नेपालको भूगोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको भूगोल
Nepal topo en.jpg
महादेशएसिया
क्षेत्रदक्षिण एसिया
निर्देशाङ्क = २८°००′उ॰ ८४°००′पू॰ / २८.०००°N ८४.०००°E / 28.000; 84.000
क्षेत्रफल९३औँ
 • जम्मा१,४७,५१६ किमी (५६,९५६ वर्ग माइल)
 • भूमि92.94%
 • जल7.06%
तटीय क्षेत्र० किमी (० माइल)
सीमानाजम्मा भूमि सीमाना:
२,९२६ किमी (१,८१८ माइल)
चीन:
१,२३६ किमी (७६८ माइल)
भारत:
१,६९० किमी (१,०५० माइल)
उच्चतम् विन्दुसगरमाथा
८,८४८ मी (२९,०२९ फिट)
निम्नतम् विन्दुकेचनकवल[१]
५८ मी (१९० फिट)
सबैभन्दा लामो नदीकर्णाली
सबैभन्दा ठुलो तालरारा ताल

नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। नेपालले आफ्नो हिमाली अक्षमा १५० देखि २५० किलोमिटर (९३ देखि १५५ माइल) को दूरी मापन गरि करिब ८८० किलोमिटर (५४७ माइल)को दूरी तय गरेको छ। यसको क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर (५६,९५६ वर्ग माइल) रहेको छ।[२]

नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र अन्य तीनतिर भारतले भूपरिवेष्ठित क्षेत्र ओगटेको छ। पश्चिम बङ्गालको साँघुरो सिलिगुडीले नेपाल र बङ्गलादेशलाई छुट्याएको छ। यसको पूर्वमा भुटान र भारत रहेका छन्।

भू-रूप क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

तराई[सम्पादन गर्नुहोस्]

भौगोलिक आधारमा तराई दक्षिणका ठूला नदीहरूको मैदान हो, जुन क्रमिक रूपले निर्माण भई विशाल समतल रूपमा परिणत भएको छ। यो तराई भाग देशको दक्षिणमा पूर्व पश्चिम समानन्तर रूपमा फैलिएको समतल मैदानी भाग हो। यो समुद्र सतहबाट ५०० फिट सम्मको उचाइमा अवस्थित छ। चुरे, महाभारत पर्वत हिमालयबाट उत्पत्ति भई धरातलीय ढाल अनुरूप दक्षिण तर्फ नियमित रूपमा बहने अनगिन्ती साना-ठूला नदी-नालाले बर्सेनी मिहिन माटोको निक्षेप गरी यो मैदानको निर्माण भएको हो। यसको चौडाइ २५ देखि २६ माइल उल्लेख गरेको पाइन्छ। तराई भाग पूर्वमा फराकिलो र पश्चिममा साँगुरो छ। साथै यसलाई चुरे पर्वतले तीन खण्डमा विभाजित गरी दिएको छ। तसर्थ भिखना ठोरीदेखि नारायणी नदीसम्म तराई भाग टुटेको छ, जसले गर्दा पूर्वी मध्य र पश्चिमी गरि तराई तीन भागमा विभाजित हुन पुगेको छ। दक्षिणको तराई भाग समतल भू-स्वरूप भए तापनि यसको ढाल समान छैन। तराईको सबभन्दा होचो भाग झापा जिल्लाको केचनकवल क्षेत्र हो।[३] पूर्वी तराई सबभन्दा होचो छ। तराईको दक्षिणी भागबाट क्रमशः उत्तर तर्फ भूमिको ढाल उठ्दै गएको छ भने पश्चिम तर्फ समतल भए तापनि पूर्वको तुलनामा अग्लिदै गएको छ। तराईको सबभन्दा अग्लो भाग सुदूरपश्चिमको भाग पर्दछ।[४]

बढी तापक्रम, अनुकूल वर्षा, समतल भूमि, उर्बरा माटो, यातायात आदिको सुविधा, औद्योगिक विकासका लागि अनुकूल अवस्था, व्यापारको सुविधाले गर्दा तराईलाई महत्त्वपूर्ण कृषि क्षेत्र मानिएको छ। नेपालको कुल क्षेत्रफल १७ प्रतिशत भूमि तराई क्षेत्रमा पर्दछ। तर कुल जनसंख्यको ५०.२ प्रतिशत जनसंख्यालाई तराईले धानेको छ। जनघनत्वप्रति वर्ग किलो मिटर १७५ (२०५८) भन्दा बढी छ। २०६८ सालको प्रारम्भिक नतिजा अनुसार १८१ प्र.व. कि.मी छ। राम्रो वर्षा, उर्बरा माटो, उद्योगको केन्द्रीकरण, यातायातको सुविधा, राम्रो हावापानीको कारणले पूर्वी तराईमा अधिक, मध्य तराईमा मध्य र पश्चिमी तराईमा कम जनघनत्व छ। तराईका आदिवासीहरूमा पूर्व मेचे, सतार, धिमाल, थारु, राजपूत, मध्य पश्चिम तराई र सुदूरपश्चिम तराईमा कायस्थ, मुसलमान आदी प्रमुख छन्।[५] तराईका बासिन्दाहरूको जातीय संस्कृति उत्तरी भारतसँग मिल्दोजुल्दो रहेको छ।[६]

