एकादशी व्रत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


{{{पर्वको_नाम}}}
आधिकारिक नाम एकादशी व्रत
अनुयायी हिन्दू
उद्देश्य सर्वकामना पूर्ति

विषयसूची

परिचय[सम्पादन गर्ने]

एकादशी व्रत[सम्पादन गर्ने]

एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।

‘एकादशी’ तिथिको शास्त्रीय महत्त्व[सम्पादन गर्ने]

सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको 'हरिदिवस' र 'हरिवासर' पनि भन्दछन्। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-

अ. वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु।

आ. समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।

इ. शरीरमा विद्यमान चैतन्यको गति 'ऊर्ध्व' अर्थात् माथिल्तिर प्रवाहित हुनु।

ई. व्रत सम्पादन गर्न सजिलो हुनु।

उ. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।

'एकादशी' व्रतको महत्त्व[सम्पादन गर्ने]

एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-

अश्वमेधसहस्राणि राजसूयशतानि च ।

एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।[१]

यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ। मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ। प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन। यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।

एकादशीबाट प्राप्त हुने लाभ[सम्पादन गर्ने]

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ, आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-

१. स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।

कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।

न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।

न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।[२]

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

२. कूर्मपुराणको मत-

व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः

तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः।

अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

३. श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ-

यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्‌।

अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।

शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ।

एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।[३]

एकादशीका प्रकार[सम्पादन गर्ने]

प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।

वर्षभरिका एकादशीका नाम[सम्पादन गर्ने]

  • चैत्रमास- पापमोचनी एवं कामदा एकादशी।
  • वैशाख मास- वरुथिनी एवं मोहिनी एकादशी।
  • ज्येष्ठ मास- अपरा एवं निर्जला (भीमसेनी) एकादशी।
  • आषाढ मास- योगिनी एवं शयनी एकादशी।
  • श्रावण मास- कामिका एवं पुत्रदा एकादशी।
  • भाद्रपद मास- अजा एवं पद्मा एकादशी।
  • अश्विन मास- इंदिरा एवं पापांकुशा एकादशी।
  • कार्तिक मास- रमा एवं प्रबोधिनी एकादशी।
  • मार्गशीर्ष- मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी।
  • पौष मास- सफला एवं पुत्रदा एकादशी।
  • माघ मास- षट्तिला एवं जया एकादशी।
  • फाल्गुन मास- विजया तथा आमलकी एकादशी।
  • पुरुषोत्तम वा अधिकमास- पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।

एकादशी व्रत सम्पादन गर्ने विधान[सम्पादन गर्ने]

शास्त्रानुसार वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु पर्दछ। सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत र उपवासलाई महत्त्व दिइएको छ। त्यत्ति पनि गर्न असमर्थ रहँदा चतुर्मास भरि(आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्म)का सबै एकादशीको व्रत गर्न सकिन्छ, यत्ति पनि व्रत लिन नभ्याउँदा आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी र कार्त्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीको व्रत चाँहि अवश्य लिनु पर्दछ। एकादशीका दिन अन्न खानु हुँदैन, पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ। भोकै बस्न नसकिने स्थिति छ भने चामल मात्र त्याग्दा हुन्छ। भगवान् विष्णुको पूजा गर्नुपर्छ। पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती(दियो) बाल्नुपर्दछ। भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई व्रतको समाप्तिमा भोजन, दक्षिणादि प्रदान गर्नुपर्दछ। एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुदैन। पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ। प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ। उता रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ , त्यसपछि स्नानादि गरेर मन्दिरमा गई गीता पाठ गर्नुपर्छ वा पुरोहित बाट श्रवण गर्नुपर्छ। प्रभुका सामु उभिएर "आज म चोर, पाखण्डी र दुराचारी मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्र आदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम संकीर्तन गर्नेछु, 'ॐ नमो भगवते वासुदेवाय' यस द्वादशाक्षर मन्त्रको जप गर्नेछु, राम, कृष्ण, नारायण इत्यादि विष्णुका असंख्य दिव्य नामलाई मुखाग्र बनाउने छु" भनी प्रतिज्ञा गर्नु पर्छ। यस्तो संकल्प गरेर भगवान विष्णुको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ- 'हे त्रिलोकपति ! मेरो लाज हजुरको हातमा छ, अतः मलाई मैले गरेका सङ्कल्प पूरा गर्ने शक्ति प्रदान गर्नुहवस्।' यदि बिर्सिएर कुनै निन्दकसित कुराकानी भइगयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति सूर्यनारायणको दर्शन अथवा भगवान हरिको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ। एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकाल बाहेक अन्य समयमा घर बढार्नुहुदैन। यस दिन नङ्ग, केश आदि काट्नुहुन्न। धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ। यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैकहा कुनै हालतमा पनि फिर्ता आउनुहुन्न। असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु पर्छ।दशमीयुक्त एकादशी लाई वृद्ध मानिन्छ, शैव उपासक त यसलाई मान्यता दिन्छन् तर वैष्णवहरू द्वादशीयुक्त एकादशीको व्रत लिने गर्छन। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ। गोभी, गाजर, शलगम, पालक आदि सागको सेवन गर्नुहुदैन र आप, अङ्गुर, केरा, बदाम, काजु आदि अमृतफल ग्रहण गर्नु पर्छ। प्रत्येक वस्तु तुलसीपत्रका साथ प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ। द्वादशीका दिन दक्षिणा, मिष्ठान्न, भोजन आदिले सन्तुष्ट तुल्याई ब्राह्मणको प्रदक्षिणा गर्नुपर्छ। व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन। रिस चाण्डालको रूप हो जबकि तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ। एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। यथासंभव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ। एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। यथासंभव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ। एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ।

उत्पत्तिका एकादशी व्रतको व्रतकथा[सम्पादन गर्ने]

मोक्षदा एकदशीको व्रत कथा[सम्पादन गर्ने]

सफला एकादशी व्रतको व्रतकथा[सम्पादन गर्ने]

पुत्रदा एकादशी व्रत कथा(पौषशुक्लपक्ष)[सम्पादन गर्ने]

षट्तिला एकादशीको व्रत कथा[सम्पादन गर्ने]

जया एकादशीको कथा[सम्पादन गर्ने]

विजया एकादशी[सम्पादन गर्ने]

आमलकी एकादशी व्रत[सम्पादन गर्ने]

पापमोचिनी एकादशी व्रत कथा[सम्पादन गर्ने]

कामदा एकादशी व्रत कथा[सम्पादन गर्ने]

बरुथिनी एकादशी व्रतको कथा[सम्पादन गर्ने]

यो वैशाख कृष्ण पक्षको एकादशी हो | यो सुख-शांति एवं सौभाग्यको प्रतीक मानिन्छ | कुनै श्रेष्ठ ब्राह्मणलाई दान दिनाले, करोड वर्षसम्म तपस्या गर्नाले, तथा कन्यादान गर्नाले जुन फल प्राप्त हुन्छ त्यसभन्दा पनि बढि फल प्रदान गर्ने बरुथिनी एकादशीको व्रतलाई मानिन्छ | यस व्रतको पालना गर्ने भक्तका लागि मुख्य रूपले यस दिन अर्काको निंदा गर्नु, क्रोध गर्नु र असत्य बोल्नु वर्जित छ | यस व्रतको पूर्ण प्रक्रियामा तेलयुक्त भोजन निषेध गरिएको छ | यस व्रतको महात्य्म्य सुन्नाले सहस्त्र गुरूजनको हत्याजस्तो जघन्य दोष पनि नष्ट हुन पुग्छ भन्ने विश्वास गरिन्छ | यसरी यो असाध्यै फलदायक व्रत मानिन्छ| प्राचीन समयमा नर्मदा तटमा मांधाता नामक राजा राज्यसुख उपभोग गर्दै आनन्दपूर्वक जीवनयापन गर्दै थिए| राजकाजमा संलग्न भए पनि ती राजा अत्यन्त दानशील तथा तपस्वी थिए | एक दिन जब राजा तपस्यामा मग्न थिए त्यसै समय एउटा जंगली भालू आएर तिनको गोडा चबाउन थाल्यो | केही बेरपछि त्यसले राजालाई घिसारेर वनमा लिएर गयो | त्यसपछि राजाले अत्तालिंदै तापस धर्म-अनुकूल हिंसा, क्रोध आदि नगरी भगवान विष्णुको प्रार्थना गर्ण थाले | त्यसै समय भक्तवत्सल भगवान प्रकट हुनुभयो तथा भालूलाई चक्रद्वारा उद्धार गर्नुभयो | राजाका गोडा भालूले खाइसकेको थियो, जसबाट उनलाई ठूलो चिन्ता भयो | विष्णु भगवानले उनलाई दुखी देखेर भन्नु भयो - हे वत्स ! मथुरामा गएर तिमी मेरो वाराह-अवतार मूर्तिको पूजा बरुथिनी एकादशीको व्रतको पालनाका साथ संपन्न गर | त्यसको प्रभावले तिमी पुन: सबलाङ्ग हुनेछौ | भालूले तिमीलाई टोक्नुपर्ने कारण भने तिम्रो पूर्वजन्मको अपराध हो | राजाले बरुथिनी एकादशीको व्रत अपार श्रद्धाका साथ पूर्ण गरे तथा सुन्दर अंगयुक्त भए |

मोहिनी एकादशी व्रतको कथा[सम्पादन गर्ने]

