बोर्डेक्स मिक्सचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अङ्गुरका पातहरूमा बोर्डो मिश्रणको प्रयोग

बोर्डेक्स मिक्सचर वा वोर्डो मिश्रण (अङ्ग्रेजी: Bordeaux mixture) चुन (स्लेक्ड लाईम; Ca(OH)2) र नीलोतुथो (कपर सल्फेट; CuSO4) घोलेर बनाइएको घोल हो । बगैँचा, फलफूलका फार्महरूमा ढुसी जन्य जीवाणुहरूबाट बच्नका लागि बोर्डो मिश्रणको प्रयोग गरिन्छ । रोग लाग्नु अघि नै प्रयोग गरेको खण्डमा मात्र मिश्रण प्रभावाकारी हुन्छ । उन्नाइसौँ शताब्दीमा पहिलो पटक फ्रान्समा यो मिश्रण बनाइएको थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

उन्नाइसौँ शताब्दीमा युरोपमा अङ्गुरमा थुप्रै रोगहरु देखिए । बोर्डेक्स विश्वविद्यालयका वनस्पति प्रध्यापक पियर्अ-मेरी-अलेक्सीस मिल्याडर्टले सडक छेउका अङ्गुरका बोटहरू स्वस्थ देखे । त्यहाँ बटुवाहरूलाई अङ्गुरको बोटबाट विकर्षण होस् भन्ने हेतुले चुन र निलो तुथो लगाएको पाए । पियर्अले, अरनेष्ट डेबिडसँग थप अनुसन्धान पछि आफ्नो नतिजा सन् १८८५ मा प्रकाशित गरेर मिश्रणको प्रयोगको प्रोत्साहन गरे ।

फ्रान्समा वोर्डो मिश्रणलाई मिलार्डेट-डेबिड टेर्टमेन्ट पनि भनिन्छ ।

मुख्य प्रयोग[सम्पादन गर्नुहोस्]

यसको प्रयोग 'ढुसी'बाट हुने रोगहरूबाट बोटविरुवा बचाउन प्रयोग गरिन्छ । डढुवा (ब्लाईट), दादे (स्क्याब) र लाही किरा (एफिड्स) जस्ता रोग र किराहरूबाट बचाउन यसको प्रयोग गरिन्छ ।

यसलाई अर्गानिक कृषिमा प्रयोग गरिन्छ ।

बनाइने विधि[सम्पादन गर्नुहोस्]

  • १०० ग्राम चून र १०० ग्राम नीलोतुथो भिन्नै भिन्नै भाँडामा पिसिन्छ । सँगै १० लिटरको पानी पनि नापेर राखिन्छ । १% बोर्डेक्स मिक्स्चरका निम्ति एक किलो चुन, एक किलो निलोतुथो १०० लिटर पानीमा मिसाइने मात्रा हो । यसलाई बोटका जरा र काण्डमा प्रयोग गरिन्छ । ०.५% को बोर्डेक्स मिक्स्चर भने पातहरूमा बढी प्रयोग गरिन्छ । मिक्स्चरको pH न्युट्रल नै हुनुपर्छ ।
blue-green liquid in a bucket
बोर्डेक्स मिक्स्चर बनाइने क्रममा, तयार भएपछि पनि यो हल्का निलो रङको हुन्छ ।
  • चून र नीलोतुथो भिन्नभिन्न भाँडामा अलिकति पानीमा घोलिन्छ । यसलाई १० लिटर पानीमा मिसाई पुन: घोलिन्छ । यो सिधै उमेर अनुसार १-१५ बोटलाई छर्न पुग्छ ।
  • स्प्रे ट्यांकीमा भर्नलाई मसिनो कपडाद्वारा छानिन्छ ।
  • यो विषादी ताजामा नै प्रयोग गरिन्छ ।[१]
  • फलामको भाँडाहरूको प्रयोग गरिनुहुन्न ।
  • निलोतुथोलाई चुनको घोलमा मिसाइनुपर्छ नत्र यसको प्रभाव कम हुन्छ ।
  • बोर्डेक्स पेस्ट पनि उहीँ ने भएपनि यसमा पानीको मात्रा कम हुन्छ, १०० ग्राम कपर सल्फेट, २०० ग्राम चून र ३०० एमएल पानीले तयार पार्न सकिन्छ । बोटविरुवामा कुनै किसिमको चोट वा काटिएको भागमा पेष्टको प्रयोग गर्न सकिन्छ ।

पद्धति[सम्पादन गर्नुहोस्]

मिक्स्चरमा हुने (Cu2+) आयन्सले (क्युप्रिक हाइड्रोअक्साइडबाट प्राप्त हुने) ढुसीलाई हुर्कन नदिई जैविक प्रक्रियालाई असर गर्दछ । यसका निम्ति ढुसी लाग्नु भन्दा पहिलै मिक्स्चरको प्रयोग भएको हुनुपर्दछ । पानीले सजिलै पखालिन सक्ने हुनाले पनि त्यति उपयुक्त नहुन पनि सक्छ । साधारण रूपमा जाडोको समयमा मिक्स्चरको प्रयोग गर्न सकिन्छ, तर चिसो र बादल लागेको अवस्थामा प्रयोग नगर्दा नै उत्तम हुन्छ ।[२]

रासायनिक प्रक्रिया : CuSO4 + Ca OH)2= Cu(OH)2 + CaSO4

जोखिम[सम्पादन गर्नुहोस्]

तामाको मात्रा बढी भएको अवस्थामा माछा, गाईवस्तु र माटोको गड्यौलालाई समेत असर गर्न सक्दछ । तर, अन्य विषादी भन्दा यो मिक्स्चर कम घातक हुन्छ ।

अन्य[सम्पादन गर्नुहोस्]

  • बोर्डो पेष्ट
  • बोर्डो पेन्ट
  • बुर्गुन्डी मिक्स्चर/मिश्रण (Burgundy Mixture)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. कृषि विकास डायरी, काठमाडौँ: नेपाल बीउ व्यवसायी सङ्घ, सन् २०११-१२, पृ: २००। 
  2. "Bordeaux Mixture" @ Integrated Pest Management @ UC Davis.

बाह्य कडी[सम्पादन गर्नुहोस्]