ढाड दुख्ने समस्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढाड दुख्ने समस्या
विभाग:हाडजोर्नी शल्यचिकित्सा Edit this on Wikidata

ढाड दुख्ने समस्या मानिसको मेरुदण्डमा रहेका मांशपेसी, नसा, हाड अथवा अन्य संरचनाहरूमा अनुभव गरिने समस्या हो। यद्यपी, कतै कतै पित्तथैली तथा पेन्क्रियाजको दुखाइलाई पनि ढाड दुखेको भन्ने गरेको पाइन्छ।

ढाड दुख्ने समस्या प्रायजसो ढाडको तल्लो भागमा महशुस गरिन्छ। यो लेखमा पूरै ढाड दुख्ने समस्याको बारेमा लेखिएको छ।

ढाड दुख्ने समस्या छोटो तथा लामो दुबै समयावधिको हुन सक्छ। यो समस्या लगातार वा बेलाबेलामा दोहोरिने, एकै स्थानमा रहिरहने वा अन्य स्थानमा सर्दै जाने हुन सक्छ। यसको प्रकृति मन्द पीडा दिने, अत्यन्त पीडा दिने, घोचेको जस्तो झस्का महशुस हुने वा पोल्ने खालको हुन सक्छ। यसको दुखाइ बिस्तारै पाखुरा हुँदै हातभर, गोडा, तथा खुट्टामा पनि सर्न सक्छ र दुखाइभन्दा फरक किसिमका लक्षण पनि देखापर्न सक्छ। ती लक्षणहरू हात गोडा झन्झनाउनु, कमजोर हुनु वा हात-गोडा निदाउनु आदि हुन्।

ढाड दुख्ने समस्याले धेरैलाई दुख दिने भएपनि यसलाई पूर्ण रूपमा निदान गरिएको उदाहरणहरू एकदमै कम छन्। डिस्क हर्नियोसिस तथा स्टेनोसिस भएको बेलामा पनि कुनै उपचार नगर्नु वा सुई लगाउनु वा सल्यकृया गर्नुको एक वर्षपछिको परिणाम लगभग उस्तै भएको र पीडा केही मात्रामा मात्र कम भएको पाइन्छ। अमेरिकामा प्राय मानिसहरूलाई चिकित्सककोमा धाउन वाध्य बनाउने कारणहरू मध्ये ढाडको तल्लो भागमा दुख्ने समस्या पाँचौ स्थानमा पर्दछ। दस मध्ये नौ वयस्कहरूले आफ्नो जीवनको कुनै न कुनै खण्डमा ढाड दुख्ने समस्या महशुस गरेका हुन्छन्। त्यस्तै दस मध्ये पाँच काम गर्ने वयस्कहरूको प्रत्येक वर्ष ढाड दुख्ने समस्या रहेको पाइन्छ।[१] अमेरिकामा मानिसहरू दैनिक काममा जान नसक्नुका कारणहरू मध्ये ४०% ढाडको तल्लो भागमा दुख्ने समस्या हुने गर्दछ।[२] यतिमात्र होइन विश्वभर हुने शारीरिक अपाङ्गताको एकमात्र प्रमुख कारण पनि हो।[३]

वर्गीकरण[सम्पादन गर्नुहोस्]

ढाड दुख्ने समस्याको पहिचान तथा उपचार सहज बनाउन यसलाई वर्गीकरण गरिन्छ। यसको संरचनात्मक वर्गीकरण मेरुदण्डको विभिन्न खण्डहरू: सर्भाइकल, थोरासिक, लम्बर तथा स्याक्रलका आधारमा गरिएको पाइन्छ। संयोजन तन्तुको निको हुने संरचनालाई आधार मानेर ढाड दुख्ने समस्याको अवधिलाई तीन वर्गमा विभाजन गरिएको छ। छोटो अवधिको पीडा १२ हप्तासम्म रहन्छ, यो अवधिलाई ६ देखि १२ हप्तासम्मको उपश्रेणीमा बाँडिएको हुन्छ। १२ हप्ताभन्दा बढीसम्म जारी रहने ढाड दुख्ने समस्यालाई लामो अवधिको पीडा भनिन्छ।[४]

ढाड दुख्ने समस्याको प्रकृतिले पीडा कुन तन्तुबाट सुरु भएको हो भन्ने सङ्केत गर्दछ। कुनै विशेष कारणबीना अचानक देखा पर्ने ढाड दुख्ने समस्या प्राय मांशपेसी, यसलाई घेर्ने झिल्ली तथा लिगामेन्टहरूबाट सुरु हुन्छ। [५] स्पाइनल स्टेनोसिस भएर वा नभइ हुने नसाको पीडा स्नायु तन्तुका कारण हुने गर्दछ। पहिचान गर्न सकिने सेकेन्डरी ढाड दुख्ने समस्या विभिन्न खाले संक्रमण वा क्यान्सरका कारण हुने गर्दछ।[६] कुनै विशेष कारणबीना अचानक देखा पर्ने ढाड दुख्ने समस्यालाई नन् स्पेसिफिक ब्याक पेन भनिन्छ। यसको कारण स्पष्ट नभए पनि प्राय मांशपेसी, यसलाई घेर्ने झिल्ली तथा लिगामेन्टहरूबाट भएको विश्वास गरिन्छ।[५]

