सामग्रीमा जानुहोस्

प्राकृतिक प्रकोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्राकृतिक प्रकोप एक प्रकारको प्राकृतिक घटना हो जसले मानिसको सामाजिक-आर्थिक पक्षलाई क्षति पुर्‍याउँदछ। यद्यपि यो एक सामान्य प्राकृतिक घटनाको रूपमा भएतापनि धेरैजसो अवस्थामा यो मानव गतिविधिहरूको प्रभावको कारण प्राकृतिक सन्तुलनको ह्रासको कारणले हुन्छ।[१] सामान्य भाषामा भन्नुपर्दा प्राकृतिक प्रकोप प्राकृतिक नियमको अपवाद हो। प्राकृतिक प्रकोपले विपत्तिपछि समाज वा समुदायमा अत्यधिक हानिकारक प्रभाव छाड्ने गर्दछ। बाढी, पहिरो, खडेरी, भूकम्प, उष्णकटिबन्धीय चक्रवात, आँधीबेहरी चट्याङ, ज्वालामुखी गतिविधि, डढेलो जस्ता प्राकृतिक घटनाहरू यसका केही उदाहरणहरू हुन्।[२] प्राकृतिक प्रकोपले जनधनको क्षति गर्न सक्ने भएकाले यसले सामान्यतया आर्थिक गतिविधिलाई समेत क्षति पुर्‍याउने गर्दछ। विद्वानहरूले प्राकृतिक प्रकोप भन्ने शब्द अनुपयुक्त रहेको र यसलाई त्याग्नुपर्ने बताउँदै यसको सट्टा, सरल शब्द विपद् प्रयोग गर्न सकिने बताएका छन्। यस्तो प्रकोप, प्राकृतिक वा मानव निर्मित खतराको परिणामले हुनसक्छ जसले कमजोर समुदायलाई बढी प्रभाव पार्ने गर्दछ।[३]

सन् २००९ मा मेरिल्यान्डमा आएको हिमआँधी

आधुनिक समयमा प्राकृतिक, मानव निर्मित र मानव-द्रुत विपत्तिहरू बीचको विभाजन कोर्न निकै कठीन छ।[४][५][६] वास्तुकला, अग्नि, स्रोत व्यवस्थापन र जलवायु परिवर्तन जस्ता मानव निर्मित गतिविधिहरूले प्राकृतिक प्रकोपहरू निम्त्याउनमा भूमिका खेल्ने गर्दछन्।[४][७][८] प्राकृतिक प्रकोप शब्दलाई सन् १९७६ देखिनै गलत नाम दिइएको थियो।[९][१०][१०][११]

अपर्याप्त भवन निर्माण मापदण्ड, मानिसहरूको सीमान्तीकरण, असमानता, स्रोतसाधनको अत्यधिक दोहन, चरम सहरी फैलावट र जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपहरू बढ्न सक्छन्।[१२] विश्वभर तीव्र रूपमा वृद्धि हुँदै गइरहेको जनसङ्ख्या र यसले सिर्जना गरेको प्रतिकूल वातावरणको बढ्दो एकाग्रताले प्रकोपको आवृत्ति र गम्भीरता दुवै बढाएको छ। उष्णकटिबन्धीय क्षेत्रहरूमा देखिने चरम जलवायु, अस्थिर भू-आकृति, वन विनाश, अनियोजित विकास प्रसार र भवन निर्माणहरूले गर्दा मानिसहरू यस्ता प्रकोपहरूको खतरामा परेका छन्। दीर्घकालीन प्राकृतिक प्रकोपबाट पीडित, कम विकसितविकासोन्मुख देशहरूमा प्रायः विपत्ति आएको खण्डमा अप्रभावकारी सञ्चार प्रणालीहरू रहने भएकाले विपद् रोकथाम र व्यवस्थापनका उनीहरू पूर्णरूपमा समर्थन हुँदैनन्। यदि कुनै प्रकारको प्राकृतिक विपद् कमजोर जनसमुदायमा नपर्ने हो भने विपद्को स्तरमा वृद्धि नहुने देखिन्छ।[१३][१४] यदि कमजोर जनसमुदायले विपत् अनुभव गर्नुपर्‍यो भने त्यसपछिको पुनर्निर्माण गर्न धेरै वर्ष लाग्न सक्ने र त्यो मर्मत अवधिले थप जोखिम निम्त्याउन सक्छ। प्राकृतिक प्रकोपको विनाशकारी परिणामले प्रभावित समुदायहरूको मानसिक स्वास्थ्यमा पनि यसले असर पार्ने गर्दछ।[१५]

भौगर्भिक खतराका कारण उत्पन्न प्रकोप[सम्पादन गर्नुहोस्]

पहिरो[सम्पादन गर्नुहोस्]

पेरूको कुस्को सहरमा आएको पहिरो, सन् २०१८
नासाको एउटा नमुना विश्वभरि सम्भावित पहिरो गतिविधिहरू कसरी परिवर्तन भइरहेको छ भनेर हेर्नको लागि विकास गरिएको छ।
सन् १९९७ मा क्यालिफोर्नियाको एउटा गाउँमा जाँदै गरेको पहिरो

भूस्खलन वा पहिरो जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक भूवैज्ञानिक क्रिया हो। भूस्खलनमा जमिनको गतिको विस्तृत शृङ्खला समावेश हुन्छ जसमा चट्टान खस्नु, माटोको बहाव, ढलान तर्फ झर्दै गरेको माटोको थुप्रो आदि।[१६][१७][१८] पहाडको शृङ्खलादेखि तटीय भीर वा पानीमुनिसमेत ठाडो र कोमल ढलानमा पहिरो जान सक्छ। ढलानले केही प्रक्रियाहरू पार गर्दा पहिरो जाने गर्दछ जसले यसको अवस्थालाई स्थिरबाट अस्थिरमा परिवर्तन गर्दछ।[१९] पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी, भौगर्भिक अध्यन बिना पहाडमा सडक तथा अन्य संरचना आदिको निर्माण, आदि मानवद्वारा निर्मित कारणहरू हुन् भने प्राकृतिक कारणहरू जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ।[२०] गुरुत्वाकर्षणले भूस्खलनका लागि प्राथमिक बल प्रदान गर्ने भएतापनि ढलानको स्थिरतालाई प्रभावित पार्ने अन्य विभिन्न कारक तत्वहरू हुन्छन्। सहरी फैलावट जस्ता मानव विकास र खानी र वन फँडानी जस्ता स्रोत दोहनले गर्दा पहिरोको जोखिम बढ्न जान्छ। यसको अतिरिक्त, जलवायु परिवर्तन र वातावरणमा मानव प्रभावले विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रमले चरम मौसम जस्ता प्राकृतिक घटनाहरूको आवृत्ति बढाउन सक्ने भएकाले यसले पहिरोको जोखिमलाई पनि बढाउन सक्छ।[२१]

