आयु
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
जीवनकाललाई आयु भनिन्छ। सामान्य प्रयोगमा वय, अवस्था वा उमेरलाई पनि आयु नै भन्ने गरिन्छ तर आयुले विशेषतः कुनै जीव वा वस्तुको अस्तित्व रहने कुल समयलाई जनाउँछ। जीवित प्राणी जस्तै मानव, पशु, पंक्षी, किरा-पतंग, सूक्ष्मजीव तथा वनस्पतिका जन्म वा उत्पत्तिदेखि मृत्युसम्मको समयलाई आयु भनिन्छ। निर्जीव वस्तुहरूको हकमा पनि निर्माणदेखि नष्ट वा समाप्त हुँदासम्मको अवधिलाई आयुका रूपमा व्याख्या गर्न सकिन्छ।
विभिन्न जीवहरूको आयुमा ठूलो भिन्नता पाइन्छ। केही प्रकारका झिंगाहरूको आयु केवल केही घण्टामात्र हुन्छ भने कछुवाजस्ता जीवहरू दुई सय वर्षसम्म बाँच्न सक्छन्। साधारणतया आयु शरीरको तौलसँग केही हदसम्म सम्बन्धित मानिन्छ तर यसमा धेरै अपवादहरू पनि छन्। केही पंक्षीहरू धेरै स्तनधारी प्राणीभन्दा बढी समयसम्म जीवित रहन्छन्। केही माछाहरू १५० देखि २०० वर्षसम्म बाँच्न सक्छन्। जबकि घोडाको औसत आयु करिब ३० वर्ष मानिन्छ। वनस्पतिहरू विशेषतः वृक्षहरूको संरचना र वृद्धि प्रक्रिया भिन्न हुने भएकाले तिनको आयु धेरै लामो हुन सक्छ। कतिपय पुराना वृक्षहरूको उमेर वार्षिक वृद्धि वलका आधारमा निर्धारण गर्दा दुई हजार वर्षभन्दा बढी भएको प्रमाणित गरिएको छ। मृत्यु अर्थात् जीवनको अन्त्यका सन्दर्भमा अमीबा तथा अन्य प्रोटोजोआहरू केही हदसम्म फरक देखिन्छन्। यी एकबाट दुई भागमा विभाजन भई प्रजनन गर्ने भएकाले परम्परागत अर्थमा निश्चित आयु सीमा नदेखिने मानिन्छ, र यस कारण तिनलाई रूपक रूपमा “अमर” पनि भनिन्छ। तर उन्नत वर्गका प्राणीहरूमा जीवनको अन्त्य टार्न असम्भव हुन्छ, त्यसैले तिनीहरूको आयु सीमित हुन्छ। कुनै प्राणीलाई प्रौढ हुन कति समय लाग्छ भन्ने आधारमा पनि त्यसको कुल आयुको अनुमान गर्न सकिन्छ। मनुष्यको अधिकतम आयु सामान्यतया करिब १०० वर्ष मानिन्छ।
पछिल्ला वर्षहरूमा मानिसको अधिकतम आयु धेरै नबढे पनि औसत आयु भने उल्लेखनीय रूपमा बढेको छ। यसको मुख्य कारण शिशु मृत्युदर घट्नु र स्वास्थ्य विज्ञानमा भएको प्रगति हो। विशेषगरी बाल स्वास्थ्य र संक्रामक रोग नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल भएको छ। तर वृद्धावस्थासँग सम्बन्धित रोगहरू—जस्तै धमनी कडा हुने समस्या—को उपचारमा अपेक्षित सफलता अझै सीमित छ। आयुमा आनुवंशिकता र वातावरण दुवैको ठूलो प्रभाव पर्छ। अध्ययनहरूले देखाएका छन् कि प्रसूति सम्बन्धी मृत्युलाई अलग राख्दा पुरुषहरूको तुलनामा महिलाहरू औसतमा बढी समयसम्म बाँच्छन्। दीर्घायु आमाबाबुका सन्तान पनि प्रायः दीर्घायु हुने सम्भावना बढी हुन्छ।
स्वस्थ वातावरणले दीर्घायुमा सहयोग पुर्याउँछ। जन्मजात बलियो जीवनशक्तिले बाह्य दूषित प्रभावबाट केही हदसम्म जोगाए पनि अत्यधिक प्रदूषण र अस्वस्थ वातावरणले विभिन्न रोगमार्फत आयु घटाउन सक्छ। चिन्ता, अनुचित आहार र अस्वास्थ्यकर जीवनशैलीले आयुमा नकारात्मक असर पार्छन्। यसको विपरीत, नियमित मानसिक र शारीरिक सक्रियताले वृद्धावस्थाका विकृत असरहरूलाई ढिलो पार्न मद्दत गर्छ। अंगहरू निष्क्रियताका कारण छिटो कमजोर हुने सम्भावना बढी हुन्छ। विश्वका धेरै लेखक र चित्रकारहरूले दीर्घायु भई अन्तिम समयसम्म सिर्जनात्मक कार्य जारी राखेका उदाहरणहरू भेटिन्छन्।