ढाड दुख्ने समस्या विभिन्न कारणले हुने गर्दछ। लगभग ९८ प्रतिशत समस्या नन् स्पेसिफिक ब्याक पेनको रूपमा पहिचान हुने गर्दछन् जसमा कुनै पनि गम्भीर जटिलता आउँदैन।[७] करीब २ प्रतिशत मेटास्टाटिक क्यान्सरका कारण ढाड दुख्ने गर्दछ भने अस्टियोमलाइटिस तथा इपिड्युरल एब्सेसेस जस्ता संक्रामणहरूले दुख्ने सम्भवना १ प्रतिशतभन्दा कम हुन्छ। मस्तिष्कसँगको सम्बन्धमा ह्रास आएर हुने कमजोरी तथा निदाउने समस्या डिस्क हर्नियाको कारणले हुन्छ। करीब ९५ प्रतिशत डिस्क हर्निया मेरुदण्डको सबैभन्दा पुच्छारमा रहेको लम्बरको २ तहमा देखापर्दछ।[८]

सम्बन्धित अवस्थाहरू[सम्पादन गर्नुहोस्]

साधारणतया ढाड दुख्ने समस्यामा अस्पताल पुगिहाल्नु आवस्यक छैन। केही परिस्थितीलाई छोडेर यो समस्याका धेरै अध्यायहरू आफूमै सीमित रहेर कुनै जटिलता ननिम्ताउने खालका हुन्छन्। प्राय ढाड दुख्ने समस्याहरू सुन्निने कारणले हुने गर्दछन्। विशेष गरी अचानक महशुस हुने समस्या दुई हप्तादेखि तीन महिनासम्म रहने गर्दछ।

निकै थोरै सम्भावना भए तापनि ढाड दुख्ने समस्या गम्भीर बिमारीको सङ्केत पनि हुन सक्छ।

  1. मलाशय तथा मुत्राशयको नियन्त्रण नहुनु तथा बिस्तारै बढ्दै जाने खुट्टाको कमजोरी जस्ता मृत्यु निम्ताउने समस्याका संकेतहरू हुन्।
  2. बिमारीका अन्य लक्षणहरूसँग (जस्तै ज्वरो, बीना कारण तौल घट्ने) देखापर्ने अति ढाड दुख्ने समस्याले ( निन्द्रा नै बिथोल्ने खालको पीडा) गम्भीर स्वास्थ्य समस्याको सङ्केत गर्दछ।
  3. कुनै दुर्घटनापछि हुने ढाड दुख्ने समस्याले हाड मर्किएको वा फुटेको वा अन्य चोटपटकको सङ्केत गर्छ।
  4. केही मानिसमा देखापर्ने अस्टिओपोरोसिस वा मल्टिपल माइलोमाले स्पाइनल कर्डमा आघात पर्नसक्छ।

कारणहरू[सम्पादन गर्नुहोस्]

साधारणतया ढाड दुख्ने समस्यामा अस्पताल पुगिहाल्नु आवस्यक छैन।[९] केही परिस्थितीलाई छोडेर यो समस्याका धेरै अध्यायहरू आफूमै सीमित रहेर कुनै जटिलता ननिम्ताउने खालका हुन्छन्। प्रायढाड दुख्ने समस्याहरू सुन्निने कारणले हुने गर्दछन्। विशेष गरी अचानक महशुस हुने समस्या दुई हप्तादेखि तीन महिनासम्म रहने गर्दछ। निकै थोरै सम्भावना भए तापनि ढाड दुख्ने समस्या गम्भीर बिमारीको सङ्केत पनि हुन सक्छ। मलाशय तथा मुत्राशयको नियन्त्रण नहुनु तथा बिस्तारै बढ्दै जाने खुट्टाको कमजोरी जस्ता मृत्यु निम्ताउने समस्याका संकेतहरू हुन्। बिमारीका अन्य लक्षणहरूसँग (जस्तै ज्वरो, बीना कारण तौल घट्ने) देखापर्ने अति ढाड दुख्ने समस्याले ( निन्द्रा नै बिथोल्ने खालको पीडा) गम्भीर स्वास्थ्य समस्याको सङ्केत गर्दछ। कुनै दुर्घटनापछि हुने ढाड दुख्ने समस्याले हाड मर्किएको वा फुटेको वा अन्य चोटपटकको सङ्केत गर्छ। केही मानिसमा देखापर्ने अस्टिओपोरोसिस वा मल्टिपल माइलोमाले स्पाइनल कर्डमा आघात पर्नसक्छ। कुनैबेला क्यान्सर (विशेषगरी मेरुदण्डसम्म फैलिन सक्ने छाति, फोक्सो तथा प्रोस्टेट ग्रन्थीको क्यान्सर) लागेका बिरामीको ढाड दुखेमा उसलाई सुषुम्नामा मेटास्टाटिक रोग लागेको हुन सक्छ। केही अधययनहरूले लम्बर डिस्क हर्निया तथा डिजेनेरेटिभ डिस्क रोगका कारणले पनि ढाड दुख्ने समस्या आउन सक्ने सुझाब दिएका छन्। तर यो समस्या एकदमै थोरै मानिसहरूमा देखापर्छ। यी अवस्थाहरूमा के कारणले ढाड दुख्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन। अन्य अध्ययनहरूले लगभग ८५% ढाड दुख्ने समस्या कुनै शारीरिक कारणबीना नै महशुस हुने सुझाब दिएका छन्। त्यस्तै केही अध्ययनहरूले एक्स-रेबाट थाह पाउन सकिने संरचनागत अनियमितताभन्दा धेरै कामको दबाबले हुने तनाब तथा बिग्रिएको पारिवारिक सम्बन्ध ढाड दुख्ने समस्यासँग जोडिएको पाइएको बताएका छन्। ढाड दुख्ने समस्याका धेरै कारण तथा स्रोतहरू छन्। तर पनि मेरुदण्डको कुन तन्तुका कारणले पीडा भएको हो भन्ने पत्ता लगाउन कठिन छ। मेरुदण्डका फरक-फरक तन्तुबाट उत्पन्न हुने पीडा एकै किसिमको हुन्छ। त्यसैले बाह्य उपकरण वा प्रविधिको प्रयोगबिना पहिचान गर्न सकिँदैन। ढाडका विभिन्न भागमा लट्याउने औषधि प्रयोग गरेर यसको प्रभाव क्षेत्र पत्ता लगाइन्छ।

