दछ। यस स्थानलाई नेवारहरू ल्हुति भन्ने गर्दछन्। नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस मिसिएर त्यहाँबाट बग्ने पानीमा मिसिई बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको पार्न त्यहाँ नुहाउने गरिएको हो भन्ने भनाइ छ। किनभने त्यस फलमा रोगसँग लड्न सक्ने क्षमता छ भन्ने जनविश्वास रहिआएको छ। सर्वप्रथम बालाजुमा नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए। पछि वि.सं. १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ। यो धाराको मुहान नुवाकोट पर्वतँग जोडिएको भनिन्छ। देवीघाटको पानी यहाँ आउने र सो पानीले नुहाएमा अनेकौ चर्मरोग निको हुने हुन्छ भन्ने किंवदन्ती छ। त्यस्तै अर्को एक यस क्षेत्रका शीतलामाई र गुहृयेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने भनाइ छ। यही विश्वासमा यहाँ यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

स्वयम्भू पुराणमा उल्लेख भए अनुसार कुनै समयमा महाचीनबाट महामञ्जुश्री बोधिसत्व केसिनी र उपकेसिनी देवीहरूसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए। त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकामा पानी कसरी विस्थापित गर्ने भनेर सोचेका थिए। पछि यहाँको पानी सुकेपछि विपस्वी बुद्धले कमलका फूल रोपेर "ॐ नमोरत्नत्रयाय" भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको देखिन्छ। यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो भन्ने किंवदन्ती छ। विपस्वी बुद्धले ध्यान बसेको कारण यस पर्वतलाई "जातमात्रोच्च" नामकरण भएको भन्ने भनाइ छ। पछि अपभ्रंश हुँदै जाँदा यही पर्वतलाई जामाच्च भन्न थालियो। महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको संस्मरण गरी यही जामाचो पर्वतमा रहेको गुफामा ध्यान-साधना गरी सिद्धि प्राप्त गरेका थिए। त्यसैले यस स्थानलाई नागार्जुन पर्वत भन्ने गरिएको पाइन्छ र ल्हुति पूणिर्माका दिन बाइसधारामा स्नान गरी यही जामाचोमा मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा रहिआएको छ।

बालाजु बाइसधाराकेा जात्रामा पूर्णेको अघिल्लो दिनमै यहाँका बौद्ध स्तुपमा भक्तजनहरू आउँछन् र रातभर दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्ने गर्दछन्। भोलिपल्ट चैतपूर्णिमाको बिहान सबेरै बालाजुको बाइसधारामा स्नान गरी स्वयम्भू स्तुपको ज्योतिको दर्शन गर्दछन्। साथै नागार्जुन स्तुपको पनि दर्शन गरी दिवंगत आत्माका बत्ती पुनः बाली र्फकने चलन यद्यपी रहिआएको छ।

यस दिन नुवाकोटको कडेल्चोक भगवतीलाई पनि बालाजुमा ल्याई यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलिद्वारा देवीको पूजा गर्ने परम्परा रहिआएको छ। त्यसपछि केही दिनसम्म उक्त भगवतीलाई यहीँ राख्ने परम्परा छ।

त्यस्तै मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग देखिन आएको छ। ल्हुती पूणिर्माको मेलासँग मनमैजु जात्रा पनि सुरु हुन्छ। यस दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास छ।

ल्हुतिपूणिर्माका दिन बाइसधारामा मात्र होइन अन्यत्र धेरै स्थानमा पनि जात्रा मेला पर्दछन्। विभिन्न जात्रा र पर्व पर्ने भएकाले यस ल्हुति पूणिर्माको महìव पौराणिक ग्रन्थहरू ल्हुतितीर्थ माहात्म्य, स्वल्पाक्षरा, प्रज्ञापारमिता, भोट भारती ग्रन्थमाला, साधनामाला, राहुल सांकृत्यायनको पुरातत्त्व निबन्धावलि जस्ता ग्रन्थहरूमा विशेष उल्लेख छ। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "थापा शशी, बालाजु बाइसधारा मेला, गोरखापत्र'", Gorkhapatra.org.np