सामग्रीमा जानुहोस्

भुईँचालो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भूकम्पबाट अनुप्रेषित)
भुईँचालोका इपिसेन्टरहरूको विश्वव्यापी वितरण
टेक्टोनिक प्लेटहरूको विश्वव्यापी चाल

भुईँचालोवा भूकम्प वा भैँचालो भूगर्भीय गडबडीबाट पैदा हुने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाई नै भुईँचालो भनिन्छ। यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भुईँचालोलाई ठूला भुईँचालो र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भुईँचालोलाई मझौला भुईँचालो भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भुईँचालोलाई साना भुईँचालो भनिन्छ।[] अधिकांश विध्वंशक भुईँचालोहरू भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ।


भुईँचालो जाने प्रक्रिया

[सम्पादन गर्नुहोस्]
भूकम्पीय प्रकारहरू (Faults)


जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई 'टेक्टोनिक प्लेट' भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएर मा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजिकआएर ठोक्किन्छन्। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ। यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भुईँचालो जान्छ।


टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भुईँचालो जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्। जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भुईँचालो गइरहन्छन्। करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ। उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ।[]

पराकम्पन भनेको सानो भुइँचालो हो जुन मुख्य भुइचोलो आइसके पछि त्यही छेत्रमा आउने गर्द्छ । यो मुख्य भुइँचालो भन्दा सानो हुने गर्द्छ । यदी परकम्पन मुख्य भुइँचालो भन्दा ठुलो भएमा ठुलो लाई मुख्य भुइँचालो भनिन्छ अनि पहिले आएको मुख्य भुइँचालो लाई भुइँचालोको पुर्व कम्पन भनिन्छ । भुइँचालो आइसके पछि ठोक्किएका दुइ प्लेटहरु यथा स्थानमा न आउँदा सम्म परकम्पनहरु आइरहन्छन ।

नेपालमा भुईँचालो

[सम्पादन गर्नुहोस्]

नेपालमा भुईँचालो जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भुईँचालोका तरङ्गहरूको चारैतिर प्रसारण हुन थाल्छ। भुईँचालोले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ।

काठमाडौँदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईँचालोमा विसं १९९० को महाभुईँचालो (८.२ रेक्टर), विसं २०४५को उदयपुर केन्द्रविन्दु रहेको भुईँचालो (६.५ रेक्टर) हुन् भने त्यसपछिका भुईँचालोमा असोज एक गते आइतबार गएको भुईँचालो (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भुईँचालोहरू दिनहुँ गइराखेका हुन्छन्। असोज एक गते गएको भुईँचालो विसं २०४५मा गएको भुईँचालोभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभुईँचालोबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भुईँचालोबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने असोज १को भुईँचालोबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको छ।


भुईँचालो आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरू

[सम्पादन गर्नुहोस्]
  • भुईँचालोको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्छ: टर्च र व्याट्री, सानो रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरू र आफ्नो परिचयपत्रको फोटोकपिहरू ।
  • आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्‍नुहोस्।
  • भुईँचालो गएपछिको समयमा टेलिफोन सन्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरू आदानप्रदान गर्नुहोस्।
  • भुईँचालोको समयमा खस्ने वस्तुहरू मृत्यु अथवा चोटपटकका मुख्य कारण हुन्। यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि घरपरिवारहरूले साधारण उपायहरू गर्नसक्दछन्। यस्ता वस्तुहरूमा फर्निचर, फोटोको फ्रेम, सजावटका वस्तु, पुस्तकका तख्ता, ग्यास सिलिन्डर आदि पर्दछन्।
  • भुईँचालोको धक्का आएको बेला सुरक्षित रहने उपाय भनेको घुँडा टेकेर गुडुल्किने र ओत लागेर समात्ने हो। यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्‍नु पर्दछ।
  • जब भुईँचालो रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरू उत्पन्न हुन्छन्। यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी आदि पर्दछन्। मानिसहरूले यस्ता जोखिमहरू छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नकालागि सावधानी अपनाउनु पर्दछ।
  • भुईँचालो आएको बेला शान्त रहनु महत्त्वपूर्ण हुन्छ। उर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नकालागि चिच्याउनु हुँदैन।
  • प्राकृतिकरूपमा भुईँचालो जानुबाट आफैमा धनजनको क्षति हुँदैन। तर खराब भवन, संरचना इतर उपायहरूको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरू संकटका कारण हुन्। त्यसतर्फ सचेत रहनुपर्दछ।