ढाड दुख्ने समस्याको एक प्रमुख सम्भावित स्रोत ढाडमा रहेको मांसपेसी हो। प्रायजसो उक्त मांसपेसी तन्किएर हुने स्प्रेन, मांसपेसीको गडबडी तथा बाउँडिने समस्याले ढाड दुख्ने गर्दछ। यद्यपी धेरैजसो ढाड दुख्ने समस्याको बेलामा लिइएका आन्तरिक तस्वीरहरूले मांसपेसीमा क्षति भएको भनाइलाई समर्थन गर्दैनन्। त्यस्तै मांसपेसीको गडबडी तथा बाउँडिने समस्या किन आउँछ भन्ने कुरा अहिलेसम्म बुझ्न सकिएको छैन। ढाड दुख्ने समस्याको अर्को स्रोत मेरुदण्डमा रहेको साइनोभियल जोर्नी पनि हो।[९] करीब एकतिहाइ लामो अवधिको तल्लो ढाड दुख्ने समस्या तथा गर्धन दुख्ने समस्याका प्रमुख कारण यी जोर्नीहरू भएको पत्ता लागेको छ। यद्यपी साइनोभियल जोर्नी मध्येको एक जागापोफिजिअल जोर्नीमा के कारणले पीडा उत्पन्न हुन्छ भन्ने कुरा चाही पूर्णरूपमा पत्तालागेको छैन। विपलास पछि हुने गर्धनको पीडाको लागि क्याप्सुल तन्तुमा भएको क्षतिलाई कारणको रूपमा प्रस्ताव गरिएको छ।

ढाड दुख्ने समस्याका अन्य धेरै कारण तथा स्रोतहरू छन्। जस्तै मेरुदण्डको हर्निया, डिजेनेरेटिभ डिस्क रोग, स्पोन्डाइलोलिस्थेसिस, अस्टियोआर्थ्राइटिस (जोर्नी खिइने रोग), लम्बर स्पाइनल स्टेनोसिस, दुर्घटना, क्यान्सर, संक्रमण, मर्किनु तथा सुन्निने रोगहरू।[१०] इन्टरभर्टिब्रेटल डिस्कको बाहिरी लिगामेन्ट अत्यन्तै संवेदनशील हुन्छ। यसमा सानो चोटपटक लाग्यो भने पनि असह्य पीडा महशुस हुन सक्छ। रेडिकुलर पीडा (साइटिका) बिनाकारण हुने ढाड दुख्ने समस्यासँग सजिलै छुट्टिन्छ त्यसैले यसको पहिचान कुनै प्रविधि प्रयोग नगरी गर्न सकिन्छ। हाल सबैको ध्यान नन्-डिस्कोजेनिक ढाड दुख्ने समस्यातिर केन्द्रित भएको छ। यस्तो समस्यामा बिरामीहरूको एमआरआई तथा सिटी स्क्यान रिपोर्ट सामान्य वा लगभग सामान्य हुने गर्दछ।

पहिचान[सम्पादन गर्नुहोस्]