हिमपहिरो[सम्पादन गर्नुहोस्]

सगरमाथा नजिकै भएको हिमस्खलन पछि देखिएको हिउँको धूलो
फ्रान्सको उत्-सभ्वामा हिमस्खलन पछिको अवरोधलाई हटाउन भारी उपकरणहरूले परिचालन गरिँदै (सन् २००६)
अलास्काको केनाई फजर्ड्स राष्ट्रिय निकुञ्जमा हिमस्खलन
हिमस्खलनका कारण अवरुद्ध बनेको अलास्का रेलमार्ग

हिमपहिरो वा हिमस्खलन हिउँले ढाकिएको ढलान वा सतहमा तीव्र गतिमा हिउँको मोटो पत्र तल खस्ने प्राकृतिक क्रिया हो। यो सामान्यतया कुनैपनि उच्च क्षेत्रमा उपस्थित हिउँको बाक्लो पत्रमा अचानक अस्थिरता आएपछि सुरु हुन्छ। हिउँमा पहिरो गएपछि ढलान तर्फ हिउँ खस्दा यसले तीव्रता बनाउँदै बरफका अन्य भागहरूलाई समेत यसले तल ल्याइपुर्‍याउने गर्दछ।[२२]

हिउँले ढाकिएको बाक्लो पत्रमा अस्थिरता आउनुको विभिन्न कारणहरू हुन सक्छन्। उच्च हिमाल तथा पहाडी भेगमा हिमपात हुँदा उच्च स्थानमा हिउँको बाक्लो पत्र निर्माण हुन सक्छ भने हिउँको मात्रामा वृद्धि हुँदै जाँदा अस्थिरता उत्पन्न भई तल खस्न सक्छ। मानव क्रियाकलापहरू जस्तै, हिउँले ढाकिएको ठाउँमा मानिसहरूको चहलपहल, स्कि खेल तथा हिउँमा चल्ने मोटरगाडीहरू चलाउँदा कम्पन हुने हुँदा हिमस्खलन हुन सक्छ। उच्च हिमाली तथा पहाडी भेगहरूमा सडक निर्माणका लागि गरिने बम बिस्फोट र भूकम्पले पनि हिमस्खलन निम्त्याउन सक्छ। साधारणतया मानिसहरूको चिच्याहाटका कारणले पनि हिमस्खल हुनसक्ने भनिएता पनि हिमस्खलन गराउन सक्ने दबाब ध्वनिमा नहुने हुँदा यस धारणलाई वैज्ञानिकहरूद्वारा अस्वीकार गरिएको छ।[२३]

भूकम्प[सम्पादन गर्नुहोस्]

सन् १९०६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आएको भूकम्प
विसं २०७२ सालमा नेपालमा आएको महाभूकम्पका कारण बसन्तपुर दरबार क्षेत्रमा भएको क्षति
भूकम्पका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या (सन् १९६०–२०१७)
सन् १९०१–२०१९ सम्मका भूकम्पका घटनाहरूको विश्वव्यापी सङ्ख्या

पृथ्वीको भित्री भागमा निरन्तर भइरहने हलचलका कारण बाहिरी भागमा रहेका भौगर्भिक चट्टानका पत्रहरू एकआपसमा ठोक्किने, टाढिने वा च्यातिँदा पैदा हुने पृथ्वीको कम्पनलाई भूकम्प वा भुइचालो भनिन्छ। यो पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन कम्पनको प्रक्रिया हो। यस क्रममा पृथ्वीको भित्री भागमा जम्मा हुँदै गएको शक्ति एक्कासि बाहिर फैलिँदा पृथ्वीको सतहमा कम्पन आउने गर्दछ। भूकम्पसँगै तरङ्ग पैदा हुने र टाढा टाढासम्म फैलिने गर्दछ। पृथ्वीको सतहमा कम्पन कहिलेकाहीँ जमिनको विस्थापनद्वारा प्रकट हुन जान्छ। भौगर्भिक त्रुटिहरूका कारण पृथ्वीको भित्री भागमा अवस्थित चट्टानहरू चिप्लिँदा पनि भूकम्प जाने गर्दछ।[२४] भूकम्पको उद्गमस्थललाई भूकम्पीय केन्द्रबिन्दु भनिन्छ भने सतहमा भूकम्पको विन्दुको सीधा रहने माथिल्लो विन्दुलाई उपकेन्द्र भनिन्छ। भूकम्पले मानव वा वन्यजन्तुमा सामान्य असर देखाएतापनि भूकम्पका कारण अग्ला भवनहरू भत्किने, चर्कने, आगो लाग्ने, सुनामी तथा ज्वालामुखी विस्फोट हुनेहुँदा यो मृत्युको कारण पनि बन्न सक्छ। यीमध्ये धेरै खतराहरूलाई भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउने, सुरक्षा प्रणाली, प्रारम्भिक चेतावनी र आधुनिक योजनाद्वारा यसको प्रभावलाई कम गर्न सकिन्छ।

भ्वाङ पर्नु वा भासिनु[सम्पादन गर्नुहोस्]

भ्वाङ जमीनको माथिल्लो तहको पतन वा अन्य कारणले जमीनमा पर्ने प्वाल वा चून क्षेत्रमा हुने भू-धरातलीय स्वरूप हो। जमीनको सतहमुनी रहेको चुन पानीसँगको सम्पर्कमा आएपछि पग्लेर यो स्थलरूप बन्दछ। प्राकृतिक कटान, मानव उत्खनन वा भूमिगत उत्खननले जमीनमा निर्माण गरिएका संरचनाहरूलाई धेरै कमजोर बनाउँछ जसकारण त्यसको भार खेप्न नसक्दा जमीनमा भ्वाङ पर्ने गर्दछ। उदाहरणका लागि, सन् २०१० को ग्वाटेमाला सहरको भ्वाङले एक जनाको ज्यान लिएको थियो भने उष्णकटिबन्धीय आँधीले निम्त्याएको भारी वर्षाका कारण भ्वाङ पर्दा भवन अचानक ढलेको थियो। भ्वाङले बगिरहेको वा स्थिर पानीबाट सतहको निकास कब्जा गर्न सक्छ भएतापनि यो उच्च र सुख्खा स्थानहरूमा पनि गठन हुन सक्छ। भ्वाङ पर्दा गुफाको छाना खस्ने गर्दछ भने यसमा थोरै घुलनशील आधारलाई क्रमिक रूपमा हटाउने प्राकृतिक प्रक्रियाहरू समावेश हुन्छ। यस्ता भ्वाङ विभिन्न आकारमा पाइएको भएतापनि धेरैजसो भ्वाङ गोलो आकारका पाइन्छन्। भ्वाङ सुरुमा पर्दाको आकार भन्दा विस्तार विस्तार बढ्दै जाने गरेको पाइन्छ। कुनै भ्वाङ खाली टोड्को मात्र हुन्छन् भने कुनै भ्वाङमा पानी भरिएको हुन्छ।[२५]