नेपालमा ठूला भुईँचालोहरू

[सम्पादन गर्नुहोस्]

भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभुईँचालो र हरेक ५० वर्षमा मध्यमखालको भुईँचालो जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५,२०७२ सालमा ठूला भुईँचालो गएको इतिहास छ।


  • २ माघ १९९०मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भुईँचालो आठ दशमलव चार रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभुईँचालोलाई लिइन्छ। आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भुईँचालोमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ।[]


  • भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. उदयपुर जिल्लामा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भुईँचालोबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए।[]
  • २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भुईँचालो उत्तिकै विनासकारी सावित भयो । यो भुईँचालोपछी धेरै दिनसम्म सानासाना पराकम्प गइरहेका छन्।


पूर्वानुमान र क्षति न्युनिकरण

[सम्पादन गर्नुहोस्]

भुईँचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाइवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुईँचालो जानसक्ने सङ्केत हुन सक्छ। यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ। असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भुईँचालोबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ |भुईँचालोको भविष्यवाणी गर्न सकिँदैन। भुईँचालोबाट बच्ने उपाय भनेको भुईँचालो पूर्व गर्नुपर्ने तयारी नै हो।[]


भुईँचालोबाट हुने जनधनको क्षति

[सम्पादन गर्नुहोस्]

कुनै स्थानविशेषमा भुईँचालोबाट हुने जनधनको क्षति निम्न कुरामा भर पर्छः


  • भुईँचालोको शक्ति (म्याग्नेच्युड):जति ठूलो भुईँचालो त्यति नै बढी क्षति हुने सम्भावना रहन्छ।
  • भुईँचालोको केन्द्रविन्दुबाट उक्त स्थानविशेषसम्मको दूरी: जति नजिकत्यति बढी क्षति हुने सम्भावना रहन्छ।
  • भुईँचालोको केन्द्रविन्दुको नजीकमा ठूला सहरहरू: ठूला सहरहरूमा जनसङ्ख्या धेरै हुने हुँदा क्षति पनि बढी हुने सम्भावना रहन्छ।
  • भू-गर्भ तथा भौगर्भिक बनावटः काठमाडौँ तथा तराईजस्तो कालो माटोमाथि रहेका बस्तीमा भुईँचालोका तरङ्गको 'एम्प्लिच्युड' बढेर क्षति हुनसक्छ भने बालुवामाथि रहेका बस्तीहरूमा जमीनको तरलीकरण भई अस्वाभाविक क्षति हुनसक्छ।
  • भौतिक संरचनाहरू : भुईँचालो प्रतिरोधी संरचनाहरू नभएको अवस्थामा बढी क्षति हुनसक्छ।
  • भुईँचालो गएको समय: रातिको समयमा सबै सुत्ने हुनाले भुईँचालो गएमा बढी क्षति हुन्छ भने दिउसो गएमा अलि कम हुनसक्छ।
  • भुईँचालो गएको ऋतु : वर्षातमा भुईँचालो गएमा जमीनको तरलीकरण व्यापक हुनसक्छ। त्यसैगरी पहिरो पनि धेरै जान सक्छ।