प्रायजसो ढाडको तल्लो भाग दुख्ने समस्या भएको अवस्थामा रोग पहिचानको लागि भौंतारिनुभन्दा दुखाइ कम गर्ने उपचारतिर लाग्नु राम्रो मानिन्छ।[११] यसले ढाडको तल्लो भाग दुख्ने व्यक्ति कुनै गम्भीर स्वास्थ्य समस्याग्रस्त भएको सम्भावना व्यक्त गर्दैन। प्राय अवस्थामा यस्तो पीडा केही हप्तामा आफसेआफ निको भएर जान्छ।[११]साधारणतया रोग पहिचानको लागि डिजिटल इमेजिङ गर्नेहरूले दुखाइ हराएर जानको लागि कुरेर बस्नेहरूको भन्दा राम्रो परिणाम पाउन सक्दैनन्। मेरुदण्डको संरचनामा गडबडी वा कुनै रोग विशेषका कारण ढाड दुखेको छ भने डाक्टरले पीडाको स्रोत पत्ता लगाएर त्यसको उपचारको लागि आवस्यक कदम चाल्न सल्लाह दिनु पर्छ।

व्यवस्थापन[सम्पादन गर्नुहोस्]

ढाड दुख्ने समस्याको उपचारको व्यवस्थापनको मुख्य उद्देश्य सकेसम्म छिटो र अत्याधिक मात्रामा पीडा घटाएर पीडितलाई दैनिक काममा फर्काउनु, बाँँकी पीडासँग सामना गर्न सहयोग गर्नु, उपचारबाट उत्पन्नहुने नकारात्मक असरहरूको व्यवस्थापन गर्नु तथा बिरामी निको हुने क्रममा आइपर्ने कानुनी, सामाजिक तथा आर्थिक जटिलतामा सहयोग गर्नु आदि हुन्छ। धेरैको लागि यसको उद्देश्य पीडालाई व्यवस्थापन गर्न सकिने स्तरमा राख्दै सुधारोन्मुख बनाउनु हो। बिस्तारै पीडा कम गर्दै लामो समयसम्म पीडाबाट मुक्त बनाओस्। अझ केहीका लागि यसको उद्देश्य चिरफारबिनाका उपचारबाट दुखाइ कम गरेर जटिल चिरफारबाट बच्नु पनि हो। तर पनि केही मानिसहरू सल्यक्रिया गरेर छिटोभन्दा छिटो पीडाबाट मुक्ति रोज्ने गर्दछन्। अहिलेसम्मको तथ्याङ्क अनुसार सबै उपचारले सबै अवस्थामा काम गर्दैनन्। त्यस्तै उस्तै अवस्थाका फरक- फरक व्यक्तिलाई पनि एकैखालको उपचारले निको नहुन सक्छ। धेरै पीडितहरूले धेरै खालका उपचारको परीक्षण गरेर मात्र आफ्नो लागि सही उपचार कुन हो भन्ने थाह पाउन सक्छन्। पीडाको वास्तविक अवस्था (अचानक देखापर्ने वा लामो अवधिको) पनि उपचार विधि छान्न मद्दत पुर्याउने एक तत्व हो। ढाड दुख्ने समस्याबाट पीडित मध्ये एकदमै थोरै (धेरैको अनुमानमा १%-१०%) पीडितलाई मात्र सल्यक्रिया आवस्यक हुन्छ।

पीडा[सम्पादन गर्नुहोस्]

  • तातोले सेकाएर गरिने उपचार ढाढ दुख्ने समस्याका लागि उपयोगी हुन्छ। कोच्रेन कोल्याबरेसनले गरेको एक अनुसन्धानले निकालेको निष्कर्षका अनुसार तातोले सेकाउँदा छोटो अवधिको समस्यामा पीडा कम हुन्छ।[१२] केही बिरामीहरूले बाफसहितको तातो वा मन्द ताप दिने वस्तुले (त्यस्तो उपकरण जसले ४ देखि ६घण्टासम्म न्यानो बनाउन सक्छ) बढी फाइदा पुर्‍याएको पाए। ढाड दुख्ने समस्याका केही अवस्थामा कोल्ड कम्प्रेसन थेरापी पनि लाभदायक हुन्छ।
  • लामो अवधिको ढाडदुख्ने समस्यामा गरिने औषधोपचार विवादास्पद छ। मांसपेसीलाई आराम गराउने मसल रिलाक्स्यान्टहरूको केही मात्रा छोटो अवधिको ढाड दुख्ने समस्यामा उपयोगी मानिन्छ।[१३] यदि केही फाइदा र नकारात्मक असरलाई छोड्ने हो लामो अवधिको ढाड दुख्ने समस्यामा ओपिओइडहरूले मन शान्तिबाहेक केही दिदैनन्।[१४] सुन्निएको कम गर्ने नन-स्टेरोइडल औषधिहरू (एनएसएआइडी वा एनएसएआइए)[१५] केही बढी प्रभावकारी भएको पाइएको छ। साधारणतया यी औषधिहरू पारासिटमोल (एसिटामिनोफेन) भन्दा बढी प्रभावकारी हुन्छन्। कर्टिकोस्टेरोइडको सुई लगाएर गरिने तल्लो ढाड दुख्ने समस्याको उपचारले फाइदा गर्छ वा गर्दैन भन्ने पर्याप्त अध्ययन हुन सकेको छैन। [१६]
  • ढाडसम्बन्धी शिक्षाले स्तरीय उपचारले भन्दा बढी पीडा कम गरेको पाइन्छ।[१७]
  • तुलनात्मक रूपमा लामो अवधिको तल्लो ढाड दुख्ने समस्या भएका व्यक्तिहरूलाई मसाजले पनि राहत दिन्छ।[१८] परम्परागत (स्विडिस) मसाजभन्दा अकुप्रेसर वा दबाब बिन्दु मसाज बढी प्रभावकारी हुन्छ।[१८]
  • पीडा कम गर्न कसरत पनि एक प्रभावकारी उपाय हुन सक्छ। तर यसको लागि अनुमति प्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा कसरत गरिनु पर्छ। साधारणतया केही निरन्तर तन्काइ तथा कसरतहरू प्राय ढाड दुख्ने समस्याको उपचारका प्रमुख तत्व रहेको विस्वास गरिन्छ। यद्यपी एक अध्ययनले कसरत अकस्मात देखापर्ने ढाड दुख्ने समस्यामा नभएर लामो अवधिको ढाड दुख्ने समस्यामा मात्र प्रभावकारी रहेको पाएको छ।[१९] अर्को अध्ययनले छोटो अवधिको समस्यामा ढाडको कसरत गर्नु भन्दा पीडा सहेर सकेसम्म आफ्नो दैनिक काममा लाग्नु नै प्रभावकारी भएको पायो।[२०]
  • मनोवैज्ञानिक तथा भावनात्मक कारणलाई केन्द्रित गरेर शिक्षा[२१] तथा व्यवहार परिवर्तन-प्रतिक्रिया-ज्ञानको प्रयोगद्वारा गरिने उपचार तथा रिल्याक्सेसन थेरापीले लामो अवधिको ढाड दुख्ने समस्या घटाउन सक्छ।[२२]