ज्वालामुखी विस्फोट[सम्पादन गर्नुहोस्]

सक्रिय ज्वालामुखी

ज्वालामुखीले विभिन्न तरिकाबाट विपत्ति निम्त्याउन सक्छ। ज्वालामुखीले निम्त्याउने सबैभन्दा ठूलो विपत्ति यसको विस्फोटनबाट हुन्छ। ज्वालामुखी विस्फोट हुँदा तरल अवस्थाका रहेको म्याग्मा जमीनको सतहमा आउँदा चट्टानहरू बाहिर निस्किँदा यसले क्षति पुर्‍याउन सक्छ। पृथ्वीको सतहमा आउँदा अत्याधिक तापका कारण यसले भवन, बोटबिरूवा, जनावर तथा मानिसहरूलाई पनि क्षति पुर्‍याउन सक्छ। यसबाहेक, ज्वालामुखीको खरानी चिसो हुँदै जाँदा बादलमा परिणाम हुँदा यस्तो बादल नजिकैको स्थानहरूमा बाक्लो रूपमा थिग्रिन सक्छ। ज्वालामुखीय खरानीले गतिशील यन्त्रहरूको इन्जिनमा घर्षण बढाउन सक्छ।

पानीको जोखिमले निम्त्याउने प्रकोप[सम्पादन गर्नुहोस्]

बाढी[सम्पादन गर्नुहोस्]

जर्मनी र स्पेनमा गएको बाढीको चित्र
जाभा द्वीपमा मानिसहरू बाढीबाट राहत पर्खिरहेका सन् १८६५–१८७६
अस्ट्रेलियाको डार्बिनमा बाढीको विनास
अकस्मात परेको पानीबाट आएको आकस्मिक बाढी

पानीको बहाव उच्च हुँदा जमीनको भाग डुब्न सक्छ। नदीमा पानी बहाव उच्च हुँदा बाढी आउने गर्दछ। बाढी आउँदा अधिक मात्रामा पानी एकत्र हुन्छ र सामान्यतयाः वर्षा याममा अत्याधिक पानी परेपछि नदीमा बाढी आउने गर्दछ।[२६] युरोपेली सङ्घको बाढी निर्देशनले बाढीलाई सुख्खा भूमिमा पानीको बहाव उच्च हुँदा आउने अस्थायी आवरणको रूपमा परिभाषित गरेको छ। तीव्रताका साथ बगेको पानीको अर्थमा यो शब्द ज्वारभाटाको प्रवाहमा पनि लागू हुन सक्छ।[२७] नदी वा तालजस्ता पानीको मुहानको मात्रा सामान्यभन्दा बढी हुँदा नदिले थेग्न नसकेको पानी सीमाबाट उम्कन सक्छ। मौसमी परिवर्तनसँगै हुने वर्षा र हिउँ पग्लने जस्ता कार्यहरूले बाढी निम्त्याउने गर्दछ। सामान्य प्रकृतिको पानीको बहावले गाउँ, सहर वा अन्य बसोबास क्षेत्र, सडक वा मानिसहरूले प्रयोग गर्ने भूमि वा खेतबारीलाई नडुबाएसम्म बाढीलाई महत्त्वपूर्ण मानिँदैन।कृषि, भवन निर्माण र जनस्वास्थ्यमा बाढीको ठूलो मात्राका क्षति पुर्‍याउन सक्छ। वातावरणमा हुने मानवीय परिवर्तनले प्रायः बाढीको तीव्रता र आवृत्तिलाई बढाउँदछ।[२८] वन फँडानी गरी गरिने भूमि अतिक्रमण, सिमसार क्षेत्रहरू घट्नु, मानिसहरूद्वारा जलमार्गको परिवर्तन गराउनु जस्ता मानव क्रियाकलापले पनि बाढीलाई टेवा पुग्ने देखिन्छ। जलवायु परिवर्तनले चरम मौसमी घटनाहरूको आवृत्तिलाई बलियो बनाउँदा यसले भीषण बाढी निम्त्याई बाढीको जोखिमलाई थप उच्च बढाउँदछ।

सुनामी[सम्पादन गर्नुहोस्]

सन् २००४ हिन्द महासागर आएको सुनामीबाट प्रभावित थाइल्यान्डको क्राबी प्रदेश
सुनमीको थ्रिडी चित्रण

समुद्री बन्दरगाह क्षेत्र वरिपरि आउने समुद्री लहरलाई सुनामी भनिन्छ। यस्ता समुद्री लहरहरू सयौँ किलोमिटर चौडाइमा फैलिने गर्दछन् भने लहरहरूको माथिल्लोदेखि तल्लो भागसम्मको दूरी सयौँ किलोमिटरसम्म पनि पुग्न सक्दछ।[२९] यस्ता समुद्री लहरहरू बन्दरगाह नजिक आउँदा तल्लो भागले जमीन नजिक आउँछ भने यसको बहाव गतिमा कम हुँदै उचाइ बढ्दै जान्छ। यस्तो स्थितिमा जब यी लहरहरू किनारामा ठोकिन्छन् तब यसले विनाश निम्त्याउ सक्छ। यस्ता समुद्री लहरहरूको गति ४०० किलोमिटर प्रति घण्टा र उचाइ १० देखि १७ मिटरसम्म पुग्न सक्छ। धेरै जसो समुद्री भूकम्पको कारणले यस्ता विशाल लहरहरू उत्पन्न हुन जान्छ।[३०]

चरम मौसमी अवस्थाका कारणले निम्त्याउने प्रकोपहरू[सम्पादन गर्नुहोस्]

तातो र सुख्खा अवस्था[सम्पादन गर्नुहोस्]

ग्रीष्मलहर[सम्पादन गर्नुहोस्]

