मत्स्येन्द्रनाथ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मत्स्येन्द्रनाथ/मच्छिन्द्रनाथ

सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ। पाटनको रातो मत्स्येन्द्रनाथ र काठमाडौको सेतो मत्सेन्द्रनाथ प्रसिद्द छन भने यी बाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य तीनवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन्। त्यस अन्तर्गत सेतो मत्स्येन्द्रनाथमा काठमाडौ र नालाको सेतो मत्स्येन्द्रनाथ हुन्। त्यस्तै रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र किर्तीपुर चोभारको मत्स्येन्द्रनाथ पर्दछन्। पाटन दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराइ सहर परिक्रमा गराउने गर्दछन्। नालाको करुणामयको रथयात्रा ४/५ दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने बन्द छ। चोभारको रथ यात्रा गराइँदैन। अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ।

मत्स्येन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पूजित रही एउटै परब्रहृमाको रूपमा मानिएका छन्। उक्त कुरा नेपाल संवत् ७९२को सुवर्णपत्रमा नेपालका प्रख्यात कणर्ाट राजा श्री श्रीनिवास मल्लद्वारा ललितपुर बु·मती स्थित मत्स्येन्द्रनाथ मन्दिरको प्रवेशद्वारमा प्रतिस्थापित भएबाट प्रष्ट हुन्छ। यिनको उल्लेख ई.सं. १०१५को अभिनवगुप्तकृत तन्त्रालोकमा "तन्मे स मच्छेन्द्रविभू"को रूपमा मत्स्येन्द्रनाथको बारेमा वर्णन पाइन्छ। पर्वतिया वंशावलीमा पनि अनावृष्टिको कारण मत्स्येन्द्रनाथ कामरूपमा अवस्थित भएको कुरा स्पष्ट रूपले उल्लेखित छ।जयदेव द्वितीयको संवत्, १५७को पशुपतिको अभिलेखमा तिनलाई कामरूप विजय गर्ने भनी वणिर्त छ। जसबाट जयदेव द्वितीयले कामरूपबाट ल्याएका थिए भन्ने कुरा पनि सत्यताको नजीक देखिन्छ।

नवनाथ र चौरासी सिद्धमध्ये एक सिद्ध रहेका मत्स्येन्द्रनाथका शिष्य गुरू गोरखनाथ हुन्। नाथ सम्प्रदायका एक सिद्ध योगीका रूपमा रहेका मत्स्येन्द्रनाथ बौद्ध धर्मावलम्बीको आर्यावलोकितेश्वर हुन्। यस प्रकार मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै देवको रूपमा मानिन्छ। पुरुषलाई गरिने कर्मकाण्ड र महिलालाई गरिने कर्मकाण्ड इही गुफा राख्ने जस्ता कार्य पनि गरिन्छ। हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीलाई धार्मिक समन्वय गरी समाजमा मिलेर बस्न र शान्ति स्थापनाका लागि यो जात्राले ठूलो भूमिका खेलेको छ। बाँच्नका लागि सबै प्राणीलाई चाहिने सहकालका देवता भएका हुनाले यी देव सबैका आराध्यदेव भएका छन्।