सामग्रीमा जानुहोस्

अरुन्धती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरुन्धती
अरुन्धती
वशिष्ठ र अरुन्धती आफ्नो आश्रममा कामधेनुका साथ यज्ञ गर्दै। हिन्दी महाकाव्य अरुन्धती (सन् १९९४) को पछिल्लो आवरणको चित्र।
व्यक्तिगत जीवन
जीवसाथीवशिष्ठ
सन्तान(हरू)शक्ति महर्षि, चित्रकेतु, सुरोचिस्, विरजस्, मित्र, उल्बण, वसुभृद्यान र द्युमत्
धार्मिक जीवन
धर्महिन्दु धर्म

अरुन्धती हिन्दु धर्मका सात ऋषिहरू (सप्तर्षि) मध्येका एक, ऋषि वशिष्ठकी पत्नी हुन्।

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

संस्कृतमा अरुन्धती नामको शाब्दिक अर्थ 'सूर्यका किरणहरूले धोइएकी' हुन्छ, जुन अरुण (सूर्यका किरण) र धती (धोइएकी) मिलेर बनेको हो।

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

विभिन्न हिन्दु धर्मग्रन्थहरूमा अरुन्धतीको जन्म र जीवनको उल्लेख गरिएको छ। अरुन्धतीको जन्मको कथा शिव पुराणभागवत पुराणमा पाइन्छ। ब्रह्माले अरुन्धतीलाई दिएको उपदेशको वर्णन रामचरितमानसको उत्तरकाण्डमा गरिएको छ। विश्वामित्र र वशिष्ठबीचको प्रतिद्वन्द्वका कारण कारण उनका सय छोराहरूको मृत्यु हुन्छ, त्यसको वर्णन वाल्मीकि रामायणको बालकाण्डमा गरिएको छ। महाभारत र धेरै ब्राह्मण ग्रन्थहरूले शक्ति लगायत उनका छोराहरू र नाति पराशरको वर्णन गर्छन्। अरुन्धतीको सीतारामसँगको भेटको उल्लेख रामायण, रामचरितमानस र विनय पत्रिकामा गरिएको छ।[] पार्वतीसँग विवाह गर्नका लागि शिवलाई मनाउन उनले खेलेको भूमिकाको वर्णन कालिदासको कुमारसम्भवम्को छैटौँ सर्गमा गरिएको छ।[]

भागवत पुराणका अनुसार, अरुन्धती कर्दम र देवहुतिका नौ छोरीहरूमध्ये आठौँ सन्तान हुन्। उनी पराशरकी बज्यै र व्यासकी बज्यै (जिजुआमा) हुन्।[] शिव पुराणले उनलाई पूर्वजन्ममा ब्रह्माकी मानसपुत्री 'सन्ध्या'को रूपमा वर्णन गरेको छ। वशिष्ठको निर्देशनमा, सन्ध्याले आफूलाई कामवासनाबाट शुद्ध पार्न तपस्याद्वारा शिवलाई प्रसन्न तुल्याउँदै शिवले उनलाई मेधातिथिको अग्निमा हाम फाल्न भनेका हुन्छन्। त्यसपछि उनी मेधातिथिकी छोरीका रूपमा जन्म लिँदै वशिष्ठसँग विवाह गर्छिन्। केही अन्य पुराणहरूले उनलाई कश्यपकी छोरी र नारद तथा पर्वतकी बहिनीको रूपमा वर्णन गरेका छन्, जसलाई नारदले वशिष्ठसँग विवाहका लागि कन्यादान गरेका थिए।[]

महाभारतले अरुन्धतीलाई एक यस्ती तपस्विनीको रूपमा वर्णन गरेको छ जसले सात ऋषिहरूलाई समेत प्रवचन दिने गर्थिन्। अग्निकी पत्नी स्वाहाले सप्तर्षिका अन्य छ ऋषिहरूका पत्नीको रूप धारण गर्न सकेकी थिइन् तर अरुन्धतीको रूप धारण गर्न सकेकी थिइनन्। यस महाकाव्यले एक पटक १२ वर्षसम्म वर्षा नहुँदा र सात ऋषिहरू कन्दमूल र फलफूल बिना कष्टमा रहँदा उनले शिवलाई प्रसन्न तुल्याएको कथा पनि वर्णन गर्दछ। महाभारतमा उनको पतिव्रता धर्म र पतिको सेवालाई अतुलनीय मानिएको छ।[]

वाल्मीकि रामायणका अनुसार, उनले सय छोराहरूलाई जन्म दिएकी थिइन्, जसलाई विश्वामित्रले मर्ने श्राप दिएका थिए। त्यसपछि उनले शक्ति नामक पुत्र र पछि सुयज्ञ नामक अर्को पुत्रलाई जन्म दिन्छिन्, जसले वशिष्ठको आश्रममा रामसँगै अध्ययन गरेका थिए।[] केही स्रोतहरूका अनुसार शक्ति र चित्रकेतु सहित उनका आठ छोराहरू थिए।[]

सन् १९९४ मा जगद्गुरु रामभद्राचार्यद्वारा रचित हिन्दी भाषाको महाकाव्य अरुन्धतीमा उनको जीवनको वर्णन गरिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 Rambhadracharya 1994, pp. iii—vi.
  2. Kale, pp. 197-199
  3. 1 2 3 Garg 1992, pp. 647-648