विधी[सम्पादन गर्नुहोस्]

साइटिकासहितको ढाड दुख्ने समस्याका लागि एक्स-रेको सहायताले मेरुदण्डको इपिड्युरल स्पेसमा स्टेरोइडको सुई लगाउनाले पीडा कम हुन्छ र चिरफार गर्नुपर्ने सम्भावनालाई कम गराउँछ।[२३]

स्याक्रोलिक जोर्नीको लागि रेडियोफ्रिक्वेन्सी न्युरोटोमी फाइदाजनक रहेको विश्वास गरिन्छ।[२४]

चिरफार[सम्पादन गर्नुहोस्]

केही ढाड दुख्ने समस्याका बिरामीहरूको लागि चिरफार उपयुक्त हुन्छ:

  • लम्बर डिस्क हर्निया वा डिजेनेरेटिभ डिस्क रोग
  • लम्बर डिस्क हर्नियाबाट हुने लम्बर स्पाइनल स्टेनोसिस, डिजेनेरेटिभ ज्वाइन्ट रोग वा स्पोन्डाइलोलिस्थेसिस
  • स्कोलिओसिस
  • कम्प्रेसन फ्राक्चर

ढाड दुख्ने समस्याको उपचारका उपायहरू मध्ये चिरफार अन्तिम विकल्प हो। ढाडको समस्यामा उपचारका अन्य सबै विधी अपनाएर सकिएपछि वा आकस्मिक परिस्थितीमा मात्र चिरफारको सल्लाह दिइन्छ। सन् २००९ मा गरिएको एउटा ढाड दुख्ने समस्याको प्रक्रियागत पुनरावलोकन अध्ययनले केही निश्चित अवस्थाहरूमा अन्य सामान्य उपचारहरूभन्दा चिरफार नै उपयुक्त भएको निष्कर्ष निकालेको थियो। तर चिरफारले भएको फाइदा धेरै समयसम्म टिक्न सकेन।[२५]

ढाड दुख्ने समस्याको सल्यक्रिया गर्दा डिसेटोमी, स्पाइनल फ्युजन, लेमिनेक्टोमी, ट्युमर हटाउने तथा भर्टेब्रोप्लास्टी जस्ता विधीहरू अपनाइन्छन्। ढाड दुख्ने समस्याको अवस्था हेरेर यसको उपचारका लागि विभिन्न खाले सल्यक्रियाका विधी प्रयोग गरिएको पाइन्छ। जस्तै: नसा च्यापिएको निकाल्ने, शरीरका विभिन्न भागहरूको समायोजन तथा नमिलेको शारीरिक संरचना मिलाउने आदि। पहिलो किसिमको सल्यक्रिया खास गरी नसाको समस्याबाट पिडीत धेरै उमेरका बिरामीहरूको लागि गरिन्छ। हाडका टुक्राहरूको समायोजनलाई स्पाइनल फ्युजन (मेरुदण्डीय समायोजन) भनिन्छ। यो प्रकृयामा दुई वा दुईभन्दा बढी हाडका टुक्राहरूलाई धातुको तारको मद्दतले जोडिन्छ। पछिल्लो प्रकारको सल्यक्रिया प्रायजसो जन्मिने बेलादेखि नै बिग्रिएको तथा कुनै दुर्घटनामा परी अंगभंग भएको अवस्थामा गरिन्छ। केही अवस्थाहरूमा हाडका ससाना टुक्रा हटाउने तथा मेरुदण्डलाई आडलगाउने सल्यक्रियालाई पनि विकृत शारीरिक संरचना मिलाउने सल्यक्रिया नै भन्ने गरिन्छ। इन्टरभर्टिब्रल डिस्कमा भएको सामान्य क्षतिमा क्षतिग्रस्त डिस्कको फाइबरस न्युक्लियस हटाउने सल्यक्रिया गरिन्छ। यो विधी अति छिटो (मात्र केही दिन) आराम दिलाउने विधी हो।[२६]

