कास्की राज्य
कास्की राज्य | |
|---|---|
| विसं १५२४ | |
| सरकार | राजतन्त्र |
| राजा | |
| इतिहास | |
• स्थापना | विसं १५२४ विसं १५२४ |
• विलयकाल | विसं १८४२ आषाढ |
| |
कास्की चौबीसी राज्य थियो। बि.सं १५२४ मा स्थापना भएको कास्की राज्य बि.सं १८४२ मा गोर्खा र चौबिसी राज्य बीचको युद्धमा पराजित भएपछि नेपालामा विलय भएको थियो ।
नामाकरण
[सम्पादन गर्नुहोस्]कास्की राज्यको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप बाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ।
जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्कीको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै भाषाविदहरूका आधारमा गुरुङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दबाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरुङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]कास्की शाहवंशीय राजाको हात पर्नु भन्दा पहिले गुरुङहरूको शासनको सवाल छ गुरुङहरूको वाहुल्यता भएको यस क्षेत्रमा उनीहरूको आफ्नै किसिम र स्वभावको थपौली अर्थात मुख्यौली शासन रहेको हुनु पर्दछ । तर गुरुङ्गहरूको शाह वंशीय शासन जस्तो स्पष्ट रूपमा शासन ब्यवस्थाको रुपरेखा आउन सकेको छैन । प्राचीनकालमा कर्णाली नदी पूर्व त्रिशुली गण्डकी पश्चिमको क्षेत्र ६ गुरुङ र ८ मगर सामन्त प्रमुखहरूको अधिनमा रहेको अर्थात तिनीहरूको आफ्नो अधिनमा लिएको उल्लेख पाईन्छ ।
सोह्रौँ शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ।
जङ्गबहादुर राणा वि. सं. १९१४ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।
राजाहरूको सुची[२]
[सम्पादन गर्नुहोस्]- विचित्र खान
- नराज खान
- जगति खान
- कुलमण्डन खान (शाह)
- जलाल शाही
- राज शाही
- नारायण शाही
- शिव शाही
- जिल्ल शाही
- प्रताप शाही
- सिद्दिनारायन शाही
- नरनारायण शाही
१८२८ को लडाइँ
[सम्पादन गर्नुहोस्]१९२८ वैशाख २७[३] मा काजी वंशराज पाँडेको नेतृत्वको नेपाली सेनाले कास्की राज्यको कोत्रे र दुलेगौंडामा अधिकार गर्यो। कास्कीका राजा सिद्धिनारायण शाहको सेनाले भण्डारीढिकमा मोर्चा लिन लगाई पर्वतका राजासँग सहयोग माग्न मानिस दौडाए। तर उनलाई पर्वतबाट सहयोग नमिलेकाले एक्लै लड्नुपर्दा हार हुनगयो।
वर्षा पूरा हुँदानहुँदै पर्वतका राजा कीर्तिवम मल्लले नेपालका विरुद्ध सैन्यसङ्गठन गरिसकेका थिए। पुगनपुग २००० सिपाही लिएर पर्वतका राजाले नेपाली सेनाउपर बि.सं. १८२८ पौष ५ मा आक्रमण गरे। पर्वत पक्षले ५०० नेपाली सेना सहित काजी केहरसिंह बस्न्यातलाई कटे भने काजी वंशराज पाँडेलाई कैद गरे। त्यस युद्धमा बचेका सिपाहीहरूले ढोर राज्यमा शरण लिए। तर ढोरमा पनि शत्रुले आक्रमण गरेकाले नेपालीहरू नराम्ररी हारे। बचेका केही सिपाहीसाथ नेपालीहरूले भीर्कोट, गह्रौ, पैयू र रिसिङका आफ्ना ठाना छोडिदिए। उता पृथ्वीनारायण शाले धोकलसिंह बस्न्यातको नेतृत्वमा सेना पठाएका भएपनि त्यो सेनालघि बढ्ने साहस गरेन। पर्वते राजाले हरुवा नेपाली सेनाका हतियार खोसी छोड्ने नीति लिए।
नेपालसँग सम्झौता