धर्मराज युधिष्ठिरले सोध्नुभयो कि हे कृष्ण ! वैशाख महिनाको शुक्ल पक्षको एकादशीको नाम के हो तथा त्यसको के कथा छ? यस व्रतको के विधि छ, सो सबै विस्तारपूर्वक बताउनु हवस्। श्रीकृष्ण भन्न थाल्नुभयो हे धर्मराज ! म तपाईसित एउटा कथा भन्दछु, जसलाई महर्षि वशिष्ठले श्री रामचंद्रसित भन्नु भएको थियो। एक पटक श्री रामचंद्रले भन्नु भयो, हे गुरूदेव ! कुनै यस्तो व्रतको बारेमा बताउनु हवस जसबाट समस्त पाप र दु:ख नष्ट होउन। मैले सीताको वियोगमा असाध्यै दु:ख भोगेको छु अत: कुनै व्रतको विधि आज्ञा गर्नु हवस्। महर्षि वशिष्ठले आज्ञा गर्नु भयो, हे राम ! तपाईले अति बहुत सुंदर प्रश्न गर्नु भएको छ। तपाईको बुद्धि अत्यन्त शुद्ध र पवित्र छ। यद्यपि तपाईको नामको स्मरण गर्नाले मात्र मनुष्य पवित्र र शुद्ध हुन पुग्दछ तथापि तपाईको यो प्रश्न लोकहितका निमित्त अति नै सुंदर छ। वैशाख मासमा जुन एकादशी पर्दछ त्यसको नाम मोहिनी एकादशी हो। यस एकादशीको व्रत गर्नाले मनुष्य सबै पाप तथा दु:खबाट छुटेर मोह जालबाट मुक्त हुन जान्छ। अत: यो व्रत दु:खी मनुष्यले अवश्य गर्नु पर्दछ। यसबाट मनुष्यका सबै पाप र दु:ख नष्ट हुन्छन्। अब तपाई यस व्रतको कथा ध्यानपूर्वक सुन्नुहवस्। सरस्वती नदीको किनारमा भद्रावती नामक एउटा नगरी थियो, त्यहाँ द्युतिमान नामक चंद्रवंशी राजा राज्य गर्दथे। यसै नगरीमा धन-धान्यद्वारा पूर्ण पुण्यवान धनपाल नामक एउटा वैश्य पनि बस्दथ्यो। त्यो अत्यन्त धर्मात्मा एवं विष्णुभक्त थियो। उसले नगरमा अनेक भोजनालय, धारा, कुवा, सरोवर, धर्मशाला आदि निर्माण गरेको थियो र सडकमा आप, जामुन, नीम आदिका अनेक वृक्ष रोपेको थियो। त्यस वैश्यका पाँच पुत्र थिए - सुमना, सद्बुद्धि, मेधावी, सुकृति र धृष्टबुद्धि। यी मध्ये धृष्टबुद्धि नामको कान्छो छोरो महापापी थियो। ऊ पितृ आदिलाई मान्दैनथ्यो। ऊ वेश्या र दुराचारी मनुष्यको संगतिमा रहेर जुवा खेल्थ्यो तथा पर-स्त्रिका साथ भोगविलास गर्थ्यो, मासु-मदिराको सेवन गर्थ्यो। अरुअरु अनेक कुकर्ममा ऊ आफ्ना पिताको धन नष्ट गर्दथ्यो। वेश्याहरूसित अङ्गालो हाली घुमफिर गर्दथ्यो। यिनै कारणले उसका पिता, दाजुभाइ तथा कुटुम्बहरूले उसलाई घरबाट निकाली दिए र उसको निंदा गर्न थाले। घरबाट निष्काशनपछि ऊ आफ्ना गहना र कपडा बेचेर निर्वाह गर्न थाल्यो। जब संपूर्ण धन नष्ट भयो त्यसपछि वेश्या र दुष्ट संगी-साथीहरूले पनि उसको साथ छोडे। अब ऊ भोक र प्यासबाट अत्यन्त दु:खी हुन थाल्यो र कुनै अर्को सहारा न भेटेर ऊ चोरी गर्न थाल्यो। एक पटक ऊ समातियो तर राज्य कर्मचारीहरूले उसलाई इमानदार वैश्यको छोरो ठानेर थुना मुक्त गरे। तर जब अर्को पटक त्यो पुनः पकडाउ पर्‍यो, उसलाई राजासमक्ष उपस्थित गराईयो। राजाले उसलाई कारागारमा बंद राख्ने आदेश दिये। कारागारमा उसले असाध्यै दु:ख पायो र त्यसपछि उसलाई देश निकाला गरीयो। ऊ शहरबाट बाहिरियो र वनमा गयो र वनमा पशु-पक्षीलाई मारेर खान थाल्यो। केही समय पछि ऊ शिकारी बन्यो र धनुष-बाण लिएर पशु-पक्षीलाई मारी-मारी खान थाल्यो। एक दिन ऊ भोक र प्यासबाट आक्रान्त भई आहाराको खोजीमा घुम्दै गर्दा कौडिन्य ऋषिको आश्रममा पुग्यो। त्यस समय वैशाख महिना चल्दै थियो र कौडिन्य ऋषि गंगा स्नान गरी फर्कदै थिए। उनको भिजेका लुगाको छिँटा पर्नाले उसलाई केही सद्बुद्धि प्राप्त भयो र ऊ मुनिसमक्ष हात जोडेर भन्न थाल्यो - हे मुने ! मैले आफ्नो जीवनमा धेरै ठूला ठूला पापकर्म गरेको छु तपाईले ती पापहरूबाट मुक्ति प्राप्त गर्ने सरल र साधारण अनि धनको अभावमा पनि संपन्न गर्ण सकिने उपाय बताउनु हवस्। त्यसका दीन वचन सुनेर ऋषिले भन्नुभयो - तिमी वैशाख शुक्ल एकादशीको व्रत गर। यस एकादशीको नाम मोहिनी हो र यसबाट तिम्रा संपूर्ण पाप नष्ट हुनेछन। मुनिका वचन सुनेर ऊ अत्यन्त प्रसन्न भयो र ऋषिद्वारा बताइएको विधिअनुसार उसले मोहिनी एकादशीको व्रत गर्‍यो। हे राम! यस व्रतको प्रभावबाट उसका सबै पाप नष्ट भए र अंतमा ऊ गरुडमा चढेर विष्णुलोक गयो। यस व्रतबाट मोह आदि संपूर्ण बन्धनहरू नष्ट हुन पुग्छन। संसारमा यस व्रतभन्दा श्रेष्ठ अन्य कुनै व्रत छैन। यसको माहात्म्य पढदा अथवा सुन्दा एक हजार गौदानको फल प्राप्त हुन्छ।

अचला एकादशीको व्रतकथा[सम्पादन गर्ने]

युधिष्ठिरले भन्नुभयो - हे भगवन ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ त्यो कृपा गरी आज्ञा गर्नु हवस् ? भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो हे राजन ! यो एकादशी ‘अचला’ तथा’ अपरा दुई नामबाट प्रसिद्ध छ। पुराण-अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसंपदा प्रदान गर्दछ। जो मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यो संसारमा प्रख्यात हुन्छ। यस दिन भगवान त्रिविक्रमको पूजा गर्ने प्रचलन छ । अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भू‍तयोनि, परनिंदा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुन्छन्। यस व्रतको पालनाबाट परस्त्री-गमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य हुनु आदि सबै पाप नष्ट हुन्छन्। जो क्षत्रिय युद्धभूमिबाट भाग्छन ती नरकगामी हुन्छन, परंतु अपरा एकादशीको व्रत लिनाले ती पनि स्वर्ग पुग्दछन। जो शिष्य गुरूसित शिक्षा ग्रहण गरेर पुनः उनकै निंदा गर्दछन ती पनि नरकगामी हुन्छन् तर अपरा एकादशीको व्रत गर्नाले ती पनि यस पापबाट मुक्त हुन पुग्छन। जुन फल तीनैवटा पुष्कर तीर्थमा कार्तिक पूर्णिमाका दिन स्नान गर्नाले वा गंगा तटमा पितृहरूलाई पिंडदान गर्नाले प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले प्राप्त हुन जान्छ। मकरको सूर्यमा प्रयागराजको स्नानबाट, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नानबाट, कुंभमा केदारनाथको दर्शन वा बद्रीनाथको दर्शन, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नानबाट, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गौदानबाट जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ। यो व्रत पापरूपी वृक्षलाई काटने बन्चरो हो। पापरूपी ईंधनलाई बाल्ने अग्नि, पापरूपी अंधकारलाई मेटाउने सूर्य, मृगलाई मार्ने सिंह समान छ। अत: मनुष्यले पापसित डराउँदै यस व्रतलाई अवश्य पालना गर्नु पर्दछ। अपरा एकादशीको व्रत तथा भगवानको पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ। यस अपरा वा अचला एकादशीको प्रचलित कथाअनुसार प्राचीन कालमा महीध्वज नामक एउटा धर्मात्मा राजा थिए। त्यसको कान्छो भाइ वज्रध्वज असाध्यै क्रूर, अधर्मी तथा अन्यायी थियो। ऊ आफ्ना दाजुसित द्वेषबुद्धि राख्दथ्यो। त्यस पापीले एक दिन रात्रिको समयमा आफ्ना दाजुको हत्या गरेर उनको मृत शरीरलाई जंगलमा एउटा पीपलको फेदमा गाडयो। यस अकाल मृत्युबाट राजा प्रेतात्माका रूपमा त्यसै पीपलको रुखमा बस्नथाले र किसिम किसिमका उत्पात गर्न थाले। एक दिन कतै जाने उद्देश्यले धौम्य नामका ॠषिले त्यही पीपलको रुख रहेको बाटो हुँदै यात्रा गरे। उनले त्यस प्रेतलाई देखे र तपोबलका माध्यमले प्रेतको अतीतलाई पहिचान गरे, साथै आफ्नो तपोबलले प्रेतले उत्पात मच्चाएको पृष्ठभूमि एवं कारणसमेत थाहा पाए। ॠषिले प्रसन्नचित्त भई त्यस उस प्रेतलाई त्यस पीपलको रुखबाट बाहिर निकाले र परलोकगमन गर्न अलौकिक विद्याको उपदेश गरे। दयालु ॠषिले राजाको प्रेतयोनिबाट मुक्ति दिलाउन स्वयं आफुले अपरा (अचला) एकादशीको व्रत सम्पादन गरे र ती राजालाई अधोगतिबाट मुक्त बनाउन त्यस एकादशीको पुण्य त्यस प्रेतलाई अर्पित गरे। यस पुण्यको प्रभावबाट राजाको प्रेतयोनिबाट मुक्ति भयो। तिनले ॠषिलाई साधुवाद व्यक्त गर्दै दिव्य देह धारण गरी पुष्पक विमानमा बसेर स्वर्गलोक प्रस्थान गरे।। यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरी वैकुण्ठ पुग्छन भन्ने मान्यता छ । यसलाई पढनाले अथवा सुन्नाले मनुष्य सबै पापबाट मुक्त हुन्छ ।

निर्जला एकादशीको महात्म्य र व्रतकथा[सम्पादन गर्ने]

