पानी घट्ट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपालको रुकुममा प्रयोग भएको पानी घट्ट

पानी घट्ट पानी बाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र हो जसको प्रयोग बाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। विषेश गरि नेपालको ग्रामिण इलाकामा यसको प्रयोग हुन्छ। पानी घट्ट प्राचिनकाल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। ग्रीक भूगोलवीद स्ट्राबोका अनुसार सन् ७१ बीसीमा एसिया माइनरमा क्याबिराका राजा मिथराडेटस युपेटरको दरवार नजीकै पानी घट्टको प्रयोग भएको थियो। बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्छ र यही घुमाईसंगै यसले अन्नका दानाहरूलाई पिसेर धुलो बनाउनेगर्दछ।

दैलेखमा चल्ने पानीघट्ट

घट्ट पानीबाट चल्ने घरेलु यन्त्र हो। पानीलाई अग्लो ठाउँबाट काठको डूँडमार्फत छाँगो बनाई त्यसले हिर्काएपछि घुम्नेगरी पानीघट्टको मदानी राखिएको हुन्छ। मदानी घुमेपछि घट्टमा जोडिएको ढुंगाको जाँतो चल्नथाल्छ र अन्न पिस्न थाल्छ। अन्न निरन्तर खस्नको लागि यसको माथि सोली अथवा कोठो राखिएको हुन्छ। सोलीमा अन्न खन्याइन्छ र अन्न सोलीबाट सोलीको मुखमा भएको धारा हुँदै घट्टमा खस्दछ। सोलीबाट अन्न खस्नको लागि सोलीमा कम्पनको आवाश्यकता हुन्छ। यसको लागि सोली र घट्टको माथिल्लो फक्लेटोमा कटकटे अथवा चरो जोडिएको हुन्छ। अचम्मको कुरा के छ भने घट्टमा पिस्न लिएको अन्नमा घुन छ भने अन्न पिसेर मसिनो पिठो भएर आउँछ भने घुन जिउँदै आएको देखिन्छ। नेपालको पश्चिम तिर घुन र घट्टको मामा भान्जाको नाता पर्दछ यसैले घट्टले घुनलाई केही न गरेर बाहिर निकाल्छ जुन दिन घट्टले घुन पिस्ने छ त्यो दिन पृथ्वी पापले डुब्ने छन् भन्ने भनाई रहेको छ। गाउँघरमा मकै, कोदो, फापर, गहूँ,चामल आदि अन्नबाली पिस्नका लागि पानीघट्टको प्रयोग अझैसम्म भैरहेको पाइन्छ। घट्ट चलाउने व्यक्तिलाई घटेरो भनिन्छ। अन्न पिसेबापत घटेरोले त्यही अन्नबाट निश्चित मात्रा लिएर जीविकोपार्जन गर्ने गर्दछ। लो-टेक् का रूपमा पानीघट्ट चलाउन कुनै कुनै विदेशी दातृसंस्थाहरूले अलिअलि लगानी गर्न थालेका छन्।