जापान-नेपाल सम्बन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालजापानबीच औपचारिक कूटनैतिक सम्बन्ध (जापानी: 日本とネパールの関係) सन १९५६ सेप्टेम्बर १ तारिकका दिन स्थापना भएको थियो। दुवै देशहरूमा आवासीय राजदूतावास स्थापना हुनु अगाडि नयाँ दिल्ली स्थित आ-आफ्नो राजदूतहरूलाई नै नेपाल तथा जापानका लागि पनि राजदूतका रुपमा नियुक्ति गरिएको थियो। यसप्रकार दमन शमशेर राणा तथा सेइजिरो योसिजावा दुई देशका आ-आफ्नो राजदूतहरू बनेका थिए।

सन १९६५ मा जापानमा आवसीय नेपाली राजदूतावासको स्थापना भयो र भरतराज राजभण्डारीलाई राजदूतमा नियुक्ति गरियो। त्यसपछि सन १९६८ मा काठमाडौं पानीपोखरीमा पनि आवसीय जापानी राजदूतावासको स्थापना गरि हिदेमिची किरा राजदूतमा नियुक्ति भएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

नेपालका तत्कालीन प्रधानमन्त्री देव शमशेरको पालामा वि.सं. १९५८ (सन् १९०२) मा नेपाल सरकारले खनिज, यान्त्रिकी, खरखजाना प्रविधि तथा कृषि क्षेत्र बारे अध्ययन गर्नका लागि आठजना नेपाली युवाहरूलाई जापान पठाउने निर्णय गरेको थियो। छनौट भएका नेपाली विद्यार्थीहरू ३ वर्षको अध्ययन पूरा गरेर जापानबाट सन् १९०५ मा नेपाल फर्केका थिए। छनौट भएका सबै युवाहरू १८ देखि २७ वर्ष उमेरका थिए र उनीहरूसँग १७ जना सेवकहरू पनि जापानबाट नेपाल आएका थिए। सन् १९०२ को अप्रिल महिनामा नेपालबाट प्रस्थान गरेर उनीहरू पानीजहाजको यात्रा गर्दै जुन १७ का दिन प्रथम नेपालीका रूपमा जापानको योकोहामा सहरमा आगमन गरेका थिए। उनीहरू जापान पुग्ने प्रथम नेपाली त थिए नै साथै तत्कालिन नेपाली शासकहरूले उच्च अध्ययनका लागि तेस्रो वैश्विक मुलुकमा पठाएका प्रथम नेपालीहरू पनि हुन पुगेका थिए। नेपालको विभिन्न क्षेत्रमा समग्र विकासको लागि एसियाली अनुभवबाट थप अनुभव र दक्षता लिने विश्वासका साथ उनीहरूलाई जापान पठाइएको थियो।

उनीहरू सन् १९०५ मा ३ वर्षको अध्ययन पूरा गरी जापानबाट नेपाल फर्केका थिए। उनीहरू नेपाल फर्कदा निललहर, हलुवावेद, कटुसगोदावरी फूलका बिउ समेत सँगै ल्याएर नेपालमा रोपेका थिए। यसअघि नेपालमा यी वनस्पतिहरू पाइदैन थियो। आज यी वनस्पतिहरू नेपालमा फूलिरहेका छन् जसलाई एक शताब्दी पहिले नेपाली विद्यार्थीहरूले समुद्रपारबाट आफ्ना यात्रा संस्मरण स्वरूप ल्याएका थिए। आज ती वनस्पतिहरू दुई देशबिचको जनस्तरीय मित्रताको सुरुवातका रूपमा लिन सकिन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "यी हुन् नेपाल भ्रमण गर्ने पहिलो जापानी र जापान भ्रमण गर्ने पहिलो नेपाली", नेपाल जापान (नेपालीमा), अन्तिम पहुँच २०२१-०७-०३ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]