युधिष्ठिरले भन्नुभयो :जनार्दन ! ज्येष्ठ मासको शुक्लपक्षमा जुन एकादशी पर्दछ, कृपया त्यसको वर्णन गर्नुहोस। भगवान श्रीकृष्णद्वारा आज्ञा भयो: राजन् ! यसको वर्णन परम धर्मात्मा सत्यवतीनन्दन व्यासले गर्नुहुनेछ, किनभने वहा सम्पूर्ण शास्त्रका तत्त्वज्ञ र वेदवेदांगका पारंगत विद्वान हुनुहुन्छ। अनि वेदव्यास भन्न थाल्नुभयो: यस एकादशीमा भोजनादि निषेध गरिएको छ। द्वादशीका दिन स्नान आदिबाट पवित्र भएर फूलले भगवान केशवको पूजा गर्नुपर्छ।अनि नित्य कर्म समाप्त भए पश्चात् पहिले ब्राह्मणहरूलाई भोजनादि प्रदान गरी अन्तमा स्वयंले भोजन गर्नुपर्छ। राजन् ! जननाशौच और मरणाशौच परे पनि यस एकादशीका दिन भोजन गर्नु हुदैन। यो सुनेर भीमसेनले भने : परम बुद्धिमान पितामह ! मेरी उत्तम कुरो सुन्नुहोस। राजा युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव सबैले कुनै पनि एकादशीका दिन कहिल्यै पनि भोजनादि गर्नुहुन्न तथा मसित जहिल्यै भन्नु हुन्छ : ‘भीमसेन ! तिमी एकादशीका दिन निराहार बस्ने गर…’ तर म वहाहरूसित भन्ने गर्छु कि मेरो भोक सहने बानी छैन। भीमसेनका कुरा सुनेर व्यासले भन्नुभयो : यदि तिम्रो अभीष्ट स्वर्गलोकको प्राप्ति छ र नरकलाई दूषित ठान्छौ भने सबै एकादशीका दिन भोजनादि नगर्नु। भीमसेनले फेरि भने : महाबुद्धिमान पितामह ! म तपाईसामु सत्य कुरा राख्दछु। त्यस दिन एकपटक मात्र भोजन गर्दा पनि मबाट व्रतको पालना हुन सक्दैन, पुनः उपवास गरेर त म कसरी बाच्न सकुला र? मेरो उदरमा वृक नामक अग्नि सदा प्रज्वलित रहने गर्दछ, अत: जब म असाध्यै धेरै खाने गर्दछु, अनि मात्र त्यो आगो शांत हुने गर्दछ। त्यसैले हे महामुने ! मैले वर्षभरिमा केवल एउटा मात्र उपवास गर्ने कुनै उपाय छ भने बताउनु होस, जसबाट स्वर्गप्राप्ति सुलभ होस तथा जुन व्रतको पालना गर्नाले म कल्याणको भागी पनि हुन सकौ, यस्तो कुनै एउटा व्रत निश्चय गरेर भन्नुहवस। म त्यस व्रतको यथोचित रूपले पालन गर्ने प्रयास गर्नेछु। व्यासले भन्नुभयो : भीम ! ज्येष्ठ महिनामा सूर्य वृष राशिमा होस वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसलाई यत्नपूर्वक निर्जल व्रत गर। केवल कुल्ला वा आचमन गर्न मात्र मुखमा पानी लगाऊ, त्यसबाहेक कुनै प्रकारले विद्वान पुरुषले मुखमा पानी पार्नुहुन्न, अन्यथा व्रत भंग हुन पुग्छ। एकादशीको सूर्‍योदयदेखि अर्को दिनको सूर्‍योदयसम्म मनुष्यले जलको त्याग गर्नुपर्छ अनि मात्र यो व्रत पूर्ण हुनपुग्छ। तदनन्तर द्वादशीका दिन प्रभातकालमा स्नान गरेर ब्राह्मणहरूलाई विधिपूर्वक जल र सुवर्ण दान गर्नुपर्छ। यसरी सबै कार्य पूरा गरेर जितेन्द्रिय पुरुषले ब्राह्मणका साथमा भोजनादि गर्नुपर्छ। वर्षभरिमा जतिपनि एकादशीहरू हुन्छन, ती सबैको फल निर्जला एकादशीको पालनाबाट मनुष्यले प्राप्त गर्न सक्छ, यसमा सन्देह गर्ने स्थान छैन। शङ्ख, चक्र र गदा धारण गर्नुहुने भगवान केशवले मसित भन्नुभएको थियो कि : ‘यदि मानव सबै कुरो छोडेर एकमात्र मेरो शरणमा आउछ र यस निर्जला एकादशीको निराहार भई व्रत गर्दछ भने त्यो सबै पापबाट मुक्त हुन्छ।’ एकादशी व्रत गर्ने पुरुषका छेउमा विशालकाय, विकराल आकृति र कालो रंग भएका दण्ड पाशधारी भयंकर यमदूत आउँदैनन। अन्त्यकालमा पीताम्बरधारी, सौम्यस्वभाव भएका, हातमा सुदर्शन धारण गर्ने र मनसमान वेगशाली विष्णुदूत आखिरीमा त्यस्तो एकादशीको व्रत गर्ने वैष्णव पुरुषलाई भगवान विष्णुका धाममा लिएर जान्छन्। त्यसैले हे वत्स निर्जलाएकादशीको व्रत पूर्ण यत्न गरी उपवास र श्रीहरिको पूजन गरेर लिनु पर्दछ। स्त्री होस वा पुरुष, यदि उसले मेरु पर्वतसमान महान पाप गरेको छ भने पनि त्यो सबै यस एकादशी व्रतको प्रभावबाट भस्म हुन जान्छ। जो मनुष्यले त्यस दिन जलको नियमलाई पालन गर्दछ, त्यो पुण्यको भागी हुन्छ। त्यसलाई एकएक प्रहरमा कोटिकोटि स्वर्णमुद्रा दान गरेको फल प्राप्त हुन्छ भन्ने मान्यता छ। मनुष्यले निर्जला एकादशीका दिन स्नान, दान, जप, होम आदि जे जस्तो कर्म गर्दछ, त्यो संपूर्ण अक्षय हुन पुग्छ यो कथन भगवान श्री कृष्णको हो। निर्जला एकादशीको विधिपूर्वक उत्तम रीतिबाट उपवास गरी मानवले वैष्णवपद प्राप्त गर्दछ। जो मनुष्य एकादशीका दिन अन्न खाने गर्दछ, त्यसले पापयुक्त भोजन गरेको मानिन्छ। यस लोक में त्यो चाण्डालका समान हो र मरे पछि पनि ऊ दुर्गतिलाई प्राप्त गर्दछ। जसले ज्येष्ठको शुक्लपक्षको उपवास गरेर दान गर्दछ, त्यसले परमपद प्राप्त गर्दछ। जजसले एकादशीको उपवास गर्दछन, ती हत्यारा, रक्स्याहा, चोर तथा गुरूद्रोही भए पनि सबै पातकबाट मुक्त हुन पुग्छन। हे कुन्तीनन्दन ! ‘निर्जला एकादशी’का दिन श्रद्धालु स्त्री तथा पुरुषहरूले जुन विशेष दान र कर्त्तव्य पूरा गर्नुपर्दछ त्यो सुन, त्यस दिन जलाशायी भगवान विष्णुको पूजन र जलमयी धेनु (गौ) दान गर्नु पर्दछ अथवा प्रत्यक्ष धेनु वा घृतमयी धेनुको दान गर्नु उचित हुन्छ। पर्याप्त दक्षिणा र किसिम किसिमका मिष्ठान्नद्वारा यत्नपूर्वक ब्राह्मणहरूलाई सन्तुष्ट तुल्याउनु पर्दछ। यसो गर्नाले ब्राह्मण पक्का पनि संतुष्ट हुन्छन् र ती संतुष्ट भए पछि भगवान श्रीहरिले मोक्ष प्रदान गर्नुहुन्छ। जुन भक्तले शम, दम र दानमा प्रवृत भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस ‘निर्जला एकादशी’को व्रत गरेको छ, उसले आफूसगै बितेका सय पुस्ताका र आगामी सय पुस्ताका व्यक्तिहरूलाई भगवान वासुदेवको परमधाममा पुर्याउँछ। निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, शैय्या, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्नुपर्दछ। जसले श्रेष्ठ तथा सुपात्र ब्राह्मणलाई जूता दान गर्दछ, ऊ सुनको विमानमा बसेर स्वर्गलोकमा पुग्दछ र प्रतिष्ठित हुन्छ। जसले यस एकादशीको महिमालाई भक्तिपूर्वक सुन्दछ अथवा त्यसको वर्णन गर्दछ, त्यो स्वर्गलोकमा पुग्छ। चतुर्दशीयुक्त अमावस्याका दिन सूर्यग्रहणका समयमा श्राद्ध गरी मनुष्यले जुन फल प्राप्त गर्दछ, त्यही फल यस कथालाई श्रवण गर्नाले प्राप्त हुन्छ। पहिले दन्तधावन गरेर यो प्रतिज्ञा गर्नुपर्दछ कि : ‘म भगवान केशवको प्रसन्नताका निम्ति आजको एकादशीका दिन निराहार रहेर आचमनबाहेक अन्य जलको सेवन गर्ने छैन।’ द्वादशीका दिन देवेश्वर भगवान विष्णुको पूजा गर्नुपर्दछ। गन्ध, धूप, पुष्प र सुन्दर वस्त्रद्वारा विधिपूर्वक पूजन गरी जलयुक्त घडादानको संकल्प गर्दै निम्नांकित मन्त्रको उच्चारण गर्नुपर्दछ : देवदेव हृषीकेशं संसारार्णवतारक। उदकुम्भप्रदानेन नय मां परमां गतिम्॥ ‘संसारसागरबाट तार्ने हे देवदेव हृषीकेश ! यस जलको घडा दान गर्नाले हजुरले मलाई परम गति प्राप्ति गराउनुहोस्।’ व्यास भन्नुहुन्छ, हे भीमसेन ! ज्येष्ठमासमा शुक्लपक्षको जुन शुभ एकादशी हुन्छ, त्यसको निर्जल व्रत गर्नुपर्दछ। त्यस दिन श्रेष्ठ ब्राह्मणहरूलाई शख्खरसित जलको घडादान गर्नुपर्दछ। यसो गर्नाले मनुष्यले भगवान विष्णुका समीपमा पुगेर आनन्दको अनुभव गर्दछ। तत्पश्चात् द्वादशीका दिन ब्राह्मणभोजन गराए पछि स्वयं आफूले पनि भोजन गर्नुपर्छ। जसले यसरी पूर्ण रूपले यस पापनाशिनी एकादशीको व्रत गर्छ, ऊ सबै पापबाट मुक्त भई आनंदमय पद प्राप्त गर्न सफल हुन्छ। यो सुनेर भीमसेनले पनि यस शुभ एकादशीको व्रत आरम्भ गरे। तबदेखि यस लोकमा ‘पाण्डव द्वादशी’को नामबाट यस एकादशीको भोलिपल्टको नाम प्रख्यात भयो।

योगिनी एकादशी व्रतको कथा[सम्पादन गर्ने]

आषाढ मासको कृष्ण पक्षमा हुने एकादशीलाई योगिनी एकादशी भन्दछन। यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य भएको एकादशी हो। यस दिन भगवान विष्णु अथवा उनको लक्ष्मीनारायण रूपको आराधना गर्नुपर्दछ। भगवानको प्रतिमालाई स्नान गराई स्वच्छ वस्त्रद्वारा सुसज्जित तुल्याउनु पर्दछ। धूप, दीप, नैवेद्य आदिद्वारा भगवान नारायणको पूजा गर्नु पर्दछ। पूजा एवं आरतीपश्चात् ब्राह्मणहरूलाई भोजन गराई दान आदि प्रदान गर्नु पर्दछ। महाभारत कालमा युधिष्ठिरले कृष्णसित यस लोकमा भोग तथा परलोकमा मुक्ति दिने योगिनी एकादशी व्रतको माहात्म्यका संबन्धमा सोध्नुभयो। कृष्णले युधिष्ठिरलाई यस योगिनी एकादशी व्रतका सम्बन्धमा बताउनुभयो - प्राचीन कालमा अलकापुरी नामक नगरीमा राजा कुबेरको दरबारमा हेम नामक एउटा माली बस्दथ्यो। उसको प्रति दिनको काम भगवान शंकरको पूजाका निम्ति मानसरोवरबाट फूल खोजी ल्याउनु थियो। एक दिन ऊ आफ्नी पत्नीसित हास्य-विनोदमा अल्मलियो र फूल लिई आउन बिर्सियो। राजा कुबेरले सिपाहीलाई मालीलाई पक्राउ गर्ने आदेश दिए। सेवकले माली आफ्नी पत्नीसित हास्य-विनोद गर्दै रहेको व्यहोरा राजालाई बतायो। यस्तो विवरण सुनेर क्रोधित भई कुबेरले उसलाई स्त्रीवियोग र मृत्युलोकमा जन्म लिई कोढरोगग्रस्त हुने श्राप दिए। श्रापबाट कोढी भएर हेम माली पृथ्वीतलमा यत्रतत्र भौतारिदै एक दिन मार्कण्डेय ॠषिका आश्रममा पुग्यो। ॠषिले आफ्नो योगबलद्वारा ऊ दुखी हुने कारण थाहा पाए। अनि उनले त्यसलाई योगिनी एकादशीको व्रत गर्न सल्लाह दिनुभयो। व्रतको प्रभावले हेम मालीको कोढरोग समाप्त भयो र ऊ दिव्य शरीर धारण गरी स्वर्गलोक फिर्ता गयो। भगवान कृष्णले आज्ञा गर्नुभयो - यस कथालाई पढ्ना वा सुन्नाले मात्र अथवा विधिपूर्वक व्रतको पालना गर्नाले मनुष्य सबै पापबाट मुक्त हुन्छ। शास्त्रमा यस व्रतको विधान, नियम-संयम र फल निम्नानुसार उल्लेख गरिएको छ। १- आषाढ महिनाको कृष्णपक्षको योगिनी एकादशी व्रतको नियम पालना दशमीको रात्रिकालबाट शुरु गर्नु पर्छ। यस व्रतलाई लिने व्यक्तिले दशमीका दिनदेखि नै तनमनबाट ब्रह्मचर्यको पालन गर्नु पर्छ र यौनप्रसंगदेखि टाढा हुनु पर्छ। २- एकादशीका यथासंभव उपवास गर्नु पर्छ। उपवासमा अन्न त्याग्नु पर्छ वा भोजन नगरी यस व्रतलाई पालना गरिन्छ। संभव नभए एकभुक्त वा नक्त व्रत गर्नु पर्छ। अर्थात एक समय रात्रिकालमा मात्र भोजन गर्नु पर्छ। ३- एकादशीका दिन मनोरञ्जन गर्नु, जुवा खेल्नु, दिउसो सुत्नु, दन्तधावन गर्नु, परनिन्दा, चुगली, चोरी, हिंसा, संभोग, क्रोध तथा असत्यवादन इत्यादि ११ किसिमका कर्म अनिवार्य रूपमा त्याग्नु पर्छ। ४- एकादशीका दिन प्रात: स्नान गरी विष्णुको पूजा विधिविधानले गर्नु पर्छ। यो धार्मिक कृत्य स्वयं आफैले गर्नु पर्छ वा कुनै विद्वान ब्राह्मणद्वारा पनि गराउन सकिन्छ। शास्त्रबमोजिम स्वच्छ कपडा लगाएर भगवान विष्णुको प्रतिमाका सामुन्ने बसेर संकल्प गर्नु पर्छ। संकल्प गर्दा निम्न मन्त्र उच्चारण गर्नु पर्दछ :- मम सकल पापक्षयपूर्वककुष्ठादिरोगनिवृत्तिकामनया योगिन्येकादशीव्रतमहं करिष्ये। ५- यसपछि भगवान पुण्डरीकाक्ष अर्थात विष्णुको यथोपचार पूजा गर्नु पर्छ। भगवान विष्णुलाई पञ्चामृत स्नान गराउनु पर्छ। स्नानपछि भगवानको चरणामृतलाई व्रत लिनेले आफ्नो र परिवारका सबै सदस्यका अंगमा छर्कनु पर्छ र त्यस चरणामृत पिउनुपर्छ। मानिन्छ कि यस कर्मद्वारा विशेष रूपले कुष्ठ र चर्म रोगीको पीडा समाप्त हुन्छ र ऊ रोगमुक्त हुन्छ। त्यस पछि गंध, पुष्प, धूप, दीप, नैवेद्य आदि पूजन सामग्रीद्वारा पूजा गर्नु पर्छ। ६- प्रत्येक एकादशीका दिन विष्णु सहस्त्रनामको जाप एवं भगवान विष्णुको कथा सुन्नु पर्छ। ७- तनमनले हिंसाको त्याग गर्नु पर्छ र कुनै किसिमको कुभलो चिताउनु हुदैन र गर्नु पनि हुदैन। यथासंभव रातको समयमा जागरण गर्नु पर्छ, भजन, कीर्तन एवं श्री हरिको स्मरण गर्नु पर्छ। योगिनी एकादशी व्रतको यसरी विधिविधानपूर्वक पालना गर्नाले सबै रोग र व्याधिको अन्त्य हुन्छ। साथै मनमा आफन्तसित भिन्न भई बस्ने भावना हराउछ र विछोड भएका वा छुट्टिएका परिजन वा सम्बन्धिसित मिलन हुन्छ।

