रवि प्रदोष व्रत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आइतबार र त्रयोदशी तिथिको संयोगबाट रवि प्रदोष योगको सृजना हुन्छ। यस दिन भगवान् शिवको प्रसन्नताका निमित्त व्रत सम्पादन गर्ने गरिन्छ। यस व्रतको प्रभावले लामो आयु, राम्रो स्वास्थ्य आदिको प्राप्ति हुन्छ भन्ने विश्वास छ। यस व्रतको कथा यस प्रकार छ[१] -

एउटा गाँउमा एक जना दीन-हीन ब्राह्मण बस्दथे। उनकी धर्मनिष्ठा पत्नी प्रदोष व्रत लिने गर्दथिन्। ती दम्पत्तिको एउटा पुत्र थियो। एक पल्ट त्यो पुत्र गंगा स्नान गर्न गयो। दुर्भाग्यवश बटोमा उसलाई चोरहरूले घेरे र डर र त्रास सिर्जना गर्दै सोधे-'तिम्रा पिताले गुप्त धन कहाँ लुकाएर राखेका छन्। बिचरा बालकले दीनतापूर्वक आफूहरू अत्यन्त निर्धन र दु:खी भएको कुरा बतायो। उसले पिताजीसँग गुप्तधन रहने प्रश्न नै नउठ्ने कुरा पनि भन्यो। चोरहरूले उसको अवस्था सुनेर दया राखी उसलाई छोडिदिए। ब्राह्मणबटु आफ्नो बाटो लाग्यो। हिंड्दाहिंड्दै ऊ थाकेर गल्यो र एउटा बरको वृक्षमुनि बस्यो, थाकेको हुनाले केही बेरमा निदायो। त्यतिखेरै त्यस नगरका सिपाहीहरू चोरलाई खोज्दै त्यहीं आइपुगे। तिनले ब्राह्मण बालकलाई चोर ठानेर बन्दी बनाए र राजासामु उपस्थित गरे। राजाले बालकका कुरा नबुझीकन उसलाई कारागारमा हाल्ने आदेश दिए। उता घरमा यी घटनाको अत्तोपत्तो थिएन। त्यस दिन रवि प्रदोषको दिन थियो, बालककी आमा प्रदोष व्रत गरिरहेकी थिइन्। आमाको व्रतको प्रभावले त्यसै दिन रात्रिकालमा राजाले सपनामा एउटा सन्देश सुने, त्यसमा भनिएको थियो- त्यो बालक निर्दोष छ यदि त्यसलाई कारागारबाट मुक्त तुल्याइएन भने तपाइँको राज्य र वैभव नष्ट हुनेछ। भोलिपल्ट बिहान उठ्ने बितिक्कै राजाले बालकलाई मुक्त तुल्याई सभागृहमा बोलाए र अघिल्लो दिनको घटनाबारे सोधे, बालकले राजालाई सत्यतथ्य बतायो। राजाले त्यस बालकका मातापितालाई दरबारमा झिकाए। ती बृद्धबृद्धालाई भयभीत भएको देखेर राजाले मुस्कुराउँदै भने- तपाइँहरूको छोरो निर्दोष र निडर छ। तपाईँहरूको दरिद्रताका बारेमा जानकारी पाएर मलाई दुःख लाग्यो, त्यसैले म तपाईँहरूको आजीविकाका निमित्त पाँचवटा गाँउ बिर्ता दिन्छु। यसपछि ब्राह्मणपरिवार आनन्दले रहन थाल्यो। भगवान् शिवजीको दयाले तिनको दरिद्रताको नाश भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल तथा निर्देशक, लोटस ज्योतिष तथा वास्तु परामर्श केन्द्र, इटहरी, सुनसरी, नेपाल, फोन +९७७ ९८०४३६३५३८