गणगौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

होलीको समापनसँगै चैत्र शुक्ल तृतीया का दिन राजस्थानी तथा गुजराती समुदाय मा प्रचलित यो गणगौर (गौरा ) नेपाल मा पनि मारवाडी समुदाय माझ प्रचलित रहेको छ। बसन्त ऋतु, खेतीपाती र वैवाहिक मान्यताप्रति यो विश्वास राखिने यो पर्व हो ।

गणगौर नृत्य

घरका पुरुषहरु रंग खेल्नमा व्यस्त रहेकै बेला होलीका दहनको खरानीमा गोबर मिसाएर शिव (गण ) र पार्वती(गौर ) को १६ पिण्ड बनाएर महिलाहरू धार्मिक अनुष्ठानको तयारीमा जुट्छन् । होलीको भोलिपल्टदेखि लगातार १६ दिनसम्म शंकरपार्वती रुपी ती पिण्डको पुजा हुन्छ । अविवाहितले असल श्रीमान र विवाहितले श्रीमानको दीर्घायु, स्वास्थ्य र कल्याणकासाथै सुःखी विवाहित जीवनकालागि गणगौरलाई पुज्छन् । माता गौरीलाई स्वभाग्यको प्रतिक पनि मानिन्छ ।

माटोले पनि शिवपार्वतीको प्रतिमा बनाउने चलन छ । यो समुदायको पनि राजपुताना घरानामा यस अवसरकैलागि बनाइएको काठको मूर्तिलाई हरेक वर्ष कुशल कलाकारद्धारा रंग गराइन्छ । यो वास्तवमा उमंग, उत्साह र मस्तीको पर्व हो । युवतीहरु रंगीचंगी पोसाकमा बगैंचा पुगेर दुवो ल्याउँछन् । गीत गाउँदै दुबोको सहयोगले दुधको छिटा हान्दै गणगौरलाई पुज्छन् । दिनमा एक छाक खाएर उपवास बस्छन् ।

कडा धार्मिक अनुशासनको यो पर्वमा पुजाकोलागि छुट्टयाइएको कोठामा सूर्यको प्रकाश पर्नुहुन्न । श्रीमानलाई समेत अन्तिम पुजाका दिन मात्र प्रवेसको अनुमति हुन्छ । होलीको अन्तिम दिन बुधबार स्नेह सम्मेलनको आयोजना गरेर होलीलाई विदा गर्ने मारवाडी समुदायका पुरुषले पनि यो पर्वलाई धेरै महत्त्व दिन्छन् । 'होलीको अन्तिम दिन हामी ठूलालाई ढोकेर आशीष लिन्छौं, सानालाई अंकमाल गर्छौं,' युवा व्यवसायी बजरंग अग्रवाल भन्छन्,' तर, यो गनगौरले भने पुरुषको सबभन्दा ठूलो शक्ति महिला भएको देखाउँछ, उनीहरूको उपासनाले परिवारको संरक्षण गरिराख्छ ।'

अन्तिम तीन दिन यो पर्व चरमोत्कर्षमा हुन्छ । शंकरपार्वतीलाई नयाँ पोसाक लगाइन्छ । शिरमा विभिन्न पुजन सामग्री भएका कलश कासाथ जलासय किनार वा इनारमा प्रतिमाको विर्सजन गरेपछि पर्वको समापन हुन्छ । यो अवसरमा मैदा, घिउ र चीनीले बनाइने फूल झैं आकारको मिठाई घेवर बाँडने चलन छ । इन्द्रधनुषी पहिरनमा सजिएका महिलाहरूद्धारा लोक नृत्य र गीतको क्रम चल्छ ।

नवविवाहिताले विहेको पहिलो वर्ष अनिवार्य रूपमा यो पर्व मनाउँछन्, यो अवसरमा आमाबुवाले छोरीलाई गच्छेअनुसारको लता, कपडामिठाई दिन्छन् । प्रतिमाको विसर्जनको अघिल्लो दिन हातखुट्टा भरि मेहन्दी लगाएर नाचगान हुन्छ,' उनी भन्छिन् । छोरीचेलीले चन्द्र, सूर्य, फुल र ज्यामितिय चित्र आकारको मेहन्दीले सिंगार्छन् । यो पर्वपछि यो वर्षकालागि मारवाडी महिलाको सम्पूर्ण त्यौहारको समापन हुन्छ ।

भगनवान शंकरपार्वतीलाई आदर्श दम्पति मानिने पौराणिक कथामा यो आधारित छ । दस दिनजति घरमा पुजा गरेपछि सबैको पहुँच हुने सार्वजनिक स्थलको छनौट गरेर यो पर्व मनाइन्छ । तराईतिर यो पर्वका दिन छोरीचेली हातमा दुबो र फूलसहितको सुन्दर लोटा लिएर गीत गाउँदै बगैंचा पुग्छन् । विभिन्न परम्परागत खेल खेल्छन् । यो अवसरमा महिला सृजनशीलताको प्रदर्शनकोलागि मेहन्दीचित्रकला जस्ता प्रतियोगिताको समेत आयोजना हुन्छ । छिमेकी भारतको राजस्थानमा पनि मुख्य रूपले र गुजरात एवं मध्यप्रदेशको केही भागमा पनि यो पर्व मनाइन्छ । कतिपय ठाउँमा शिवपार्वतीको मूर्ति र शिरमा कलश बोकेका महिलाहरूको झाँकी समेत निकालिन्छ ।