भुईँचालोपछि ध्यान दिनु पर्ने

[सम्पादन गर्नुहोस्]
  • अहिले पनि हामी भुईँचालोको साना धक्काहरू महसूस गरिरहका छौ तर ती त्यति ठूलो भने छैनन् । केही समयसम्म यस्ता साना भुईँचालोका धक्काहरू आइरहन सक्ने हुनाले हामी बच्नको लागि तयार भइरहनुपर्छ ।
  • यदि तपाइँ घरभित्र हुनुहुन्छ भने भित्रै बस्नुहोस् । सजिलै फुट्न सक्ने र चोट लाग्न सक्ने चीज, सिसा, धारिला हतियारदेखि टाढा रहनुहोस् । भुईँचालोबाट बच्नका लागि घुँडा टेकी ,गुडुल्की मार्नुहोस् । टेबुलमुनि वा अन्य बचाउ गर्नसक्ने फर्निचरमुनि जानुहोस् र कम्पन नरोकिएसम्म यथास्थानमा रहनुहोस ।
  • कम्पन रोकिएपछि मात्र बाहिर खुला ठाउँमा निस्कनुहोस् पर्खाल तथा ठूला भवनहरूबाट पनि बच्ने प्रयास गर्नुहोस् ।
  • यदि घरबाहिर हुनुहन्छ भने बाहिरै बस्नुहोस् । पर्खाल,सिसा,बोर्ड जस्ता भाँचिएर भत्केर चोट लाग्न सक्ने चीजहरूबाट टाढा रहनुहोस् । घुडा टेकेर बसी सुरक्षित रहनुहोस् ।
  • भुईँचालो पछि सञ्चारमा अवरोध तथा लाईन व्यस्त हुनसक्ने भएकाले फोन गर्ने प्रयास गर्नुृभन्दा लिखित सन्देसहरू पठाएर सुचना लिने प्रयास गर्नुहोस् ।
  • पहाडी,हिमाली तथा अग्लो ठाउँमा हुनुहुन्छ भने पहिरो तथा चट्टान खस्ने सम्भावना हुने भएकोले त्यस्तो ठाउँमा नबस्नुहोस् । भुईँचालोका कारणले नदी नालाहरूमा बाढी जान सक्ने भएकाले नदी नालाहरूको नजिक नबस्नुहोस्। भुईँचालोका पराकम्पहरूले पहिरो जान सक्ने हुनाले भिरको कापमा बसी सुरक्षित रहनुहोस् ।
  • कम्पन रोकिएकछि इटाका पर्खाल, भवनहरूबाट पर बस्नुहोस् । भत्किएका संरचना भित्र नपस्नुहोस् । भुईँचालोका पराकम्पहरूले पनि थप क्षति निम्तयाउन सक्छन् र चोटपटक लाग्न सक्छ ।
  • आफुसँग सधै सिठठी राख्नुहोस् । यदि तपाइँ भित्र फस्नुभयो तथा घाइते हुनुभयो भने बाहिर भएकाहरूको ध्यान तान्नकालागि सिठ्ठी बजाउनुहोस् ।
  • यदि तपाइँ भित्र हुनुहुनछ भने नआत्तिनुहोस् आफुसँग भएको सिठ्ठीको प्रयोग गर्नुहोस् । सिठ्ठीको प्रयोग गर्नाले तपाइँको शक्ति बचाउन तथा तपाइँलाई सास फेर्न सजिलो गराउँछ । यदि तपाइँसँग सिठ्ठी छैन भने कुनै कडा सतहमा बेस्सरी हिर्काउनुहोस् ।
  • सरसफाइको कमी वा दूषित पानी र खानेकुराको सङ्क्रमणका कारणहरूले गर्दा झाडापखाला र हैजा जस्ता रोगहरू लाग्न सक्छ । झाडापखाला लाग्ने किटाणु दिसामा पाइन्छन् र त्यही खाना खाँदा मानिस बिरामी पर्छ । झाडापखाला लागेमा तारन्तर पातलो दिसा हुने, बान्ता हुने, पेट कटक्क काट्ने, ज्वरो आउने
  • शरीरमा पानीको मात्रा कम हुने जस्ता लक्षणहरू देखिन्छन् । झाडापखाला ज्यादै कडा भएमा दिसामा रगत देखिन्छ ।
  • निम्न लक्षणहरू देखा परेमा तुरुन्त नजीकको स्वास्थ्य संस्था, डाक्टर वा क्लिनिमा सम्पर्क राख्नुहोस्ः
