सामग्रीमा जानुहोस्

टाइटानिक जहाजको डुबान

निर्देशाङ्कहरू: ४१°४३′३२″उ ४९°५६′४९″प / 41.72556°N 49.94694°W / 41.72556; -49.94694
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टाइटानिक जहाजको डुबान
को भाग
टाइटानिक पानीजहाज महासागरमा डुब्दै गरेको चित्र जसमा मानिसहरू एउटा सानो डुङ्गामा सवार छन् भने पृष्ठभूमिमा हिमशिलाहरू देख्न सकिन्छ।
सन् १९१२ मा विली स्टोवारले चित्रण गरेको 'अनटरगाङ देर टाइटानिक'मा टाइटानिक जहाज महासागरमा डुब्दै गरेको दृश्य।
समय२३:४०–०२:२० (०२:३८–०५:१८ ग्रिप्रस)[]
मिति१४–१५ अप्रिल १९१२; ११२ वर्ष पहिले (१९१२-०४-15)
स्थानउत्तरी आन्ध्र महासागर, ३७० माइल (६०० किमी) न्यु फाउन्डल्यान्डको दक्षिणपूर्वमा
निर्देशाङ्क४१°४३′३२″उ ४९°५६′४९″प / 41.72556°N 49.94694°W / 41.72556; -49.94694
कारण१४ अप्रिलमा विशाल हिमशिलासँग ठोक्किएर महासागरमा डुबेको
सहभागीपानीजहाजका चालकदल र यात्रीहरू
मृत्यु१,४९०–१,६३५

टाइटानिक जहाजको डुबानले आरएमएस टाइटानिक आन्ध्र महासागरमा डुबेको घटनालाई जनाउँदछ। जहाजको पहिलो यात्रा साउथह्याम्पटनदेखि न्युयोर्क सहरसम्मको थियो भने यात्राको चौथो दिन अर्थात् सन् १९१२ अप्रिल १४ को रातदेखि १५ अप्रिलको बिहानसम्मको समयमा आरएमएस टाइटानिक पानीजहाज एक विशाल हिमशिलामा ठोक्किएर उत्तरी आन्ध्र महासागरमा डुबेको थियो। तत्कालीन समयको सबैभन्दा ठूलो पानीजहाज यात्री सेवा, टाइटानिकमा २३ बजेर ४० मिनेट जाँदा (जहाजको समय) उक्त जहाजमा अनुमानित २,२२४ जना सवार थिए। सन् १९१२ अप्रिल १५, सोमबारको दिन ०२ बजेर २० मा (०५:१८ ग्रिप्रस) यो पानीजहाज डुबेको थियो। [] २ घण्टा ४० मिनेट सम्म चलेको यस डुबानको परिणामस्वरूप १,५०० भन्दा बढी सवार व्यक्तिहरूको मृत्यु भएको थियो जसले यसलाई इतिहासको सबैभन्दा घातक समुद्री विपत्ति बनाएको थियो।

१४ अप्रिलको दिन पानीजहाज अगाडि बढ्दै जाँदा त्यसको केही दुरीमा समुद्री बरफको हिमशिलाहरू रहेको भन्नेबारे चालकदल र कर्मचारीहरूलाई ६ पटकसम्म चेतावनी दिइएको थियो तर जहाजमा कार्यरत कर्मचारीहरूले उक्त हिमशिलाको नजिक जहाज पुगिसकेको थाहा पाउँदा जहाज २२ नोटको (४१ किलोमिटर प्रतिघण्टा) गतिमा अगाडि बढिरहेको थियो। द्रुतगतिमा अगाडि बढ्दै गइरहेको टाइटानिकको गति उच्च भएको कारण जहाज मोड्न असमर्थ रह्यो र हिमशिलामा गएर ठोक्किन पुग्यो। कुल सोह्र डिब्बा रहेको जहाजको ६ वटा डिब्बाहरू हिमशिलामा ठोक्किएपछि खुल्न पुगेको थियो। टाइटानिकलाई अगाडिको ४ वटा डिब्बामा पानी भरिएतापनि तैरिन सक्षम रहने बनाइएको थियो तर छ वटै डिब्बामा पानी भरिएकाले जहाज विस्तारै डुब्दै गइरहेको थियो। आपतकालीन अवस्थामा यात्रुहरूलाई बचाउनका लागि साना डुङ्गाहरू राखिएको भएतापनि यात्रुको सङ्ख्या हजारौँमा भएकाले सबैलाई बचाउनका लागि त्यहाँ रहेका डुङ्गाहरू अपूर्ण थिए। टाइटानिक जहाजमा २० वटा लाइफबोट भएतापनि कयौँ यात्रु र चालकदलहरूका लागि सुरक्षित शरणको अभाव हुन पुगेको थियो।