इन्टरभर्टिब्रल डिस्कमा हर्निया भएमा वा च्यातिएमा डाइसेक्टोमी गरिन्छ। यस्तो सल्यक्रियामा बाहिर निस्किएर नसामा दबाब दिने डिस्कको एक भाग वा पूरै हटाउने गरिन्छ।[२७] डाइसेक्टोमी गर्दा नसामा दबाब दिइरहेको इन्टरभर्टिब्रल डिस्कको भागलाई त्यसको नजिकै सानो प्वाल पारेर निकालिन्छ। यस्तो खालको सलियक्रियाको छ हप्ताभित्र बिरामी सामान्य अवस्थामा आउँछ। इन्डोस्कोपको प्रयोग गरेर हाडका साना टुक्रालाई हटाउन प्रयोग गरिने यो विधीलाई पर्क्युटानिअस डिस्क रिमुभल भनिन्छ।

लामो अवधिको ढाड दुख्ने समस्या[सम्पादन गर्नुहोस्]

तीन महिनासम्म ढाड दुख्ने समस्याले ग्रस्त मानिसहरूलाई शारीरिक, मानसिक तथा सामाजिक समस्या आउने खतरा हुन्छ। यस्ता व्यक्तिहरूलाई समयमै विभिन्न प्रविधि तथा ज्ञानको प्रयोग गरी उपचार गरिएमा पीडा कम गर्न तथा अपाङ्ग हुनबाट बचाउन सकिन्छ। यस्तो उपचारमा संयुक्त रूपमा शारीरिक, मानसिक तथा शैक्षिक विशेषज्ञहरूको समूहबाट गरिने परामर्श तथा उपचार सम्लग्न हुन्छन्। फरक-फरक विधाका विशेषज्ञहरूको सम्लग्नतामा गरिने यस्ता खालका उपचार महंगा तथा पीडा केन्द्रित हुन्छन्। यस्तो उपचार अति धेरै पीडा दिने र जटिल समस्यामा उपयुक्त हुन्छ।[२८]

लामो अवधिको ढाड दुख्ने समस्या भएका मानिसहरू धेरै हिँडडुल गर्न नसक्ने र/वा छोएको थाहपाउन नसक्ने पनि हुन सक्छ। पीडाले निरन्तरता पाएर जटिल बन्नु वा केही खतराका संकेतहरू देखा पर्नु विभिन्न गम्भीर अवस्थाका सूचक हुन्। यस्तो अवस्थामा थप परीक्षणको सल्लाह दिइन्छ। खतराका सङ्केत भन्नाले कमजोरी, निदाउने वा झन्झनाउने, ज्वरो, तौल घट्ने वा मलाशय र/वा मुत्राशयको नियन्त्रणमा समस्या देखा पर्ने आदि हुन्।

गर्भावस्था[सम्पादन गर्नुहोस्]

गर्भावस्थामा रहेको बेलामा करीब ५०% महिलाहरूले ढाडको तल्लो भाग दुख्ने समस्या महशुस गर्छन्।[२९] गर्भावस्थामा ढाड दुख्ने समस्याले अति पीडा दिन पनि सक्छ। साथै यसले अपाङ्गता पनि गराउन सक्छ र अर्को पल्टको गर्भावस्थाका लागि पनि ढाड दुख्ने समस्या निम्ताउने गर्दछ। गर्भावस्थामा हुने ढाड दुख्ने समस्याले आमाको तौल बृद्धि, कसरत, कामको सन्तुष्टी, बच्चाको तौल, गर्भको समयावधि तथा अप्गर स्कोरमा कुनै प्रत्यक्ष असर पारेको पाइएको छैन। गर्भवती भएको बेलामा महिलाको शारीरिक संरचनामा हुने परिवर्तनले पनि ढाडको तल्लो भाग दुख्ने समस्या निम्त्याउने गर्दछ।