ग्रीष्मलहर एक मौसम शब्द हो जुन हावाको अत्यधिक तातो अवस्थाको वर्णन गर्न प्रयोग गरिन्छ। यदि कुनै ठाउँमा तापक्रम लामो समयसम्म बढ्दै जान्छ र त्यसको साथमा आर्द्रता पनि वृद्धि हुन्छ भने त्यसलाई ग्रीष्मलहर भनिन्छ। यसको अर्थ तातो मौसममा हुने भिन्नतामा मात्र सिमित नभई यसले छोटो समयावधिमा हुने असामान्य ताप वृद्धिलाई बुझाउँछ।[३१] सन् २००३ को युरोपेली गृष्मलहर इतिहासकै सबैभन्दा खराब गृष्मलहर थियो। अस्ट्रेलियाको भिक्टोरियामा यस्तो लहरले सन् २००९ मा भीषण डढेलो निम्त्याएको थियो। मेलबोर्नमा लगातार तीन दिनसम्म ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रमको अनुभव गरिँदा यस वरपरका क्षेत्रहरू उच्च तापमानबाट गुज्रिरहेका थिए। सन् २०१० को उत्तरी गोलार्धको ग्रीष्म ऋतुमा भीषण ग्रीष्मलहर चल्दा यसले दुई हजार भन्दा बढी मानिसहरू ज्यान लिएको थियो।[३२] उच्च तापक्रमका कारण डढेलोका सयौँ घटनाहरू घटेका थिए जसले व्यापक वायु प्रदूषण निम्त्याउँदै हजारौँ वर्ग किलोमिटरसम्म डढेलो लागेको थियो। भीषण ग्रीष्मलहरले बालीनालीमा व्यापक क्षति पुर्‍याउँदछ भने हाइपरथर्मियाका कारण कयौँ मानिसहरूको पनि मृत्यु हुनसक्छ। खडेरीग्रस्त क्षेत्रमा डढेलोको जोखिम बढ्नुका साथै वातानुकूलन प्रणालीको उच्चतक प्रयोगले विद्युत् कटौती हुनसक्छ। यस्ता खाले लहरहरूबाट बच्न पूर्वानुमान प्रयोग गरी सावधानी अपनाउन सकिन्छ।[३३][३४]

खडेरी[सम्पादन गर्नुहोस्]

xxx
xxx
xxx
xxx
खडेरीले ठूलो क्षति निम्त्याउन सक्छ भने यो प्रायः जलचक्रमा जलवायु परिवर्तनको प्रभावले झन् खराब हुँदै जान्झ: फ्रान्समा सुक्खा नदीको किनार; खडेरीको कारण सोमालील्यान्डमा बालुवाको आँधी; खडेरीले टेक्ससमा कृषिमा नकारात्मक प्रभाव पारेको दृश्य; खडेरी र उच्च तापक्रमका कारण सन् २०२० मा अस्ट्रेलियामा लागेको डढेलो।

खडेरी शब्दले सामान्यभन्दा सुख्खा अवस्थालाई जनाउँछ।  खडेरी दिन, महिना वा वर्षौँसम्म पनि चलिरहन सक्छ। खडेरीले प्रायः प्रभावित क्षेत्रको पारिस्थितिक प्रणालीकृषिमा ठूलो प्रभाव पार्दै स्थानीय अर्थव्यवस्थामा पनि क्षति पुर्‍याउन सक्छ। उष्णकटिबन्धीय क्षेत्रमा वर्षा ऋतु अघिको सुख्खा मौसमले खडेरीको सम्भावनामा उल्लेखनीय रूपमा वृद्धि गर्दा यसले डढेलोको जोखिम पनि बढाउन सक्छ। ग्रीष्मलहरले वाष्पीकरण बढाएर खडेरीको अवधिलाई बढाउँछ यसले वन तथा अन्य वनस्पतिहरूलाई पनि सुकाउँदा डढेलो निम्तिन सक्छ।[३५] सन् १९९७ देखि २००९ सम्म अस्ट्रेलियामा चलेको खडेरीले देशको अधिकांश भागमा पानी आपूर्तिको सङ्कट निम्त्याएको थियो। सन् २०११ मा टेक्सस राज्य पूरै वर्ष भरी खडेरी आपतकालीन घोषणाको अधीनमा रहँदा उक्त राज्यले गम्भीर आर्थिक क्षति बेहोर्नुपरेको थियो। खडेरीको आर्थिक प्रभावहरूमा मानिसहरूका लागि पानीको आपूर्तिमा अवरोध, कम कृषि उत्पादकत्व र अधिक महँगो खाद्य उत्पादन समावेश छ। यसको अर्को असर भनेको सिँचाइ वा जलविद्युतका लागि पानीको अभाव हो। अत्याधिक ग्रीष्मलहरमा सामाजिक र स्वास्थ्य लागत बढ्नु, उच्च खाद्य लागत, कृषिमा कम उत्पादकत्वका कारण हुने तनाव, पानीको अभाव र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव समावेश छ। लामो समयको खडेरीका कारण ठूलो सङ्ख्यामा बसाइँसराइ र मानवीय सङ्कट उत्पन्न हुनसक्छ।[३६][३७]

डढेलो[सम्पादन गर्नुहोस्]

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै लागेको डढेलो।

डढेलो वा वन जङ्गलका लाग्ने आगो जङ्गलको दहनशील वनस्पति भएको एक क्षेत्रबाट सुरु हुने अनियोजित, अनावश्यक, अनियन्त्रित आगो हो। मुख्यरूपमा ग्रीष्मकालीन तातो हावाको लहर, सतहको माटोमा पानीको कमी र आद्रता न्यून भएको समयमा डढेलो लाग्ने सम्भवाना अत्यधिक हुन्छ।[३८] जङ्गल क्षेत्रभित्र रहेका रुखविरुवा तथा पातपतिङ्गर सुकेको अवस्थामा रहनुले डढेलोको जोखिमलाई बढाउने गर्दछ। डढेलो प्राकृतिक कारणहरू जस्तै आकाशीय चट्याङ खसेर वा प्राकृतिक रूपले वनजङ्गलमा उत्पन्न घर्षणको कारणले लाग्न सक्छ। प्राकृतिक कारणका साथै यो मानव निर्मित समेत हुन सक्छ। डढेलो लाग्ने कारणको सर्वेक्षणको तथ्याङ्क अनुसार ५० प्रतिशत भन्दा बढी डढेलो मानिसको लापरवाही, असावधानी तथा नियतवश गरिने गरिएको पाइएको छ। एक पटक आगोको झिल्का वनक्षेत्र भित्र रहेको सुकेको झाङमा लागेपछि उग्र भएर आगो हावाको प्रभावमा तीव्र गतिले फैल्ने गर्छ।[३९] डढेलो अन्य आगलागीभन्दा भिन्न प्रकृतिको हुने गर्दछ, जसको कारण यसको विशाल आकार, यसको उद्गम स्थानदेखि आगो फैलिने गति र यसको दिशा परिवर्तन वा खाली ठाउँ जस्तै सडक, नदी आदिलाई उछिनेर अगाडि बढ्न सक्ने क्षमता हो।[४०]

आँधीबेहरी[सम्पादन गर्नुहोस्]

उष्णकटिबन्धीय चक्रवात[सम्पादन गर्नुहोस्]

