सामग्रीमा जानुहोस्

गुठी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुठी संस्थान भवन, त्रिपुरेश्वर, काठमाण्डौँ

गुठी प्राचीन कालदेखि मठ मन्दिर आदि धार्मिक सम्पदाको नाममा राखिएको जमिन, तथा अन्य सम्पत्ति हो ।
गुठी संस्थानले गुठीको परिभाषा यसप्रकार गरेको छ- देवी देवताको पर्व पूजा जात्रा चलाउन वा मठ मन्दिर, देवस्थल आदिजस्ता धार्मिकस्थल वा अन्य सामाजिक परोपकारी र सांस्कृतिक कार्यको लागि दाताले आफ्नो हक छाडी राखी दिएको सम्पत्तिलाई गुठी भनिन्छ । सामान्यत: नेपालमा गुठी दुई प्रकारका छन्- राजगुठी र निजी गुठी । कुनै समय सरकारले बन्दोबस्त र सञ्चालन गरी आएको र पछि गुठी संस्थानमा हक र दायित्व सरेर संस्थानले बन्दोबस्त र सञ्चालन गरेका गुठी राजगुठी हुन् । यस्ता गुठी पनि अमानत र छुट गुठी गरी दुई प्रकारका छन् । सम्पूर्ण आयस्ता गुठी कोषमा जम्मा गरी खर्च पनि सोही कोषबाट विनियोजित बजेटबमोजिम हुने गुठी अमानत गुठी हो । यस्ता गुठीको संख्या नेपालमा १०५० छ । गुठीको आयस्ता गुठीयार आफैँले उठाई लिखत तथा परम्परा बमोजिम गुठीको पर्व पूजा जात्रा चलाई बाँकी रहेको रकम राजगुठीमा बुझाउने वा गुठीयार आफैले खान पाउने गरी छुट पाएका गुठीलाई छूट गुठी भनिन्छ । यस्ता गुठीका गुठीयार, महन्थ, पुजारी आदिको सम्पूर्ण हक समाप्त गरी गुठी संस्थानमा सरेको छ । नेपालमा यस्ता गुठी १०३२ छन् ।[]

राज गुठीको लगतमा दर्ता नभएका र व्यक्ति आफैले स्थापना र सञ्चालन गर्दै आएका व्यक्तिगत वा पारिवारिक गुठीलाई निजी गुठी भनिन्छ । निजी गुठीका दातासहित अघिकांश गुठीयारले लिखित अनुरोध गरेमा भने गुठी संस्थानले जिम्मा लिई सञ्चालन गर्न सक्तछ । सामाजिक हितको लागि राखिएको निजी गुठीका गुठीयारले गुठीको सम्पत्ति हिनामिना गरी धर्मलोप गरेमा गुठीयारले अनुरोध नगरे पनि संस्थानले आफ्नो जिम्मामा लिई सञ्चालन र बन्दोवस्त गर्न सक्ने कानुन बनाइएको छ ।[]

इतिहास‍‍

[सम्पादन]

गुठीको सुरुवात धार्मिक र परोपकारी कार्यका लागि गुठीहरूको स्थापना गर्ने क्रम मानिसहरू कृषि युगमा प्रवेश गरेसँगै भएको हुनसक्ने इतिहासकारहरूको अनुमान छ। आर्थिक इतिहासकार तथा रोमन म्यागसेसे पुरस्कार पाउने पहिलो नेपाली महेशचन्द्र रेग्मीले 'ल्यान्ड टेन्युर एन्ड ट्याक्सेसन् इन नेपाल भाग-४' पुस्तकमा गुठी प्रणाली 'व्यवस्थित कृषि र सङ्गठित धर्म' जत्तिकै जत्तिकै पुरानो हुनसक्ने दाबी गरेका छन् ।[] संस्कृतको "गोष्ठी"शब्दबाट यो शब्द विकसित भएको मानिन्छ । सबैभन्दा पुरानो वादित्र गोष्ठी, जो भगवानको पूजाआजा र भजनकीर्तनका लागि स‌ंगीतको व्यवस्थापन गर्न स्थापित गरिएको मानिन्छ । अहिलेसम्मको अनुसन्धानबाट नेपालको इतिहासको प्रारम्भसँगै गुठीको इतिहास पनि थालनी भएको बुझिन्छ । ने.सं. २९२ (वि.सं. १२२८) मा राजा जयचन्द्रले एउटा टुटेधारा नजिकै पाटी निर्माण गरी दान गरेका र बाटो बढार्न पनि तीन रोपनी खेत दान गरी व्यवस्थित बनाएको पाइन्छ ।

लिच्छविकालमा गुठी

[सम्पादन]

लिच्छविकालमा गुठी व्यवस्था धार्मिक, सामाजिक र सांस्कृतिक जीवनको मेरुदण्ड थियो। यस कालमा गुठीले मठ-मन्दिर, धारा, पाटी, पोखरी, जात्रा, पूजा र लोककल्याणका कार्यहरू व्यवस्थित रूपमा सञ्चालन गरेको थियो। त्यसैले लिच्छविकालमा गुठीको व्यवस्थित दृष्टिकोण र संस्थागतकरणको विकास भएको इतिहासको अध्ययनबाट देखिन्छ । लिच्छविकालमा पानीय गोष्ठी (जात्रा पर्वमा पानी खुवाउने गुठी), प्रणाली गोष्ठी (ठाउँठाउँमा धारा बनाउने र तिनको रेखदेख गर्ने गुठी), प्रवहण गोष्ठी (जनतालाई यातायातको सुविधा मिलाइदिने गुठी), मल्लयुद्ध गोष्ठी (भेडा, राँगा जुधाउने या कुस्ती खेलेर मनोरञ्जन गराउने गुठी), अर्चागोष्ठी (मूर्ति बनाउने गुठी) हरूले उल्लेख्य धार्मिक तथा सामाजिक कार्यहरु गरेको पाइन्छ ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. https://guthisansthan.org.np
  2. https://guthisansthan.org.np/download/648/[स्थायी मृत कडी]
  3. https://www.bbc.com/nepali/news-48700516?ocid=socialflow_facebook
  4. सालिकराम सुवेदी, गुठी : भौतिक र अभौतिक सम्पदाको आत्मा, अनलाईन खबर, अन्तिम पहुँच १३ मे २०२६, (नेपाली) भाषामा)।

बाह्य कडीहरू

[सम्पादन]