गर्भावस्थामा शरीरमा हुने संरचनागत परिवर्तनले पनि तल्लो ढाड दुख्ने समस्या देखापर्छ। पेटको आकार बढ्नु, मेरुदण्डको लम्बरको बाङ्गोपना र पेटको गोलाइको तालमेल नमिल्नु आदि ढाड दुख्ने समस्याका कारक तत्व रहेको पाइएको छ। यस्तो अवस्थामा लामो समयसम्म उभिनु, बस्नु, हिड्नु, अगाडितिर झुक्नु, गह्रुङ्गो सामान उचाल्नु आदिले ढाड दुख्ने समस्यालाई झन जटिल बनाउँछन्। गर्भावस्थामा हुने ढाडदुख्ने समस्यालाई यसको प्रकृति अनुसार पनि वर्गीकरण गरिएको पाइन्छ। जस्तै: तिघ्रा र फिलासम्म सर्ने पीडा, रातमा निन्द्राबाट बिउँझाउने पीडा, रातमा बढ्दै जाने खालको पीडा वा दिनमा बढ्दै जाने खालको पीडा। कडा परिश्रम, भारी बोक्ने र यसमा पनि शरीरको एकातिर मात्र भार पर्ने कामहरू जस्तै: भारी बोक्दा अति ढल्किने, एक खुट्टालाई मात्र भार पर्ने गरी उभिने, भर्याङ चढ्ने तथा ढाडको तल्लो भाग वा कम्मरमा जोड पर्ने गरी लगातार शरीर चलाउने आदिबाट टाढा रहन सके पीडा रोक्न सकिन्छ। घुँडा नबङ्गाइ निहुरिनाले गर्भवती भएको बेलामा मात्र नभएर सामान्य अवस्थामा पनि ढाडको तल्लो भागमा गम्भीर असर पर्छ। यस्तो भएमा मेरुदण्डको लम्बरदेखि स्याक्रल भागसम्मको क्षेत्रमा क्षति पुग्न जान्छ र पीडा महशुस हुन्छ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