    • क.कडा झाडापखाला लागेमाः १ घण्टाभित्रमा तारन्तार पातलो दिसा भएमा, दिसामा रगत देखिएमा, बिरामीको आँखा गडेमा, तिर्खा लाग्ने तर पानी पिउन नसक्ने भएमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्कने, शिशु सुस्त भएमा वा मूर्छा परेमा, तारन्तार बान्ता भइरहेमा, ज्वरो आएमा
    • ख. शिशुलाई २४ घण्टासम्म दिनको ३ पटक भन्दा बढी दिसा लागेमा
    • ग. ठूला मानिसहरूलाई ३ दिनसम्म ३ पटक भन्दा बढी दिसा लागेमा
  • झाडापखाला लागेका शिशुलाई खाना ख्वाइरहनुपर्छ । बिरामी हुँदा भएको कमजोरीबाट तङ्गरिनकोे लागि र कम हुन गएको पोषणको भरपाइ गर्नका लागि बालबालिकालाई अरु बेला भन्दा बढी खाना र झोल पदार्थ दिनुहोस् । बालबालिकालाई झाडापखाला लागेमा अरु बेला भन्दा बढी आमाको दूध ख्वाइरहनुपर्छ । शिशुलाई साविकभन्दा बढी पटक स्तनपान गराउनुपर्छ ।
  • जथाभावी खुला ठाउँमा दिसापिसाब गर्नुहुँदैन । चर्पीमा मात्र दिशा पिसाब गर्नुहोस् । दिसा गरेपछि साबुन पानीले राम्ररी हात धुनुहोस् । यसो गर्दा आफू र अरुलाई पनि रोग लाग्न र सार्नबाट बचाउन सकिन्छ।
  • यदि चर्पी उपलव्ध नभएमा तोकिएको ठाउँमा खाडल खनेर दिसापिसाबलाई खाडलमा पुरिदिनुपर्छ । यस्तो खाडल घर र पानीको स्रोतबाट टाढा हुनुपर्छ शिशु/बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा हाल्नुहोस् वा खाडल खनेर त्यसमा हाली माटोले पुरिदिनुहोस्। चर्पी संधै सफा राख्नुहोस्।
  • रोेगबाट बच्नको लागि शुद्धिकरण गरेको पानी मात्र पिउनुहोस् । पानीलाई उमालेर वा फिल्टर गरेर वा पियुष, आक्वा ट्याब वा अन्य पानी शुद्धिकरण गर्ने कुराहरू हालेर शुद्धिकरण गर्न सकिन्छ । क्लोरिन ट्याबलेट पानीमा घोलेर मात्र प्रयोग गर्नुपर्छ र पानीमा हालेको ३० मिनेटपछि मात्र पानी पिउनुूपर्छ । क्लोरिन ट्याबलेट यत्तिकै निल्नुहुदैन, यसो गरेमा स्वास्थ्यको लागि अत्यन्त हानिकारक हुन सक्छ । आक्वा ट्याब नभएमा पानी एक भुल्कासम्म उमालेर पिउनुहोस जसले गर्दा हानिकारक जिवाणुहरू नाश हुन्छन।
  • रोग लाग्नबाट बच्न, दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर कुरा छोएपछि, खाना खानु र खुवाउनुअघि, छोएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ।
  • नवजात शिशु बालबालिका र बुढाबुढीलाई छिटो छिटो श्वासश्वास फेर्ने, कोखा हान्ने, धेरै ज्वरो आउन,खोकी लागिरहने जस्ता लक्षणहरू देखापरेमा, तुरुन्त नजीकको स्वास्थ्यकर्मी/स्वास्थ्य संस्था/अस्पतालमा सम्पर्क राख्नुहोस र उनीहरूको सल्लाह अनुसार उपचार गराउनुहोस।
  • गर्भवती महिलाहरूलाई, योनिबाट अलिकति पनि रगत बग्ने, ८ घण्टाभन्दा बढी प्रसव व्यथा लागेमा, धेरै ज्वरो आएमा, आँखा तिर्मिराउने भएमा, टाउको दुखेमा वा मूर्छा परेमा उनीलाई तुरुन्त स्वास्थ्य संस्था/अस्पताल लग्नुहोस् ।
