उमामहेश्वर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



काठमाण्डौको नक्शालमा रहेको उमामहेश्वरको मूर्ति

कैलाश पर्वतमा आनन्दले बसेका शिव र पार्वतीको रूप नै उमामहेश्वरको मूर्ति हो। शिवको यो सौम्य रूप हो। पार्वतीलाई अँगालोमा राखेर उनले छातीमा हात राखेका छन्। उनको वाहन नन्दी पनि छेउमा छ। दोस्रो/तेस्रो शताब्दीमा निर्मित उमामहेश्वरको मूर्ति यस्तैमा सीमित थियो। जस्तो- चाँगुनारायणको छिन्नमस्ताभित्रको, पशुपतिनाथ अरुणधाराको र पाटनको चामुण्डा मन्दिर परसिरका मूर्ति यस समूहमा पर्छन्।

दोस्रो/तेस्रो शताब्दीदेखि १८औँ शताब्दीसम्म अर्थात् करबि १ हजार ६ सय वर्षसम्म ठूलो संख्यामा उमामहेश्वरको मूर्ति बनेका छन्। खासमा लिच्छविकालदेखि मल्लकालको अन्तिमसम्म यस्ता मूर्ति बनिरहे। उमामहेश्वरको मूर्तिमा रहरलाग्दो रूपमा पात्रहरू थपिँदै गएका छन्। जस्तो- दोस्रो/तेस्रो शताब्दीका मूर्तिमा शिव, पार्वती र नन्दी मात्र थिए भने पाँचौँ शताब्दीसम्म आइपुग्दा यसमा कुमार र केही गण थपिए। त्यसपछि पनि पात्रहरू थपिँदै गए।

यस्ता मूर्तिलाई शिव परिवारको रूपमा बुझ्दा पनि हुन्छ। पछिका मूर्तिमा पार्वतीका सुसारेहरू पनि थपिएका छन्। जस्तो- चमरधारणि,चरणसेविका, छत्रधारणि आदि पनि मूर्तिमा देखिन्छन्। यो नै मूर्तिकलाको विकास हो। यसबाट मूर्तिमा नयाँ के दिने भन्नेमा कलाकारहरूबीच लामो समय अघोषित प्रतिस्पर्धा चलेको अड्कल काट्न गाह्रो छैन। एउटै मूर्तिमा ४० वटासम्म आकृति छन्, जसले हरेक मूर्तिलाई पृथक् र सुन्दर बनाएका छन्।

सुरुका उमामहेश्वरका मूर्तिहरू निर्वस्त्र छन्। पशुपतिनाथको अरुणधारामा रहेको मूर्ति होस् वा मृगस्थलीको, यिनमा शिव-पार्वती नै निर्वस्त्र छन्। तर, पाँचौँ शताब्दीपछि बनेका यस्ता मूर्तिमा क्रमश: पहिरन थपिँदै गएको छ, आभूषणहरू थपिएका छन्। यसमा शंका छैन कि ढुंगामा कुदिएका यी मूर्तिहरू धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका छन्।

  • [१] सम्पदा :रवीन्द्र पुरी

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]