तत्कालीन समयको सबैभन्दा ठूलो र विलासी पानीजहाज टाइटानिकको निर्माण आयरल्यान्ड, बेलफास्टको हर्ल्यान्ड र उल्फ सिपयार्डमा गरिएको थियो। सन् १९०९ मार्च ३१ मा अमेरिकी अर्बपति जोन पियरपोन्ट मोर्गन र अन्तर्राष्ट्रिय मर्केन्टाइल मेरिनको आर्थिक सहयोगमा निर्माण कार्य सुरु भएको थियो भने सन् १९१२ मार्च ३१ मा करिब ७० लाख ५० हजार अमेरिकी डलरको (अहिले करिब १६ करोड ५० लाख) लागतमा निर्माण सम्पन्न भएको थियो।

टाइटानिक पानीजहाज महासागरमा डुब्दै गर्दाको समयमा, अझैपनि यसमा सवार यात्रु र चालकदलहरूको सङ्ख्या १ हजार भन्दा पनि बढी थियो। जहाजबाट पानीमा खसेका लगभग सबै यात्रुहरूको चिसो र हाइपोथर्मियाको कारणले केही बेरमै मृत्यु हुन पुग्यो। टाइटानिक जहाज डुबेको लगभग डेढ घण्टा पछि कार्पेथिया नामक जहाज घटनास्थलमा पुगेको थियो भने १५ अप्रिलको बिहान ९:१५ बजेसम्म उक्त जहाजले सबै ७१० यात्रुहरूलाई बचाएको थियोे। यो घटना विश्वभर निकै तीव्र रूपमा फैलियो भने लाइफबोटको कमी, ढिलासुस्ती र उद्धारको समयमा तेस्रो श्रेणीका यात्रुहरूलाई गरिएको असमान व्यवहारलाई लिएर व्यापाक रूपमा आलोचना भएको थियो।

सन् १९१२ अप्रिल २ को दिनबाट आफ्नो सेवा सुरु गरेको रोयल मेल सिप (आरएमएस) टाइटानिक तीन ओलम्पिक-श्रेणी भगिनी जहाजहरू मध्ये दोस्रो र विश्वको सबैभन्दा ठूलो पानी जहाज थियो।[] यो र त्यसको भगिनी जहाज आरएमएस ओलम्पिक, आरएमएस लुसिटानिया र आरएमएस मुराटानिया (सन् १९०६) भन्दा लगभग डेढ गुणा बढी वजनदार थियो।[] टाइटानिकले ३,५४७ मानिसहरूलाई आफ्नो उच्च गतिको साथमा आराममा परिवहन गर्न सक्थ्यो र यो तत्कालीन समयको सबैभन्दा अभूतपूर्व नापमा निर्माण गरिएको थियो।[] यसको पारस्परिक इन्जिन तत्कालीन समयको सबैभन्दा ठूलो इन्जिन थियो जुन ४० फिट (१२ मिटर) अग्लो र यसले इन्धनको रूपमा प्रतिदिन सिलिन्डरको ९ फिट (२.७ मि) र ६१० टन कोइलाको प्रयोग गर्ने गर्दथ्यो।[]

टाइटानिक जहाजको एक दृश्य, २ अप्रिल १९१२

पानीबाट जहाजको डेकको उचाइ ५९ फिट (१८ मिटर) थियो। यसका चार सिलिन्डरहरूमा (एक प्रकारको पिस्टन इन्जिन), तृतीय विस्तार वाष्प इन्जिन र तीनवटा विशाल पङ्खालाई चलायमान राख्नका लागि कम दबाव टर्बाइनको दुई पारस्परिक इन्जिनहरू समावेश थिए। जहाजलाई अधिकतम २३ समुद्री माइलको (४३ किलोमिटर प्रति घण्टा) गतिमा चलाउन सकिन्थ्यो। जहाजका चारवटा ठूला चिम्नीमध्ये तीनवटा सक्रिय थिए भने चौथो चिम्नीलाई वायुसंचारका लागि प्रयोग गरिन्थ्यो। वास्तवमा जहाजको सुन्दरता बढाउन यसमा चौथो चिम्नी लगाइएको थियो। जहाजले एकैपटक अधिकतम ३ हजार ५ सय ४७ यात्रु र चालक दलका सदस्य बोक्न सक्दथ्यो।

टाइटानिक जहाज भित्रको एक विशाल सिँढी
टाइटानिकको प्रथम श्रेणीका यात्रुहरूका लागि आरामदायी खानपिन कक्ष जहाँ ५५० जनाले एकैपटक खाना खान सक्थे।