[सम्पादन गर्नुहोस्]कास्की राज्यमाथि पर्वत र लमजुङ राज्यले मौका मौकामा आक्रमण गरी लुट मच्चाएका थिए। त्यसैले कास्की राज्य छिमेकीहरूबाट असुरक्षित थियो।[४] त्यसको सुरक्षा गोरखाले मात्र गर्न सक्थ्यो। कास्कीका राजाले सहयोग मागेपछि पृथ्वीनारायण शाहले १८३१ मा चौतारिया महोद्दामकीर्ति शाहलाई कास्कीतिर पठाई कास्कीको सुरक्षाको जिम्मा लिए।
राजेन्द्रलम्श्मीको नायवीकालमा चौबीसीहरू मिलेर गोरखा उपर पटक पटक आक्रमण गरी हैरान पारिरहेका र कास्की राज्य सँग भएको सम्झौता अनुसार सो राज्यको सुरक्षाका लागि त्यसको आसपासको क्षेत्र कब्जा गर्न आवश्यक ठानी दलमर्दन शाह, वंशराज पाँडे र अमरसिंह थापाको नेतृत्वमा दुई हजार जति सेनालाई लमजुङ हन्न खटाइयो। अमरसिंह थापाले कास्कीको देउरालीमा आड बनाएर बसेका पर्वतका सैनिकलाई त्यहाँबाट धपाएर लमजुङलाई घेरामा पारेका थिए भने दलमर्दन शाहको नेतृत्वमा रहेको फौजले बि सं १८३९ कार्तिकमा लमजुङको तार्कु भन्ने क्षेत्र दखल गरेको थियो।
१८४१-१८४२ को लडाइँ
[सम्पादन गर्नुहोस्]चौबीसीहरू एकगठ भएर नेपाल विरुद्ध आक्रमण गर्दैछन् भन्ने खबर पाएपछि काजी अभिमानसिंह बस्न्यात, नरु शाह नेतृत्वको फौज लमजुङ बचाउन त्यहाँ पुगे।ब्बि.सं. १८४१ आषाढ १२ मा कास्की, पर्वत र अन्य चौवीसी राज्यहरूका संयुक्त सेनासँग लमजुङको मकैडाँडामा बहेको युद्धमा विजय गोरखालीको भयो।
कास्कीका राजा सिद्धिनारायण शाहले गोरखासँगको सम्झौता तोडी मकैडाँडाको युद्धमा चौबीसीको पक्ष लिएको हुनाले राजेन्द्रलक्ष्मीले दलजित शाह र स्वरुपसिंह कार्कीको नेतृत्वमा कास्की दखल गर्न फौज पठाइन् जसले बि.सं. १८४२ आषाढमा कास्की कब्जा गर्यो।
सैन्य
[सम्पादन गर्नुहोस्]आवादी : ८००० कुरिया , प्रत्येक कुरियाबाट एक सिपाही राज्यको निम्ति जानुपर्ने
सामाजिक व्यवस्था
[सम्पादन गर्नुहोस्]कास्की राज्यका ठकुरी र क्षत्रीहरूले आफ्नो दाज्यू-को असामयिक मृत्यु भएर तरूनी अवस्थामा नै वैध व्यधर्ममा पुगेकी भाउज्यूलाई अपनाउने चलन थियो । पछि त्यस्ता केही व्यवहारहरू क्रमश: छुट्तै गए 1 2 3राजाको जेठो छोरो बाबुकै ठाउँमा हकवाला हुन्थ्यो भने अरू छोराहरूले नयाँ राज्य, ठकुराईहरू जुटाई राजा हुन सक्थे । पहिलेका ठकुरी र क्षत्रीहरूले मामाकी छोरीलाई बहिनी ठानी विवाह गर्दैनथे । आफ्ना कन्या र कुमारहरू बिक्री गर्ने चलन थिएन तापनि घतिक्षत्री र मगरहरूमा त्यो कुरा लागूहुँदैनथ्यो । ठकुरी र क्षत्रीहरूले आफ्ना पुरोहित र गुरुको गोत्र स्वीकार्नु पर्ने हुँदा गुरु फेर्ने चलन थिएन । होमे, डोमे र आरने फेर्न हुँदैन, अनिष्ट हुन्छ भनिन्थ्यो । राजाका भारदारहरूले काम गर्न नसक्ने स्थितिमा निजका छोरालाई सोही खान्गी दिई बहाली गराउने परंपरा कास्की राज्यबाट शुरू भएको थियो । तरुनी छोरीलाई ( वैश्यभन्दा तलका व्यक्तिले ) पैसा सापटी लिई बाँधा राख्ने चलन कहीं कहीं थियो । कन्याको विवाहमा वरपक्षबाट शुल्क लिने चलन थिएन तर कास्कीमा कन्याको संख्या महंगे थियो । समाजमा पछि अनमेल विवाह, बालविवाह बढेकाले गोप्यरूपमा कन्याको शुल्क लिने चलन पनि चल्यो । प्रायः जातिमा साटो हाली विवाह गर्ने चलन थियो । बृद्ध भएका खानदानीलाई आयु बढाउन परे तरुनी केटी विवाह गरे आयु सर्छ भन्ने विश्वास त्यो वेला त्यो वेला हुनाले अनमेल विवाह कास्की राज्यमा गैह्र कानूनी थिएन ।
