झाँक्री मेला
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
लमजुङ जिल्लाको लुगुम गाउँमा लाग्ने झाँक्री मेला यस क्षेत्रमा मनाईने विशेष मेला हो र जसको आफ्नै मौलिकता र विशेषता छ | यो मेला साउन महिनाको संक्रान्ति पछिको पहिलो बोक्सी बार अनुसार आइतबार, सोमबार, मंगलबार र शनिबार जुन पहिला पर्छ त्यही दिन गरिन्छ | यस मेलामा हरेक थरबाट एक एक जना झाँक्रीले भाग लिने हुनाले लुगुम गाउँमा कति थरहरू रहेछन भनेर झाँक्री मेलामा सहभागी हुने झाँक्रीहरूको संख्याले पनि मोटामोटी अनुमान लगाउन सकिन्छ | यदि कुनै थरमा झाँक्री नै छैनन भने चाँही त्यो थरका मानिसहरूले पञ्चलाई एउटा निश्चित तोकिएको रकम तिर्नु पर्छ | साथै यदि झाँक्री हुँदा हुँदै पनि दुख बिरामी बाहेक बिना कारण कुनै थरबाट झाँक्रीको उपस्थिति भएन भने त्यो थरलाई दण्ड स्वरूप झाँक्री नभएका थरले तिर्ने भन्दा बढी रकम जरिवाना गरिन्छ | साथै झाँक्री मेलामा भाग लिने हरेक झाँक्रीहरूलाई पञ्च कोषबाट किनेर एक एक वटा चल्ला पूजा गर्नको लागि दिइन्छ | झाँक्री मेलामा जानु भन्दा पहिले सबै झाँक्रीहरू गाउँको चौतारामा भेला हुन्छन् र मेलाको समाप्ति पछि पनि त्यही चौताराबाटै बिदा हुन्छन् | यसरी चौताराबाट बिदा भइ सके पछि थरको बन्दोबस्तमा त्यो थरको कुनै एउटा घरमा गइ निज झाँक्रीलाई सत्कार गरी त्यहाँबाट पनि बिदा गरिन्छ र परापूर्ब कालदेखि चलेको चलन अनुसार उक्त झाँक्री त्यही राती नै आफ्नो घर पुग्नु पर्ने हुन्छ | जुन कुरा विशेष गरेर पन्चासे, रुजिखोला, रूपुगा जस्ता गाउँबाट मेलामा सहभागी हुन् आउने झाँक्रीहरूलाई निकै कस्टकर हुन्छ | झाँक्री मेलाको भोलि पल्ट गाउँमा युवा युबतीहरू बीच हिलो छ्यापाछ्याप र दलादल गरेर रमाइलो गर्ने चलन पनि छ | यो हिलो खेल्ने चलन किन र कसरी चल्यो भन्ने कुराको चाँही कुनै ठोस कारण र आधार भेटिदैन |
यस्तो खाले विशेष झाँक्री मेला लुगुममा मात्रै लाग्ने भएकोले गर्दा टाडा टाडा गाउँहरूबाट पनि मानिसहरू मेला हेर्न आउँदछन् | यस मेलामा सिस्नोले बेसरी हानाहान गर्ने चलन भएकोले यस मेलालाई कसै कसैले ठट्टा गरेर "ङ्इति राम" (सिस्नो मेला) पनि भन्दछन | यस अबसरमा सिस्नोले हानेमा शरीरमा भएका रोगब्याधीहरू (विशेष गरेर छाला सम्बन्धि) हराउछन भन्नेविश्वास गरिन्छ | यसमा सम्झना राख्नु पर्ने कुरा के छ सिस्नो आयुर्वेदिक उपचारमा निकै उपयोगी भएको कुरा सिद्ध भइ सकेको छ र यसको प्रयोगले विभिन्न कुरामा स्वास्थको लागि लाभदायक भएको बैज्ञानिक पुस्टि पनि भइ सकेको छ | त्यसकारण परापूर्ब कालदेखि नै लुगुम्यालहरूले यसको बैज्ञानिक प्रयोजन र सिद्धता नबुझेता पनि सिस्नो शरीरको लागि लाभदायी भएको कुरा केही हद सम्म बुझेको पुस्टि हुन्छ |
यो झाँक्री मेलामा सहभागी भएमा सहभागी हुने झाँक्रीको सबै ग्रहदशा यसै झाँक्री मेलामा गरिने बिधि विधानमा काटिने भएको हुनाले यो मेलामा सहभागी हुने झाँक्रीहरूले हरेक तिया वर्षमा गर्नु पर्ने इस्ट देउताको पूजा जसलाई "पुम्सिने" भनिन्छ त्यो कार्य गर्नु पर्ने आबश्यकता नहुने भएकोले यसमा भाग लिने झाँक्रीहरूलाई केही फाइदा पनि छ | यस मेलामा उमेरको हिसाबले नभई झाँक्री भएको हिसाबले सहभागी हुने सबै भन्दा कान्छो