हरिशयनी एकादशी व्रतको व्रतकथा[सम्पादन गर्ने]

आषाढ मासको शुक्ल पक्षको एकादशीलाई नै 'देवशयनी' वा हरिशयनी एकादशी भन्ने गरिन्छ। यसलाई 'पद्मनाभा' एकादशी पनि भन्ने चलन छ। पुराणमा के पनि उल्लेख गरिएको भेटिन्छ भने यस दिनदेखि भगवान विष्णु चार महिनाका लागि बलिको ढोकामा पाताल लोकमा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ। यासि दिनदेखि चौमासाको आरम्भ हुन्छ। यस दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीरसागरमा शयन गर्नुहुन्छ। यसै कारण यस एकादशीलाई 'हरिशयनी एकादशी' तथा कार्तिक शुक्ल एकादशीलाई 'प्रबोधिनी एकादशी' भन्ने गरिन्छ। यी चार महीनामा भगवान विष्णु क्षीरसागरमा शयन गर्नु हुने भएकाले विवाह आदि कुनै पनि शुभ कार्य गरिदैन। धार्मिक दृष्टिले यी चार महिना भगवान विष्णुको निद्रा काल मानिन्छ। यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन। यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू-मण्डल (पृथ्वी) का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन। ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ। यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन, सबै पाप नष्ट हुन्छन् तथा भगवान हृषीकेश प्रसन्न हुनुहुन्छ। सबै एकादशीका दिन भगवान विष्णुको पूजा-आराधना गरिन्छ, परंतु आजको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि-विधानले पूजा गर्ने चलन छ। यस दिन उपवास गरेर भगवान विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शङ्ख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पाहेलै दोसल्लाले सजाउने काम हुन्छ। पञ्चामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप,दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ। भगवानलाई पान (ताम्बूल), सुपारी (पुंगीफल) अर्पित गरेपछि निम्न मन्त्रद्वारा स्तुति गर्ने परम्परा रही आएको छ :- सुप्ते त्वयि जगन्नाथ जमत्सुप्तं भवेदिदम्। विबुद्धे त्वयि बुद्धं च जगत्सर्व चराचरम्।। अर्थात हे जगन्नाथ ! तपाई निद्रित भएपछि संपूर्ण विश्व निद्रित हुन पुग्छ र तपाई जागा हुदा संपूर्ण विश्व तथा चराचर पनि जागृत हुन जान्छ। यसरी प्रार्थना गरेर भगवान विष्णुको पूजा गर्नु पर्छ। तत्पश्चात ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नु पर्छ। रात्रिकालमा भगवानको मन्दिरमा नै शयन गर्नु पर्छ तथा भगवानको भजन र स्तुति गर्नु पर्छ। आफू स्वयं सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनु पर्छ। यस दिन अनेक परिवारमा महिलाहरू पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन। यी चार महिनाका लागि आफ्नो रूचि अथवा अभीष्ट-अनुसार नित्य व्यवहारका पदार्थहरू त्याग र ग्रहण गर्ने चलन छ। मधुर स्वरका लागि गुड, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिका निम्ति कडुवा तेल, सौभाग्यका लागि मीठो तेलको र स्वर्ग प्राप्तिका निम्ति पुष्पादि भोग आदि त्याग्नु पर्छ। देह शुद्धि वा सुंदरताका निम्ति परिमित प्रमाणको पञ्चगव्य, वंश वृद्धिका लागि नियमित दूध, कुरुक्षेत्रादिका समान फल प्राप्तिका लागि पात्रमा भोजन तथा सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त गर्नका लागि एकभूक्त, नक्तव्रत, अयाचित भोजन वा सर्वथा उपवास गरी व्रत ग्रहण गर्ने चलन छ। साथै चातुर्मासीय व्रतमा केही वर्जना पनि छन्। जस्तै -पलंगमा सुत्नु, यौन संसर्ग गर्नु, झूठो बोल्नु, मासु, मह तथा दही-भात आदिको भोजनादि। मूला, परवल एवं बैंगुन आदि तरकारी खान पनि निषेध गरिएको छ। जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि-विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन्। एक पटक देवर्षि नारदले ब्रह्मासित यस हरिशयनी एकादशीको माहात्म्यको बारेमा सोध्नुभयो, त्यसको उत्तरमा ब्रह्माजीले भन्नुभयो............... 'सत्ययुगमा मान्धाता नामक एउटा चक्रवर्ती सम्राट राज्य गर्दथे। उनको राज्यमा प्रजा असाध्यै सुख र आनन्दपूर्वक बस्दथे। एकपटक तिनको राज्यमा लगातार तीन वर्षसम्म वर्षा नहुनाले भयंकर अनिकाल परो। प्रजा व्याकुल भए। यस दुर्भिक्षले चारैतिर त्राहि-त्राहि मच्चियो। धर्म पक्षका यज्ञ, हवन पिण्डदान, कथा, व्रत आदि सबै कुरामा कमी आयो। प्रजाले राजाको दरबारमा गएर आफ्नो वेदना सुनाए। राजाले भने - 'तपाईहरूको कष्ट धेरै ठूलो छ। म प्रजाको भलाइका निम्ति पूरा प्रयत्न गर्नेछु।' राजा यस परिस्थितिबाट पहिलादेखि नै दुखी थिए। ती ध्यानमग्न भएर सोच्न थाले आखिरी मैले यस्तो कुन पाप-कर्म गरेछु, जसको मलाई यस रूपमा प्राप्त हुदैछ?' अनि प्रजाको वेदना तथा कष्टलाई सहन नसकेकाले, यस कष्टबाट मुक्ति पाउने कुनै साधन गर्ने उद्देश्यले राजा सेना लिएर जंगलतर्फ गए। जंगलमा विचरण गर्दागर्दै एक दिन ती ब्रह्माका तेजस्वो पुत्र अङ्गिरा ऋषिको आश्रममा पुगे र तिनलाई साष्टांग प्रणाम गरे। मुनिले तिनलाई आशीर्वाद दिएर कुशलक्षेम सोधे. अनि त्यसपछि जंगलमा भौतारिनु पर्ने र आफ्नो आश्रममा आउनु पर्ने अभिप्राय जान्ने इच्छा गरे। अनि राजाले हात जोडेर भने -'महात्मन! सबै प्रकारले धर्मको पालन गर्दागर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य हेर्न विवश छु। म यसको कारण जान्दिन। आखिरी किन यस्तो हुदैछ, कृपया हजुरले यस विघ्नको समाधान गरेर मेरो संशय नाश गर्नुहोस।' राजाका कुरा सुनेर अङ्गिरा ऋषिले भने- 'हे राजन! यो सत्ययुग सबै युगहरूमा श्रेष्ठ र उत्तम मानिन्छ। यसमा सानो पापको पनि धेरै ठूलो फल प्राप्त हुन्छ। यस युगमा मनुष्यहरू ब्रह्मको उपासना गर्दछन। यस युगमा धर्म आफ्ना चारै किसिमका चरणमा व्याप्त भई निवास गर्दछ। यसमा ब्राह्मणबाहेक अन्य कुनै जातिलाई तप गर्ने थिएन, जबकि तपाईको राज्यमा एउटा शूद्र तपस्या गर्दैछ। यसै कारणले तपाईको राज्यमा वर्षा नभएको हो। जबसम्म त्यस शूद्रको जीवन लीला समाप्त हुदैन, तबसम्म यो दुर्भिक्ष शांत हुनेछैन। त्यस शूद्र तपस्वीलाई बध गर्नाले मात्र पापको शांति हुने देखिन्छ।' परंतु राजाको हृदय एकजना निरपराधलाई मार्न तैयार भएन। राजाले त्यस निरपराध तपस्वीलाई मार्नु उचित नहुने ठानेर ऋषिसित अन्य उपाय बताउन अनुरोध गरे। राजाले बिन्ति गरे-'हे देव! म त्यस निरपराधलाई हत्या गरौ, यो कुरो मेरो मन स्वीकार गर्दैन। त्यसैले कृपा गरेर तपाईले कुनै अरु उपाय बताउनुहोस।' त्यस पछि ऋषिले भने -' आषाढ महिनाको शुक्ल पक्षको एकादशी (पद्मा एकादशी वा हरिशयनी एकादशी)को विधिपूर्वक व्रत गर, यस व्रतको प्रभावले अवश्य नै वर्षा हुनेछ।' ऋषिका कुरा सुनेर राजा मान्धाता जङ्गलबाट फिर्ता आए र उनले चारै वर्णसहित पद्मा एकादशीको विधिपूर्वक व्रत गरे। व्रतको प्रभावले उनको राज्यमा मूसलधार वर्षा भयो र पूरा राज्य धन-धान्यले परिपूर्ण भयो।

कामिका एकादशीको व्रतको व्रतकथा[सम्पादन गर्ने]