चुरे पर्वत[सम्पादन गर्नुहोस्]

मुख्य पृष्ठ : चुरे पर्वत

तराईको समथर भागबाट उत्तर तर्फ उठेर पर्वतको रूप लिन पुगेको शृङ्खलालाई चुरे पर्वत भनिन्छ। यसलाई भारतमा सिवालिक पर्वत भनिन्छ।[७] यी चुरे पर्वतलाई महाभारत पर्वतझैँ लगभग पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा फैलिएका छन्। हिमालयको उत्पत्तिको क्रममा यस पर्वतलाई बाह्य हिमालय पनि भनिन्छ। कारण उत्पत्तिको क्रममा पहिला हिमालय, त्यसपछि महाभारत र अन्त्यमा चुरे पर्वतको निर्माण भएको हो। चुरे पर्वतको उचाइको सम्बन्धमा मत भिन्नता पाइन्छ। यसको उचाइ ३०००, ४०००, ५००० र ६००० फिट उल्लेख गरेको पाइन्छ। यो क्षेत्र सुगम क्षेत्रमा पर्दछ। यसको सरदर उचाइ ४००० फिट हो। यो पूर्वमा होचो र पश्चिममा क्रमशः अग्लो हुँदै गएको छ। चुरे पर्वतको सबभन्दा अग्लो भाग कैलालीडोटीको बीचमा पर्दछ, जुन करिब ९४६२ फिट अग्लो छ।

भावर प्रदेश[सम्पादन गर्नुहोस्]

चुरे पर्वतको दक्षिण फेदी देखि तराईको खास मैदानी भागसम्म क्रमशः भिरालो पर्दै गएको भूमिको ढाललाई भावर प्रदेश भनिन्छ। यसको लम्बाइ करिब ४ कोष र उचाइ ५०० देखि १००० फिटसम्मको भावर प्रदेश ढुङ्गा, कङ्कड, बालुवा, फुस्को माटो, खस्रो ढुङ्गयानद्वारा निर्मित छ। यस्तो भौगर्भिक बनावट भएको भूमि जङ्गलका लागि उपयुक्त हुने हुँदा यस क्षेत्रमा साल तथा अन्य विभिन्न जातका घना जङ्गल पाइन्छन्। हिमालयबाट उत्पत्ति भएका ठूला नदीहरू बाहेक महाभारत चुरे पर्वतबाट उत्पत्ति भएका साना नदीहरू यस क्षेत्रमा लुक्दछन् र तराइमा मात्र देखा पर्दछन्। यसै क्षेत्रमा नेपालको महत्त्वपूर्ण चारकोसे जङ्गल पर्दछ। यो क्षेत्रले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्व राख्ने जङ्गली जनावरलाई मुख्य रूपमा संरक्षण प्रदान गरेको छ। कृषिका लागि बिल्कुल प्रतिकूल क्षेत्र भएकाले जन आवादी प्रायः छैन।

दुन प्रदेश[सम्पादन गर्नुहोस्]

चुरे पर्वतमहाभारत श्रेणीबीच फैलिएका समतल बेसीहरूलाई दुन भनिन्छ।[८] दुन प्रदेशलाई भित्री मधेश पनि भनिन्छ। चुरे पर्वतको उपस्थितिले गर्दा तराईसँग दुन प्रदेश अलगिएको छ। तर सबै कुरामा दुन प्रदेश तराईसँग मिल्दो जुल्दो रहेको छ। दुन प्रदेशले नेपालको कुल भूभागको ८ प्रतिशत भूमि ओगटेको छ। उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी र दाङ देउखुरी भित्री मधेश तथा दुन प्रदेशका जिल्लाहरू हुन्।[९] यी दुनहरूको सरदर उचाइ २००० फिटसम्म रहेको छ। विस्तृत रूपमा फैलिएका दुन प्रदेशहरू चितवन र दाङ देउखुरी मुख्य हुन्। सबै दुन प्रदेशमा महत्त्वपूर्ण नदीहरू बगेका छन्। राप्ती र बबै दाङ देउखुरीमा राप्ती चितवनमा बढी महत्त्वपूर्ण नदीहरू हुन्। अन्न उत्पादनमा तराई पछिको दुन प्रदेश पर्दछ। औद्योगिक, व्यापारिक र खाद्य फसलको उत्पादनमा दुन प्रदेशको स्वयम् महत्त्वपूर्ण रहन गएको छ। साथै जङ्गल वन्य जन्तुको विकास संरक्षण घर, प्राकृतिक सौन्दर्य र राष्ट्रिय सम्पत्तिका रूपमा रहेको छ। अति मूल्यवान् जनावर गैँडाको प्रमुख घर चितवनको जङ्गल हो।[१०][११] तर हाल दुन प्रदेशमा औलो उन्मुलन भएपछि र कृषि उत्पादन अनुकूल भएकाले जनचाप बढ्न गई जगली जनावर र जङ्गलमा ह्रास आएको छ। थारू र माझी दुन प्रदेशका प्रमुख आदीवासी हुन्।

