सामग्रीमा जानुहोस्

दमयन्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमयन्ती
राजा रवि वर्माद्वारा कोरिएको चित्र 'हंस दमयन्ती', जहाँ दमयन्ती हंससँग नलको बारेमा कुरा गर्दैछिन्।
प्राप्त जानकारी
परिवारविदर्भका राजा भीम (पिता)
दम, दान्त र दमन (दाजुभाइ)
जीवनसाथीनल
बच्चाइन्द्रसेन (छोरा)
इन्द्रसेना (छोरी)
आफन्तचेदी राज्यकी राजमाता (सानीआमा)
सुबाहु र सुनन्दा (मावलीतर्फका भाइबहिनी)
पुष्कर (जेठाजु/देवर)
गृहविदर्भ राज्य

दमयन्ती प्राचीन भारतीय साहित्यकी एक प्रख्यात नायिका हुन्। उनी मुख्यतया नलोपाख्यानको प्रसङ्गका लागि परिचित छिन्, जुन महाकाव्य महाभारत को तेस्रो पुस्तक अरण्यक पर्व (ई.पू. ४०० – ४०० ईस्वी) मा समावेश गरिएको छ।[] उनी आफ्नो सौन्दर्य, बुद्धि, अटल प्रेम र आफ्ना पति, निषध राज्यका राजा नल प्रतिको निष्ठाका लागि प्रख्यात छिन्।

दमयन्ती प्राचीन विदर्भ राज्यकी राजकुमारी र राजा भीमकी छोरी हुन्। एक दिव्य हंसबाट राजा नलका गुणहरू सुनेपछि उनी नलको प्रेममा पर्छिन्। उनले आफ्नो स्वयंवरमा नलको भेष धारण गरेका देवताहरूलाई समेत अस्वीकार गर्दै नललाई नै आफ्नो पतिको रूपमा रोज्छिन्। तर, उनीहरूको सुख धेरै समय टिक्दैन। कलि नामक दुष्ट देवताको प्रभावमा परेर नलले जुवामा आफ्नो राज्य हार्छन् र वनवास जान बाध्य हुन्छन्। निराशा र ग्लानिमा डुबेका नलले दमयन्तीलाई जङ्गलमा एक्लै छोडिदिन्छन्। यति हुँदाहुँदै पनि विचलित नभई दमयन्तीले धेरै कष्टहरू सहँदै अन्ततः आफ्नो पिताको दरबार पुग्न सफल हुन्छिन्। आफ्ना पतिलाई खोज्नका लागि उनले दोस्रो स्वयंवरको आयोजना गर्ने एक चतुर योजना बनाउँछिन्। यो योजना सफल हुन्छ र उनीहरूको पुनर्मिलन हुन्छ। पछि नलले आफ्नो राज्य फिर्ता पाउँछन् र उनीहरू पुन: निषधको राजा र रानीका रूपमा स्थापित हुन्छन्।

दमयन्तीको कथालाई विभिन्न हिन्दु धर्मग्रन्थहरूमा धेरै लेखकहरूले विभिन्न भारतीय भाषाहरूमा रूपान्तरण गरेका छन्।[] नलसँगै उनी १२औँ शताब्दीको संस्कृत महाकाव्य नैषधीयचरितको मुख्य पात्र हुन्, जसलाई श्रीहर्षले लेखेका थिए। यो कृति संस्कृत साहित्यको पञ्चमहाकाव्य मध्ये एक मानिन्छ।[][]:136

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

जन्म र प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]
दमयन्ती आफ्नी सुसारे केशिनीसँग नलप्रतिको आफ्नो प्रेम व्यक्त गर्दै, राजा रवि वर्माको चित्र।

विदर्भका राजा भीम लामो समयसम्म निसन्तान हुन्छन्। एक दिन, दमन नामक ऋषि उनको दरबारमा आउँछन् र राजा-रानीलाई सन्तान प्राप्तिको आशीर्वाद दिन्छन्। फलस्वरूप, एक छोरी दमयन्ती र तीन छोराहरू—दम, दान्त र दमनको जन्म हुन्छ। दमयन्ती आफ्नो असाधारण सौन्दर्य र सद्गुणका लागि प्रख्यात हुन्छिन्, जसले गर्दा धेरै राजकुमारहरू उनीप्रति आकर्षित हुन्छन्। तीमध्ये निषध राज्यका महान र कुशल राजा नल पनि एक हुन्छन्, जो आफ्नो सुन्दरता र वीरताका लागि प्रसिद्ध थिए। एकअर्काको गुणको चर्चा सुनेर नै दमयन्ती र नल एकअर्काको प्रेममा पर्छन्।[]

एक दिन, नलले पठाएका सुनौला हाँसहरूको एक समूह दमयन्तीको बगैँचामा पुग्छ। बगैँचामा खेलिरहेकी दमयन्तीले ती अनौठा पक्षीहरू देखेपछि उनीहरूको पछि लाग्छिन्। एउटा हाँसले उनलाई नलको वीरता, रूप र गुणहरूको वर्णन गरिदिन्छ र नल नै उनका लागि सुयोग्य पति हुने बताउँछ। यता निषध फर्केर हाँसले नललाई पनि दमयन्तीको सौन्दर्य र बुद्धिको वर्णन सुनाउँछ। यसरी, एकअर्कालाई नभेट्दै उनीहरू बीच प्रेम बस्छ। दमयन्तीको व्याकुलता देखेर उनका सखीहरूले राजा भीमलाई यसबारे जानकारी गराउँछन्।[]

दमयन्तीले स्वयंवरमा नलको भेषमा आएका देवताहरूका बीचबाट वास्तविक नललाई रोज्दै। नन्दलाल बोसको चित्र।