कुंतीपुत्र धर्मराज युधिष्ठिरले भन्नुभयो- हे भगवन, अब कृपा गरेर श्रावण कृष्ण एकादशीको के नाम हो र यसको पालनाको के विधान छ त्यो बताउनुहोस। श्रीकृष्ण भगवानले आज्ञा गर्नु भयो हे युधिष्ठिर! यस एकादशीको कथा एक पटक स्वयं ब्रह्माजीले देवर्षि नारदसित भन्नु भएको थियो, त्यसैलाई म तिमीसित भन्दछु। नारदले ब्रह्मासित सोधे कि हे पितामह! श्रावण मासको कृष्ण पक्षको एकादशीको कथा सुन्ने मेरो इच्छा छ, त्यसको नाम के हो? के विधि छ र त्यसको माहात्म्य कस्तो छ, यी संपूर्ण विवरण कृपा गरी बताउनुहोस। नारदजीका यस्ता वचन सुनेर ब्रह्माजीले भन्नुभयो - हे नारद! लोकको हितका निम्ति तिमीले असाध्यै सुंदर प्रश्न गर्यौ। श्रावण महिनाको कृष्ण एकादशीको नाम कामिका हो। त्यसको नाम मात्र सुन्नाले वाजपेय यज्ञको फल प्राप्त हुन्छ। यस दिन शङ्ख, चक्र, गदाधारी विष्णु भगवानको पूजा हुन्छ, जसको नाम श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन आदि छ। तिनको पूजा गर्नाले जुन फल प्राप्त हुन्छ त्यो पनि सुन। जुन फल गंगा, काशी, नैमिषारण्य र पुष्कर स्नानबाट प्राप्त हुन्छ, त्यो फल विष्णु भगवानको पूजनबाट प्राप्त हुन्छ। जुन फल सूर्य र चंद्र ग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्नाले, समुद्र, वन सहित पृथ्वीदान गर्नाले, सिंह राशिको बृहस्पतिमा गोदावरी र गंडकी नदीमा स्नान गर्नाले पनि प्राप्त हुन सक्दैन त्यो फल भगवान विष्णुको पूजनद्वारा प्राप्त हुन्छ। जो मनुष्यले श्रावणमा भगवानको पूजन गर्दछन, त्यससित देवता, गंधर्व र सूर्य आदि सबै पूजित हुन पुग्छन। अत: पापदेखि डराउने मनुष्यले कामिका एकादशीको व्रत र विष्णु भगवानको पूजन अवश्यमेव गर्नुपर्दछ। पापरूपी हिलोमा फँसेका र संसाररूपी समुद्रमा डूबेका मनुष्यका निम्ति यस एकादशीको व्रत र भगवान विष्णुको पूजन अत्यन्त आवश्यक छ। यस अवसर भन्दा ठूलो पाप नाश गर्ने मौका पाउन गाह्रो छ। हे नारद! स्वयं भगवानले के भन्नु भएको छ भने कामिका व्रतबाट जीव कुयोनिमा पुग्दैन। जुन मनुष्यले यस एकादशीका दिन भक्तिपूर्वक तुलसी दल भगवान विष्णुलाई अर्पण गर्दछ, त्यो यस संसारका समस्त पापबाट मुक्त हुन्छ। विष्णु भगवान रत्न, मोती, मणि तथा आभूषण आदिबाट त्यति प्रसन्न हुनुहुन्न जति तुलसी दलबाट। तुलसी दल पूजनको फल चार भार चाँदी र एक भार स्वर्णदान बराबर हुन्छ। हे नारद! म स्वयं भगवानलाई अतिप्रिय लाग्ने तुलसीलाई सदैव नमस्कार गर्दछु। तुलसीको बिरुवालाई सिञ्चन गर्नाले मनुष्यका सबै यातनाहरू नष्ट हुन पुग्छन। दर्शन मात्रले पनि सबै पाप नष्ट हुन्छन् र स्पर्शबाट त मनुष्य पवित्र हुन पुग्छ। कामिका एकादशीका दिन रात्रिको समय पारेर दीपदान तथा जागरणको फलको माहात्म्य चित्रगुप्त पनि वर्णन गर्न सक्दैनन। जसले यस एकादशीका दिन रात्रिको समयमा भगवानको मन्दिरमा दियो बाल्दछ, उसका पितृहरूले स्वर्गलोकमा अमृतपान गर्ने अवसर प्राप्त गर्छन तथा जसले घिउ वा तेलको दीपक जलाउदछन, ती सय करोड दीपकबाट प्रकाशित भएर सूर्य लोक पुग्दछन। ब्रह्माजी भन्नुहुन्छ हे नारद! ब्रह्महत्या तथा भ्रूण हत्या आदि पापलाई नष्ट गर्ने यस कामिका एकादशीको व्रत मनुष्यले यत्नपूर्वक गर्नुपर्दछ। कामिका एकादशीको व्रतको माहात्म्य श्रद्धापूर्वक सुन्नाले र पढनाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोक पुग्दछ।

पुत्रदा एकादशी व्रतको व्रतकथा[सम्पादन गर्ने]

एक पटकको कुरा हो, युधिष्ठिरले भने- हे भगवन ! श्रावण शुक्ल एकादशीको नाम के हो? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरी भन्नुहोस। भगवान् मधुसूदनले उनका जिज्ञासा शमन गर्ने उद्देश्यले बताउनु भयो- यस एकादशीको नाम पुत्रदा हो। अब तिमी शांतिपूर्वक यसको कथा सुन। यसलाई सुन्नाले मात्र वाजपेयी यज्ञको फल प्राप्त हुन्छ। द्वापर युगको आरंभमा महिष्मति नामको एउटा नगरी थियो, जसमा महीजित नामका राजा राज्य गर्थे , तर पुत्रहीन भएका कारण राजालाई राज्य सुखदायक लाग्दैनथ्यो। जसका सन्तान छैनन, त्यसका निम्ति यो लोक लोक र परलोक दुबै नै दु:खदायक हुन्छन् भन्ने उसको मान्यता थियो। पुत्रसुखको प्राप्तिका निम्ति राजाले अनेक उपाय गरे तर राजाले पुत्रप्राप्ति गर्न सकेनन। वृद्धावस्था आउन लागेको देखेर राजाले प्रजाका प्रतिनिधि बोलाए र भने- हे प्रजाजन ! मेरो भण्डारमा अन्यायले उपार्जन गरेको धन पाणि छैन। न मैंले कहिल्यै देवता तथा ब्राह्मणको धन नै हरण गरेको छु। कोहीकसैको नासो पनि मैंले हरण गरेको छैन, प्रजालाई पुत्रसमान पालन पनि गरैकै हो। म अपराधीहरूलाई पुत्र तथा बन्धुवान्धव ठानेर दण्ड दिने गर्थे। कहिल्यै कसैसङ्ग घृणा पनि गरेको छैन। सबैलाई समान मानेको छु। सज्जनहरूको सदैव पूजा र सम्मान गरेको छु। यसरी धर्मयुक्त राज्य गर्दागर्दै पनि मेरा पुत्र छैनन। अतः म अत्यन्त दु:खी छु, यसको के कारण हो? राजा महीजितका यी कुरा सुनेपछि यी रहस्य पहिल्याउन मं‍त्री तथा प्रजाका प्रतिनिधि वनतर्फ गए। त्यहाँ ठूला-ठूला ऋषि-मुनि हरूको दर्शन गरे। राजाका उत्तम कामनाका पूर्तिका लागि कुनै श्रेष्ठ तपस्वी मुनिलाई खोज्न थाले। एउटा आश्रममा तिनले एकजना अत्यन्त वयोवृद्ध धर्मज्ञ, ठूला तपस्वी, परमात्मामा निरन्तर मन लगाउने, निराहार, जितेंद्रीय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ तत्वलाई जान्ने, समस्त शास्त्रका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जुन मुनिको कल्प व्यतीत भएपछि एउटा रौं झर्थ्यो। सबैले गएर ऋषिलाई प्रणाम गरे। ती मानिसलाई देखेर मुनिले सोधे- हजुरहरू के कारणले पाल्नु भएको हो? नि:संदेह म हजुरहरूको हित गर्नेछु। मेरो जन्म केवल अर्काको उपकारका निम्ति भएको हो, यसमा संदेह गर्नु पर्दैन। लोमश ऋषिका यस्ता वचन सुनेर सबै जनाले भने- हे महर्षे! हजुर हाम्रा कुरा बुझ्न ब्रह्माजत्तिकै समर्थ हुनुहुन्छ। अत: हजुरले हाम्रो यस संदेहलाई निवारण गर्नुहोस। महिष्मति पुरीका धर्मात्मा राजा महीजित प्रजाको पालन पुत्रवत् गर्दछन र पनि उनी पुत्रहीन हुनुपर्ने कारण के हो। उनीहरूले ऋषिलाई बिन्ती गरे- हामी उनका हौ। अत: उनको दु:खबाट हामी पनि दु:खी छौ। हजुरको दर्शनले हामीलाई पूर्ण विश्वास सिर्जना भएको छ कि हाम्रो यो संकट अवश्यमेव हट्नेछ किनभने महान पुरुषहरूको दर्शनले मात्र पनि अनेक कष्ट दूर हुन पुग्छन। अब हजुरले कृपा गरी राजाको छोरो जन्मने उपाय बताउनु होस। यो अनुरोध सुनेर ऋषिले केही बेरका लागि नेत्र बन्द गर्नुभयो र राजाको पूर्वजन्मको वृत्तांत जानेर भन्न थाल्नुभयो- यी राजा पूर्वजन्ममा एउटा निर्धन वैश्य थिए। निर्धन भएका कारण उनले कतिपय कुकर्म गरे। यी त्यतिबेला एउटा गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्दथे। एक पटक ज्येष्ठ मासको शुक्ल पक्षको द्वादशीका दिन मध्याह्नको समयमा जबकि उनी दुई दिनदेखि भोकै थिए, एउटा जलाशयमा पानी खान गए। त्यसै स्थानमा भर्खरै ब्याएको एउटा गाई पनि पानी खादैथियो। राजा त्यस तिर्खाएको गाईलाई हटाएर स्वयं आफू जलपान गर्न थाले, त्यसैले राजाले यो दु:ख सहनु परेको हो। एकादशीका दिन भोकै बसेकाले ती अर्को जन्ममा राजा भए र तिर्खाएको गाईलाई जलपानका अवस्थामा अवरोध पुर्याएकाले पुत्रवियोगको दु:ख सहनु परेको हो। यस्ता ऋषिका वचन सुनेर सबिले पुनः आफ्ना जिज्ञासा राखे- हे ऋषि! शास्त्रमा पापको प्रायश्चित पनि उल्लेख गरेको हुन्छ। अत: जसो गरी हाम्रा राजाको यो पाप नष्ट हुन्छ, हजुरले त्यस्तो उपाय बताउनुहोस। लोमश मुनिले आज्ञा गर्नुभयो- श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भन्दछन, त्यस दिन तिमीहरू सबैले व्रत गर्नुपर्छ र रात्रिकालमा जागरण समेत गर्नुपर्छ, त्यसो गरेमा यस राजाको पूर्वजन्मको सम्पूर्ण पाप नष्ट हुनेछन, साथै राजाले पुत्रप्राप्ति पनि गर्नेछन। लोमश ऋषिका यस्ता दिव्य उपदेश सुनेर मन्त्री सहित सारा प्रजा नगरतर्फ फर्किए र सबैले श्रावण शुक्ल पुत्रदा एकादशीको व्रत लिए र जागरण गरे। यस पछि द्वादशीका दिन यस व्रत र जागरणको पुण्यको फल राजालाई अर्पण गरिदिए। त्यस पुण्यको प्रभावले रानीले गर्भ धारण गरिन् र प्रसवकाल समाप्त भएपछि उनले एउटा असाध्यै तेजस्वी पुत्र जन्माइन्त्प। त्यसैले हे राजन! यस श्रावण शुक्ल एकादशीको नाम पुत्रदा एकादशी राखिएको हो। अत: सन्तानसुखको इच्छा हुने भक्तजनले यस व्रतलाई लिनुपर्छ। यसको माहात्म्यलाई सुन्नाले मात्र मनुष्य सबै पापबाट मुक्त हुनपुग्छ र यस लोकमा सन्तान-सुख भोगेर परलोकमा स्वर्ग प्राप्त गर्छ।