महाभारत पर्वत[सम्पादन गर्नुहोस्]

चुरे र दुन प्रदेशपछि उत्तरतर्फ सामान्यतया हिमालय पर्वतको समानान्तर रूपमा पूर्वदेखि पश्चिमसम्म फैलिएका पर्वत शृङ्खलाहरूलाई महाभारत लेक भनिन्छ। महाभारत श्रेणीलाई लघु हिमाल, मध्य हिमाल र होचो हिमाल आदि नामले चिनिन्छ। यस शृङ्खलालाई हिमालयबाट उत्पत्ति भई प्रवाहित तीन ठुला र मुख्य नदीले तीन खण्डमा छुट्याइ दिएका छन्। यस पर्वत शृङ्खलाले नेपालको मध्य पहाडी भागलाई प्राकृतिक सुरक्षा प्रदान गरेको छ। तसर्थ यो क्षेत्र नेपालको हवाखोरीका रूपमा रहेको छ। यस पर्वत शृङ्खलाको उचाइ ५००० देखि १०,००० फिटसम्म रहेको छ। सिन्धुलीगढी, हरिहरपुर गढी, चीसापानी गढी, मकवानपुर गढी, उपरदाङगढी यस शृङ्खला अन्तर्गत गर्ने गढीहरू हुन्। त्यसैगरी यस अन्तर्गत पर्ने महत्त्वपूर्ण पर्वत शृङ्खलाहरूमध्ये छिम्केश्वरी, चन्द्रागिरी, फूलचोकी, सैलुङ, नार्गाजुन आदि उल्लेखनीय महाभारत पर्वतहरू हुन्। पूर्वी भागमा यी पर्वत शृङ्खला तराई भागबाट उत्तर तर्फ सीधै उठेका छन्। मध्य नेपालको उत्तरी भागमा त्रिशूली, सुनकोशी, काली, सेती आदि नदीले यस पर्वतलाई बीच बीचमा काटी दक्षिण तर्फ बगेका छन्। फलस्वरूप यी पर्वतमालाको बीच बीचमा नदीले काटेर निर्माण भएका भन्ज्याङ, गल्छी, घाटीहरू छन्। बागमती, कमला, राप्ती, बबई, स्वतन्त्र रूपमा उत्तरबाट दक्षिण तर्फ बगेका छ। यस खण्डको अग्लो भाग मध्ये बेधनारायाण स्थान (९६५६ फिट) फूलचोकी (९०७३ फिट) विषेश उल्लेखनीय छन्।[१२] पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा फैलिएका महाभारत पर्वत शृङ्खलाको भौगर्भिक बनावट हिमालयसँग मिल्दोजुल्दो रहेको छ। यसको निर्माण पुरानो पत्रे, परिवर्तित चट्टान ग्रेनाइट, स्नेट, बलौटे, ढुङ्गा, कङलोमेरेट ढुङ्गा आदिबाट बनेको छ। यो पर्वत पनि चुरे भै पूर्वमा होचो र पश्चिममा अग्लो छ। साथै पूर्वको तुलनामा पश्चिमी भाग फराकिलो छ। यी पर्वतहरूको माथिल्लो भागमा हिउँदमा हिउँ पर्दछ, तर स्थायी रूपमा रहँदैन। हिउँदमा हिउँ पर्ने पर्वतको ढाल र फेदी क्षेत्रमा चरक खर्कहरू छन्। यस क्षेत्रमा पशुपालन व्यवसाय गरिएको छ। यी पर्वत मालाको अधिकांश भाग हरिया कोणधारी र मिश्रित जङ्गलले ढाकेको छ। यी पर्वतहरूको उत्तरी ढाल ठाडो र दक्षिणी ढाल क्रमशः भिरालो छ। दक्षिणी ढाल उत्तरी ढालको तुलनामा कम ठाडो हुनुमा मनसुन वर्षाद्वारा बढी क्षयीकरण नै प्रमुख कारणको रूपमा मानिएको छ। जनआवादी उत्तरी ढालमा कम र दक्षिणी ढालमा बढी छ। कुल जनसङ्ख्याको ५२% जनसङ्ख्या यस पर्वतको दक्षिणी ढालमा बस्तछन्। यस क्षेत्रमा मिश्रित जातजातिको बसोबास रहेको रहेको छ।