राजा भीमले दमयन्तीका लागि स्वयंवरको आयोजना गर्छन्। सो समारोहमा सहभागी हुन नल विदर्भतर्फ प्रस्थान गर्छन्। अर्कोतर्फ, नारदमुनिबाट दमयन्तीको रूपको वर्णन सुनेर देवताहरू—इन्द्र, अग्नि, वरुणयम पनि स्वयंवरमा जान्छन्। बाटोमा देवताहरूले नललाई भेट्छन् र उनलाई आफ्नो दूत बनेर दमयन्तीकहाँ गई देवताहरूमध्ये एकलाई रोज्न भन्न लगाउँछन्। देवताहरूले नललाई अदृश्य हुने शक्ति दिन्छन्, जसले गर्दा उनी कसैले नदेख्ने गरी दमयन्तीको कक्षमा पुग्छन्। नलले देवताहरूको सन्देश सुनाउँछन्, तर दमयन्ती नलबाहेक अरूलाई स्वीकार नगर्ने कुरामा अडिग रहन्छिन्।

स्वयंवरको दिन, चारैजना देवताहरूले नलकै रूप धारण गर्छन्, जसले गर्दा वास्तविक नल चिन्न असम्भव हुन्छ। दमयन्तीले साँचो प्रेमको शक्तिले देवताहरूलाई आफ्नो वास्तविक रूप प्रकट गर्न प्रार्थना गर्छिन्। उनको भक्तिबाट प्रसन्न भई देवताहरूले आफ्नो दिव्य स्वरूप प्रकट गर्छन्। यसरी दमयन्तीले वास्तविक नललाई चिन्दै उनको गलामा वरमाला पहिर्‍याइदिन्छिन्। देवताहरूले प्रसन्न भएर नललाई आगो र पानीमाथि नियन्त्रण लगायतका विभिन्न वरदानहरू दिन्छन्। विवाहपछि उनीहरू सुखपूर्वक बस्छन् र उनीहरूका दुई सन्तान (इन्द्रसेन र इन्द्रसेना) जन्मिन्छन्।[][][]

नल र दमयन्तीको विवाहबाट क्रुद्ध भएका कलि नामक असुरले नललाई बर्बाद गर्ने योजना बनाउँछन्। कलिको प्रभावमा परेर नल जुवा (पासा) खेल्ने लतमा फस्छन् र आफ्ना भाइ पुष्करसँग खेल्न थाल्छन्। विवेक गुमाएका नलले जुवामा आफ्नो राज्य, धन र सम्पत्ति सबै हार्छन्।[] खतरा महसुस गरी दमयन्तीले आफ्ना सन्तानलाई माइती (विदर्भ) पठाउँछिन्। राज्य गुमेपछि नल र दमयन्ती वनवास जान्छन्।[]

जङ्गलमा भोक र तिर्खाले व्याकुल हुँदा पनि दमयन्तीले पतिको साथ छोड्दिनन्। तर कलिको प्रभावमा रहेका नलले 'आफू नभए दमयन्ती आफ्नो माइती गएर सुख पाउनेछिन्' भन्ने सोची उनलाई सुतिरहेकै अवस्थामा एक्लै छोडेर जान्छन्। ब्युँझिएपछि दमयन्तीले पतिलाई नदेख्दा विलाप गर्छिन्। जङ्गलमा भौँतारिने क्रममा उनलाई एउटा ठुलो सर्पले समात्छ, तर एक सिकारीले उनलाई बचाउँछ। पछि सो सिकारीले उनीमाथि कुदृष्टि राख्दा दमयन्तीले दिएको श्रापका कारण ऊ तत्कालै भष्म हुन्छ। उनी धेरै कष्ट भोग्दै र पशु-पक्षीहरूसँग पतिको ठेगाना सोध्दै अगाडि बढ्छिन्।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. J. A. B. van Buitenen (१९८१), The Mahabharata, Volume 2, University of Chicago Press, पृ: 318–322, आइएसबिएन 978-0-226-84664-4 
  2. Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: 109, 191, 282, 316, आइएसबिएन 978-0-14-341421-6 
  3. The Indian Encyclopaedia, Genesis Publishing, २००२, पृ: ५०७९, आइएसबिएन 9788177552577 
  4. C.Kunhan Raja, Survey of Sanskrit Literature, Bharatiya Vidya Bhavan, पृ: 136, 146–148। 
  5. ५.० ५.१ ५.२ Mani, Vettam (२०१५-०१-०१), Puranic Encyclopedia: A Comprehensive Work with Special Reference to the Epic and Puranic Literature (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: Damayantī (374), आइएसबिएन 978-81-208-0597-2 
  6. Bibek Debroy, The Mahabharata, 10 Volumes by B. Debroy, पृ: 1111–1121। 
  7. Doniger, Wendy; Doniger, Mircea Eliade Distinguished Service Professor of the History of Religions Wendy; O'Flaherty, Wendy Doniger (१९९९-०४-१५), Splitting the Difference: Gender and Myth in Ancient Greece and India (अङ्ग्रेजीमा), University of Chicago Press, पृ: 141–142, आइएसबिएन 978-0-226-15641-5 
  8. Hegarty, James (मार्च २०१३), Religion, Narrative and Public Imagination in South Asia: Past and Place in the Sanskrit Mahabharata (अङ्ग्रेजीमा), Routledge, पृ: 84, आइएसबिएन 978-1-136-64589-1 
  9. Shackle, C.; Snell, Rupert (१९९२), The Indian Narrative: Perspectives and Patterns (अङ्ग्रेजीमा), Otto Harrassowitz Verlag, पृ: 30, आइएसबिएन 978-3-447-03241-4 
  10. Bibek Debroy, The Mahabharata, 10 Volumes by B. Debroy, पृ: 1121–1141। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]