अजा एकादशीको व्रतकथा[सम्पादन गर्ने]

कुंतीपुत्र युधिष्ठिरले भगवान् श्री कृष्णसित जिज्ञासा राखे- हे भगवन ! भाद्रपद कृष्णपक्षको एकादशीको नाम के हो? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरेर बताउनुहोस। भगवान मधुसूदनले आज्ञा गर्नुभयो- यस एकादशीको नाम अजा हो। यसले सबै किसिमको समस्त पापराशिलाई नाश गर्ने सामर्थ्य वहन गर्दछ। जो मनुष्यले यस दिन भगवान ऋषिकेशको पूजा गर्दछ उसलाई वैकुंठको प्राप्ति अवश्यमेव हुन्छ। अब तपाई यसको कथा सुन्नुहोस। प्राचीनकालमा हरिश्चन्द्र नामक एकजना चक्रवर्ती राजा राज्य गर्दथे। उनले कुनै कर्मका वशीभूत भएर आफ्नो संपूर्ण राज्य एवं धन त्याग्नु पर्‍यो, साथै आफ्नी पत्नी, आफ्नो पुत्र तथा स्वयं आफूलाई समेत बेच्नु पर्‍यो। ती राजा हरिश्चन्न्द्रले चांडालको दास भएर सत्यवादी भई मृतकहरूका वस्त्रादि ग्रहण गरी जीवन धान्नु पर्‍यो। तर जस्तै अप्ठ्यारो परिस्थिति आई लागे पनि उनी सत्यबाट विचलित भएनन। कति पटक राजा चिंताको समुद्रमा डुबेर मनमा तर्कना गर्दथे- म कहाँ जाऊँ, के गरौ, जसबाट मेरो उद्धार होस। यसरी राजाका धेरै वर्ष बिते। एक दिन राजा यस्तै चिंतामा मग्न थिए कि गौतम ऋषि घुम्दाघुम्दै राजाका सामु आई पुगे। राजाले तिनलाई देखेर प्रणाम गरे र आफ्नो संपूर्ण दु:खपूर्ण कथाव्यथा सुनाए। राजाका दुखप्रद वेदना सुनेर गौतम ऋषिलाई दया पलायो अनि उनी राजालाई भन्न थाले- हे राजन ! तिम्रो भाग्यले आजबाट सात दिनपछि भाद्रपद कृष्णपक्षको अजा नामको एकादशी आउने छ, तिमी विधिपूर्वक त्यस दिन व्रत गर। गौतम ऋषिले राजालाई अझ बताए- यस व्रतको पुण्य प्रभावबाट तिम्रा समस्त पाप नष्ट हुनेछन। यसरी राजालाई आज्ञा गरी गौतम ऋषि त्यसै समय अन्तर्ध्यान भए। राजाले ऋषिको भनाइबमोजिम एकादशी आएपछि विधिपूर्वक व्रत र जागरण गरे। त्यस व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए। स्वर्गमा बाजा बज्न थाले र पुष्पको वर्षा हुन थाल्यो। उनले आफ्ना मृतक पुत्रलाई जीवित र आफ्नी स्त्रीलाई वस्त्र तथा आभूषणद्वारा सुसज्जित देखे। व्रतको प्रभावले राजालाई पुन: राज्य प्राप्ति भयो। अंत्यमा ती आफ्नो परिवार सहित स्वर्ग गए। हे राजन ! यो संपूर्ण चमत्कार अजा एकादशीको प्रभावबाट नै भएको हो। अत: जो मनुष्यले यत्नपूर्वक तथा विधिपूर्वक यस व्रतलाई पालना गर्दै रात्रिको समयमा जागरण गर्दछ, उसका समस्त पाप नष्ट भएर अन्त्यमा ऊ स्वर्गलोक पुग्दछ। यस एकादशीको कथाको श्रवणमात्रले पनि अश्वमेध यज्ञको फल प्राप्त हुन्छ।

हरिपरिवर्तिनी एकादशी व्रतको व्रतकथा[सम्पादन गर्ने]

यस एकादशीलाई जयंती एकादशी र वामन एकादशी पनि भनिन्छ। यसको निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुन्छ। पापीहरूको पाप नाश गर्न यो भन्दा ठूलो कुनै उपाय छैन। जो मनुष्य यस एकादशीका दिन मेरो (वामन रूपको) पूजा गर्दछ, त्यसबाट तीनै लोकमा पूज्य हुन पुग्छ। अत: मोक्षको इच्छा राख्ने मनुष्यले यस व्रतलाई विधिपूर्वक लिनु पर्दछ। भगवान् श्री कृष्णसित युधिष्ठिर पुनः सोध्न थाले- हे भगवन ! भाद्रपद शुक्लपक्षको एकादशीको नाम के हो? यसको विधि तथा माहात्म्य कृपा गरी बताउनुहोस्। अनि भगवान श्रीकृष्णले भन्नुभयो- पुण्य, स्वर्ग र मोक्ष प्रदान गर्ने तथा संपूर्ण पाप नाश गर्ने, उत्तम परिवर्तिनी एकादशीको माहात्म्य म तिमीसित भन्दछु तिमी ध्यानपूर्वक सुन। जसले कमलनयन भगवानलाई कमलको फूलले पूजन गर्दछ, ऊ अवश्यमेव भगवानका समीपमा पुग्दछ। जसले भाद्रपद शुक्लपक्षको एकादशीको व्रत र पूजन गर्छ, उसले ब्रह्मा, विष्णु सहित तीनै लोकको पूजन गरे सरह हुन्छ। अत: हरिवासर अर्थात एकादशीको व्रत अवश्य पनि गर्नु पर्दछ। यस दिन आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान निद्रित अवस्थामा नै कोल्टे फेर्नुहुन्छ, त्यसैले यस एकादशीलाई परिवर्तिनी एकादशी भनिएको हो। भगवानका यस्ता सुमधुर वाणी सुनेर युधिष्ठिरले पुनः सोधे हे भगवन ! मलाई अतिसंदेह हुदैछ कि तपाई कसरी सुत्नु हुन्छ र कसरी कोल्टे फेर्नु हुन्छ तथा कसरी राजा बलिलाई हजुरले बाँध्नुभयो र वामन रूपमा अवतरित भई के-के लीला गर्नुभयो? चातुर्मासको व्रतको के विधि छ तथा तपाई निद्रित अवस्थामा रहदा मनुष्यले के कति कर्तव्य पालना गर्नु पर्छ यी संपूर्ण कुरा हजुरले मलाई विस्तारपूर्वक आज्ञा गर्नु हवस्। युधिष्ठिर का यस्ता जिज्ञासा सुने पचि श्रीकृष्णले आज्ञा गर्नु भयो- हे राजन ! अब तपाई सबै पापलाई नष्ट गर्ने भएको कथाको श्रवण गर्नुहोस। त्रेतायुगमा बलि नामक एउटा दैत्य थियो। त्यो मेरो परम भक्त थियो। विविध प्रकारका वेद सूक्तहरूद्वारा मेरो पूजन गर्ने गर्थ्यो र नित्यप्रति ब्राह्मणहरूको पूजन तथा यज्ञको आयोजना गर्दथ्यो, तर इंद्र सित द्वेष भएका कारण उसले इंद्रलोक तथा संपूर्ण देवताहरू लाई जितेको थियो। त्यसैले सबै देवता एकत्र भएर सोच-विचार गरी भगवानसमक्ष पुगे। बृहस्पतिसहित इंद्रादिक देवता प्रभुका नजीकै गई नतमस्तक भएर वेदमन्त्रद्वारा भगवानको पूजन र स्तुति गर्न थाले। अत: मैंले वामन रूप धारण गरेर पाँचौ अवतार लिए र त्यस पछि अत्यन्त तेजस्वी रूपले राजा बलिलाई जिते। यस्त भगवानका मीठा बोली सुनेर राजा युधिष्ठिर फेरी सोद्धछन- हे जनार्दन! तपाईले वामन रूप धारण गरेर त्यस महाबली दैत्यलाई कसरी जित्नुभयो? श्रीकृष्ण बताउन थाल्नु भयो- मैंले वामन रूपधारी ब्रह्मचारीका रूपमा बलिसित तीन पाइला भूमिको याचना गर्दै भने- यो तीन पाइला जमीन मेरा लागि तीनै लोकसमान हुनेछ र हे राजन ! त्यति जमीन त तिमीले अवश्य नै दिनु पर्नेछ। राजा बलिले त्यस्ता कुरालाई तुच्छ याचना ठानेर तीन पाइला भूमिको दान गर्ने संकल्प गरेर मलाई जिम्मा लगायो र मैंले आफ्नो त्रिविक्रम रूपलाई बढाएर यहाँ सम्म कि भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कंठको स्थापना गरी सत्यलोकमा मुख, त्यस माथि आफ्नो मस्तक स्थापित गरी दिए। सूर्य, चंद्रमा आदि सबै ग्रहगण, योग, नक्षत्र, इंद्रादिक देवता र शेष आदि सबै नागगणले विविध प्रकारले वेद सूक्तद्वारा प्रार्थना गरे। अनि मैंले राजा बलिको हात समातेर भने- हे राजन ! एक पदद्वारा पृथ्वी, अर्कोद्वारा स्वर्गलोक पूर्ण भयो। अब तेस्रो पौ कहाँ राखु ? त्यस पछि बलिले आफ्नो शिर झुकायो र मैंले आफ्नो खुट्टा उसको मस्तकमा राखी दिए अनि मेरो त्यो भक्त पाताललोकमा गयो। तत्पश्चात उसको बिन्ती र नम्रता देखेर मैले भने हे बलि ! म सदैव तिम्रा नजीकै बस्नेछु। विरोचनका पुत्र बलिले अनुरोध गरे पछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा मेरो प्रतिमा स्थापित भयो। यस्तै अर्को प्रसँग छ- क्षीरसागरको, म शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन शयन अवस्थामा कोल्टे फेर्ने गर्दछु, त्यसैले तीनै लोकका स्वामी भगवान विष्णुको त्यस दिन पूजा गर्नु पर्छ। ताँबो, चाँदी, चामल र दहीको दान गर्नु उचित हुन्छ। रात्रिका समयमा अवश्यमेव जागरण गर्नुपर्छ। जसले विधिपूर्वक यस एकादशीको व्रत गर्दछ, त्यो सबै पापबाट मुक्त भई स्वर्गमा गएर चंद्रमा-समान प्रकाशित हुने अवसर पाउँछ र यशप्राप्ति हुन्छ। जसले पापनाशक यस कथालाई पढने वा सुनने कर्म गर्दछ, त्यसले एक हजार अश्वमेध यज्ञको फल प्राप्त गर्दछ।

इन्दिरा एकादशी व्रतको व्रतकथा एवं महात्म्य[सम्पादन गर्ने]

