सामग्रीमा जानुहोस्

माल्थसको जनसङ्ख्या सिद्धान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माल्थसभन्दा पहिले दुई प्रमुख अर्थशास्त्रीय विचारधारा थिएः वणिकवादीप्रकृतिवादी । वणिकवादी विचारकहरूका अनुसार जनसङ्ख्यामा वृद्धि हुँदा कम ज्यालामा धेरै श्रमिकहरू प्राप्त हुन सक्छन् र उत्पादन लागत घट्दा उद्यमीहरूको नाफामा वृद्धि हुन्छ । बढी जनसङ्ख्याले गर्दा बस्तुहरूको मागमा कमी हुन पाउदैन । श्रम धनका लागि सक्रिय साधन र पिता समान हो भने भूमि माता समान हुन्छ । तर जनसङ्ख्यामा हुने वृद्धि यति विस्तारै हुन्छ कि १०० वर्षमा बल्ल जनसङ्ख्या दोब्बर हुन सक्छ । संक्षेपमा, वणिकवादीहरूले जनसङ्ख्या वृद्धि चाहन्थे किनभने उनीहरूले जनसङ्ख्या वृद्धिलाई राजनीतिक, आर्थिक र सैनिक दृष्टिकोणले लाभदायक मानेका थिए । [] प्रकृतिवादीहरु वणिकवादीहरूको विपरीत विचारका थिए तर कृषिको उन्नतिका लागि जनसङ्ख्या आवश्यक पर्ने हुनाले उनीहरू जनसङ्ख्या नियन्त्रणको पक्षमा थिएनन् । उनीहरू अति जनसङ्ख्या हुन सक्छ भन्ने कुरामा विश्वास राख्दैनथे । त्यसैले जनाधिक्यको कुनै सम्भावनामाथि उनीहरूले विचार नै गरेनन् । []

अन्न कानुन विवाद

[सम्पादन गर्नुहोस्]

माल्थसको जनसङ्ख्या सिद्धान्तलाई बुझ्न तात्कालिक सामाजिक परिस्थिति बारे बुझ्नु आवश्यक छ । वि.सं.१८२७ देखि सन् १८७७ सम्मको ५० वर्षको अवधिमा इङ्गल्याण्डमा कृषि उत्पादनमा ज्यादै कमी भएकोले गहुँको मूल्यमा दोब्बर वृद्धि हुन पुगेको थियो । अन्नको निरन्तर कमीले मानिसहरू अनिकालको भयले त्रसित थिए । अर्कातिर औद्योगिक क्रान्ति सुरु भइसकेको थियो । सम्पूर्ण समाज श्रमिक वर्ग र पूंजीपति वर्गमा बांडिंदै थियो । पूंजीपतिहरूले श्रमिकहरूको शोषण प्रारम्भ गर्न थालेका थिए । बेरोजगारी, निर्धनता, बीमारी, परस्पर कलह, जस्ता औद्योगिक क्रान्तिका दुष्परिणाम देखिन थालेका थिए । []

इतिहासकार थोमस ग्रीनका अनुसार खराब शासनको कारणले आयरल्यान्डमा दरिद्रता बढ्दै गएको थियो र जनसङ्ख्या वृद्धि यति बढी भएको थियो कि भोकमरीले गर्दा देश नर्क जस्तो भइसकेको थियो । आयरल्यान्डमा भयंकर अनिकाल परेको थियो । किसानहरूले धेरै वर्षसम्म खाद्यान्न भित्र्याउन पाएका थिएनन् । इंगल्याण्डको अवस्था पनि युद्धहरूले गर्दा नराम्रोे थियो । भोजनको ज्यादै कमी भएकोले वि.सं. १८९५ मा अन्न नियम लागू गरिएको थियो । तर विदेशबाट अन्न आयात गर्ने वा नगर्ने भन्ने बारेमा राजनीतिज्ञ र अर्थशास्त्रीहरूबीच निकै विवाद थियो । माल्थस अन्न आयातका विपक्षमा उभिएका थिए । उनी संरक्षण नीतिका पक्षपाती थिए भने डेभिड रिकार्डो अन्न आयात गर्ने पक्षमा थिए । तथापि अन्न कानुनले अन्न आयात वा निर्यात गर्न प्रतिबन्ध लगाएको थियो । माल्थसले आयात गर्दा अन्नको मूल्यमा कमी हुन जान्छ जसले श्रमिकको ज्यालामा कमी भइ अझ ठूलो आर्थिक समस्या उत्पन्न हुने छ भनेका थिए । रिकार्डो भने तुलनात्मक लागत लाभको आधारमा अन्न आयात गर्नै पर्छ भन्ठान्दथे ।

आयरल्यान्डमा भोकमरीले गर्दा कैयौँ मानिस मरेका थिए । आज पनि आइरिशहरूले त्यस दुर्दिनलाई बिर्सेका छैनन् । अन्न कानुनले गर्दा बेलायतले आयरल्यान्डलाई अन्न दिएन जसले गर्दा मानिसहरू अझै कालकवलित भए । कानुन पारित हुनासाथ यसको ठूलो विरोध हुन थाल्यो । राजनीतिज्ञ, अर्थशास्त्री र सामान्य जनताले यस कानुनको निरन्तर विरोध गरे । तीन वर्ष पछि यो कानुन संशोधन भयो । अनि अन्न आयात निर्यातका लागि छूट दिन थालियो ।

जनसङ्ख्या बारेमा भ्रमहरू

[सम्पादन गर्नुहोस्]