ढाड दुख्ने समस्याका कारण बिरामी बिदा लिएपछि कामदारको कमी हुने हुनाले विश्वभरका सरकारहरूले यसलाई उत्पादकत्वमा असर पार्ने प्रमुख तत्वको रूपमा लिने गरेको पाइन्छ। अस्ट्रेलिया तथा बेलायत जस्ता केही राष्ट्रले यो समस्यासँग लड्न नागरिक सचेतना अभियान नै चलाउने गर्छन्। स्वास्थ्य तथा सुरक्षा कार्यकारीको बेटर ब्याक अभियान यसको उदाहरण हो। अमेरिकामा ढाडको तल्लो भाग दुख्ने समस्याले अर्थतन्त्रमा पार्ने असरबारे गरिएको एक अध्ययनले यो समस्या ४५ वर्षभन्दा मुनिका मानिसहरूलाई नियमित काम गर्न नसक्ने बनाउने प्रमुख कारण भएको पाएको थियो। त्यस्तै मानिसहरूले चिकित्सकको कार्यालयमा दर्ता गराउने समस्या मध्ये दोस्रो स्थानमा, अस्पताल भर्ना हुनुपर्ने कारणहरू मध्ये पाँचौं स्थानमा र सल्यक्रिया गराउनु पर्ने कारणहरू मध्ये तेस्रो स्थानमा ढाड दुख्ने समस्या रहेको पाइयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. A.T. Patel, A.A. Ogle. "Diagnosis and Management of Acute Low Back Pain" वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-२६ मिति. American Academy of Family Physicians. Retrieved March 12, 2007.
  2. Manchikanti, L; Singh, V; Datta, S; Cohen, SP; Hirsch, JA; American Society of Interventional Pain, Physicians (Jul–Aug २००९), "Comprehensive review of epidemiology, scope, and impact of spinal pain.", Pain physician 12 (4): E35–70, पिएमआइडी 19668291 
  3. Institute for Health Metrics and Evaluation. "2010 Global Burden of Disease Study"
  4. King W (२०१३), Encyclopedia of pain, Springer Reference। 
  5. ५.० ५.१ editors, Siegfried Mense, Robert D. Gerwin, (२०१०), Muscle pain : diagnosis and treatment (Online-Ausg. संस्करण), Heidelberg: Springer, पृ: 4, आइएसबिएन 978-3-642-05467-9 
  6. Vanwye, WR (अगस्ट २०१०), "Nonspecific low back pain: evaluation and treatment tips.", The Journal of family practice 59 (8): 445–8, पिएमआइडी 20714454 
  7. al., editors, Curtis W. Slipman ... [] ; associate editors, Larry H. Chou ... et (२००८), Interventional spine : an algorithmic approach, Philadelphia, PA: Saunders Elsevier, पृ: 13, आइएसबिएन 978-0-7216-2872-1 
  8. "Back Pain", ३ मे २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन १८, २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ६ मे २०११ मिति
  9. ९.० ९.१ Bogduk N (२००५), Clinical anatomy of the lumbar spine and sacrum (4th संस्करण), Edinburgh: Churchill Livingstone, आइएसबिएन 0-443-06014-2 
  10. "Back Pain Information Page: National Institute of Neurological Disorders and Stroke (NINDS)", Ninds.nih.gov, २०१०-०५-१९, ६ जुन २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०६-०२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  11. ११.० ११.१ *Consumer Reports; American College of Physicians; Annals of Internal Medicine (अप्रिल २०१२), "Imaging tests for lower-back pain: Why you probably don't need them.", High Value Care (Consumer Reports), अन्तिम पहुँच २३ डिसेम्बर २०१३ 
  12. French S, Cameron M, Walker B, Reggars J, Esterman A (२००६), "A Cochrane review of superficial heat or cold for low back pain", Spine 31 (9): 998–1006, डिओआई:10.1097/01.brs.0000214881.10814.64, पिएमआइडी 16641776 
  13. van Tulder M, Touray T, Furlan A, Solway S, Bouter L (२००३), "Muscle relaxants for non-specific low back pain.", Cochrane Database Syst Rev (2): CD004252, डिओआई:10.1002/14651858.CD004252, पिएमआइडी 12804507 
  14. Deshpande A, Furlan AD, Mailis-Gagnon A, Atlas S, Turk D. Opioids for chronic low-back pain" Cochrane Database of Systematic Reviews 2007, Issue 3. Art. No.: CD004959. doi:10.1002/14651858.CD004959.pub3 PMID 17636781
  15. Roelofs PDDM, Deyo RA, Koes BW, Scholten RJPM, van Tulder MW (२००८), "Non-steroidal anti-inflammatory drugs for low back pain.", Cochrane Database Syst Rev (1): CD000396, डिओआई:10.1002/14651858.CD000396.pub3, पिएमआइडी 18253976 
  16. Staal JB, de Bie R, de Vet HCW, Hildebrandt J, Nelemans P (२००८), "Injection therapy for subacute and chronic low-back pain", Cochrane Database Syst Rev (3): CD001824, डिओआई:10.1002/14651858.CD001824.pub3, पिएमआइडी 18646078 
  17. Heymans M, van Tulder M, Esmail R, Bombardier C, Koes B (२००४), "Back schools for non-specific low-back pain.", Cochrane Database Syst Rev (4): CD000261, डिओआई:10.1002/14651858.CD000261.pub2, पिएमआइडी 15494995 
  18. १८.० १८.१ Furlan AD, Imamura M, Dryden T, Irvin E (२००८), "Massage for low-back pain.", Cochrane Database Syst Rev (4): CD001929, डिओआई:10.1002/14651858.CD001929.pub2, पिएमआइडी 18843627 
  19. Hayden J, van Tulder M, Malmivaara A, Koes B (२००५), "Exercise therapy for treatment of non-specific low back pain.", Cochrane Database Syst Rev (3): CD000335, डिओआई:10.1002/14651858.CD000335.pub2, पिएमआइडी 16034851 
  20. Malmivaara A, Häkkinen U, Aro T, Heinrichs M, Koskenniemi L, Kuosma E, Lappi S, Paloheimo R, Servo C, Vaaranen V (१९९५), "The treatment of acute low back pain—bed rest, exercises, or ordinary activity?", N Engl J Med 332 (6): 351–5, डिओआई:10.1056/NEJM199502093320602, पिएमआइडी 7823996 
  21. Sarno, John E. (१९९१), Healing Back Pain: The Mind-Body Connection, Warner Books, आइएसबिएन 0-446-39230-8 
  22. Henschke N, Ostelo RWJG, van Tulder MW, Vlaeyen JWS, Morley S, Assendelft WJJ, Main CJ (२०१०), "Behavioural treatment for chronic low-back pain", Cochrane Database Syst Rev (7): CD002014, डिओआई:10.1002/14651858.CD002014.pub3, पिएमआइडी 20614428 
  23. Levin, JH (अगस्ट २००९), "Prospective, double-blind, randomized placebo-controlled trials in interventional spine: what the highest quality literature tells us.", The spine journal : official journal of the North American Spine Society 9 (8): 690–703, डिओआई:10.1016/j.spinee.2008.06.447, पिएमआइडी 18789773 
  24. Rupert, MP; Lee, M; Manchikanti, L; Datta, S; Cohen, SP (२००९), "Evaluation of sacroiliac joint interventions: a systematic appraisal of the literature.", Pain physician 12 (2): 399–418, पिएमआइडी 19305487 
  25. Chou R, Baisden J, Carragee EJ, Resnick DK, Shaffer WO, Loeser JD (२००९), "Surgery for low back pain: a review of the evidence for an American Pain Society Clinical Practice Guideline", Spine 34 (10): 1094–109, डिओआई:10.1097/BRS.0b013e3181a105fc, पिएमआइडी 19363455 
  26. Burke, G.L., "Backache from Occiput to Coccyx वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१४ मिति" Chapter 9
  27. "Surgery For Back Pain", अन्तिम पहुँच जुन १८, २०१० 
  28. Steven J Kamper,Andreas T Apeldoorn, Alessandro Chiarotto, Rob J.E.M. Smeets, Raymond WJG Ostelo, Jaime Guzman, Maurits W van Tulder (२ Sep २०१४), Multidisciplinary biopsychosocial rehabilitation for chronic low back pain, The Cochrane Library, डिओआई:10.1002/14651858.CD000963.pub3 
  29. Ostgaard HC, Andersson GB, Karlsson K (मे १९९१), "Prevalence of back pain in pregnancy", Spine 16 (5): 549–52, डिओआई:10.1097/00007632-199105000-00011, पिएमआइडी 1828912