नेपाली समाजमा महिलाहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुदूर पश्चिमकी महिला आफ्नो भेषभुषामा
सुदूपश्चिमका महिलाको अवस्था

नेपाली समाज हिन्दू धर्म वा आर्य संस्कृतिमा आधारित समाज हो । यो समाजमा परिवारको मूली प्राःय पुरुषहरु मात्रै हुने गर्दछन् । हिन्दू धर्मको प्रमुख आधिकारिक ग्रन्थ वेदमा महिलाहरुलाइ भेदभाव हुने किसिमको कुनै कुरा उल्लेख गरिएको पाइँदैन । वैदिक कालमा महिलाहरुलाइ पनि पुरुषसरह समान अधिकार प्राप्त थियो । उतिबेलाको समाजमा वेदविज्ञ महिलाहरुलाइ ब्रह्मवादिनी भनिन्थ्यो । गार्गी, मैत्रेयी ,अश्वपाला आदी वैदिक कालकी प्रसिद्घ ब्रह्मवादिनीहरु थिइन् ।

  • “यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता”

अर्थात् जहाँ नारीहरुको पूजा हुन्छ, त्यहाँ देवताहरु पनि रमाउँछन् भनेर शास्त्रहरुले पनि नारीको महिमा गाएका छन् । तर मध्ययुगमा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको शुरुवात भयो, त्यसैगरी नारी प्रति पनि विभेद गरिन थालियो । धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरु प्रति भेदभाव गरिएको यसै मध्ययुग देखि चलि आएको पाइन्छ ।

विभेद मूलक कार्यहरु[सम्पादन गर्ने]

महिलाहरु शारीरिक र शक्तिका दृष्टिले पुरुषभन्दा कमजोर हुने हुनाले पनि यो पुरुष प्रधान समाजले उनीहरुलाई घरधन्दाको साथै बाहिरी कामको समेत जिम्मेवारी थपेको हुन सक्छ । नेपालमा महिलाहरु प्रति विगत सयकडौं वर्ष देखि गरिदै आएका विभेद मूलक कार्यहरु यसप्रकार छन् :-