एउटै बाबुका सन्तानमा पृथक पृथक अधिकार हुन्थ्यो । जेठो छोरालाई पिण्डदान गर्ने अधिकारी ठानिन्थ्यो भने अरू छोरा विलासका उपज मानिन्थ्यो । तर छोरीलाई देवी मानी श्रद्धा र सम्मान गर्ने प्रथा थियो । छोरीलाई बाबुको अंशको हकदार ठानिदैनथ्यो । निःसन्तान व्यक्तिको सम्पत्ति नजिकको हकदारले कानूनपूर्वक दावा गरे भोग गर्न पाउँथ्यो भने हकदार पनि नभएको वेवारिसेको सम्पत्ति राज्यकोषमा दाखिल भई बिक्री वितरण गरिन्थ्यो । ब्राह्मणको हकमा विर्ता जमीन परेमा राज्यले नहडपी अर्कै ब्राह्मणलाई दान गर्ने चलन थियो । [५]
आफ्नी स्वास्नी लैजाने व्यक्तिलाई जार भनिन्थ्यो भने स्वास्नी गुमाउने-लाई साधु भनिन्थ्यो । साधुले जार साधन गर्न पाउँथ्यो । जारलाई काट्न सके पराक्रम गरेको ठानी जुँगा मुसारिन्थ्यो । जारलाई एकै चोटमा मार्न पाइन्थ्यो । त्यसो गरी जार मारे कानून लाग्दैनथ्यो । तर एउटा पतिले बढीपत्नी संग्रह गरे सजायँ हुँदैनथ्यो । एक पत्नीले बहुपति राख्ने रीति थिएन । अंशवण्डा गर्दा जात हेरी भाग लगाउने चलन थियो .
सती प्रथा
[सम्पादन गर्नुहोस्]सती प्रथा त्यो वेला प्रचूर प्रयोगमा थियो । सती जान बाटो लागेकी नारी मृत्युको डरले भाग्ने चेष्टा गरे मलामीहरूले कुटपीट गरी पतिको शव राखिएको चितामा लगी पोल्ने,दाह गर्ने प्रचलन थियो ।
दासप्रथा
[सम्पादन गर्नुहोस्]कास्की राज्यमा दासप्रथा अत्यन्तै प्रचलित थियो । घर्ती थरका मतवाली क्षत्रीहरूलाई दासदासी बनाउने चलन थियो । रोका थरका मगरहरू पनि कहीं कहीं राख्ने चलन थियो । कास्कीका दासदासी-लाई कमारो कमारी भन्ने चलन थियो । आजकाल त कमारो भन्नु पनि गौरव गर्न चाहने बुद्धिजीवी कास्की-तिर भेटिन्छन्, तर ती भने नक्कली हुन् । पंछी र चौपाया जस्तै कमारो कमारीको सुक्री बिक्री गर्ने चलन त्यो वेला थियो । कमारोको भन्दा कमारीको मोल दोब्बर पर्थ्यो । अझ तरुनी कमारीको तेब्बर पनि पर्दथ्यो । कति खानदानीले कमारीबाटै सन्तान पैदागरी आफ्नै सन्तान बिक्री गर्थे । त्यो वेलाको कानूनले कमारीलाई यौनतृप्तिको साधन मान्ने मान्यता प्रदान गरेको थियो । कमारो कमारीले बिठ्याई गरेमा तिनैका मालिकलाई औटिक ( गाल, दुर्नाम ) आउँथ्यो र मालिक -लाई नै सजायँ गर्ने चलन थियो ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ कास्की जिल्लाको संक्षिप्त परिचय"। http://ddckaski.gov.np/ne-brief-introduction/[स्थायी मृत कडी]
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १३४, आइएसबिएन 99933-2-406-X।
- ↑ आचार्य, बाबुराम, "गोरखा विलयकालका घटना", पूर्णिमा २७: १६६।
- ↑ सुवेदी, राजाराम (२०४८ मङ्सिर), "कास्कीका अन्तिम राजा", गरिमा १०८: 58–62।
- ↑ सुवेदी, राजाराम, कास्की राज्यको न्यायप्रणाली, पृ: 21। अभिलेखिकरण २०२४-०७-१९ वेब्याक मेसिन
- ↑ सुवेदी, राजाराम, कास्की राज्यको न्यायप्रणाली, पृ: 20। अभिलेखिकरण २०२४-०७-१९ वेब्याक मेसिन