तुफान, उष्णकटिबन्धीय आँधी, समुद्री लहर, चक्रवात एउटै घटनाका लागि फरक-फरक नामहरू हुन्। ती मध्ये एक उष्णकटिबन्धीय आँधी हो जुन समुद्रमा विकास हुन्छ। यो समुद्रबाट निस्कने वाष्पीकृत पानीका कारण विकसित हुँदै आँधीबेहरीमा परिणत हुन्छ। यसलाई तीव्र हावा, भारी वर्षा र आँधी रूपमा व्याख्या गरिन्छ। यस प्रकारका आँधीहरूका लागि प्रयोग गरिने शब्द आँधी कहाँबाट उत्पन्न भएको हो भन्ने कुराले निर्धारण गर्दछ। आन्ध्र र पूर्वोत्तर प्रशान्तमा आँधीबेहरी, उत्तर पश्चिमी प्रशान्तमा प्रचण्ड तुफान र दक्षिण प्रशान्त र हिन्द महासागरमा चक्रवातको रूपमा परिचित छ। सन् १९७० को भोला चक्रवात अहिलेसम्मकै सबैभन्दा घातक चक्रवात थियो। सन् १७८० को प्रचण्ड आँधीबेहरीले मार्तिनिक, सेन्ट एस्तारसियस र बार्बाडोसलाई तहसनहस पारेको थियो। सन् २००५ मा संयुक्त राज्य अमेरिकाको गल्फ कोस्टलाई तहसनहस पार्ने अर्को उल्लेखनीय तुफान क्याटरिना हो। मानव-प्रेरित जलवायु परिवर्तनको परिणामको रूपमा आँधीबेहरी अझ तीव्र हुन सक्छ भने यसले भारी वर्षा उत्पन्न गराउन सक्छ।

चट्याङ[सम्पादन गर्नुहोस्]

बिजुलीयुक्त चट्याङको एक दृश्य

चट्याङ, विद्युतीय तुफान वा चट्याङको आँधीको नामले पनि चिनिने यो प्रकोप विद्युतको उपस्थिति र पृथ्वीको वायुमण्डलमा यसको ध्वनिक प्रभाव र मेघगर्जनका साथ आउने एकप्रकारको आँधी हो। तुलनात्मक रूपमा कमजोर चट्याङहरूलाई कहिलेकाहीँ मेघगर्जन पनि भन्ने गरिन्छ। मेघगर्जनकपास जस्तो देखिने बादलको कारणले हुन्छ। यस्ता बादलहरू सामान्यतया तीव्र बतासले उडाउने खाले, भारी वर्षा र कहिलेकाहीँ हिउँ, वा असिना उत्पन्न गराउनु गर्दछन् भने तर केही चट्याङले थोरै वर्षा गराउनु गर्दछन्। शक्तिशाली चट्याङले ठूलो असिना, तीव्र बतास र भूमरी लगायतका सबैभन्दा खतरनाक मौसमी घटनाहरू निम्त्याउने गर्दछन्। भीषण आँधीबेहरी, धूलोको बादल र ज्वालामुखी विस्फोटनले पनि चट्याङ उत्पन्न गराउन सक्छ। हावाहुरी, असिना र बाढीजस्ता आँधीबेहरीबाट हुने क्षतिबाहेक चट्याङले भवनहरूलाई क्षति पुऱ्याउने लगायत आगो सल्काउने र प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको ज्यान लिन पनि सक्छ। विशेषगरी सन् २००७ मा पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रको एक दुर्गम पहाडी गाउँ उसारी दारामा खसेको चट्याङ ३० जनाको ज्यान लिएको थियो।[४१] यसैगरी चट्याङका कारण लान्साको उडान ५०८ दुर्घटना हुँदा ९१ जनाको मृत्यु भएको थियो। सन् १९९४ मा इजिप्टको द्रोन्कामा चट्याङलागेर ४६९ जनाको मृत्यु भएको थियो।[४२] चट्याङबाट हुने अधिकांश मृत्यु अमेरिकाएसियाका गरिब देशहरूमा हुने गर्दछ।[४३]

भूमरी[सम्पादन गर्नुहोस्]

अमेरिकाको ओक्लाहोमा राज्यमा आएको भूमरीको एक दृश्य

भूमरी जमीनको सतह र आँधी सहितको बादललाई जोडेर घुम्दै बनेको सोली आकारको वा खम्बा आकारको हावाको हिंस्रक आकृति हो। भूमरी वायुको उच्च चाप तथा निम्न चापको कारण सृजना हुने गर्छ। दुई फरक चाप क्षेत्रका सन्तृप्त वायुहरू आपसमा सङ्कुचन हुँदा वायु जोडसँग वृत्त आकारमा घुम्दछ। यसरी घुम्दै वायु पृथ्वीको सतहबाट माथितिर उठ्छ जसले ठूलो विनास पनि गर्दछ। कतिपय क्षेत्रमा भूमरीले ठूलो वर्षा पनि गराउँछ। ठूलो भूमरीमा हावाको गति १७७ किलोमिटर प्रतिघण्टा र चौडाइ ७५ मिटर हुन्छ। यस्ता खतरनाक भूमरीहरू तीव्र गतिमा फैलनुअघि धेरै किलोमिटर यात्रा गर्न सक्छन्। अधिक शक्तिशाली भूमरीमा हावाको गति ४८० किलोमिटर भन्दा बढी हुन्छ र १.६ किलोमिटर भन्दा अग्लो हुन्छ सक्छ। यस्ता भूमरीहरूले १०० किलोमिटरभन्दा बढीको दूरीसम्म फैलिन सक्छ।[४४][४५][४६]

असरहरू[सम्पादन गर्नुहोस्]

प्राकृतिक प्रकोपबाट विश्वव्यापी मृत्युदर (सन् १९००–२०२२)
प्राकृतिक प्रकोपबाट विश्वव्यापी क्षति (सन् १९८०–२०२२)

प्राकृतिक प्रकोपले जनधनको क्षति, चोटपटक वा अन्य स्वास्थ्य प्रभाव, सम्पत्ति क्षति, जीविकोपार्जन र सेवाहरूमा अवरोध, सामाजिक र आर्थिक व्यवधान तथा वातावरणीय क्षति पुर्‍याउन सक्छ। भूकम्प, पहिरो, ज्वालामुखी विस्फोट, बाढी, चक्रवात, आँधीबेहरी, हिमआँधी, सुनामी, शीतलहर, डढेलोमहामारी जस्ता विभिन्न प्राकृतिक घटनाहरूले प्रत्येक वर्ष हजारौँ मानिसहरूको ज्यान लिने र अरबौँको सम्पत्ति नष्ट तथा बासस्थानमा क्षति पुर्‍याउन गर्दछ।[४७] तथापि, विश्वभर तीव्र रूपमा वृद्धि हुँदै गइरहेको जनसङ्ख्या र यसले सिर्जना गरेको प्रतिकूल वातावरणको बढ्दो एकाग्रताले प्रकोपको आवृत्ति र गम्भीरता दुवै बढाएको छ। भवन निर्माण, पूर्वाधारचिकित्सा सुविधाको गुणस्तरमा कमीका कारण कमजोर र अल्पविकसित देशहरूमा प्राकृतिक प्रकोपबाट हुने मृत्युदर अन्यको तुलनामा सबैभन्दा बढी छ। विश्वव्यापी रूपमा देशहरूको बढ्दो विकास, प्राकृतिक प्रकोपको पूर्पतयारी, गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगका कारण विगत १०० वर्षमा प्राकृतिक प्रकोपबाट हुने मृत्युको कुल सङ्ख्या मा ७५ प्रतिशतले कमी आएको छ। यही समयावधिमा विश्वको जनसङ्ख्या वृद्धि भई प्रतिव्यक्ति मृत्युदरमा पनि ठूलो कमी आएको छ।[४८]