झाँक्रीहरूले आफू भन्दा जेठो सबै झाँक्रीहरूलाई ग्रहदशाबाट उकास्ने काम गर्छन | साथै झाँक्रीहरू बस्दाखेरी उमेरको हिसाबले नभई झाँक्री बनेको हिसाबले आफू भन्दा जेठो झाँक्रीलाई गुरूबा भन्छन् र त्यही रोलक्रम अनुसार आसन ग्रहण पनि गर्दछन | यस झाँक्री मेलामा भेला भएका झाँक्री मध्ये एकजना झाँक्रीलाई पहिले नै बोक्सी लखेट्ने कामको लागि छानिएको हुन्छ | मेला शुरु भए पछि झाँक्रीहरूले "मादै" देखि गाउँजाने दोबाटो "कोलोलो" सम्म नौ पटक नाँचेर ओहोर दोहोर गर्छन | यो काम सकिए पछि सबै झाँक्रीहरू "जारी खोला"मा जान्छन् र त्यहाँबाट बोक्सी लखेट्ने खटिएको झाँक्रीले बोक्सी निकाले पछि उनी उक्त बोक्सीलाई लखेट्दै गाउँ कटाउँदै "झोल्यानी बिसाउना" कटाएर पठाउँछन भने बाँँकी सबै झाँक्रीहरू गाउँमा पस्छन र जुन घरमा अलिक ग्रहदशा लागेको देख्छन त्यहाँ पसेर त्यस घरका मानिसलाई ग्रहदशाबाट उकास्ने काम गरी यो दिन गाउँलेहरूको सेवा गर्ने काम गर्दछन | यस कार्यमा सबै झाँक्रीहरू एकै घरमा धेरै पटक जान सक्ने सम्भावना भएकोले गर्दा झाँक्रीहरूको आपसी सल्लाह अनुसार प्राय गरेर आफ्ना थरका घरमा मात्रै पस्दछन वा यदि कसैले पहिले नै अनुरोध गरेको छ भने तिनीहरूको घरमा पनि पस्दछन |
मेलाको इतिहास
[सम्पादन गर्नुहोस्]यो परम्पराको शुरुवात कसरी भयो भन्ने पनि एउटा रोचक किम्बदन्ती छ | धेरै वर्ष पहिले गाउँमा अहिलेका भन्दा धेरै बोक्सीहरू हुने गर्दथे रे | त्यतिबेला एउटी बोक्सिनी असाध्यै खतरनाक र लाग्ने खालकी थिई रे | त्यसले गाउँको धेरै मानिसहरूलाई खाने र धेरै दुख दिने गरे पछि गाउँकै एउटा ठूलो झाँक्रीले यो त साह्रै भएन भनेर त्यस बोक्सिनिलाई तन्त्र मन्त्रको बलमा झुक्काएर "तोपाएछन्" (तोपाउनु भनेको कुनै बस्तुलाई जिउंदै माटाको घैटोमा हालेर गाड्नुलाई भनिन्छ) | त्यसरी तोपाउने बेलामा उक्त बोक्सिनिले मलाई यसरी झुक्काएर तोपाउदा तिमीलाई मेरो आत्माको पाप लाग्नेछ भने पछि ति झाँक्रीले त्यसको लागि म तिमीलाई हरेक वर्ष साउने संक्रान्तिको पहिलो बोक्सीबारका दिन नाँचगान गरी तिम्रो आत्मालाई शान्त पारीदिनेछु भनि फकाएछन् | त्यसपछि उक्त बोक्सिनीले झाँक्रीको उक्त कुरा मानेछिन तर त्यो दिन उसले गाउँको एउटा मान्छेको भोग खाने शर्त राखेछिन | त्यसमा झाँक्रीले पनि यसरी हरेक दिन दुख दिएर थुप्रै मानिस खानु भन्दा त वर्ष दिनमा एउटा जाबो मानिस खाए पनि खाओस भनेर बाचाबन्धन गरी उक्त बोक्सिनीलाई तोपाएछन् | त्यही दिन देखि हरेक वर्ष साउने संक्रान्तिको पहिलो बोक्सीबारका दिन उक्त बोक्सिनीको आत्मालाई शान्त पार्न झाँक्री मेला गरिएको हो रे | साथै झाँक्री र बोक्सीको पहिलेको शर्त र बाचा अनुसार उक्त बोक्सी आत्मालाई लखेट्दा गाउँबाट भएर जाने क्रममा उक्त बोक्सीको आत्माले गाउँको एउटा मानिसको आत्मालाई टिपेर लान्छ रे अनि केही समय पश्चात त्यो व्यक्तिको मृत्यु हुन्छ भन्ने भनाइ छ | त्यो कुरा झाँक्रीहरूले कसको आत्मालाई टिपेर लग्यो त भन्दैनन् तर कुन डेराकोलाई लग्यो भन्ने सम्म चाँही भन्दछन | केही समय पछि त्यो डेराको कुनै मानिसको मृत्यु हुँदा त्यसलाई लगेको रहेछ भनेर थाहा पाउँदछन् | यस दिनलाई लुगुम्यालहरूले बोक्सी लखेट्ने दिनका रूपमा पनि चिन्दछन |