मध्य भूमि र घाटी[सम्पादन गर्नुहोस्]

महाभारत पर्वतदेखि उत्तर, मुख्य हिमालय भन्दा दक्षिणबीच ठाउँ ठाउँमा निर्माण विधि फरक भएका विभिन्न उपत्यका, बेशी र टारहरूलाई मध्य बेसी भनिन्छ। उपत्यकाका रूपमा काठमाडौँपोखरा, बेशीसँग उचाइको कारणले छुट्टिएको र महाभारत पर्वतको पर्वतपद्वीपीय भागका रूपमा रहेको सामान्य समथर भूमि टारका रूप हुन्। यी मध्ये बेशीको उचाइ २००० देखि ३००० फिटसम्म छ। चौडाइ ६० देखि ८० किलो मिटरसम्म छ। यस क्षेत्रमा पानीको सुविधा नभएका धेरै टारहरू छन्। पहिला औलोको प्रभाव बढी थियो। हाल औलो उन्मूलन कार्यक्रमले गर्दा यी टारहरूमा जनसङ्ख्या वृद्धिको चापले बस्ती घना हुन गएको छ।

भोट हिमालय[सम्पादन गर्नुहोस्]

मनाङ देखि पश्चिम, मुख्य हिमालयभन्दा उत्तर, तिब्बतसँगको सीमावर्ती पर्वतशृङ्खला भन्दा दक्षिण र अपी हिमालय भन्दा उत्तर पूर्वबीच अवस्थित उपत्यकालाई भोट प्रदेश र अग्लो चुचुरोलाई भोट हिमाल भनिन्छ।[१३] भोट हिमालयको उचाइ १८,००० देखि २२००० फिटसम्म मात्र छ। मुख्य हिमालयको दृष्टि छायामा परेकाले यो क्षेत्रमा वर्षा हुँदैन। यहाँको जलवायु शीत मरूभूमि खालको छ। पर्वत शृङ्खलाहरू प्राय नाङ्गा र उजाड छन्। यिनै विषेशताका आधारमा यस क्षेत्रलाई टनी हेगनले अर्द्ध मरूभूमिको संज्ञा दिएका हुन्। तर उपत्यका क्षेत्रमा केही घाँसे भूमि भएकाले ग्रीष्ममा यस भोट प्रदेशमा गोठ राख्ने काम हुन्छ। यो भोट प्रदेश मध्य र पश्चिमी नेपालको उत्तरी भागमा मात्र सीमित छ। हुम्ला, मुगु, छर्का, मुस्ताङ, लार्के आदि भोट प्रदेश हुन्। यस क्षेत्रको भौगोलिक बनावटमा बलौदे ढुङ्गा, पत्थर आदिको प्राधान्यता रहेको छ।

मुख्य हिमालय[सम्पादन गर्नुहोस्]

हिमालय र सगरमाथाको एक दृश्य

हिमालय पर्वत अल्पाइन पर्वतीकरणको समयमा उत्पन्न भू-पृष्ठको सर्वोच्च पर्वत हो। यसको फैलावट महाद्वीपमा पठारको गाँठोबाट पूर्वतर्फ चापका रूपमा रहेको छ। यसको लम्बाइ १५०० माइल र चौडाइ २०० माइल छ। हिमालय एक विस्तृत र व्यापक शब्द हो। जस अन्तर्गत महान हिमालय, लघु हिमालय र वाघ्य हिमालय पर्दछन्। तर यहाँ हिमालय भन्नाले मुख्य वा महान हिमालयलाई जनाउँछ, जसको फैलावट पूर्वमा ब्रह्मपुत्रदेखि पश्चिममा सिन्धुसम्म छ। ब्रह्मपुत्र नदीबाट पूर्वतर्फ हिमालयको विस्तार दक्षिण पूर्वतर्फ झुकेको छ। तसर्थ आसाम र बर्माको पहाडलाई यही हिमालयको अंश मानिन्छ। एसियामा २४ हजार फिट उचाइ भएका ९४ हिमाली शृङ्खला छन्। यी सबै हिमालय भित्र पर्दछन्।[१४] यस बाहेक २४० वटा जति अज्ञात हिमालयहरू पनि भएको अनुमान छ, जसको उचाइ २० हजार फिट भन्दा बढी रहेको छ।[१५] हिमालयलाई वारपार काट्ने नदीहरू, सिन्धु, सतलज, ब्रह्मपुत्र हुन्। अलकन्दा भागिरथी, काली सेती, भेरी, गण्डकी, अरुण आदि नदीहरू हिमालयबाट उत्पत्ति भई लघु हिमालय र बाह्य हिमालयलाई काट्न सफल, भएका छन्।

