बिचौलिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाल बारले २०६४ मा 'क्वाइन' गरेको यो शब्दलाई सर्वोच्च अदालतका चार न्यायाधीशले २०६६ मा 'वैधानिकता' दिएपछि प्रयोगमा व्यापकता पाएको हो । यद्यपि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको बृहत् शब्दकोशमा यो शब्द र यसको अर्थ भेटिंदैन । तर न्यायाधीश, कानुन व्यवसायी र अदालत परिसर घुम्नेहरूले शब्दलाई खुबै बढावा दिएका छन् ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीका शब्दमा, 'न्यायाधीश र झगडियाबीच 'मिलाउँछु' भनी लेनदेनमा संलग्न हुने व्यक्तिलाई बिचौलिया भनिन्छ । अर्थात् यिनीहरू न्यायाधीश र झगडिया बीचका सम्पर्क सूत्र हुन् । र बीचका खेलाडी पनि हुन् । यस्ता प्रवृत्तिका व्यक्तिहरू न्यायाधीशको घर खोज्दै आइपुग्छन् । न्यायाधीशका घरपरिवारसँग सम्पर्क बढाउँछन्, लोभ देखाउने गर्छन् । लोभिनेहरू सजिलै बिचौलियाको फन्दामा पर्छन् ।'अर्थात् 'दलाल' शब्दकै परिस्कृत रूप हो- 'बिचौलिया' ।

जब २०६४ सालमा न्यायालयमा सीडी प्रकरण सार्वजनिक भयो, तब कानुन व्यवसायीहरू तर्सिन पुगे । त्यो प्रकरणमा प्रधानन्यायाधीशकै नामसमेत जोडिएपछि कानुन व्यवसायीले न्यायिक विकृतिको अन्त्य हुनैपर्छ भन्ने ठाने । त्यसपछि उनीहरूले विृकतिको कारक खोतल्न 'न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि अध्ययन समिति' बनाएर गहिरो अध्ययनमा लागे । न्यायिक कर्मभित्र यावत पक्ष खोतली २५२ पृष्ठको प्रतिवेदन नै तयार गरे । त्यसमा ४३ पृष्ठ त बिचौलियाकै बारेमा खर्चिएको छ । तिनको रूप, चिनारी हुँदै न्यायसम्पादनमा तिनको प्रभाव, प्रवृत्तिसम्म राम्रैसँग केलाईएको छ ।

अध्ययन समितिका संयोजक वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालका अनुसार, त्यो शब्दको चयन अध्ययन समितिका सदस्य प्रकाश वस्तीले गरेका हुन् । बिचौलिया सम्बन्धी अध्ययन जिम्मेवारी वस्तीले लिए । प्रतिवेदनमा दलाल उल्लेख गर्नु अलिक नराम्रो भएपछि 'बिचौलिया' वस्तीले फुराएका हुन्- 'बीचमा बसेर चलखेल गर्ने' व्यक्तिका सन्दर्भमा । यो हिन्दीभाषीले प्रयोग गर्ने शब्द हो । न्यायालयभित्र बिचौलियाको चरम रूप देखेर नै समितिले यसबारे गहिरो अध्ययन गरेको हो ।

बिचौलिया बिगबिगी