धर्मराज युधिष्ठिरले भगवान् श्री कृष्णसित सोध्नुभयो- हे भगवन ! आश्विन कृष्णपक्षको एकादशीको नाम के हो? यसको व्रतविधि तथा फल के छ? उक्त कुरा कृपा गरी बताउनुहोस। भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो यस एकादशीको नाम इंदिरा एकादशी हो। यो एकादशी पापलाई नष्ट गर्ने तथा पितृहरूलाई अ‍धोगतिबाट मुक्ति दिलाउने एकादशी हो। हे राजन ! ध्यानपूर्वक यसको कथा सुन। यसलाई सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ। प्राचीनकालमा सत्ययुगको समयमा महिष्मति नामको एउटा नगरीमा इंद्रसेन नामको एकजना प्रतापी राजा धर्मपूर्वक आफ्ना प्रजालाई पालन गर्दै शासन गर्दथे। ती राजा पुत्र, पौत्र र धन आदिबाट संपन्न र भगवान् विष्णुका परम भक्त थिए। एक दिन जब राजा सुखपूर्वक आफ्नो सभाकक्षमा बसेका बेला आकाशमार्गबाट महर्षि नारद उत्रिएर उनको सभामा आउनुभयो। राजाले नारदजीलाई देख्नासाथ उनलाई प्रणाम गर्दै उठेर हात जोडदै उभिए र विधिपूर्वक आसन र अर्घ्य प्रदान गरे। सुखपूर्वक बस्दै मुनि नारदले राजासित प्रश्न गरे- हे राजन ! तिम्रा राज्य प्रशासनका सातै अङ्ग कुशलपूर्वक त छन? तिम्रो बुद्धि धर्ममा र तिम्रो मन विष्णु भक्तिमा रत त छ? देवर्षि नारदका यस्ता कुरा सुनेर राजाले उत्तर दिए- हे महर्षि ! हजुरको कृपाले मेरो राज्यमा सबै ठिकठाक र कुशल छ तथा मकहाँ यज्ञ कर्मादि सुकृतिपूर्वक भइरहेका छन्। हजुरले मेरो राजसभामा पाउ कष्ट गरी हामीलाई धन्यधन्य तुल्याउनु भएको छ, हजुरको आगमनको मुख्य अभिप्राय बताउने कृपा गर्नुहुन अनुरोध छ। अनि ऋषिवर भन्न थाले- हे राजन ! तिमी आश्चर्यप्रद मेरा वचनलाई सुन। म एक पटक ब्रह्मलोकबाट यमलोक गएँ, त्यहाँ श्रद्धापूर्वक यमराजद्वारा पूजित भएर मैंले धर्मशील र सत्यवान धर्मराजको प्रशंसा गरेँ। यमराजको त्यसै सभामा महान ज्ञानी र धर्मात्मा तिम्रा पितालाई एकादशीको व्रत भंग भएका कारणले पाएँ। उनले पठाएको सन्देश सुन। तिम्रा पिताजीले भनेका छन कि पूर्व जन्ममा कुनै विघ्न भएका कारणले म यमराजका छेउमा बस्दैछु, त्यसैले हे पुत्र ! यदि तिमी आश्वीन कृष्णपक्षको इंदिरा एकादशीको व्रत मेरा निम्ति गर्नसक्छौ भने मलाई स्वर्गप्राप्ति हुनेछ। नारदका मुखबाट पिताजीको सन्देश सुनेर राजा भन्न थाले हे महर्षि ! हजुरले यस व्रतको विधि मलाई बताउनुहोस्। नारदजीले व्रतविधि आज्ञा गरे- आश्विन महिनाको कृष्ण पक्षको दशमीका दिन प्रात:कालमा श्रद्धापूर्वक स्नानादिबाट निवृत्त भएर पुन: दिउँसो नदी आदिमा गएर स्नान गर्नु पर्छ। अनि श्रद्धापूर्वक पितृश्राद्ध गर्न पर्छ र एक छाक मात्र भोजन गर्नु पर्छ। प्रात:काल भएपछि एकादशीका दिन दतिउन आदि गरेर स्नान गर्नु पर्छ, पुनः व्रतका नियमलाई भक्तिपूर्वक ग्रहण गर्दै प्रतिज्ञा गनु पर्छ कि ‘म आज संपूर्ण भोगहरूलाई त्याग गरी निराहार एकादशीको व्रत गर्नेछु।' हे अच्युत ! हे पुंडरीकाक्ष ! म हजुरको शरणमा छु, हजुरले मेरो रक्षा गर्नुहोस, यसरी नियमपूर्वक शालिग्रामको प्रतिमा अगाडि विधिपूर्वक श्राद्ध गरेर योग्य ब्राह्मणलाई फलाहार भोजन गराउनु पर्छ र दक्षिणा दिनु पर्दछ। श्राद्धमा बाकी रहेका पदार्थलाई सुघेर गाईलाई दिनु पर्दछ र धूप, दीप, गंध, ‍पुष्प, नैवेद्य आदि संपूर्ण सामग्रीले ऋषिकेश भगवानको पूजन गर्नु पर्छ। रात्रीकालमा भगवानको प्रतिमाको छेवैमा बसेर जागरण गर्नु पर्छ। त्यसपछि द्वादशीका दिन प्रात:कालमा भगवानको पूजाआजा गरेर ब्राह्मणलाई भोजनदी गरा उनु पर्छ। भाइ-बंधु, स्त्री र पुत्र सहित आफुउले पनि मौन रहेर भोजन गर्नु पर्छ। नारदजी बताउदै हुनुहुन्छ- हे राजन ! यसप्रकारले यदि तिमीले आलस्य रहित भई यस एकादशीको व्रत गर्यौ भने तिम्रा पिता अवश्य नै स्वर्गलोक पुग्ने छन्। यत्तिका कुरा भने पछि नारदजी अन्तर्ध्यान हुनुभयो। नारदका कथनानुसार राजाले आफ्ना दाजुभाइ, इष्टमित्र, बन्धुबान्धव, करकुटुम्ब र दासजन सहित विधिपूर्वक व्रत लिए व्रत समापन भएपछि आकाशबाट पुष्पवर्षा भयो र त्यस राजाका पिता गरुडमा बसेर पृथ्वीतलमा रहेका सन्ततिलाई अशिर्वचन प्रदान गर्दै विष्णुलोकतर्फ गए। राजा इंद्रसेन पनि एकादशीको व्रतको प्रभावले निष्कण्टक राज्य सुखभोग गरेर अन्त्यमा आफ्ना पुत्रलाई सिंहासनमा राखेर स्वर्गलोकतर्फ प्रस्थान गरे। हे युधिष्ठिर! आजको यस इंदिरा एकादशीको कथा एवं माहात्म्य यत्ति नै हो, जुन मैले तिमीलाई सुनाए।

पापाङ्कुशा एकादशी व्रतको महात्म्य तथा कथा[सम्पादन गर्ने]

धर्मराज युधिष्ठिरले भगवान् मुकुन्दसित पुनः जिज्ञासा राख्नुभयो- हे भगवन ! आश्विन शुक्लपक्षको एकादशीको नाम के हो? अब हजुरले कृपा गरी यसको विधि तथा फल के हुन्छ बताउने कष्ट गर्नुहोस। भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- हे युधिष्ठिर ! पापसमूहको नाश गर्ने सामर्थ्य भएको यस एकादशीको नाम पापांकुशा एकादशी हो। हे राजन ! यस दिन मनुष्यले विधिपूर्वक भगवान पद्‍मनाभको पूजा गर्नुपर्छ। यो एकादशीले मनुष्यलाई मनोवांछित फल दिएर स्वर्ग प्राप्त गराउदछ। मनुष्यले लामो समयसम्म कठोर तपस्याबाट जुन फल प्राप्त गर्दछ, त्यो फल भगवान गरुडध्वजलाई नमस्कार गर्नाले प्राप्त हुन्छ। जो मनुष्यले अज्ञानवश अनेक पाप गर्दछ परंतु भगवान् हरिलाई नमस्कार गर्दछ, त्यसले नरकमा जानु पर्दैन। विष्णुको नामको संकीर्तनबाट संसारका सबै तीर्थका पुण्यफल प्राप्त हुन्छ। जो मनुष्यले शार्ङ्‍ग धनुषधारी भगवान विष्णुको शरण लिएको छ, त्यसले कहिल्यै पनि यमयातना भोग्नु पर्दैन। जो मनुष्य वैष्णव भएर शिवको र शैव भएर विष्णुको निंदा गर्दछ, ती अवश्य नरकवासी हुन पुग्छन। हज्जारौ वाजपेय र अश्वमेध यज्ञबाट जुन फल प्राप्त हुन्छ, त्यो एकादशीको व्रतको सोह्र भागको एक भाग पनि होइन। संसारमा एकादशीको समता हुने कुनै पुण्य छैन। यस एकादशीबराबरको पवित्र वस्तु तीनै लोकमा केही पनि छैन। यस एकादशी-बराबरको कुनै व्रत छैन। जबसम्म मनुष्यले पद्‍मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ। हे राजेन्द्र! यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुंदर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ। एकादशीको व्रतको समानता गंगा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन। हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ। हे युधिष्ठिर ! यस व्रतलाई विधिपूर्वक लिने व्यक्तिले दस पुस्ता मातृपक्ष, दस पुस्ता पितृपक्ष, दस पुस्ता स्त्रीपक्ष तथा दस पुस्ता मित्रपक्षको उद्धार गर्दछ। ऊ दिव्य देह धारण गरी चतुर्भुज रूप भई, पीतांबर पहिरिएर र हातमा माला लिएर गरुडमा बसेर विष्णुलोक जान्छ। हे नृपोत्तम ! बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्‍गति प्राप्त गर्दछ। आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ। सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन। जो मनुष्यले कुनै प्रकारको पुण्य कर्म नगरी जीवनका दिन व्यतीत गर्दछ, त्यो कामीको खलाँतीले जसरी सास फेर्छ र निर्जीव समान हुन पुग्छ। निर्धन मनुष्यले पनि आफ्नो शक्ति-अनुसार दान गर्नु पर्दछ तथा धनयुक्तले त सरोवर, बगैंचा, घर आदि बनाएर दान गर्नु पर्दछ। यस्तो कर्म गर्ने मनुष्यले यमलोकको द्वार कहिल्यै पनि देख्नु पर्दैन तथा संसारमा दीर्घायु भएर धनाढ्‍य, कुलीन र रोगरहित हुन पुग्छ।

रमा एकदशीको व्रत कथा[सम्पादन गर्ने]