वातावरणमा असर[सम्पादन गर्नुहोस्]

प्राकृतिक प्रकोप र सशस्त्र द्वन्द्वजस्ता आपतकालीन अवस्थामा बढी फोहर उत्पादन हुन सक्ने भएकाले यस्तो अवस्थामा अन्य सेवाको तुलनामा फोहरमैला व्यवस्थापनलाई कम प्राथमिकता दिइन्छ। विद्यमान फोहरमैला व्यवस्थापन सेवा र पूर्वाधारहरू अवरुद्ध हुनसक्ने भएकाले समुदायहरू अव्यवस्थित फोहर र बढ्दो फोहरको चपेटामा पर्न सक्छन्। यस्तो अवस्थामा मानव स्वास्थ्य र वातावरणमा प्रायः नकारात्मक असर पर्न जान्छ।[४९]

भूकम्प, सुनामीआँधीबेहरी जस्ता प्राकृतिक प्रकोपहरूले छोटो अवधिमा ठूलो मात्रामा फोहोर उत्पन्न गर्ने क्षमता राख्दछ। आपतकालीन अवस्थामा फोहोरमैला व्यवस्थापन प्रणालीहरू कार्यबाट बाहिर हुन सक्ने वा कटौती गर्न सकिने भएकाले यस प्रणालीलाई पुनर्स्थापना गर्न पर्याप्त समय र धनको आवश्यकता पर्न जान्छ। उदाहरणका लागि, सन् २०११ मा जापानमा आएको सुनामीले ठूलो मात्रामा भग्नावशेष र फोहोरहरू उत्पन्न गराएको थियो। यस अवधिमा जापानी वातावरण मन्त्रालयले ५० लाख टन फोहोर जम्मा भएको अनुमान गरेको थियो। सोही वर्षको अन्त्यतिर बाँकी रहेका प्लास्टिकजन्य फोहोरहरू क्यानडासंयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रमा बगाएर ल्याएको थियो। संयुक्त राज्य अमेरिकाको पश्चिमी तटमा यसले फोहोरको मात्रा तीव्र रूपमा बढाउँदै विदेशी प्रजातिहरूलाई समेत त्यहाँ ल्याइ पुर्‍याएको हुनसक्ने अनुमान गरिएको थियो। सन् २०२० मा लोएटअलद्वारा गरिएको एक अध्ययनले सन् २०१८ मा हङकङमा आएको आँधीपछि गरिएको सर्वेक्षणमा समुद्र तटमा माइक्रोप्लास्टिक्सको मात्रा १०० प्रतिशतले वृद्धि भएको जनाएको थियो।[४९]

प्राकृतिक प्रकोप पछिको राहत कार्यको क्रममा ठूलो मात्रामा प्लास्टिकजन्य फोहर उत्पादन हुन सक्छ। हाइटीमा सन् २०१० मा गएको भूकम्पपछि राहत कार्यबाट निस्कने फोहोरलाई "दोस्रो विपत्ति" भनिएको थियो। संयुक्त राज्य अमेरिकाको सेनाले लाखौँ पानीका बोतलहरू र खाद्य प्याकेजहरू वितरण गरेको तथ्याङ्क आएको भएतापनि त्यहाँ फोहोरमैला व्यवस्थापनका पहल भएको थिएन। विस्थापित मानिसहरूका लागि आपतकालीन आश्रयस्थलका लागि सात लाखभन्दा बढी प्लास्टिक त्रिपाल र एक लाख टेन्ट आवश्यक पर्न गएको थियो। यस अवधिमा प्लास्टिकजन्य फोहोरको मात्रामा वृद्धि हुँदासम्म पनि फोहोरमैला व्यवस्थापनमा पनि खासै ध्यान दिइएको थिएन जसकारण ढलहरू अवरुद्ध हुँदा यसले रोगको जोखिमलाई बढाएको थियो।[४९]

प्राकृतिक प्रकोपपछि द्वन्द्वका कारण समुदायहरू ठूलो मात्रामा विस्थापन हुन सक्छन्। यस्तो अवस्थाबाट गुज्रिरहेका मानिसहरूलाई प्रायः न्यूनतम फोहोर व्यवस्थापन सुविधाहरू प्रदान गरिन्छ। प्लास्टिक लगायत अन्य मिश्रित फोहोरमैला व्यवस्थापनका लागि फोहोरहरूलाई आगो लगाउने गरेको पाइन्छ जसकारण वायु प्रदूषणले श्वासप्रश्वास र अन्य रोगहरू निम्त्याउन सक्छ। उदाहरणका लागि, सहरावी शरणार्थीहरू अल्जेरियाको टिन्डाउफ नजिकैका पाँच शरणार्थी शिविरमा लगभग ५० वर्षदेखि बसिरहेका छन्। फोहोरमैला सङ्कलन गर्ने सेवाको अभाव र पुनःप्रयोग सुविधा नहुँदा शिविरका सडक र वरपरका क्षेत्रमा प्लास्टिकजन्य फोहोरको थुप्रो जताततै देखिएको थियो। यसको विपरीत, सिरियाबाट आएका शरणार्थीहरूका लागि जोर्डनको अजराक शिविरमा फोहोर व्यवस्थापन सेवाहरू मध्ये दैनिक उत्पादन हुने २०.७ टन फोहोरमध्ये १५ प्रतिशत पुनःप्रयोग गर्न योग्य छन्।[४९]

कमजोर समूहहरूमा असर[सम्पादन गर्नुहोस्]