टाइटानिकले लागत र आरामदायीको हिसाबले तत्कालीन समयको सबै जहाजलाई उछिनेको थियो। टाइटानिक जहाज भित्र सुन्दर स्विमिङ पुल, व्यायामशाला, स्क्वास कोर्ट, विशाल र महँगा क्याफेहरू, प्रथम श्रेणी र द्वितीय श्रेणीका यात्रुका लागि ठूलो पुस्तकालय थियो।[] त्यस समयका सबै आधुनिक प्रविधिहरू यस जहाजमा प्रयोग गरिएको थियो। जहाजमा चारवटा लिफ्ट थिए, जसमा प्रथम श्रेणीका लागि तीन र द्वितीय श्रेणीका लागि एकवटा थियो। यसको विद्युतीय प्रणाली पनि निकै आधुनिक थियो भने प्रथम श्रेणीका यात्रुहरूले यो आरामदायी जहाजमा यात्रा गर्न धेरै पैसा तिर्नु पर्दथ्यो। प्रथम श्रेणीका यात्रुका लागि सबैभन्दा महँगो प्याकेजमा एकपटक आन्ध्र महासागर पार गर्न करिब ४ हजार ३ सय ५० डलर खर्च गर्नुपर्थ्यो जसको मूल्य हाल लगभग ९५ हजार ८ सय ६० डलर हुन आउँछ।[]

टाइटानिक पानीजहाज डुब्ने क्रममा मारिएका यात्रुहरूको सङ्ख्या धेरै कारकहरूको कारण अस्पष्ट छ। कुल यात्रुहरूको सूचीमा अस्पष्टता र अन्तिम समयमा आफ्नो यात्रा रद्द गर्ने व्यक्तिहरूको नाम पनि समावेश भएकाले कुल हताहतको सङ्ख्यामा अस्पष्टता आएको हो। यात्रुहरूले विभिन्न कारणहरूले गर्दा आफ्नो उपनाम मार्फत यात्रा गर्दा हताहत सूचीमा उनीहरू दोहोरो गणना भएको थियो।[] मृत्यु हुनेको सङ्ख्या एक हजार ४९० देखि एक हजार ६३५ को बीचमा रहेको बताइन्छ।[] तलका तथ्याङ्कहरू ब्रिटिस बोर्ड अफ ट्रेड रिपोर्टबाट लिइएको हो।[]

यात्रुहरू श्रेणी सवार यात्रुहरूको
सङ्ख्या
जहाजमा सवार यात्रुहरूको
प्रतिशत
बाँच्न
सफल
हराएका
यात्रुहरू
बाँच्न सफल यात्रुहरूको
प्रतिशत
हराएका यात्रुहरूको
प्रतिशत
जहाजमा सवार यात्रुहरूको
कुल प्रतिशत
प्रतिशत
जम्मा जहाजमा सवार
बालबालिका प्रथम श्रेणी ०.३% ८३% १७% ०.२% < ०.१%
द्वितीय श्रेणी २४ १.१% २४ १००% ०% १.१% ०%
तृतीय श्रेणी ७९ ३.६% २७ ५२ ३४% ६६% १.२% २.४%
जम्मा १०९ ५% ५६ ५३ ५१% ४९% २.५% २.४%
महिला प्रथम श्रेणी १४४ ६.५% १४० ९७% ३% ६.३% ०.२%
द्वितीय श्रेणी ९३ ४.२% ८० १३ ८६% १४% ३.६% ०.६%
तृतीय श्रेणी १६५ ७.४% ७६ ८९ ४६% ५४% ३.४% ४.०%
चालकदल २३ १.०% २० ८७% १३% ०.९% ०.१%
जम्मा ४२५ १९.१% ३१६ १०९ ७४% २६% १४.२% ४.९%
पुरुष प्रथम श्रेणी १७५ ७.९% ५७ ११८ ३३% ६७% २.६% ५.३%
द्वितीय श्रेणी १६८ ७.६% १४ १५४ ८% ९२% ०.६% ६.९%
तृतीय श्रेणी ४६२ २०.८% ७५ ३८७ १६% ८४% ३.३% १७.४%
चालकदल ८८५ ३९.८% १९२ ६९३ २२% ७८% ८.६% ३१.२%
जम्मा १,६९० ७५.९% ३३८ १,३५२ २०% ८०% १५.२% ६०.८%
जम्मा कुल २,२२४ १००% ७१० १,५१४ ३२% ६८% ३१.९% ६८.१%

टिप्पणीसूची

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ हिमशिलामा ठोक्किँदाको समयमा टाइटानिकको घडी पूर्वी समय क्षेत्र भन्दा २ घण्टा २ मिनेट अगाडि र ग्रिनविच प्रमाणिक समयभन्दा २ घण्टा ५८ मिनेट पछाडि तय गरिएको थियो। []
  2. The 3rd was to be the RMS Britannic which never saw service as a liner; instead she was requisitioned directly into service as His Majesty's Hospital Ship HMS Britannic (during WWI)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Halpern 2011, पृष्ठ 78.
  2. Hutchings & de Kerbrech 2011, पृष्ठ 37.
  3. ३.० ३.१ Butler 1998, पृष्ठ 10.
  4. "RMS Titanic facts"। सङ्ग्रह मिति ६ नोभेम्बर २००९ 
  5. "Wireless and the Titanic" 
  6. Butler १९९८, पृष्ठ २३९.
  7. Lord १९७६, पृष्ठ १९७.
  8. Mersey १९१२, पृष्ठ. ११०–१११.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]