धर्मराज युधिष्ठिरले भगवान् श्री कृष्णसित जिज्ञासा गर्दै सोधे हे भगवन ! कार्तिक कृष्ण एकादशीको नाम के हो ? यसको विधि के छ ? यो व्रत लिनाले के फल पाइन्छ। हजुरले विस्तारपूर्वक बताउनुहोस। भगवान श्रीकृष्णले भन्नु भयो - कार्तिक कृष्ण पक्षको एकादशीको नाम रमा एकादशी हो। यसले ठूला ठूला पापलाई नाश गर्ने सामर्थ्य राख्दछ । यसको माहात्म्य म तिमीलाई भन्दछु, ध्यानपूर्वक सुन। हे राजन ! प्राचीनकालमा मुचुकुंद नाम गरेको एउटा राजा थियो। उसको इंद्रसित मित्रता थियो र साथै यम, कुबेर, वरुण र विभीषण पनि उसका मित्र थिए। राजा मुचुकुंद ठूलो धर्मात्मा, विष्णुभक्त र न्यायप्रिय शासक थियो। उसकी एउटी छोरी थिई, छोरीको नाम चंद्रभागा थियो। उक्त कन्याको विवाह चंद्रसेनका पुत्र शोभनसित भएको थियो। एक पटक शोभन ससुराली आएको थियो। ऊ ससुराली आएकै समयमा पुण्यप्रदा एकादशी रमा एकादशी पर्ने भयो। जब व्रतको दिन नजीकिन थाल्यो, चंद्रभागाका मनमा अत्यन्त चिन्ता उत्पन्न भयो कि मेरा पति अत्यन्त दुर्बल छन र मेरे पिताको आज्ञा अति कठोर छ। दशमीका दिन राजाले ढोलक बजाएर संपूर्ण राज्यमा के घोषणा गरे भने एकादशीका दिन कसैले पनि भोजन गर्नु हुदैन। राजाको घोषणा सुन्नासाथ शोभनलाई अत्यन्त चिंता भयो र आफ्नी पत्नीलाई भन्नथाल्ल्यो- हे प्रिये ! अब म के गरौ वा मैले के गर्नु उचित हुन्छ, म कुनै बेला पनि भोक सहन सक्दिन। प्रिये ! यस्तो उपाय बताऊ जसबाट मेरो प्राण बचोस, अन्यथा अवश्य मेरो प्राण जानेछ। चंद्रभागा आफ्ना पतिलाई सम्झाउँदै भन्नथाली- हे स्वामी ! मेरा पिताको राज्यमा एकादशीका दिन कसैले पनि भोजन गर्दैन। यहासम्म कि हाती, घोडा, ऊँट, बिरालो, गाई आदि पनि तृण, अन्न, जल आदि ग्रहण गर्दैनन, फेरि मनुष्यको त के कुरा गर्नु। यदि हजुर भोजन गर्न इच्छा राख्नु हुन्छ भने कुनै अर्कै स्थानमा जानुहोस, किनभने यदि हजुर यहीं रहन मन पराउनु हुन्छ भने हजुरले अवश्यमेव व्रत लिनै पर्छ। यस्ता कुरा सुनेर शोभन भन्नथाल्यो- हे प्रिये ! म अवश्य व्रत गर्छु, जे भाग्यमा हुन्छ, त्यही देखा जाएगा। यस्तो विचार गरेर शोभनले व्रत बस्ने निर्णय गर्‍यो र व्रतका दिन ऊ भोक र प्यासबाट अत्यन्त पीडित हुन लाग्यो। जब सूर्य नारायण अस्त हुनुभयो र रात्रिमा जागरणको समय आयो जुन वैष्णवलाई अत्यन्त हर्ष प्रदान गर्न सक्थ्यो, परंतु शोभनका लागि त्यो समय अत्यन्त दु:खदायी हुन पुग्यो। प्रात:काल हुन नपाउदै शोभनका प्राणपखेरु उडे। अनि राजाले सुगंधित काष्ठद्वारा त्यसको दाह संस्कार संपन्न गरे। परंतु आफ्ना पिताको आज्ञा लिएर चंद्रभागा आफू सती गइन र शोभनको अंत्येष्टि क्रियापछि पनि माइतमा नै बस्नथाली। रमा एकादशीको प्रभावले शोभनलाई मंदराचल पर्वतमा धन-धान्यले युक्त तथा शत्रुरहित एउटा सुंदर देवपुर प्राप्त भयो। ऊ अत्यन्त सुंदर रत्न र वैदुर्यमणि जटित स्वर्णका खंभामा निर्मित अनेक किसिमको स्फटिक मणिद्वारा सुशोभित भवनमा बहुमूल्य वस्त्राभूषण तथा छत्र र चम्मरबाट विभूषित, गंधर्व र अप्सराबाट युक्त सिंहासनमा आरूढ यसरी शोभायमान हुन्थ्यो मानौ अर्का इंद्र विराजमान छन। केही समय पछि मुचुकुंदकै नगरमा बस्ने एकजना सोम शर्मा नामक ब्राह्मण तीर्थयात्रा गर्दै घुम्दाघुम्दै मन्दराचल पर्वतमा पुगे र उनले शोभनलाई चिनेर यो त राजाको ज्वाई शोभन हो, भन्दै उसकै छेवैमा गए। शोभनले पनि ससुराली गाउका ब्राह्मणलाई चिनेर आफ्नो आसनबाट उठेर ब्राह्मणका छेउमा आई प्रणामादि गरी कुशल प्रश्न गरे। ब्राह्मणले भने राजा मुचुकुंद र हजुरकी पत्नी कुशलपूर्वक छन। नगरमा पनि सबैतिर आनन्दैआनन्द छ, परंतु हे राजन ! हामीलाई आश्चर्य भइरहेको छ। हजुर आफ्नो वृत्तांतको वर्णन गर्नुहोस कि यस्तो सुंदर नगर जुन कहिल्यै देखेको थिइएन, न त सुन्नमा नै आएको थियो, हजुरले कसरी प्राप्त गर्नुभयो? मुनिका जिज्ञासा शान्त पार्न शोभन सुमधुर अवाजमा भन्नथाल्यो - कार्तिक कृष्णपक्षको रमा एकादशीको व्रत बसेकाले मैले यो नगर प्राप्त गरेको हो, परंतु यो अस्थिर छ। हजुरले यो नगर स्थिर हुने उपाय गर्नुहोस। ब्राह्मणले पुनः जिज्ञासा राखे - हे राजन ! यो किन स्थिर छैन र कसरी यो स्थिर हुन पुग्छ?बताउनुहोस, त्यस पछि म अवश्यमेव यसलाई स्थिर बनाउने उपाय गर्नेछु। मेरो यस कुरालाई हजुरले मिथ्या नठान्नु होला। शोभनले भने मैंले यस व्रतलाई श्रद्धारहित भएर लिएको थिए, अत: यो वैभव सबै अस्थिर छ। यदि हजुरले मुचुकुंदकी कन्या चंद्रभागालाई यी सबै वृत्तांत सुनाउनु भए यो स्थिर हुनसक्छ। उनले उक्त नगर स्थिर नरहेको कुरा पनि गरे। जसरी उक्त सुन्दर नगर स्थिर हुन सक्छ त्यस्तो उपाय गर्नु पर्छ। यस्ता वचन सुनेर ती श्रेष्ठ ब्राह्मणले आफ्नो नगर फर्किएर चंद्रभागासित सबै वृत्तांत भनी सुनाए। ब्राह्मणका वचन सुनेर चंद्रभागा ठूलो प्रसन्नताका साथ ब्राह्मणसित भन्न थाली- हे ब्राह्मण ! यी सबै कुरा हजुरले प्रत्यक्ष देख्नुभएको वा सपनाका कुरा गर्दै हुनुहुन्छ। ब्राह्मणले भने- हे पुत्री ! मैंले महावनमा तिम्रा पतिलाई प्रत्यक्ष देखेको हो। साथै कसैद्वारा विजय हुन नसक्ने देवताहरूको स्वर्गसमान उनको सहर पनि देखेको हो। बाहुनका त्यस्ता अनौठा कुरा सुनेर चंद्रभागा फेरि भन्न थाली- हे विप्र ! हजुरले मलाई त्यहा लिई जानोस जहा मैले मेरा पतिदेवको दर्शन प्राप्त गर्छु। मैले आफूले गरेका पुण्यद्वारा त्यस नगरलाई स्थिर बनाई दिन्छु। हजुरले यस्तो कर्म गर्नोस जसबाट हामी दुईको मिलन होस, वियोगीलाई भेट गराउनु पनि ठूलो र महान पु्ण्य हो। सोम शर्मा यस्ता कुरा सुनेर चंद्रभागालाई लिएर मंदराचल पर्वतका समीपमा वामदेव ऋषिको आश्रममा गए। ऋषि वामदेवले संपूर्ण विवरण सुनेर वेदमन्त्रको उच्चारणद्वारा चंद्रभागाको अभिषेक गरे। अनि ऋषिको मन्त्रको प्रभाव र एकादशीको व्रतले गर्दा चंद्रभागाको शरीर दिव्य भयो र उनिले दिव्य गति प्राप्त गर्दी भइन। त्यसपछि असाध्यै प्रसन्नताका साथ चंद्रभागा आफ्ना पतिसमक्ष पुगिन। उता आफ्नी प्रिय पत्नी आउदै गरेको देखेर शोभन अति प्रसन्न भयो। उनलाई बोलाएर आफ्नो बायातर्फ बसाल्यो। चंद्रभागाले पतिलाई भनिन - हे प्राणनाथ ! हजुरले मेरा पुण्यलाई ग्रहण गर्नुहोस। माइतमा जब म आठ वर्षकी थिए तबदेखि विधिपूर्वक एकादशीको व्रतलाई श्रद्धापूर्वक लिदै आएकी छु। यस पुण्यको प्रतापबाट हजुरको यो नगर स्थिर हुनेछ तथा समस्त कर्मबाट युक्त भई प्रलयको अन्त्यसम्म रहनेछ। यसरी चंद्रभागा दिव्य आभूषण र वस्त्रबाट सुसज्जित भएर आफ्ना पतिका साथमा आनंदपूर्वक बस्न थाली। हे राजन ! यो मैले रमा एकादशीको माहात्म्य बताए, जो मनुष्यले यस व्रतलाई श्रद्धापूर्वक लिन्छन, तिनको ब्रह्महत्यादि समस्त पाप नष्ट हुनपुग्छ। जो मनुष्यले यस माहात्म्यलाई पढने र सुन्ने मात्र गर्दछन, ऊ समस्त पापबाट छूटकारा पाई विष्णुलोकमा पुग्दछ।

हरि प्रवोधिनी एकदशीको महात्म्य[सम्पादन गर्ने]

कात्तिक शुक्लपक्षको प्रबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ। यसलाई ठूली एकादशीको रूपमा पनि मान्ने गरिन्छ। ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन्। तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ। यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ। एक पटक भगवान नारायणसित लक्ष्मीले भनीन- 'हे नाथ! अब हजुर दिन-रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ। अत: हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस्। यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु।' लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो- 'देवी'! तिमीले ठीक भन्यौ। म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ। तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुदैँन। त्यसैले, तिम्रो कथनानुसार आजदेखि म प्रतिवर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु। त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ। मेरो यो निद्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ। यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ। यस कालमा मेरा जातिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन तिनको घरमा तिमीसमेत म निवास गर्नेछु। भगवान विष्णुलाई चार महिनाको योग-निद्राबाट जगाउनका लागि घण्टा ,शङ्ख,मृदंग आदि वाद्यका मांगलिक ध्वनिका बीच यी श्लोक पढेर जगाउछन- उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते। त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ॥ उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत-वसुन्धरे। हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ॥ श्रीहरिलाई जगाए पछि उनको षोडशोपचारविधिले पूजा गर्नुपर्छ। अनेक प्रकारका फलका साथै नैवेद्य (भोग) निवेदित गर्नुपर्छ। संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ। यस एकादशीमा रातभरि जागेर हरि नाम-संकीर्तन गर्नाले भगवान विष्णु अत्यन्त प्रसन्न हुने गर्नुहुन्छ। विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ। अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिप्रवोधिनी (देवोत्थान) एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनः प्रारम्भ हुन्छन्।पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी-माहात्म्यका अनुसार श्रीहरि-प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ। यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ। यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जप-तप, स्नान-दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन। देवोत्थान एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो। यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन छ। यसै सन्दर्भमा कथा के छ भने जलंधर नामक असुरकी पत्नी वृंदा पतिव्रता स्त्री थिई, उसलाई आशीर्वाद प्राप्त थियो कि जबसम्म उसका पतिव्रता व्रत भंग हुदैन तबसम्म उसको पति जीवित रहने छ। जलंधर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान विष्णुले जलंधरको वेश धारण गरी वृंदाका कक्षमा प्रवेश गरे तर उनलाई वृंदाले चिन्न सकिनन र उनको पतिव्रत भंग भयो। वृंदाको पतिव्रत भंग भएपछि जलंधर मारियो। विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाईन, तिनले विष्णुलाई श्राप दिईन। वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए। विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहां प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गंडकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ। तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ। त्यसदिनदेखि के मान्यता छ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान शालिग्राम र तुलसीको गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ। इति शुभम्।

स्रोत[सम्पादन गर्ने]

  1. पद्मपुराण उत्तरखंड ५९.१३
  2. पद्मपुराण उत्तरखंड ५९.१५,१६
  3. ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल तथा निर्देशक, लोटस ज्योतिष तथा वास्तु परामर्श केन्द्र, इटहरी, सुनसरी, नेपाल, फोन +९७७ ९८०४३६३५३८

ढाँचा:हिन्दू पर्व-एकादशी