नेपालका अग्ला हिमालहरू[१६]
हिमाल उचाइ खण्ड अवस्थिति
सगरमाथा
(विश्वको सबैभन्दा अग्लो हिमाल)
  ८,८४८ मिटर     २९,०२९ फिट   खुम्बु महालङ्गुर खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु जिल्ला,
प्रदेश नं. १ (नेपाल-चीन सीमाना)
कञ्चनजङ्घा
(विश्वको तेस्रो अग्लो हिमाल)
८,५८६ m २८,१६९ फिट   उत्तरी कञ्चनजङ्घा       फक्ताङलुङ गाउँपालिका / सिरिजङ्घा गाउँपालिका, ताप्लेजुङ जिल्ला,
प्रदेश नं. १ (नेपाल-भारत सीमाना)
ल्होत्से हिमाल
(विश्वको ४औँ सबैभन्दा अग्लो हिमाल)
८,५१६ मिटर २७,९४० फिट सगरमाथा खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु जिल्ला,
प्रदेश नं. १ (नेपाल-चीन सीमाना)
मकालु हिमाल
(विश्वको ५औँ सबैभन्दा अग्लो हिमाल)
८,४६२ मिटर २७,७६२ फिट मकालु महालङ्गुर     मकालु, संखुवासभा जिल्ला,
प्रदेश नं. १ (नेपाल-चीन सीमाना)
चोयु हिमाल
(विश्वको ७औँ सबैभन्दा अग्लो हिमाल)
८,२०१ मिटर २६,९०९ फिट खुम्बु महालङ्गुर     खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु जिल्ला,
प्रदेश नं. १ (नेपाल-चीन सीमाना)
धौलागिरी हिमाल
(विश्वको ७औँ सबैभन्दा अग्लो हिमाल)
८,१६७ मिटर २६,७९५ फिट धौलागिरी धौलागिरी, म्याग्दी जिल्ला,

गण्डकी प्रदेश

मनास्लु हिमाल
(विश्वको ८औँ सबैभन्दा अग्लो हिमाल)
८,१६३ मिटर २६,७५९ फिट मानसिरी हिमाल     सुम नुब्री, गोरखा जिल्ला / नाशोङ, मनाङ जिल्ला,

गण्डकी प्रदेश

मनास्लु हिमाल
(विश्वको ८औँ सबैभन्दा अग्लो हिमाल)
८,१६३ मिटर २६,७५९ फिट मानसिरी हिमाल     सुम नुब्री, गोरखा जिल्ला / नाशोङ, मनाङ जिल्ला,

गण्डकी प्रदेश

अन्नपूर्ण
(विश्वको १०औँ सबैभन्दा अग्लो हिमाल)
८,०९१ m १६,५४५ फिट अन्नपूर्ण हिमाल     अन्नपूर्ण, कास्की जिल्ला / अन्नपूर्ण, म्याग्दी जिल्ला,

गण्डकी प्रदेश

हावापानी[सम्पादन गर्नुहोस्]

क्लोपेन जलवायु वर्गीकरणको नक्सा

जलवायुका पेटीहरू[सम्पादन गर्नुहोस्]

अक्टोबर २००२ मा, खिचिएको नेपालको भूउपग्रह नक्सा

हापापानी सम्बन्धी लामो समयको अध्ययन पछि प्रो. हर्वर्टसनले विश्वको हावापानीलाई १८ प्रकारका प्रदेशमा विभाजित गरेका थिए। उनको वर्गीकरण अनुसार नेपाल मनसुन जलवायुको देशमा पर्दछ। कुनै पनि दुई निश्चित हावापानीमा प्रदेश बीचको रेखा छुट्याउन कठिन हुन्छ। धरातलीय स्वरूप र उचाइको असमानता भएको देश नेपालको दुई निश्चित हावापानीको प्रदेश छुट्याउन झन् गाह्रो छ। तथापि धरातलीय स्वरूप र उचाइलाई आधार मानी नेपालमा विभिन्न हावापानीका पेटीहरू छुट्याउने प्रयास गरिएको छ।[१७]

उष्ण मनसुनी हावापानी[सम्पादन गर्नुहोस्]

यो हावापानीलाई अर्धोष्ण आद्र हावापानी पनि भनिन्छ। नेपालको तराई, भावर, दुन र चुरे क्षेत्रमा यो हावापानी पाइन्छ। उचाइका आधारमा ४००० फिटसम्म यो हावापानी पाइन्छ। नेपालको बढी गर्मी हुने, हावापानीको क्षेत्र यही हो। यसको पूर्वी भागमा वर्षा बढी र पश्चिमी भागमा तापक्रम बढी पाइन्छ। पश्चिममा तापक्रम बढी हुनुको एक कारण लुको प्रभावलाई मानिएको छ। यस क्षेत्रको औषत ग्रीष्म तापक्रम ३८० से. हो। तर नेपालको पश्चिमी भागमा ४३° से. सम्म तापक्रम पुग्दछ। हिउँदको तापक्रम १५° से. रहन्छ। यो क्षेत्रको हावापानी स्वस्थकर छैन।