  • महिलाले पतिको मृत्यु पछि सती जानु पर्ने, तर पुरुषले जानु नपर्नेे ।
  • पुरुषले अर्की श्रीमती ल्याउँन पाउने, तर महिलाले अर्को पुरुष संग लाग्न नपाउने ।
  • महिलालाइ सन्तान पैदा गर्ने साधनको रुपमा मात्रै लिने ।
  • अचल सम्पत्ति, जायजाद आदी पुरुषको नाममा मात्रै दर्ता हुने तर महिलाको नाममा नहुने ।
  • महिनावारी हुँदा अलग्गै वा छाउपडी गोठमा बस्नु पर्ने वाध्यता ।
  • महिलाहरुले बाल–बच्चाहरुको स्याहार–सुसार गर्ने, बच्चा हुर्काउने, खाना बनाउने ,बाल–बच्चाहरुलाइ खाना खुवाउने , भाडा माझ्ने, वस्तुभाउ हेर्ने, खेती–बाली गोडमेल गर्ने, बिउ रोप्ने, बुढा–बुढीलाई स्याहार सुसार गर्ने समेत गर्दछन् । यस्ता कामहरुमा पुरुषहरुको उपस्थिति भए पनि सहभागिता भने प्राःय हुँदैन । यस्ता विभेदले गर्दा महिलाहरु लाइ कहिल्यै फुर्सत नहुने तर पुरुषहरु लाई भने फुर्सतै–फुर्सत हुने ।
  • धेरै जसो परिवारहरुमा, अहिले पनि महिलाहरु परिवारका सम्पूर्ण पुरुष सदस्यहरुले खाना खाइसके पछि मात्र खाना खान्छन् । यो पनि महिला प्रति गरिने विभेद मूलक कार्य हो ।
  • सुदूर पश्चिमका दुर्गम जिल्लाका नव विवाहित बुहारीहरु अँझै पनि मध्य युगीन दाश प्रथाको जस्तै परिवेशमा जीवन यापन गरिरहेकी छिन् ।
  • शिक्षामा पनि विभेद जस्तै : छोरालाइ स्कूलमा पठाउँने तर छोरीलाइ घरको काममा लगाउने, त्यसैगरी तराइ तिर छोरा लाइ निजी स्कूलमा र छोरीलाइ सरकारी स्कूलमा पढाउने ।
  • विभिन्न कलकारखाना र उद्योगहरुमा पनि महिलाहरुलाई निम्न स्तरको पारश्रमिक दिने र मामुली काममा लगाउने आदी गरिनु ।
  • छोरीको विवाह गर्दा केटा पक्षले मागे जतिको दाइजो दिनै पर्ने वाध्यता, दिन नसके ज्यानै गुमाउनु पर्ने सम्मको अवस्थाको सृजना हुने । विकृत भारतीय शैलीमा आधारीत यो स्थिति कती सम्म भयावह छ भन्ने कुरा यो लिंकमा क्लीक गरेर हेर्न सकिन्छ ।[१] नेपालमा यो मामिलामा अँझैं पनि विशेष गरेर तराइका जिल्लाहरूमा महिलाहरुले ज्यान गुमाउने क्रम रोकिएको छैन । [१]
  • महिला हिंशाको चरम नमुनाको रुपमा रहेको अर्को उदाहरणहो मध्य तथा सुदुर पश्चिमका महिलाहरुको छाउपडि प्रथा । यहाँका महिलाहरुलाइ रजस्वलाका भएका बेला छुट्टै गोठमा राखिन्छ । साथसाथै घरमा प्रयोग गर्दै आइरहेका रजाइ गद्दा, कम्बल, तकिया इत्यादी प्रयोग गर्न दिइदैन । त्यती बेलाका लागी भनेर अलग्गै ओड्ने-ओछ्याउने बनाइएका हुन्छन् । जुन अत्यन्तै घटिया किसिमका हुन्छन् । यसले गर्दा चीसोको मौसममा अत्यधिक ठंडि हुने हुनाले कैयौं महिलाहरुको स्वास्थ्य बिग्रनुका साथै मृत्युसमेत भएको छ । यो प्रथा विशेष गरेर आछाम जिल्लामा छ । यस्ता छाउपडि गोठमा बसेका बेला महिलाहरु बिमारी परेकी छिन् ,मरेकी छिन् ,तथा बलत्कृत भएकी छिन् । [२] [२]
छाउपडि गोठबाट बाहीर आउँदै सुदूरपश्मिकी महिला

वर्तमान अवस्था[सम्पादन गर्ने]

सती प्रथाको उन्मूलन भए संगै नेपालमा महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि पर्याप्त काम भएको पाइन्छ । जसको फलस्वरुप वर्तमानमा भएको परिवर्तन प्रत्यक्ष देख्न सकिन्छ । हाल आएर उल्लेख्य संख्यामा नेपाली महिलाहरु शिक्षित भएकी छिन् । यहाँका महिलाहरु शिक्षा ,सेना, प्रहरी, निजामतीमा मात्रै नभएर वैदेशिक रोजगारीमा समेत आफ्नो योगदान दिइरहेकी छिन् । विगतको दाशताको घोर युगबाट समय सापेक्ष परिवर्तन भइ एक्कीसौं शताब्दी महिलाहरुको सर्वाङ्गीण विकासको लागि सुनौलो मौकाको रुपमा फलिफाप हुने निश्चित छ । अझै पनि महिलाहरुको अधिकारको लागि पर्याप्त कार्य गर्नु बाँकी छ । जो कार्य गरिएका छन् । ती प्रशंसा योग्य छन् । नेपाल अधिराज्यको नव निर्मित संविधान २०७२ को भाग ३ को धारा ३८ मा ‘महिलाहरुको मौलिक हक कर्तव्य’ का कुराहरु यस प्रकार उल्लेख गरिएका छन् । [३]

  • प्रत्येक महिलालाइ लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ ।
  • प्रत्येक महिलालाइ सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धी हक हुनेछ ।
  • महिला विरुद्घ धार्मिक सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य , मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा जन्यकार्य वा शोषण गरिने छैन, यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडित लाइ कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
  • राज्यका सवै निकायमा महिलालाइ समानुपातिक समावेशी सिद्घान्तको आधारमा सहभागी हुने हक हुने छ ।
  • महिलालाइ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा अवसर प्राप्त गर्ने हक हुनेछ ।
  • सम्पित्त तथा पारिवारिक मामिलामा दम्पत्तीको समान हक हुने छ ।

