तारूका गोरू मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारूका गोरु मेला
तारूकामा माघे संक्रान्तिका दिन आयोजित गोरु जुधाई महोत्सवमा सहभागी दर्शकहरू
आधिकारिक नाममाघे संक्रान्ति गोरु मेला
प्रकारनुवाकोटीहरू
उत्सवमाघ १ गते
प्रारम्भमाघे संक्रान्ति
आवृत्तिवार्षिक
सम्बन्धिततारूका गाउँ, नुवाकोट, नेपाल

तारूका गोरु मेला (माघे संक्रान्ति तारूका गोरू महोत्सव) नुवाकोट जिल्ला को तारूका गाउँमा हुने एक गोरु जुधाई प्रतियोगिताको प्रतिस्पर्धा तथा एक पर्व हो। यो मेला नुवाकोटको तारूकामा प्रत्येक वर्ष माघ १ गते वा माघे संक्रान्तिका दिन भव्य रूपमा आयोजना गर्ने गरिन्छ। यो मेलालाई नेपालको एक मात्र आधिकारिक रूपमा आयोजना गरिने जनावरहरूको मेला हो पनि भन्न सकिन्छ। यो मेला अन्तर्गत तारुका गाविस वडा नं. ५ चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ।

यस गोरु जुधाइ मेलाले नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको छुट्टै ऐतिहासिक महत्त्व बोकेको छ[१] ।माघेसङ्क्रान्तिमा नदी किनार र घाटमा स्नान गरी चाकु, घिउ, तरुल लगायत मिष्ठान्न भोजन गर्ने हिन्दू परम्पराका साथमा सदियौंदेखि नुवाकोटमा भने गोरु जुधाएर छुट्टै मनोरञ्जन लिइदै आएको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले सुरु भएको भन्ने आधिकारिक तिथि, मितिहरू भने कहि कतै भेटिएको छैन । तर कुनै तिथि मिति नभेटिए पनि स्थानीय बूढापाकाहरूका अनुसार यो पर्व करिब दुई सय वर्ष पुरानो मानिन्छ । हिउँदमा फुर्सदको समयमा किसानहरु माघे सङ्क्रान्ति पारेर मीठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको विकास सँगै यो परम्पराको एक विशेष रूपमा विकास भएको हो भन्ने यहाँका स्थानीय बासिहरूको बुझाइ रहेको छ ।

मल्ल कालदेखिको इतिहास बोकेको तारुकाको चन्दनीपाटोमा गोरु जुधाउने परम्परा निकै हो । मल्लकालीन राजाहरूको बिर्ता रहेको तारुका क्षेत्रमा गोरुजुधाइको प्रचलन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको पालामा सुरु भएको बताइन्छ[२]

अन्य स्थानमा[सम्पादन गर्नुहोस्]

पहिले पहिले नुवाकोट जिल्लाका तारुका, बुधसिङ, रातमाटे, थानसिङ, गेर्खु, दुईपीपल लगायत गाविसमा पनि गोरु जुधाइने गरिन्थ्यो । तर हाल तारुका, गेर्खुको वेत्रावति र थानसिंहमा गोरु जुधाइन्छ । अन्यन्त्र यस परम्परा हराइसकेको छ भने तारुकाले मात्र व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिइरहेको छ । यस्तै, नुवाकोट जिल्लारसुवा जिल्लाको सीमाना वेत्रावतिमा पनि गोरु जुधाउने गरिन्छ ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

तारुकामा २०६३ साल देखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हेर्नका लागि वर्षेनी नुवाकोट, रसुवा, काठमाडौँ, धादिङबाट हजारौंको सङ्ख्यामा दर्शकहरू तारूका पुग्ने गर्दछन् । तारूकाको धार्मिक महत्त्व बोकेको बेत्राबतीमा गोरु जुधाइ महोत्सवले धार्मिक तथा पर्यटकिय क्षेत्रमा छुट्टै महत्त्व बोकेको छ ।

मेलाको विशेषता[सम्पादन गर्नुहोस्]

तारूकामा जुधाइएको एक हल गोरूको तस्बिर

यो मेला माघे सङ्क्रान्ति गोरुजुधाइ संरक्षण संस्था ले आयोजना तथा व्यवस्थापन गर्ने गर्दछ । यो मेलाका लागि स्थानीय किसानको गोठमा पालिएका बहर गोरुहरूको प्रयोग गरिन्छ । साथै यो मेलाका लागि स्थानिय किसानहरूले गोरूलाई बारीका पाटाहरूमा रिहर्सल नै गराएर मेलाको तयारी गर्ने गर्दछन् । अझ यो मेलाका लागि तारुका बेहुलीझैँ सिंगारिने गर्दछ ।

गोरु जुधाइका अतिरिक्त यो मेलामा विभिन्न खाले सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गर्ने गरिन्छ । मेलामा स्थानीय संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले तामाङ तथा मगर जातिको झाँकी, पञ्चैबाजाका साथै बालनसमेत प्रस्तुत गरिन्छ  । मौलिक वेशभूषाका प्रदर्शन साथै राष्ट्रिय स्तरका कलाकारहरूलाई समेत आयोजनाले मेलामा निमन्त्रणा गर्ने गर्दछ[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]