न्यानो समशीतोष्ण हावापानी[सम्पादन गर्नुहोस्]

उचाइका आधारमा ४००० देखि ७००० फिट र स्थानका आधारमा चुरे पर्वत, महाभारत पर्वत यो हावापानीको मुख्य क्षेत्र हुन्। उच्च भागमा ठन्डा, बेसी भागमा हिउँद ठन्डा, बेसी भागमा गर्मी, हिउँद ठन्डा र वर्षा हुने क्षेत्र यही हो। तर धरातलीय विषमताको कारण वर्षाको क्षेत्रीय वितरण असमान छ। पोखरा बढी पानी पर्ने स्थान हो, जुन यसै हावापानीको क्षेत्रमा पर्दछ। नेपालको बढो राम्रो, स्वस्थकर जलवायुको क्षेत्र यही हो। यस क्षेत्रमा ग्रीष्मको तापक्रम २०° से. र हिउँको तापक्रम ५० से. रहन्छ।

ठन्डा समशीतोष्ण जलवायु[सम्पादन गर्नुहोस्]

उचाइका आधारमा ७ हजार देखि ११ हजार फिट सम्म र स्थानका आधारमा महाभारत पर्वतको उच्च भागमा यो हावापानी पाइन्छ। ग्रीष्म न्यानो तथा छोटो, हिउँद लामो तथा ठन्डा, ग्रीष्मको समाप्ति पछि बाक्लो कुहिरो, ग्रीष्म वर्षा, यस हावापानीमा विशेषताहरू हुन्। यस क्षेत्रमा ग्रीष्म तापक्रम १५० से. सम्म हिउँदको तापक्रम ०°से. र वर्षा १०० से.मी. हुन्छ। तापक्रमको कमीले कृषि कार्यका लागि यो हावापानी बढी अनुकुल छैन। तर नेपालको राम्रो स्वस्थकर हावापानी हो।

लेकाली हावापानी[सम्पादन गर्नुहोस्]

उचाइका आधारमा ११ हजार १६ हजार फिटसम्म र स्थानका आधारमा, भित्री हिमालय, भोट प्रदेशको सीमावर्ती क्षेत्रमा यो हावापानी पाइन्छ। ८/९ महिनासम्म हिउँ रहनु हिउँदमा बढी चिसो बतास चल्नु, ग्रीष्म हिउँद दुवै ठन्डा हुनु, वर्षा हिमपातका रूपमा हुनु यस हावापानीमा विशेषताहरू हुन्। जेठ महिना बाहेक अन्य महिनाहरूमा तापक्रम ०° से. भन्दा कम हुने हुँदा यो क्षेत्रमा कृषि कार्य हुँदैन। यहाँको मुख्य व्यवसाय पशुपालन हो।

ध्रुवीय वा हिमाली हावापानी[सम्पादन गर्नुहोस्]

हिमाली भाग अर्थात् १६००० फिट भन्दा माथिको हावापानीलाई हिमाली वा ध्रुवीय हावापानी भनिन्छ। वर्षा हिमपातको रूपमा हुनु, हिमपात बढी हुनु, ठन्डी बढी हुनु यस जलवायुको विशेषताहरू हुन्।तापक्रम सधैँ ०° से. भन्दा तल रहन्छ। हिमाली जलवायुको विशेषता ध्रुवीय जलवायुसँग मिल्ने हुँदा नेपालको हिमाली जलवायुलाई ध्रुवीय जलवायु पनि भनिन्छ। यसलाई नेपालको शीत मरुभूमि खालको हावापानी पनि भानिन्छ।

भूमि क्षेत्र[सम्पादन गर्नुहोस्]

Land cover map of 2010
नेपालमा भूमि क्षेत्र (सन् २०१० को तथ्याङ्क)

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले सन् २०१० मा तयार पारेको नेपालको पहिलो र सबैभन्दा पूर्ण राष्ट्रिय भू-आवरण डाटाबेसले नेपालको भू-आवरणको प्रमुख स्वरूप देखाउँदछ[१८] जहाँ वन क्षेत्रले देशको कुल भौगोलिक क्षेत्रमा ३९.०९% साथ ५७,५३८ वर्ग किलोमिटर ओगटेको छ। यस वन क्षेत्रको अधिकांश भाग चौडा बन्द र खुला वन हो, जसले २१,२०० वर्ग किलोमिटर वा १४.४% क्षेत्रफल ओगटेको छ।

