बूढीनन्दा भगवती ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बूढीनन्दा भगवती ताल बाजुरा जिल्लाको कोल्टीमा समुद्री सतहदेखि १६ हजार फिटको उचाइमा छ। नेजारको दहसमेत भनिने यो ताल तालको किनारदेखि माथि बाह्रै महिना हिउँ जम्ने गर्दछ| तालको किनारमा रहेको सेतो स्फटिक भगवतीको मूर्तिको दर्शन र पूजा गरिन्छ। भगवती ताल सँग लहरै अन्य चारवटा ताल जोडिएका छन्। वरपर चुन घाँस र रंगीविरंगी फूलले भरिपूर्ण पाटन तथा दुर्लभ जडीबुटी, डाँफे, नावरजस्ता वन्यजन्तु हरू देख्न सकिन्छ| यो ताल प्राकृतिक रूपमा मात्रै होइन, ऐतिहासिक रूपमा समेत महत्त्वपूर्ण मानिन्छ। पौराणिककालमा महादेवले सतीदेवीको लास बोकेर पृथ्वीको परिक्रमा गर्ने क्रममा सतीदेवीको नासिका यस ठाउँमा पतन भएको स्वस्थानी पुराणमा पाइन्छ। नासिकाबाटै सुनन्दा भगवती र बूढीनन्दा भगवतीको उत्पत्ति भई शक्तिपीठमा परिणत भएको पौराणिक कथन छ।सुनन्दा भगवतीको जल बूढीनन्दा, मष्टा र धल्पुरा ताल हुँदै धौलागिरि पुगेर बड्डी खोलामा झरनाका रूपमा मिसिन्छ। बड्डी खोलामा जतिसुकै बाढी आए पनि कहिल्यै धमिलो हुँदैन, जसलाई स्थानीयहरू बूढीनन्दाको देन मान्छन्।

विश्वमै सर्वाधिक उचाईमा रहेको ताल तिलिचो पछिको विश्वकै दोस्रो उचाईमा रहेको ताल यहि नै हो| मुख्य तालको वरिपरि परिक्रमा गर्न करिब सवा घण्टा लाग्छ र यो ताल ठुला पहाडहरू बिचमा गोलो आकारमा रहेको छ |कोल्टी गाविसमा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चार दिन पैदल हिड्नु पर्दछ । बुढीनन्दा अवलोकनका लागि जाने सर्वोत्तम अवधि साउन–भदौ महिना हो । जनैपूर्णिमामा त्यहाँ भब्य मेला लाग्दछ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]