कात्तिक नाच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कात्तिक नाच

कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटन(ललितपुर)को प्रसिद्ध नाच हो। हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ।

परिचय[सम्पादन गर्ने]

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिन्छ।विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ। उक्त डवली लाई कात्तिक डवली पनि भनिन्छ। वि.सं. १६९७मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए।सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो। त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो। उनी पछि उनकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३०मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिन सम्म सो नाच चलाएका थिए। त्यसपछि उनका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएका थिए।

चलन[सम्पादन गर्ने]

यो क्रम वि.सं. २००६ सालसम्म मात्र रहृयो। २००७ सालको जनक्रान्तिका कारण सञ्चालन हुन सकेन। त्यसपछि २००८ सालदेखि २०३७ सालसम्म कात्तिक महिनाको दुई दिन मात्र सो नाच सञ्चालन हुन सक्यो। त्यतिबेला श्री बराह नाच र श्री नरसिंह नाच मात्र सञ्चालन गरिएको थियो। वि.सं. २०३८मा कात्तिक नाच प्रबन्ध समितिको गठन भएपछि भने सो समितिले प्रत्येक वर्ष कात्तिक महिनामा आठ दिन सो नाच सञ्चालन गर्दै आइरहेको छ।

कात्तिक महिनाभरि नाच सञ्चालन गरिने कारणले सो नाचको नाम नै कात्तिक नाच रहन गएको हो। नेपालको साँस्कृतिक इतिहासमा सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा यस नाचलाई लिइन्छ। आठ दिनसम्म सञ्चालन हुने सो नाचमा तीन दिन नाटक देखाइन्छ। सो अवसरमा देखाइने महामुर्ख नाटकले समाजमा जनचेतना जगाउने काम समेत गर्छ। बाँकी पाँच दिन युद्ध कला, बराह खेल तथा देवीको नाच देखाइन्छ। यस अवसरमा देखाइने देवी नाच, श्री नरसिंह तथा बराह खेलले छुट्टै धार्मिक आस्था राखेको छ। यसमा भगवानको स्तुती सहित नाचगान पनि हुने गरेको कारण यसले धार्मिक महत्व दर्शाएको छ।

महत्व[सम्पादन गर्ने]

सांस्कृतिको दृष्टिकोणबाट पनि यो नाच महत्वपूर्ण मानिन्छ। यो नाचले ऐतिहासिक मल्ल कालको संस्कृति झल्काएको छ। यो नाच मल्लकालमा सुरु गरिएकोले यसले त्यस बेलाको समयलाई प्रतिनिधित्व गरेको छ। ३६९(वि.सं.२०६७ मा) वर्ष पुरानो इतिहासलाई यस नाच मार्फत् स्मरण गर्न खोजिएको छ। यस नाचले त्यतिबेलाका राजाहरू सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल तथा योगनरेन्द्र मल्ल गरी तीन मल्लराजाको शासनकाललाई पनि सम्झना गराएको छ। यसले इतिहासमा के भएको थियो त भन्ने कुरालाई प्रस्तुत गरेको छ। त्यो समयका मानिसहरूको रहनसहन, व्यवहार तथा सांस्कृतिक गतिविधिलाई सो आठ दिने नाचले प्रस्तुत गरेको छ।

नाट्य परम्परा[सम्पादन गर्ने]

कार्तिक नाचको परम्परा स्तरीय साहित्यिक तथा सांस्कृतिक परम्परा हो। उक्त नाच परम्परामा प्रयुक्त शैलीहरू विश्वभरका विविध क्षेत्रका नाट्य परम्परासँग दाँज्न सकिन्छ।

बाथः नाच[सम्पादन गर्ने]

बाथः नाचको कथामा तीनजना देवताहरू सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु तथा संहारकर्ता महादेव धरतीमा मनुष्यको भेषमा अउने कथा समेटिएको छ। यस नाचमध्ये कलाकरहरूले सबैभन्दा बढी सिर्जनशीलता देखाउन सक्ने यसै बाथः नाचमा हो। बाथः नाचमा प्रयोग हुने मुकुण्डो खास महत्वपूर्ण छ। यो मुकुण्डो मनुष्यको छालाबाट बनेको मानिन्छ।

निष्कर्ष[सम्पादन गर्ने]

यस अवसरमा तीन दिन देखाइने नाटकले समाजमा जनचेतना जगाउने कार्य गरिरहेको पाइन्छ। नाटकमा त्यस समयमा ललितपुर राज्यमा सबैभन्दा मुर्ख मानिसको रहेछ त भनेर खोजी गर्दा तीन जना मानिस भेटिएका र उनीहरूको जीवनमा घटेको घटनाले उनीहरूलाई महामुर्ख बनाएको कुरालाई प्रस्तुत गरिएको छ। जसको कारणले मानिसले जीवनमा कस्ता खालका कार्यहरू गर्दा त्यसको असर कस्तो पर्छ भन्ने कुरालाई नाटक मार्फत् प्रस्तुत गरी सन्देश दिई सचेत गराउन खोजिएको छ।