अनियमित भोजन, अत्यधिक मदिरापान र अति भोजनले आयु घटाउँछ। सय वर्षभन्दा बढी बाँच्ने व्यक्तिहरूमा सामान्यतया सन्तुलित वा हल्का आहार लिने प्रवृत्ति देखिन्छ। अत्यधिक भोजनका कारण मधुमेह, हृदय, धमनी तथा मृगौला सम्बन्धी रोगको जोखिम बढ्छ। वृद्धावस्था स्वस्थ र सुखद पनि हुन सक्छ, वा रोगग्रस्त र कष्टकर पनि। स्वस्थ बुढ्यौलीमा शारीरिक क्षमता केही घटे पनि मानसिक शान्ति रहन सक्छ। व्यक्तिको मानसिक दृष्टिकोण उसकै पूर्ववर्ती जीवनशैली र सोचमा निर्भर हुन्छ। केही ऐतिहासिक चिकित्सकीय प्रयासहरूमा जनावरका ग्रन्थि प्रत्यारोपणमार्फत युवावस्था फर्काउने दाबी गरिए पनि ती विधिहरू प्रभावकारी प्रमाणित हुन सकेनन् र अहिले प्रयोगमा छैनन्। केही रोगहरूले मानिसलाई समयभन्दा अघि नै वृद्ध देखिने बनाउँछन्। प्रोजेरिया जस्ता दुर्लभ रोगमा बालबालिकामै वृद्धावस्थाका लक्षण देखापर्छन्। वृद्धावस्थामा बढी देखिने रोगहरूमा मधुमेह, क्यान्सर, हृदय तथा रक्तनली र मृगौला सम्बन्धी रोग प्रमुख हुन्। निमोनिया जस्ता रोग युवावस्थामा जस्तै वृद्धहरूमा पनि देखिन सक्छ र गम्भीर हुन सक्छ।
न्यायिक तथा चिकित्सकीय कार्यमा वास्तविक उमेर निर्धारण महत्त्वपूर्ण हुन्छ। उमेर आँकलन गर्दा दाँत, कपाल, अस्थि र अन्य शारीरिक संरचनाको परीक्षण गरिन्छ, साथै एक्स–रे जस्ता प्रविधिको पनि प्रयोग हुन्छ। तथापि, २५ वर्षभन्दा माथिको उमेर ठीक-ठीक निर्धारण गर्न कठिन मानिन्छ।
जीवनकाल
[सम्पादन गर्नुहोस्]यद्यपि आयु र जीवनकाल शब्दहरू धेरै अवस्थामा एक-अर्काका पर्यायका रूपमा प्रयोग गरिन्छन्। इतिहास तथा जीवनी लेखनको सन्दर्भमा 'जीवनकाल' शब्दले विशेष अर्थ दिन्छ। यस अर्थमा जीवनकाल भन्नाले कुनै व्यक्तिको जन्मदेखि मृत्युसम्मको वास्तविक समयावधिलाई जनाउँछ। उदाहरणका लागि; कुनै व्यक्तिको जीवनकाल मिति XXXX देखि मिति XXXX सम्म रहेको थियो भनेर उल्लेख गरिन्छ।
कानुनमा आयु
[सम्पादन गर्नुहोस्]आयुले समयको अवधितर्फ सङ्केत गर्दछ। शरीर-विज्ञानका दृष्टिले आय शब्द मानव विकासका विभिन्न अवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। उदाहरणका लागि, शैशव अवस्था सामान्यतया पाँच वर्षसम्म, बाल्यकाल करिब १४ वर्षसम्म, तरुणावस्था करिब २१ वर्षसम्म वयस्क अवस्था करिब ५० वर्षसम्म र त्यसपछि वृद्धावस्था मानिन्छ। यस प्रकार प्रयोग गरिने आयुले मुख्यतः शारीरिक विकासका चरणलाई जनाउँछ।
कानुनी तथा प्रशासनिक कार्यका लागि पनि विभिन्न आयु–सीमा सरकारले निर्धारण गरेको हुन्छ। उदाहरणका लागि, मतदानका लागि कतिपय देशमा १८ वर्ष र कतै २१ वर्ष उमेर तोकिएको हुन्छ। केही सार्वजनिक पद, सेवा वा जिम्मेवारीका लागि न्यूनतम वा अधिकतम आयु-सीमा निर्धारण गरिएको हुन्छ। त्यसैगरी केही संस्थाहरूले सदस्यता प्रदान गर्दा निश्चित आयु–सीमालाई आधार मान्ने प्रावधान राखेका हुन्छन्।
मानसिक आयु
[सम्पादन गर्नुहोस्]२०औँ शताब्दीको प्रारम्भमा “मानसिक आयु” को अवधारणा प्रयोगमा आएको हो। यस शब्दावलीतर्फ सन् १८८७ तिर नै सङ्केत गरिएको पाइए पनि यसको विकास र व्यवस्थित प्रयोगको श्रेय फ्रान्सेली मनोवैज्ञानिक Alfred Binet (१८५७–१९११) लाई दिइन्छ।
मानसिक आयु भन्नाले समान उमेर समूहका बालबालिकाको औसत मानसिक क्षमताका आधारमा निर्धारण गरिएको बौद्धिक स्तरलाई जनाउँछ। यसका आधारमा कुनै बालकको सामान्य मानसिक योग्यताको अनुमान गर्न सकिन्छ। मानसिक आयु समयसँगै वृद्धि र परिपक्व हुँदै जान्छ। सामान्यतया यसको परिपक्वता १४ देखि २२ वर्षको उमेरबीचमा प्राप्त हुन सक्छ। यद्यपि केही व्यक्तिहरूमा मानसिक परिपक्वता २२ वर्षपछि पनि विकसित हुन सक्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Alexander Graham Bell — The Duration of Life and the Conditions Associated with Longevity
- Louis I. Dublin; Herbert H. Marks — The Inheritance of Longevity
- Alfred J. Lotka — Length of Life and Studies of Life Tables
- E. C. Cowdry — Problems of Ageing
- Taylor; Modi — Medical Jurisprudence'