८२६७ वर्ग किलोमिटर (५.६२%) क्षेत्रफल ओगटेको वन क्षेत्रमध्ये कोणधारी वन तुलनात्मक रूपमा सबैभन्दा कम छ। कृषि क्षेत्र ४३,९१० वर्ग किलोमिटर (२९.८३%) भन्दा बढी फैलिएको छ। उच्च हिमाली क्षेत्र हिउँ, हिमनदी र बाँझो जमिनले ढाकेको छ।

Terrance agriculture land of Nepal
नेपालको सिढीदार खेत

पहाडी क्षेत्रले नेपालको सबैभन्दा ठूलो भाग ओगटेको छ, जसले भौगोलिक रूपमा २९.५% ओगटेको छ, र यसको ठूलो क्षेत्रफल (१९,७८३ वर्ग किलोमिटर) खेती योग्य वा व्यवस्थित भूमि, प्राकृतिक र अर्ध-प्राकृतिक वनस्पति (२२,६२१ वर्ग किलोमिटर) र कृत्रिम सतहहरू (२०० वर्ग किलोमिटर) छन्। तराई क्षेत्रमा अधिक खेती योग्य वा व्यवस्थित भूमि (१४,१०४ वर्ग किलोमिटर) र तुलनात्मक रूपमा कम प्राकृतिक र अर्धप्राकृतिक वनस्पति (४२८० वर्ग किलोमिटर) छ। तराईमा २६७ वर्ग किलोमिटर मात्र प्राकृतिक जलस्रोत छन्। उच्च हिमाली क्षेत्रमा १२,०६२ वर्ग किलोमिटर प्राकृतिक जलाधार, हिउँ/हिमनदी र १३,१०५ वर्ग किलोमिटर बाँझो क्षेत्रहरू रहेका छन्।


वन[सम्पादन गर्नुहोस्]

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भू-संरक्षण विभागको अनुसार, देशको कुल भू-भागको ४४.७४ प्रतिशत क्षेत्र वनले ढाकेको छ।[१९] सन् २००५ को संयुक्त राष्ट्र खाद्य एवम् कृषि सङ्गठनको तथ्याङ्क अनुसार नेपालको भू–भागको २५.४ प्रतिशत अर्थात् करिब ३६,३६० वर्ग किलोमिटर (१४,०३९ वर्ग माइल) वनले ढाकेको छ। सङ्गठनको अनुमान अनुसार नेपालको कुल वन क्षेत्रको ९.६ प्रतिशत भाग प्राथमिक वनले ओगटेको छ जुन तुलनात्मक रूपमा अक्षुण्ण छ। नेपालको करिब १२.१ प्रतिशत वन सुरक्षित र २१.४ प्रतिशत संरक्षित वनको वर्गीकरण गरिएको छ। नेपालको करिब ५.१ प्रतिशत वनलाई उत्पादन वनको रूपमा वर्गीकृत गरिएको छ। सन् २००० देखि २००५ को बीचमा नेपालले करिब २,६४० वर्ग किलोमिटर (१,०१९ वर्ग माइल) वन क्षेत्र गुमाएको थियो। नेपालको सन् २०००–२००५ को कुल वन फँडानी दर प्रतिवर्ष करिब १.४ प्रतिशत थियो जसको अर्थ यसले वार्षिक औसत ५३० वर्ग किलोमिटर (२०५ वर्ग माइल) वन क्षेत्र गुमाएको थियो। सन् १९९० देखि २००० सम्म नेपालको कुल वन फँडानी दर ९२० वर्ग किलोमिटर (३५५ वर्ग माइल) अर्थात् प्रतिवर्ष २.१ प्रतिशत रहेको थियो। नेपालमा सन् २०००–२००५ को वास्तविक वन फँडानी दर, जसलाई प्राथमिक वन विनाशको रूपमा परिभाषित गरिएको छ, प्रति वर्ष -०.४% वा ७० वर्ग किमी२ (२७ वर्ग माइल) छ।[२०]

क्षेत्रफल[सम्पादन गर्नुहोस्]

  • जम्मा: १,४७,५१६ किमी (५६,९५६ वर्ग माइल)
  • भूमि: १,४३,१८१ किमी (५५,२८२ वर्ग माइल)
  • जल: ४,००० किमी (१,५४४ वर्ग माइल)
समुद्री तट
० किलोमिटर (भूपरिवेष्ठित)
विन्दु

संसाधन र भूमिको प्रयोग[सम्पादन गर्नुहोस्]

