चीन-नेपाल शान्ति तथा मैत्री सन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
दुई हस्ताक्षरकर्ताहरूको स्थान, र सिमाना देखाइएको चित्र

चीन-नेपाल शान्ति तथा मैत्री सन्धि नेपालचीनको सरकार बीच २८ अप्रिल १९६० मा हस्ताक्षर भएको आधिकारिक सम्झौता हो, जसले छिमेकी राष्ट्रहरूलाई एक अर्काबाट छुट्ट्याउने सीमाको बारेमा अघिल्लो सम्झौताको अनुमोदन गर्‍यो। गिरी भ्यान ट्रोन्डरले १९५९ को तिब्बती विद्रोह पछि यो कागजातले बेइजिङ "एसियामा शक्तिशाली तर अत्यावश्यक परोपकारी नेता" हुन् भन्ने छवि राख्ने प्रयास गरेको तर्क गरेका छन। समकालीन नेपाली, चिनियाँ र भारतीय टिप्पणीकारहरूले विगत र वर्तमानमा चीनसँगको नेपाल सम्बन्धको निर्धारणमा यस सन्धिको महत्त्वमा जोड दिएका छन्।

पृष्ठभूमि[सम्पादन गर्ने]

नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेका थिए। त्यसबेला उनले चिनियाँ प्रधानमन्त्री चाउ एन लाइलाई नेपाल भ्रमणको निम्तो दिएर नेपाल आएका थिए। त्यस लगत्तै सन् १९६० को एप्रिल २६ देखि २९ सम्म चाउ एन लाइले दोस्रो पटक नेपालको भ्रमण गरे।

उनले त्यसबेला नेपाली संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेका थिए। त्यसै क्रममा एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए। [१]

सन्धिको पाठ[सम्पादन गर्ने]

जनवादी गणतन्त्र चीन र नेपाल अधिराज्यको शान्ति तथा मैत्री कायम र अझ विकास गर्ने चीनका राष्ट्रपतिनेपालका श्री ५ महाराजाधिराजको इच्छा भएको हुनाले

जनवादी गणतन्त्र चीन र नेपाल अधिराज्यको विच असल छिमेकी सम्बन्ध र मैत्री पूर्ण सहयोगलाई सबल तुल्याउनु , दुवै देशका जनताका मुलभूत हितको अनुरुप र एशिया र विश्वभरी शान्ति सुदृढ राख्न सहायक हुनेछ भन्ने विश्वास भएको हुनाले

यस उद्देश्य पूर्तिको लागी दुवै देशले संयुक्त रुपले मानि आएको शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अनुसार वर्तमान सन्धि पत्र सम्पन्न गर्ने निर्णय गरेका छन् र आफ्नो आफ्नो सर्वाधिकार सम्पन्न प्रतिनिधि हरूको रुपमा जनवादी गणतन्त्र चीनका राष्ट्रपतिका तरफबाट प्रधान मंत्री चाउ एन लाइ र नेपालका श्री ५ महाराजाधिराज को तरफबाट प्रधान मंत्री विश्वेश्वर प्रसाद कोइराला नियुक्त भएका छन्।

दफा एक[सम्पादन गर्ने]

संधि पत्र गर्ने दुवै पक्ष एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अक्षुणता स्वीकार तथा आदर गर्दछन्।

दफा दुई[सम्पादन गर्ने]

संधि पत्र गर्ने दुवै पक्षले जनवादी गणतन्त्र चीन र नेपाल अधिराज्यको विच शान्ति तथा मैत्री पूर्ण सम्बन्धहरू कायम र विकाश गर्ने छन् । दुवै पक्ष जम्मै पारस्परिक मतभेदहरू शान्तिपूर्ण छलफल द्वारा समाधान गर्न मन्जुर गर्दछन्।

दफा तीन[सम्पादन गर्ने]

संधि पत्र गर्ने दुवै पक्ष समानता र पारस्परिक हित तथा एक अर्काको आन्तिरिक मामलामा हस्तक्षेप नगर्ने सिद्धान्त अनुसार, मैत्री र सहयोगको भावना राखि दुई देशको बीच आर्थिक र सांस्कृतिक सम्बन्धहरू विकशित र सुदृढ तुल्याउन मन्जुर गर्दछन्।

दफा चार[सम्पादन गर्ने]

वर्तमान संधि पत्रको अर्थ लगाउदा वा लागु गर्दा खेरी उत्पन्न भएको मतभेद वा मतान्तर छलफल बाट साविक कुटनैतिक साधन् द्वारा समाधान गरिने छ ।

दफा पाच[सम्पादन गर्ने]

यस वर्तमान संधि पत्र प्रमाणीकरण गरिनु पर्दछ र प्रमाणीकरण का कागज पत्र सकेसम्म चाडो आदान प्रदान गरिने छ।

प्रमाणीकरणका कागजापत्र आदान प्रदान हुने वित्तीकै वर्तमान संधि पत्र लागु हुनेछ र दस वर्षको अवधि सम्म जारी रहने छ ।

उक्त अवधी समाप्त हुनु भन्दा कमसेकम एक वर्ष अघि संधिपत्र अन्त गर्ने लिखित सूचना संधि पत्र गर्ने पक्षका एक्ले अर्कालाई नदिए, यो संधि पत्र कुनै उल्लेखित समय सिमा विना जारि रहने छ । तर दुई पक्ष मध्ये एक्ले अर्कालाई संधि पत्र अन्त गर्ने अभिप्राय प्रकट गरि एक वर्षको लिखित सूचना दिने अधिकार सुरक्षित नै रहने छ।

आज मुकाम काठमाडौंं विक्रम सम्बत २०१७ साल बैशाख १६ गते रोज ५ तदनुसार इस्वि सन १९६० एप्रिल २८ तारिखको दिन चीनिया, नेपाली र अंग्रेजी भाषामा प्रत्येकको दुइ दुइ प्रतिमा सवै वरावर किसिमले प्रामाणिक हुने गरि यो संधि पत्र माथि हस्ताक्षर गरियो ।


हस्ताक्षर हस्ताक्षर
जनवादी गणतन्त्र चीन सरकारका श्री ५ को सरकार नेपालका
सर्वाधिकार सम्पन्न । सर्वाधिकार सम्पन्न ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]