  • सुत्केरी महिलाहरूलाई योनिबाट धेरै रगत बगेमा, धेरै ज्वरो आएमा,आँखा तिर्मिराउने भएमा, मूर्छा पर्ने जस्ता खतराका लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्था/अस्पतालमा सम्पर्क गर्नुहोस् ।
  • नवजात शिशुहरूको विशेष हेरचाह गर्नुपर्छ ।
    • क. बच्चा जन्मिएको २४ घण्टापछि मात्र नुहाइदिने
    • ख. बच्चालाई न्यानो पारी आमासँगै टाँसेर राख्ने
    • ग.बच्चा जन्मिएको एक घण्टाभित्रमै आमाको दूध खुवाउने र ६ महिनासम्म आमाको दूध बाहेक अन्य कुनै थप खाना नदिने
    • घ.शिशुको नाभीमा क्लोराहेक्साडिन बाहेक कृही पनि नलगाउनुने । यदि क्लोराहेक्साडिन नभए नाभी सुख्खा पारी राख्नुे ।
  • बालबालिकालाई र किशोरकिशोरीहरूलाई एक्लै शिविर वा क्याम्पमा नछोड्ने र सधैं समूहमा राख्ने।
  • भत्किएका घर तथा संरचना नजिक शिविर तथा क्याम्प नबनाउनुहोस् ।
  • रोग लाग्नबाट बच्नको लागि बासी र सडेगलेका खानेकुराहरू नखानुहोस् ।
  • फोहरलाई तोकिएको ठाउँमा वा फोहर फाल्ने भाँडोमा मात्र फाल्ने गर्नुहोस् ।
  • बारम्बार पातलो दिसा हुने, बान्ता हुन,पेट कटक्क काट्ने, ज्वरो आउने, शरीरमा पानीको मात्रा कम हुने आदि भएमा प्रशस्त झोलिलो खानेकुराहरू तथा पुर्नजलीय झोल पिउनुहोस । नजीकको स्वास्थ्यकर्मीको सल्लाहअनुसार जिङ्क चक्की खानुहोस् ।
  • दादुरा अत्यन्त छिटो सर्ने रोग हो र दादुराको खोप नलगाएका बालबाकिामा दादुरा चाँडै फैलन सक्ने सम्भावना हुन्छ । बालबालिकाहरूलाई दादुरा/रुबेला खोप अभियानमा खोप लगाउनुहोस् । यदि बालबालिकाहरूको शरीरमा बिमिराहरू देखिएमा तथा ज्वरो आएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुहोस् र बिरामीलाई सकेसम्म अरु बालबालिकाको नजिकमा नराख्नुहोस् ।नत्र दादुराको प्रकोप हुनसक्छ।
  • भूकम्पपछि बालबालिका, किशोर किशोरी तथा परिवारका अन्य सदस्यहरूलाई, घटनाको बारम्बार झझल्को आइरहने, अत्याधिक तर्सिरहने, रिसाइ रहने, झर्को लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने वा निन्द्रामा तर्सिने, चिन्ता लागिरहने, बोलचाल नगरी चूप लागेर बसिरहने जस्ता लक्षणहरू देखापरेमा उनीहरूको कुरा सुनिदिने, उनीहरूसँग कुरा गनुपर्र्छ, ढाडस दिनुपर्छ,,बालबालिकालाई खेल्न र अरुसँग घुलमिल हुनदिनुपर्छ।
  • धेरै मानिसहरूलाई छोटो समयमै आश्रय दिनका लागि पाल प्रभावकारी हुने भएकोले अहिले पालहरूको वितरण भैरहेको छ । यो उत्पादन गर्न ,किन्न ,ढुवानी गर्न तथा वितरण गर्न सजिलो हुन्छ ।
  • शिविरमा भएका पालहरूलाई आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ जस्तै भुँइमा ओच्छाउन , खाना तथा इन्धन ढाक्न ,छायाँ बनाउनका लागि,शिविरलाई मर्मत सम्भार गर्नका लागि आदि ।