प्राकृतिक स्रोत
स्फटिक, पानी, काठ, जलविद्युत, प्राकृतिक सुन्दरता, लिग्नाइट, तामा, कोबाल्ट, फलाम अयस्कको सानो भण्डार
भूमि प्रयोग
  • खेतीयोग्य जमिन: १६.०%
  • स्थायी बाली: ०.८%
  • अन्य: ८३.२% (सन् २००१)
सिंचाइयुक्त भूमि
११,६८० किमी (सन् २००३), खेतीयोग्य भूमिको ५०%
कुल नवीकरणीय जल संसाधन
२१०.२ किमी (सन् २०११)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालकै सबैभन्दा होचो ठाउँ “केचना”", पर्यटन बजार (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  2. "Government unveils new political map including Kalapani, Lipulekh and Limpiyadhura inside Nepal borders", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-२० 
  3. "नेपालकै सबैभन्दा होचो ठाउँ “केचना”" (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  4. Nagendra, H. (२००२), "Tenure and forest conditions: community forestry in the Nepal Terai", Environmental Conservation 29 (4): 530–539, डिओआई:10.1017/S0376892902000383 
  5. Rai, J. (२०१४), "Malaria, Tarai Adivasi and the Landlord State in the 19th century Nepal: A Historical-Ethnographic Analysis", Dhaulagiri Journal of Sociology and Anthropology 7 (7): 87–112, डिओआई:10.3126/dsaj.v7i0.10438 
  6. Krauskopff, G. (१९९५), "The Anthropology of the Tharus: An Annoted Bibliography", Kailash 17 (3/4): 185–213। 
  7. Kohli, M. S. (२००२), "Shivalik Range", Mountains of India: Tourism, Adventure and Pilgrimage, Indus Publishing, पृ: 24–25, आइएसबिएन 978-81-7387-135-1 
  8. Sharmai, D. R. (1988). Archaeological Remains of the Dang Valley. Ancient Nepal 88: 8–15.
  9. Mugnier J. L., Leturmy P., Mascle G., Huyghe P., Chalaron E., Vidal G., Delcaillau B. (१९९९), "The Siwaliks of western Nepal: I. Geometry and kinematics", Journal of Asian Earth Sciences 17 (5): 629–642, डिओआई:10.1016/s1367-9120(99)00038-3, बिबकोड:1999JAESc..17..629M 
  10. Gurung, H. (१९७१), "Landscape pattern of Nepal", Himalayan Review (4): 1–10। 
  11. Nagendra, H. (२००२), "Tenure and forest conditions: community forestry in the Nepal Terai", Environmental Conservation 29 (4): 530–539, डिओआई:10.1017/S0376892902000383 
  12. "Lesser Himalayas - mountains, Asia", britannica.com, अन्तिम पहुँच २० अप्रिल २०१८ 
  13. Debon, Francois (१९८६), "The Four Plutonic Belts of the Transhimalaya-Himalaya: a Chemical, Mineralogical, Isotopic, and Chronological Synthesis along a Tibet-Nepal Section", Journal of Petrology 27 (1): 219–250, अन्तिम पहुँच २२ जुन २०२२ 
  14. Yang, Qinye; Zheng, Du (२००४), Himalayan Mountain System, आइएसबिएन 978-7-5085-0665-4, अन्तिम पहुँच ३० जुलाई २०१६ 
  15. Bishop, Barry, "Himalayas (mountains, Asia)", Encyclopaedia Britannica, अन्तिम पहुँच ३० जुलाई २०१६ 
  16. "Peaks of Nepal", Travel Guide, Himalayan Echo Trek and Travel, मूलबाट ७ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१४ 
  17. The Map of Potential Vegetation of Nepal - a forestry/agroecological/biodiversity classification system, Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No.110., २००५, आइएसबिएन 87-7903-210-9, मूलबाट ३ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच Nov २२, २०१३ 
  18. Uddin, Kabir; Shrestha, Him Lal; Murthy, M. S. R.; Bajracharya, Birendra; Shrestha, Basanta; Gilani, Hammad; Pradhan, Sudip; Dangol, Bikash (२०१५-०१-१५), "Development of 2010 national land cover database for the Nepal", Journal of Environmental Management, Land Cover/Land Use Change (LC/LUC) and Environmental Impacts in South Asia 148: 82–90, डिओआई:10.1016/j.jenvman.2014.07.047, पिएमआइडी 25181944 
  19. "वन तथा भू-संरक्षण विभाग", वन तथा वातावरण मन्त्रालय (नेपालीमा), अन्तिम पहुँच ०६ असोज २०७९ 
  20. Uddin, Kabir; Chaudhary, Sunita; Chettri, Nakul; Kotru, Rajan; Murthy, Manchiraju; Chaudhary, Ram Prasad; Ning, Wu; Shrestha, Sahas Man et al. (सेप्टेम्बर २०१५), "The changing land cover and fragmenting forest on the Roof of the World: A case study in Nepal's Kailash Sacred Landscape", Landscape and Urban Planning 141: 1–10, डिओआई:10.1016/j.landurbplan.2015.04.003 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]