गरीनुपर्ने सुधारका कार्यहरु[सम्पादन गर्ने]

नेपालमा महिलाहरुको अवस्था र स्थितिलाई नियालेर हेर्दा महिलाहरु पुरुषभन्दा धेरै पछाडि छन् भन्ने कुरा उनिहरुको शैक्षिक स्तर, राजनीतिमा भएको सहभागिता, सरकारी वा अन्य जुनसुकै सेवाक्षेत्रमा भएको सहभागिता, स्कूलहरुमा छात्राहरुको संख्या आदि कुराहरुबाट थाहापाउन सकिन्छ । जसरी महिलाहरुलाई प्रकृतिले शारीरिक रुपमा अतिरिक्त जिम्मेवारी दिएको छ, त्यस्तै गरी कानुन र समाजले पनि उनिहरुलाइ उपयुक्त संरक्षण दिन सक्नु पर्दछ । कुनै काम गर्न महिला सक्षम भए ,महिलाले त्यस्तो काम गर्न हुँदैन भनि रोक्नु हुँदैन । प्रकृतिले नै महिलाहरुलाई पुरुषहरुभन्दा शारीरिक रुपमा कमजोर बनाएकोले, यसलाई विशेष ध्यानमा राखी उनीहरुलाई विभेद गर्नु हुँदैन, संरक्षण र सुविधा प्रदान गर्न सकिएमा मात्रै राष्ट्रको समग्र विकास हुन सक्छ ।

  • महिलाहरु लामो समयसम्म प्रवासमा रहँदा धेरैजसो श्रीमान्–श्रीमती बीचको सम्बन्धमा चिसोपन आएको देखिन्छ । एक पुरुष चाहे आधा उमेरसम्म घर देखि बाहिर बसेर आए पनि ऊ चोखो हुन्छ । उसलाई कसैले शङ्कासम्म पनि गर्दैन, तर महिलाहरु वैदेशिक रोजगारबाट घर फर्किँदा घरपरिवारले र समाजले उसको चरित्रमाथि नै औँला उठाउने गर्दछन् । वैदेशिक रोजगारमा जाने केही महिलाहरुका श्रीमान र श्रीमती बीच राम्रो सम्बन्ध रहे पनि अधिकांश महिलाहरुको पारिवारिक विखण्डन भईरहेको छ । दुःख गरेर कमाएको पैसा कतिपय महिलाहरुले आफ्नो श्रीमानलाई विश्वास गरेर पठाउँदा श्रीमानले अर्को विवाह गर्दै पैसा पनि हिनामिना गरेर वैदेशिक रोजगारमा गएकी श्रीमतीलाइ विचल्लीमा पारेका छन् । त्यसैले महिलाहरुलाइ वैदेशिक रोजगारमा पूर्ण प्रतिवन्ध लगाउनु पर्दछ । त्यसको सट्टा राज्यले स्वदेशमै केही रोजगारीको व्यवस्था मिलाइदिनु पर्दछ । किनभने शास्त्रमा समेत भनिएको छ की
  • परेण रक्षिता नारी न भवेच्च पतिव्रता[४]

अर्थात अरुको संरक्षणमा रहेकी नारीहरु आफ्नो अस्तीत्वलाइ बचाउन असमर्थ हुन्छन् । त्यसैले सेवाका सवै क्षेत्रमा जातिगत आरक्षण नभई महिला आरक्षणको व्यवस्था भएमा महिलाहरुले उपर्युक्त किसिमका शारीरिक र यौन उत्पीडनहरु भोग्नु पर्ने अवस्था आउँदैन थियो।

