पोर्टल:अर्थ तथा वाणिज्य/परिचय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आकार द्वारा संसारमा अर्थशास्त्रको नक्शा

अर्थशास्त्र अर्थ अथवा आर्थिक कारोबार सम्बन्धीको शिक्षा दिने एक बिषय (शास्त्र) हो । अर्थशास्त्रको अङ्ग्रेजी समानान्तर शब्द इकोनोमिक्स हो । यो ग्रीक शब्द ओइकोनोमियाबाट बनेको छ । जसको अर्थ हुन्छ– घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर सन् १७७६ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । वेल्थ अफ् नेशन्स पुस्तकका रचनाकार एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरीका खोजी गर्नेे शास्त्र भनेका हुन् । पछि विद्वान्हरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे । उन्नाइसौं शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्र नामले यस विषयको सम्पूर्ण क्षेत्र समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको पनि अध्ययन गरिन्छ तर यस्ता कुराहरूको राजनीतिसंग बहुधा कुनै सम्बन्ध हुँदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्नु उचित ठाने । यसरी वेल्थ अफ् नेशन्सदेखि सोशल इकोनोमिक्ससम्म विविध नामले सम्बोधित गरिएको यस विषयलाई बीसौ शताब्दीमा इकोनोमिक्स अर्थात् अर्थशास्त्र भन्ने प्रचलन भयो । यद्यपि इकोनोमिक्स नामलाई प्रचलन गराउने श्रेय नवशास्त्रीय अर्थशास्त्री प्रोफेसर मार्शललाई जान्छ तर उनी आफैंले भने राजनीतिक अर्थशास्त्र र अर्थशास्त्र दुवैलाई पर्यायवाची मानेका छन् ।