* क्याम्प तथा शिविर बनाउँदा ध्यानदिनुपर्ने कुराहरू:

[सम्पादन गर्नुहोस्]
    • १.भत्किएका घर तथा संरचनानजिक शिविर तथा क्याम्प नबनाउनुहोस् । प्राकृतिक दुर्घटना हुनसक्ने सम्भावनाहरूबाट बच्ने प्रयास गर्नुहोस् । भिरालो जमिनमूनि,चट्टानमुनि तथा बाढी पहिरो आउनसक्ने स्थान नजिक क्याम्प नबनाउनुहोस् ।
    • २.हावा तथा पानीले असर गर्नसक्ने स्थानमा पनि क्याम्प नबनाउनुहोस् । वर्षातकारणले बाढी आउनसक्ने सम्भावनाप्रति सचेत रहनुहोस् ,बसेको ठाउँ वरिपरि कुलेसो बनाउनुहोस् ।सकिन्छ भने बसेको ठाउँलाई पानीले असर नगर्न सक्ने गरी निर्माण गर्नुृहोस् । पानी तर्काउनकालागि त्रिपाललाई कसिलो गरी बाध्नुहोस् तथा भिरालो आकारमा निर्माण गर्नुहोस् ।
    • ३.पालको ढोकालाई हावा तथा पानीले असर गर्न नसक्ने निश्चित गरी निर्माण गर्नुहोस् ।
    • ४.त्रिपाल ठोक्दा त्यसमा प्वाल नपरोस् भन्नका लागि वासर प्रयोग गर्नुहोस् जसले गर्दा पाल च्यातिने तथा प्वाल पर्ने र चुिहने कम सम्भावना हुन्छ ।
  • अपरिचित मानिसहरूको यत्तिकै दाह संस्कार नगर्नु होेस् । उनीहरूको परिवारलाई बुझाइदिनुहोस् ।परिवारका सदस्यहरूलाई आफ्नो परिवारको सदस्यको मृत्यु भएको कुरा थाहा पाउने र रीतिरिवाज अनुसार दाह संस्कार गर्ने अधिकार हुनुपर्छ।
  • मृत शरीरले रोग लाग्ने वा फैलने हुँदैन । त्यसकारण मृत्यू भएकाहरूसँग डराउनुपर्दैन।
  • अस्थायी संरचना जस्तैः अस्थायी घर, अस्पताल, बाटो आदि बनाउँने ठाउँ छान्दा पहिरो जाने, पहिरो गई पानीको बाँध पुरिन सक्ने, खोलामा वर्षात्मा पानी बढ्न सक्ने, पहिरो गई त्यसका अवशेष थिग्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्नुपर्छ ।
  • उपत्यकामा सबैभन्दा चौडा ठाउँमा भएको भौतिक संरचना पत्ता लगाउनुपर्छ।
  • ठूला चट्टानको थुप्रो वा पहिरो गएको सङ्केत दिने ठाउँमा नबस्ने ।
  • सीक्रय खोलाको खोल्सा देखि कम्तीमा १० मिटर माथि बस्नुपर्छ ।
  • डाडो भिरबाठ टाढा बस्ने । आकाश र बस्ने ठाउँको बीचको कोण सम्भव भएसम्म २० डिग्री भन्दा कम गर्ने । तर यो भेरै उपत्यकामा व्यवहारिक नहुन सक्छ ।
  • बाटो खन्दा उकालो ओरालो कम गर्ने ।
  • कृपया तपाईहरूले आ–आफनो सरकारी कागजातहरू जस्तैः नागरीकता, मतदाता परिचय पत्र , चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी , आदि महत्त्वपूर्ण कागजातहरू सङ्कलन गर्नृहोला । यदि यी सबै कागजातहरू तपाईसँग सरक्षित छैनन् भने तपाईहरूले उक्त कागजातका प्रतिलिपि गाविस, नगरपालिका, अथवा सि डि ओ कार्यालय, निर्वाचन कार्यालय, मालपोत, बैक, क्याम्पस, विश्वविध्यालय, तपाइको रोजगारदाता वा अन्य सरकारी कार्यालयबाट लिन सक्नहुनेछ । यी कागजातहरू भुईँचालोबाट प्रभावितहरूले सरकारी सविधा लिनको लागि आवश्यक हुन्छ ।
