चुल्हो
🔥चुप्लु (चुला)🔥
कुनै घरको ढोका देखिँदैन भने त्यो अधुरो लाग्छ, तर घरभित्र चुप्लु (चुला) नदेखिँदा त्यो घर होइन भन्ने महसुस हुन्छ। हामी किरात कोइँच (सुनुवार) हरूका लागि चुप्लु (चुला) केवल अन्न पकाउने ठाउँ मात्र होइन – त्यो हाम्रो संस्कार, शुद्धता, आस्था र अस्तित्वको केन्द्र हो।
चुप्लु (चुला)मा बालिने आगोले शरीर तातो बनाउँछ, तर त्यो आगोले पितृलाई सम्झन सकिन्छ, आत्मालाई शुद्ध पार्न सकिन्छ, सत्यको साक्षी राख्न सकिन्छ। त्यही चुप्लु (चुला) अगाडि बसेर हामी आफ्ना पितृलाई बोलाउँछौं, आगो छोएर सत्य बोल्छौं, नयाँ पुस्तालाई जिम्मेवारी सुम्पन्छौं।
हाम्रो मुक्दुम अनुसार, देवात्मा, पितृआत्मा, सम्पूर्ण तेज तत्व चुप्लु (चुला)मै वास गर्छन्।
यसैले चुप्लु (चुला) छुटे भने हाम्रो संस्कृति, हाम्रो आत्मा र हाम्रो पहिचान पनि छुट्ने हो।
यही चुप्लु (चुला)को गहिरो महत्त्व बुझाउनका लागि यो लेखको आरम्भ गरिएको छ –
डडकिरात कोइँच (सुनुवार) मुक्दुममा चुप्लु (चुला) को आफ्नै मौलिक लक्षणशास्त्र हुन्छ। साधारणतया चुप्लु (चुला) भन्नाले अगेना अर्थात् आगो बालेर खाना पकाउने ठाउँ भन्ने हुन्छ। चुला-चौकाको शाब्दिक तात्पर्य चुला भन्नाले खास भाँडो बसाल्ने त्रिकोणात्मक चक्राकारमा राखिएको ३ वटा लु (ढुङ्गा) हुन् भने चौका भनेको उक्त ३ वटा लु (ढुङ्गा) लाई सुरक्षाको हिसाबले र दाउरा बालेर खरानी भए पश्चात् उक्त दाउराको भस्म एकत्रित राख्ने उदेश्यले चुल्ढुङ्गालाई चारैतिरबाट बारिएको चारपट्टीको ४ वटा ढुङ्गालाई चौका भन्ने बुझाउछ। चुप्लु (चुला) बंश परम्परागत सम्पति तथा शक्तिको केन्द्र हो। चुप्लु (चुला) शिक्षाको उच्च तह, मनोबैज्ञानिक अस्पताल र न्यायलयको रुपमा पनि मान्न सकिन्छ। जुनसुकै किरात इलाकाको किरातीहरुको पनि आगोमा देवात्मा रहन्छ। देवात्मा वरिपरि पितृआतृमा रहन्छन् भन्ने मुक्दुमको अवधारणा पाइन्छ। आगो सर्वव्यापी परमात्माले मानिसको लागि दिएको एउटा अपूर्ण शक्ति हुँदा पितृआत्मा रक्षक परमात्मा एवम् मानव कल्याणकारी रुपमा तनमस्तक भई पिदार गर्ने प्रचलन पाइन्छ। तमाम किरातीहरुमा पिदारको विधि एकापसमा केही फरक देखिए तापनि आगोलाई पुज्नुको तात्पर्य एउटै देखिन्छ। प्रकृति र पितृपुजक किरातीहरु आगोलाई पञ्च-तत्व तेजको रुपमा मुख्य देवा (देउता) को रुपमा पुजा गर्दछन्। किरात कोइँच (सुनुवार) मुक्दुममा चुप्लु (चुला) मुख्य संस्कारगत केन्द्र मानिन्छ। मुक्दुमका हरेक विधाका विधिहरु चाहे ती देउकार्य हुन् वा पितृकार्य हुन् हरेक पिदार (पुजा) को उद्घाटन चुप्लु (चुला) बाटै सुरु गरिन्छ र सम्पूर्ण मुक्दुमका विधि-विधान सक्दा पनि चुप्लु मै ल्याएर समापन गरिन्छ। अत: किराती कोइँच (सुनुवार) मुक्दुम अनुसार चुप्लु सर्वव्यापी परमात्मा र पितृ आत्मा बस्ने घरको मुल स्थान हो भन्ने मान्यता पाइन्छ। यस अनुसार चुप्लुको निर्माण वा चुप्लुको महत्त्व निम्नानुसार भएको पाइन्छ।
🔅 मुक्दुम अनुसार चौकाको प्रतीकात्मक लक्षणहरू:
(१) पूर्वपट्टि चौकाको ढुङ्गा – ममा खुलु (सृष्टि)
(२) पश्चिमपट्टि – म्हिः खुलु (प्रकृति)
(३) उत्तरपट्टि – फु:सु~से खुलु (देवलोक)
(४) दक्षिणपट्टि – ग्लुमा खुलु (पितृ लोक)
त्यस्तै चौकाको भित्री भाग चुल्ढुङ्गाहरुमा –