संसारका धेरै ठाउँको सामाजिक, राजनीतिक र साँस्कृतिक अवस्थाका कारण महिलाहरू प्रायः विपत्तिबाट असमान रूपमा प्रभावित हुन्छन्। सन् २००४ को हिन्द महासागरमा आएको सुनामीमा पुरुषको तुलनामा महिलाको मृत्यु धेरै भएको थियो।[५०] प्रायः महिलाहरूले पौडी खेल्न नजान्ने भएकाले पुरुषको तुलनामा महिलाहरूको मृत्यु बढी भएको तथ्य उजागर भएको थियो।[५०] प्राकृतिक प्रकोपको समयमा र त्यसपछिको पुनर्स्थापना प्रक्रियामा महिलाहरू लैङ्गिक हिंसाबाट प्रभावित हुने र यौन हिंसाको चपेटामा पर्ने खतरा बढी हुन्छ। प्रहरी परिचालन र कार्यान्वयनमा बाधा, फितलो नियम र विस्थापनले लैङ्गिक हिंसा र यौन दुर्ववहारको जोखिम बढाउँदछ।[५०] यौन हिंसाबाट प्रभावित महिलाहरूमा यौन संचारित सङ्क्रमण, शारीरिक चोटपटक र दीर्घकालीन मनोवैज्ञानिक असरको जोखिम उल्लेखनीय रूपमा बढेको छ। यी सबै दीर्घकालीन स्वास्थ्य परिणामहरूले पुनर्प्राप्ति अवधि पछि सामाजिक पुनर्मिलनमा बाधा पुर्‍याउन सक्छ।[५०]

बहु-खतरा विश्लेषण[सम्पादन गर्नुहोस्]