  • शिक्षा, निजामती सेवा, मजदुरी इत्यादी सेवा कार्यमा लागेकी महिलाहरुले आफ्ना बालबच्चाहरुलाई लामो समयसम्म छोडेर टाढा रहँदा बालमनोविज्ञानमा समेत असर पर्न सक्छ र उनिहरु कुलतमा लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले महिलाहरुले काम गर्ने ठाउँमा वाल–वच्चाहरुको रेखदेख गरिने व्यवस्था हुनु पर्दछ ।
  • महिलाहरुले भारतको जस्तै उच्चशिक्षा निःशुल्क पढ्न पाउनु पर्दछ । भारतको मध्य प्रदेस र उत्तर प्रदेश लगायतका राज्यहरुमा छोरी जन्मे लगत्तै सरकारले उसको खातामा प्रतिवर्ष रु.६००० जम्मा गर्ने गर्दछ । यो सुविधा दुईओटा भन्दा बढी छोरी नहुनेलाइ मात्रै दिइन्छ । त्यो पैसा उमेर बढे सँगै छोरीको पढाइ इत्यादीमा खर्चहुने प्रावधान गरिएको छ । यसले जनसङ्ख्या नियन्त्रण र महिला शिक्षामा उल्लेख्य टेवा दिएको छ । [५] नेपालमा पनि यो व्यवस्था ल्याउन सके यस्तो सुविधाले छोरीको विवाह गर्न सहज हुने थियो तथा कन्या भ्रुण हत्यामा समेत नियन्त्रण हुन सक्ने थियो । भारतको मध्यप्रदेस र उत्तर प्रदेश लगायतका राज्यहरुमा सरकारले छोरी कक्षा ६ र ९ मा प्रवेश गरे संगै नयाँ साइकिल पनि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ | नेपालमा पनि सो व्यवस्था ल्याउँन सके नारी शिक्षाको उत्थान र सहभागीतामा पर्याप्त टेवा पुग्ने थियो । [६]
  • अहिलेको मौलाउँदो महिला हिंसाको प्रकार भनेको दाइजोप्रथा हो । यसले नेपालका तराइका जिल्लाहरू ,विशेष गरेर मधेसी जिल्लाहरूमा विकराल रुप लिइसकेको छ । नेपालमा पहाडिया समुदायमा खासै प्रवेश नगरेको यो प्रवृत्तीलाइ नियन्त्रण गर्न समयमै कडा कानुन बन्नु पर्दछ । नत्र यसले भारतमा भएजस्तै उग्ररुप लिने निश्चीत छ ।
  • महिलाहरुले गर्ने गरेका घर गृहस्थीजन्य साना–ठूला सबै कार्यमा पुरुषहरुको समेत सहभागीता र सहयोग भएमा पुरुष र महिला विचको कार्यगत विभेद रहने छैन र घर गृहस्थी सुन्दर सुखद र सुमधूर बन्न सक्नेछ ।
अन्तमा महिला र पुरुष भनेका एकरथका दुई पाङ्ग्रा हुन् । दुबैको कार्य प्रतिको जिम्मेवारी बोधले मात्रै पारिवारिक जीवन सुमधुर रुपमा संचालन हुन सम्भव छ । त्यसैले विना भेदभाव दुबै थरीले आ– आफ्ना जिम्मेवारीहरु निर्वाह गरी आफ्नो गृह संसार लाइ सफल  सुखद र सुकिलो बनाउने प्रयत्न गर्नु पर्दछ । समग्रमा नारी पुरुषहरुकी रमणी मात्र नभएर जननी पनि हुन् । जसको अभावमा कुनै पनि मानिसको गार्हस्थ्य जीवन अपूर्ण र अप्रिय हुन्छ । त्यसैले नारी प्रति हामी सबैले श्रद्घा स्नेह र सम्मानको भाव राखेर व्यवहार गर्नु पर्दछ । श्रीमद्भागवतमा समेत यस्तो भनिएको छ – 
  • “न गृहं गृहमित्याहु , गृहिणी गृह मुच्यते”[७]

अर्थात भौतिक घर, घर होइन , गृहिणी नै सच्चा घर हो । अस्तु ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. cijnepal
  2. meroreport
  3. नेपालको संविधान २०७२
  4. चाणक्य निति
  5. http://www.mp.gov.in/impschemes लाड़ली लक्ष्मी योजना
  6. http://www.educationportal.mp.gov.in/Cycle/public/Cycle_Main.aspx
  7. श्रीमद्भागवत महापुराण

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]