  • नेपाल प्रहरीले १४१४ नंम्बरको फोनको हट लाईन सुविधा खोलेको छ, यदि तपाईलाई थाह भएको कोहि व्यक्ति सम्पर्कमा छैन्नन् वा हराएका छन् भने यो नंम्बरमा फोन गरी प्रहरीसंग हराएको भनि दर्ता गर्न सकिन्छ । यदि तपाईले कुनै मृत शरिर भेटाउनु भएमा वा जानकारी भएमा पनि १४१४ मा फोन गरी जानकारी गरिदिनु होला। मृत शरिरको बारे जानकरी स्थानिय प्रहरीलाई पनि जानकारी गरी दर्ता गर्नुपर्छ ।
  • यदि तपाई ०–२ वर्षको बालकको आमा हुनुहुन्छ भने स्तनपान जारी राखन्नु होला । ०–६ महिनाका बालकहरूलाई केवल आमाको दुध भए पुग्छ । उनीहरूलाई अन्य खाना अथवा झोल पदार्थ नखुवाउनु होला । ६ महिना देखि माथिका
  • आमाको दुधले बालकहरूलाई झाडा पखला र अन्अत्यन्त य रोगहरूबाट सुरक्षित राख्छ । यदि तपाईलाई स्तनपानमा कठिनाई भएको छ भने प्रसस्त सफा पानी पीउन प्रयास गर्नुस, सन्तुलित आहार, आराम र आफ्नो बालकसंग सकेसम्म धेरै छाला-देखि-छाला सम्पर्क गर्नुहोस । यसो गर्नाले तपाईँलाई दुध उत्पादन गर्न मद्दत पुर्याउने छ ।
  • यदि तपाईको बालक विरामी छ भने कृपया उसलाई पोसिलो खाना खुवाउन बन्ध नर्गनुहोला । आफ्नो बालकलाई, कृपया बारम्बार सानो सानो खाजा खर्इ रहन प्रोत्साहन गर्नुहोला।
  • अस्थाई शिविरमा महिलामाथि कुनै पनि किसिमको हिंसा भएको थाहा पाएमा वा देखिए नलुकाई सकेसम्म चाँडो संम्बन्धीत निकायमा खबर गर्नु होला ।
  • आफ्नो स्वस्थ र तन्दुर्स्तीको लागि एक दिनमा पौष्टिक खाना कम्तीमा तीन पटक खान प्रयास गर्नुहोस्। खाना खादा विभिन्न प्रकारको आहार समावेश गर्नु अति आवश्यक छ, जस्तै हरियो साग सब्जी र फलफूलहरू, कार्बोहाइड्रेट जस्तै रोटि ,भात तथा आलु, शरिरलाई पोषण दिने प्रोटिन जस्तै माछा, मासु तथा दुध, चिल्लो पदार्थ जस्तै तेल र घिउ इत्यादी।
  • खाना बिग्रिनु र कुहिनेबाट बच्न, खानलाई चिसो, सुक्खा र सुरक्षित स्थानमा, किराफट्यांग्राबाट टाडा भण्डार गर्नुहोला।
  • यदि आफ्नो बच्चालाई झाडापखाला लागेको छ भने, उसलाई पानीमा नून मिसाएर, खाना, तथा तरल पदार्थ साथ साथै स्थनपान दिनुपर्छ । यदि बच्चाको स्थिती सप्रेन या राम्रो भएन भने, उसलाई चिकित्सककोमा लगेर जाच गराउनुपर्छ।

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]