माथि उल्लिखित प्रत्येक प्राकृतिक प्रकोपहरूले प्रभाव पार्ने क्षेत्र, खतराको आवृत्ति, दोहोरिनसक्ने अवधि, तीव्रता र प्रभावको सन्दर्भमा छुट्टाछुट्टै विशेषताहरू रहेका छन्। यी जटिलताहरूको परिणामस्वरूप "एकल-खतरा" आँकलन सामान्य बन्दछन् जहाँ एक विशेष खतरा प्रकारबाट खतरा क्षमता सीमित हुन्छ। यी उदाहरणहरूमा खतराहरूलाई प्रायः पृथक वा स्वतन्त्र रूपमा मापन र अध्ययन गर्ने गरिन्छ। ती मध्ये बहु खतरा विश्लेषण एक दृष्टिकोण हो जसले सबै सम्भावित प्राकृतिक प्रकोप र ती प्रकोपहरू बीचको अन्तरक्रिया वा अन्तरसम्बन्धहरू पहिचान गर्न खोज्दछ।[५१][५२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Natural Hazards | National Risk Index", hazards.fema.gov, Federal Emergency Management Agency, अन्तिम पहुँच २०२२-०६-०८ 
  2. G. Bankoff, G. Frerks, D. Hilhorst, सम्पादक (डिसेम्बर २०२०), Mapping Vulnerability: Disasters, Development and People, Routledge, आइएसबिएन 1-85383-964-7 
  3. Cannon, Terry. (1994). Vulnerability Analysis and The Explanation Of 'Natural' Disasters. Disasters, Development and Environment.
  4. ४.० ४.१ "Why natural disasters aren't all that natural", openDemocracy, २०२०-११-२६, मूलबाट २०२०-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२९ 
  5. Gould, Kevin A.; Garcia, M. Magdalena; Remes, Jacob A.C. (१ डिसेम्बर २०१६), "Beyond 'natural-disasters-are-not-natural': the work of state and nature after the 2010 earthquake in Chile", Journal of Political Ecology 23 (1): 93, डिओआई:10.2458/v23i1.20181 
  6. Smith, Neil (२००६-०६-११), "There's No Such Thing as a Natural Disaster", Items, मूलबाट २०२१-०१-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२९ 
  7. Gould, Kevin A.; Garcia, M. Magdalena; Remes, Jacob A.C. (१ डिसेम्बर २०१६), "Beyond 'natural-disasters-are-not-natural': the work of state and nature after the 2010 earthquake in Chile", Journal of Political Ecology 23 (1): 93, डिओआई:10.2458/v23i1.20181 
  8. Smith, Neil (२००६-०६-११), "There's No Such Thing as a Natural Disaster", Items, मूलबाट २०२१-०१-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२९ 
  9. "Wildfire Causes and Evaluations (U.S. National Park Service)", NPS.gov Homepage (U.S. National Park Service), २०१८-११-२७, मूलबाट २०२१-०१-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२९ 
  10. १०.० १०.१ DeWeerdt, Sarah (२०२०-०९-१५), "Humans cause 96% of wildfires that threaten homes in the U.S.", Anthropocene, मूलबाट २०२०-१२-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२९ 
  11. Smil, Vaclav (१८ डिसेम्बर १९९९), "China's great famine: 40 years later", BMJ 319 (7225): 1619–1621, डिओआई:10.1136/bmj.319.7225.1619, पिएमआइडी 10600969, पिएमसी 1127087 
  12. McGuire, Bill (डिसेम्बर २०२०), Waking the Giant: How a changing climate triggers earthquakes, tsunamis, and volcanoes, Oxford University Press, आइएसबिएन 978-0-19-959226-5, मूलबाट २०२२-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२९ 
  13. D. Alexander (२००२), Principles of Emergency planning and Management, Harpended: Terra publishing, आइएसबिएन 1-903544-10-6 
  14. B. Wisner; P. Blaikie; T. Cannon; I. Davis (डिसेम्बर २०२०), At Risk – Natural hazards, people's vulnerability and disasters, Wiltshire: Routledge, आइएसबिएन 0-415-25216-4 
  15. Kieft, J.; Bendell, J (२०२१), "The responsibility of communicating difficult truths about climate influenced societal disruption and collapse: an introduction to psychological research", Institute for Leadership and Sustainability (IFLAS) Occasional Papers 7: 1–39, मूलबाट २०२१-०३-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०३ 
  16. "Landslide synonyms", thesaurus.com, Roget's 21st Century Thesaurus, २०१३, मूलबाट २४ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१८ 
  17. McGraw-Hill Encyclopedia of Science & Technology, 11th Edition, आइएसबिएन ९७८००७१७७८३४३, 2012
  18. "USGS factsheet, Landslide Types and Processes, 2004.", मूलबाट २०२०-१०-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-२८ 
  19. Hungr, Oldrich; Leroueil, Serge; Picarelli, Luciano (२०१४-०४-०१), "The Varnes classification of landslide types, an update", Landslides (अङ्ग्रेजीमा) 11 (2): 167–194, आइएसएसएन 1612-5118, डिओआई:10.1007/s10346-013-0436-y, बिबकोड:2014Lands..11..167H 
  20. Haflidason, Haflidi; Sejrup, Hans Petter; Nygård, Atle; Mienert, Jurgen; Bryn, Petter; Lien, Reidar; Forsberg, Carl Fredrik; Berg, Kjell et al. (२००४-१२-१५), "The Storegga Slide: architecture, geometry and slide development", Marine Geology, COSTA - Continental Slope Stability (अङ्ग्रेजीमा) 213 (1): 201–234, आइएसएसएन 0025-3227, डिओआई:10.1016/j.margeo.2004.10.007, बिबकोड:2004MGeol.213..201H 
  21. Merzdorf, Jessica, "Climate Change Could Trigger More Landslides in High Mountain Asia", Climate Change: Vital Signs of the Planet, NASA's Goddard Space Flight Center, मूलबाट २०२३-०२-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०२-०४ 
  22. "Snow Avalanches | National Snow and Ice Data Center", nsidc.org, अन्तिम पहुँच २३ मार्च २०२१ 
  23. Louchet, Francois (२०२१), Snow Avalanches, Oxford University Press, पृ: 1–2, आइएसबिएन 978-0-19-886693-0, डिओआई:10.1093/oso/9780198866930.001.0001 
  24. १९९० पछिको ठूलो भुईंचालो, नयापत्रिका, १९ सेप्टम्बर २०११ वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-२६ मिति
  25. Tuckman, Jo (२०१०-०६-०३), "Guatemala City residents fearful after factory disappears into sinkhole", The Guardian (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच २०२४-०१-०७ 
  26. MSN Encarta Dictionary. Flood. वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-०४ मिति Retrieved on 2006-12-28. 2009-10-31.
  27. "Directive 2007/60/EC Chapter 1 Article2", मूलबाट २०१५-११-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-११-१४ 
  28. Glossary of Meteorology (June 2000). Flood. वेब्याक मेसिन अभिलेखिकरण २००७-०८-२४ मिति Retrieved on 2009-01-09.
  29. "tsunami", Longman Dictionary of Contemporary English, Longman, अन्तिम पहुँच १९ अगस्ट २०१९ 
  30. Barbara Ferreira (अप्रिल १७, २०११), "When icebergs capsize, tsunamis may ensue", Nature journal, मूलबाट २०११-११-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०४-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  31. "Heatwave – noun – Definition", gcunoxfohoarnersdictionaries.com। 
  32. Robinson, Peter J (२००१), "On the Definition of a Heat Wave", Journal of Applied Meteorology 40 (4): 762–775, डिओआई:10.1175/1520-0450(2001)040<0762:OTDOAH>2.0.CO;2, बिबकोड:2001JApMe..40..762R 
  33. Climate Change 2021: The Physical Science Basis, Intergovernmental Panel on Climate Change, २०२१, पृ: 8–10। 
  34. Thompson, Andrea, "This Summer’s Record-Breaking Heat Waves Would Not Have Happened without Climate Change", Scientific American 25 July 2023
  35. "Billion-Dollar Weather and Climate Disasters: Events | National Centers for Environmental Information (NCEI)", www.ncdc.noaa.gov, मूलबाट २०१४-०४-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०३-२० 
  36. Stanke, C; Kerac, M; Prudhomme, C; Medlock, J; Murray, V (५ जुन २०१३), "Health effects of drought: a systematic review of the evidence.", PLOS Currents 5, डिओआई:10.1371/currents.dis.7a2cee9e980f91ad7697b570bcc4b004, पिएमआइडी 23787891, पिएमसी 3682759 
  37. Bellizzi, Saverio; Lane, Chris; Elhakim, Mohamed; Nabeth, Pierre (१२ नोभेम्बर २०२०), "Health consequences of drought in the WHO Eastern Mediterranean Region: hotspot areas and needed actions", Environmental Health 19 (1): 114, आइएसएसएन 1476-069X, डिओआई:10.1186/s12940-020-00665-z, पिएमआइडी 33183302, पिएमसी 7659048, बिबकोड:2020EnvHe..19..114B 
  38. "CIFFC Canadian Wildland Fire Management Glossary", Canadian Interagency Forest Fire Centre, अन्तिम पहुँच १६ अगस्ट २०१९ 
  39. "Forest fire videos – See how fire started on Earth", BBC Earth, मूलबाट १६ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-१३ 
  40. "Drought, Tree Mortality, and Wildfire in Forests Adapted to Frequent Fire", UC Berkeley College of Natural Resources, अन्तिम पहुँच १५ मार्च २०२२ 
  41. "Lightning kills 30 people in Pakistan's north", Reuters, २० जुलाई २००७, मूलबाट ४ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०२० 
  42. "An appraisal of underground gas storage technologies", Health and Safety Executive, मूलबाट २०२०-१०-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२९ 
  43. "Deadly lightning strike in Mexico reveals plight of poorest citizens", The Guardian, ३१ जुलाई २०१५, मूलबाट ६ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१६ 
  44. Wurman, Joshua (२००८-०८-२९), "Doppler on Wheels", Center for Severe Weather Research, मूलबाट २००७-०२-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-१३ 
  45. "Hallam Nebraska Tornado", National Weather Service, National Oceanic and Atmospheric Administration, २००५-१०-०२, मूलबाट २०१४-०८-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-११-१५ 
  46. Roger Edwards (२००६-०४-०४), "The Online Tornado FAQ", National Weather Service, National Oceanic and Atmospheric Administration, मूलबाट २००६-०९-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-०९-०८  वेब्याक मेसिन अभिलेखिकरण २००६-०९-२९ मिति
  47. Cueto, Lavinia Javier; Agaton, Casper Boongaling (२०२१), "Pandemic and Typhoon: Positive Impacts of a Double Disaster on Mental Health of Female Students in the Philippines", Behavioral Sciences (अङ्ग्रेजीमा) 11 (5): 64, डिओआई:10.3390/bs11050064, पिएमआइडी 33946801, पिएमसी 8147095 
  48. Rosling, H.; Rosling, O.; Rönnlund, A.R. (२०१८), Factfulness: Ten Reasons We're Wrong About the World – and Why Things Are Better Than You Think, Flatiron Books, पृ: 107–109, 299–325, आइएसबिएन 978-1-250-10781-7 
  49. ४९.० ४९.१ ४९.२ ४९.३ "Drowning in Plastics – Marine Litter and Plastic Waste Vital Graphics", UNEP – UN Environment Programme (अङ्ग्रेजीमा), २०२१-१०-२१, मूलबाट २०२२-०३-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-२३ 
  50. ५०.० ५०.१ ५०.२ ५०.३ Nour, Nawal N (२०११), "Maternal Health Considerations During Disaster Relief", Reviews in Obstetrics and Gynecology 4 (1): 22–27, पिएमआइडी 21629495, पिएमसी 3100103 
  51. Kappes, Melanie S.; Keiler, Margreth; von Elverfeldt, Kirsten; Glade, Thomas (२०१२), "Challenges of analyzing multi-hazard risk: a review", Natural Hazards 64 (2): 1925–1958, डिओआई:10.1007/s11069-012-0294-2, बिबकोड:2012NatHa..64.1925K 
  52. Gill, Joel C.; Malamud, Bruce D. (डिसेम्बर २०१४), "Reviewing and visualizing the interactions of natural hazards", Reviews of Geophysics 52 (4): 680–722, डिओआई:10.1002/2013RG000445, बिबकोड:2014RvGeo..52..680G 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]