(१) पहिलो – इँगि खुलु (सर्वशक्तिमान सर्वव्यापी परमात्माको प्रतीक)
(२) दोस्रो – दुमा खुलु (पञ्चतत्व र पितृ शक्तिको प्रतीक)
(३) तेस्रो – रेल्लु खुलु (निरन्तरताको प्रतीक)
✳️ चुप्लु गाड्ने विधि पनि पवित्र र अनुशासित हुन्छ:
✅ नयाँ घरमा चुप्लु (चुला) स्थापना गर्दा मूल घरको चुप्लुबाट बुल्सी (अगुल्टो) लगेर विधिवत् म्हि: (आगो) फुक्नु वा बाल्नु पर्दछ।
✅ छुट्टिएर भिन्न हुँदा मूल घरको चुप्लुको चुल्ढुङ्गामा एउटा नयाँ चुलढुङ्गा राखी पुरानो चुल्ढुङ्गा लगेर इँगी खुलु अर्थात् सरिङ होपो (सर्वशक्तिमान सर्वव्यापी परमात्माको प्रतिक) को रुपमा छुट्टिएर भिन्न भई बस्ने घरमा स्थापना गर्नु पर्दछ।
✅ गोठ वा कटेरा सार्दा म्हि: (आगो) को माऊ मूल बुल्सी (अगुल्टो) राखिएको म्हि: धुवाउँदै अघि लाग्नु पर्दछ।
🚫 निषेधित कार्यहरू:
❎ चुप्लुमा जुठो फोहोर पार्नु, पैताला देखाउनु, खकार, सिगान, पसिना, थुक र आँसु जस्ता कुराहरु पार्नु हुदैन।
❎ मूल चुप्लुमा भकिम्लो, रानी भलायो र सिँउडीको दाउरा पोल्नु हुदैन।
❎ मूल चुप्लुमा जुठो मासु, काटेको नङ, केश, फोहोर लुगाकपडा, झुम्रो सल्काउनु पोल्नु हुदैन।
❎ चुप्लुमा पानीको लोटा घरमूलीले घोप्ट्याउनु हुदैन।
❎ जिउँदो जीव चुप्लुमा होम्नु हुदैन।
❎ चुप्लुमा काँचो वा ताजा रगत पार्नु हुदैन।
❎ घर बढार्न प्रयोग गरिएको कुचो मूल चुप्लुमा पोल्नु हुदैन।
❎ सुत्केरी र महिनावारी भएको महिलाले आफू नचोखिउञ्जेल मूल चुप्लु छुनुहुदैन।
❎ चुप्लुको अगाडि बसेर अश्लील अपशब्द गाली, झुटो बोली, सराप्नु हुदैन।
मुक्दुम अन्तर्गत गरिने जुनसुकै पिदारहरु सुरु गर्दा न्हा:सो (पुजारी) ले सुरुमै ``सङ् सो सङ् सङ्... चुप्लु होपो, दुप्लु होपो, मुसो होपो, फु:सु होपो, सरिङ होपो, वरिङ होपो, खरिङ होपो...´´ भनेर सुरु गर्नु पर्दछ। अन्त्यमा ``ममा खुलु, ग्लुमा खुलु~से खुलु´´ भाक्दै समापन हुन्छ। यसरी किराती कोइँच (सुनुवार) हरुले चुप्लुलाई सम्पूर्ण देवात्माको लक्षण, प्रकृति र पितृ शक्तिहरुको लक्षणको रुपमा पिदार-नाम्दार (पुजा- आजा) गर्ने हुँदा सम्पूर्ण दैवी पितृ शक्तिहरु चुप्लुमा वास गर्ने विश्वास गर्दछन्। यसैलेेेे उनीहरूमा आगो छोएर बोलेको सबै कुराहरु `सत्य हुन्छ ´ भन्ने विश्वास छ। यसैले कुनै पनि अपराधीलाई उसले अपराध गरे नगरेको कुरामा सत्य- तथ्य आगो छुवाई बहकाइन्छ, भने कुनै पनि भविष्यमा पूरा गर्नु पर्ने दायित्वका निम्ति पनि सम्बन्धित व्यक्तिलाई आगो छोई वाचा बाँध्न लगाइन्छ। त्यसैले चुप्लु (चुला) किरातीहरुको विश्वासको केन्द्र बिन्दु हो।
🔥चुप्लु (चुला) किन चाहिन्छ ?
१.) उत्पादन गरेको अन्नबाली पुर्खाहरुलाई चढाउने देखाउने साथै आर्जन गरेको धन सम्पत्ति देखाउने, अन्नको सह माग्ने तथा कार्य सफल्ताको लागि बल माग्ने, शिर उभ्याउन चुप्लु चाहिन्छ ।
२.) किरातहरुको मुन्धुम अनुसार छोरीलाई कुटुम्बको घरमा र बुहारीलाई भित्रिएको घरमा समान अधिकार दिलाउने ठाउँ हो, साथै घरमूलि लगायत सम्पूर्ण किरातीहरुको रक्षा गर्ने ठाउँ पनि हो चुप्लु ।
३.) विभिन्न किराती मुन्धुमी संस्कार सुरु गर्न चुप्लु बेगर कुनै पनि कार्जे गर्न सकिदैन र जन्मेदेखि मृत्यु सम्मको कार्जे गर्दा पनि चुप्लु चाहिन्छ ।
✍️ किराती बिबेक सुनुवार (लिनोच)
