आशापुरे जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुस शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म काभ्रेको नासिकास्थानमा आशापुरे जात्रा लाग्छ। भक्तपुर जिल्लाको नखैल गाविस र नासिकास्थान गाविसमा अवस्थित आशापुरे महादेवको दर्शन गर्नाले मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ। नाश्चल खोला, काक्राबारी खोला र घ्याङखोलाको त्रिवेणी धारमा पर्छ, आशापुरे महादेव। हिन्दु धर्मशास्त्रमा त्रिवेणीघाटको छुट्टै महिमा भएकाले पनि महादेवको दर्शन गर्न आउनेको भीड देखिन्छ। पर्यटकीय वातावरणले समेत आशापुरे महादेवलाई सिंगारेको छ। फेदीमा छङ्छङ् बग्ने खोला र दाँयाबाँया नमस्कार गरेको भान हुने लमतन्न पहाडले मानिसहरूलाई लोभ्याइरहेको आभास हुन्छ। जात्रा भर्न काभ्रे जिल्लाका अलावा भक्तपुर, सिन्धुपाल्चोक, काठमाडौ र ललितपुरबाट समेत भक्तजनहरूको भीड लाग्ने गर्छ। उक्त जात्रा मल्ल कालबाट प्रारम्भ भएको अनुमान छ। हिमवत्खण्डमा उल्लेख भएअनुसार धेरै समय पहिले चण्डासुर नामक दैत्यको वध भएको खुसियालीमा स्वर्गका देवताहरूले अहिलेको आशापुरे महादेव भएको ठाउँमा आई शिवलिङ्ग स्थापना गरेका र सोही समयदेखि यहाँ मेला लाग्ने गरेको हो।