अनसूया
| अनसूया | |
|---|---|
अनसूया त्रिदेवीलाई त्रिदेवहरू शिशुमा परिणत भएको कुरा बताउँदै। राजा रवि वर्मा प्रेसको यो चित्रमा त्रिदेवहरू मिलेर अनसूयाका तीन टाउको भएका छोरा दत्तात्रेय बनेको कथाको एउटा संस्करण चित्रण गरिएको छ। | |
| धर्मग्रन्थहरू | रामायण, पुराण |
| वंशावली | |
| अभिभावकहरू | देवहूति (माता) कर्दम (पिता) |
| जीवनसाथी | अत्रि |
| सन्तानहरू | दत्तात्रेय चन्द्र दुर्वासा शुभत्रेयी (ब्रह्म पुराण) |
अनसूया (संस्कृत: अनसूया, शाअ 'ईर्ष्या र द्वेषबाट मुक्त') हिन्दु धर्ममा एक तपस्विनी र ऋषि अत्रिकी पत्नी हुन्। हिन्दु ग्रन्थहरूका अनुसार उनी देवहूति र प्रजापति कर्दमकी पुत्री हुन्। रामायणमा उनी आफ्नो पतिसँग चित्रकुट जङ्गलको दक्षिणी सिमानामा रहेको एउटा सानो आश्रममा बस्छिन्। पवित्र जीवन बिताउने र कठोर तपस्या गर्ने एक धार्मिक महिलाको रूपमा उनलाई चमत्कारिक शक्ति भएको वर्णन गरिएको छ।[१][२]
अनसूया ऋषि कपिलकी बहिनी हुन्, जो उनका गुरु पनि थिए।[३] उनलाई ऋषि अत्रिकी पतिव्रता पत्नीको रूपमा सती अनसूया र माता अनसूया भनेर प्रशंसा गरिन्छ। उनी विष्णुका अवतार ऋषि दत्तात्रेय, ब्रह्माका स्वरूप चन्द्र र शिवका अवतार मानिने क्रोधी ऋषि दुर्वासाकी आमा हुन्। जब सीता र राम वनवासको क्रममा उनलाई भेट्न जान्छन्, अनसूयाले उनीहरूको सत्कार गर्छिन् र सीतालाई एउटा यस्तो लेप दिन्छिन् जसले उनको सुन्दरतालाई सधैँका लागि कायम राख्छ।[४]
उत्पत्ति
[सम्पादन गर्नुहोस्]अनसूया र उनको परिवारको वंशावली भागवत पुराणको तेस्रो स्कन्धमा उल्लेख गरिएको छ। प्रजापति कर्दमले स्वयम्भू मनुकी पुत्री देवहूतिसँग विवाह गर्छन्। उनीहरूका कपिल नामका एक छोरा र अनसूयासहित नौ छोरीहरू गरी जम्मा १० सन्तान भएको वर्णन गरिएको छ। प्रत्येक छोरीको विवाह एक-एक ऋषिसँग भएको थियो; जसमध्ये अनसूयाको विवाह ऋषि अत्रिसँग भएको थियो।[५]
किंवदन्ती
[सम्पादन गर्नुहोस्]एक पटक ब्रह्माणी (सरस्वती), लक्ष्मी र गौरी (पार्वती) बीच सबैभन्दा ठूलो पतिव्रता को हो भन्ने विषयमा विवाद भयो। अन्त्यमा, अत्रि पत्नी अनसूया नै सर्वश्रेष्ठ पतिव्रता भएको ठहर हुन्छ। यस कुराको परीक्षा लिनका लागि ब्रह्मा, विष्णु र शङ्कर ब्राह्मणको भेषमा अत्रि ऋषिको आश्रममा पुग्छन्।
त्यस समय ऋषि अत्रि आश्रममा हुँदैनन्। अनसूयाले अतिथिहरूको आदरपूर्वक स्वागत गर्छिन्। तर, भोजनको समयमा ती तीनै जना ब्राह्मणले एउटा कठिन सर्त राख्छन्। उनीहरूले अनसूयाले आफ्ना सम्पूर्ण वस्त्र त्यागेर नग्न अवस्थामा भोजन गराए मात्र स्वीकार गर्ने बताउँछन्।
यो सुनेर सती अनसूया धर्म-सङ्कटमा पर्छिन् र भयका कारण उनको शरीर पसिनाले लतपत हुन्छ। त्यसपछि उनले आफ्नो पति र भगवानको स्मरण गर्दै भनिन्, "यदि मैले मन, वचन र कर्मले आफ्नो पति बाहेक अरू कसैलाई परपुरुषका रूपमा हेरेकी छैन भने, मेरो सतीत्वको प्रभावले यी तीनै जना अतिथिहरू स-साना शिशु बनुन्।"
उनको तपोबलका कारण तीनै देवहरू तत्कालै बालकमा परिणत हुन्छन्। त्यसपछि अनसूयाले उनीहरूलाई वात्सल्यपूर्वक काखमा लिएर स्तनपान गराउँछिन्। पछि जब तीनै देवीहरू (सरस्वती, लक्ष्मी र पार्वती) आफ्ना पतिहरू खोज्दै आश्रममा आएर क्षमायाचना गर्छन् र अनसूयाले उनीहरूलाई पुनः साविककै रूपमा फर्काइदिन्छिन्। ती तीनै देवहरूको अंशबाट नै अनसूयाको कोखबाट दत्तात्रेय, दुर्वासा र चन्द्रको जन्म हुन्छ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sati Anasuya", www.speakingtree.in, अन्तिम पहुँच २०२०-०५-२०।
- ↑ Williams, George M. (२००८-०३-२७), Handbook of Hindu Mythology (अङ्ग्रेजीमा), OUP USA, पृ: ५४, आइएसबिएन 978-0-19-533261-2।
- ↑ Shastri, J. L.; Tagare, Ganesh Vasudeo (२००४-०१-०१), The Bhagavata-Purana Part 1: Ancient Indian Tradition and Mythology Volume 7 (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: २५, आइएसबिएन 978-81-208-3874-1।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ६६।
- ↑ Purnendu Narayana Sinha (१९५०), A Study of the Bhagavata Purana: Or, Esoteric Hinduism, Library of Alexandria, पृ: 96–, आइएसबिएन 978-1-4655-2506-2।
- ↑ Kannan, Preetha Rajah (२०१६-०१-१९), Shiva in the City of Nectar: Fifty-four divine tales of Shiva in ancient India (अङ्ग्रेजीमा), Jaico Publishing House, पृ: १९, आइएसबिएन 978-81-8495-787-7।