माल्थसको समयमा उचित तथ्यांक नभएकोले जनसङ्ख्याको वास्तविक स्वरूपको बारेमा कसैलाई पनि जानकारी थिएन । वि.सं.१८५७ मा इंग्ल्याण्डमा जनगणना गरिएको थियो । यस अघि किंगले परिवार कर अभिलेख, र न्वारन र बापटाइज दर्ता अभिलेखहरूको आधारमा इंगल्याण्डको जनसङ्ख्या ५५ लाख अनुमान गरेका थिए । जुन अविश्वसनीय थियो । उनले आउने ५०० वर्षमा अर्थात् वि.सं. २३५७ मा इंगल्याण्डको जनसङ्ख्या जनसङ्ख्या दोब्बर हुने अनुमान प्रस्तुत गरेका थिए । र आउने १०००–१२०० वर्षमा, यदि संसारको अस्तित्व रहिरहन्छ भने इंगल्याण्डको जनसङ्ख्या २ करोड २० लाख पुग्ने अनुमान गरेका थिए । यस अनुमान माथि धेरैको विश्वास थिएन तर देशले डरलाग्दो परिस्थिति बेहोरिरहेको थियो । डा.प्राइसको विचार के थियो भने जनसङ्ख्या घटेर पुनस्र्थापनको अवस्थामा पुगेको छ ।
इंग्ल्याण्डका मानिसहरूलाई जनसङ्ख्याको बारेमा पनि धेरै भ्रमहरू थिए । उनीहरू आयरल्यान्डको मात्र जनसङ्ख्या बढी भएको ठान्दथे । कोही जनसङ्ख्या वृद्धिले बेलायतमा समस्या ल्याएको भनेर चिन्तित थिए भने कोही कोही जनसङ्ख्यामा कमी भएकोले उत्पादन ह्रँस चिन्ताजनक भएको भनेर चिन्तित थिए । []
एक जना धर्मसुधारक विलियम पालेले यस्तो समयमा दुखित भएर भनेका थिए– जनसङ्ख्या घट्नु राष्ट्रकालागि सबभन्दा हानिकारक कुरा हो । यस्तोमा राजकीय शासनको के कर्तव्य हो भने अरु राजनीतिक समस्याहलाई बिर्सेर पहिले जनसङ्ख्या वृद्धिका उपायहरू गरोस् । []
प्रधान मंत्री पिट दी यंगरको पनि विचार यस्तै थियो । माल्थस भने यस विचारका विरोधी थिए । तात्कालिक परिवेशका अतिरिक्त माल्थसलाई आफ्ना समयका विचारकहरूले पनि प्रभावित गरेका थिए । सर वाल्टर रैले, सर म्याथु हेल, रबर्ट वेलास, जोसेफ टाउनशेन्ड, ह्यूम, आर्थर यंग, मीराब्यु द एल्डर, जस्ता विद्वानहरूको विचार उनीमाथि परेको थियो ।
माल्थसभन्दा अघि सर म्याथु हेलले जनसङ्ख्या वृद्धिको ज्यामितीय क्रमको प्रवत्तिबारे वि.सं.१७२३ मा के भनेका भनेका थिए भने प्रत्येक दम्पत्तिले आफ्नो पुनरुत्पादन अवधिमा २० सन्तान उत्पादन गर्न सक्छ तर ६ वटा मात्र जन्माउंछ । यसको अर्थ के हो भने ३४ वर्षमा जनसङ्ख्या दोब्बर हुन जान्छ र जनसङ्ख्यामा भएको यो वृद्धि रोगव्याधिले गर्दा घटछ । []

आयरल्यान्डको भोकमरी, औद्योगिक क्रान्तिको फलस्वरुप उत्पन्न बेरोजगारी, इंग्ल्याण्डमा उत्पन्न गरीबी, राजनीतिक अस्थिरता, बेलायतको अन्न कानुनको समर्थन र विरोधको विवाद, जनसङ्ख्याको वास्तविक स्वरूपको बारेमा मतभिन्नता भएको यस्तो समयमा जनसङ्ख्या, अन्न उत्पादन र जनसङ्ख्या वृद्धिको बारेमा माल्थसले एउटा अज्ञात लेखकको रूपमा पुस्तक लेखे । जसको शीर्षक थियो– एन एसे अन प्रिन्सिपल्स अफ् पपुलेशन एज इट इफेक्ट्स द फ्युचर इम्प्रूमेन्ट अफ सोसायटी । यो नै एसे अन पपुलेशनको नामले विख्यात छ । चाल्र्स डार्विनको ओरिजिन अफ् स्पेसिज पुस्तक जीव विज्ञानमा प्रसिद्ध भए जस्तै माल्थसको यो पुस्तक सामाजिक विज्ञानहरूमा प्रसिद्ध भएको छ । यस सम्बन्धमा वादविवाद आज पनि जीवित रहनुले यस पुस्तककमो सान्दर्भिकता, महत्त्व र लोकप्रियतालाई स्पष्ट गर्छ । यसको संशोधित संस्करण वि.सं. १८६० मा प्रकाशित भयो । त्यसमा बल्ल उनले आफ्नो नाम उल्लेखित गरे । यसबाट माल्थस आफ्ना विचार प्रति तत्कालीन समाजबाट कति तर्सेका थिए भन्ने कुरा स्पष्ट हुन्छ । []
माल्थसले सुरुमा अज्ञात लेखकको रूपमा ५० हजार शब्दको एक लेख प्रकाशित गरेका थिए । यसको पहिलो संस्करणले सबै विद्वानहरूलाई तिनछक् बनायो । उनका विचारहरू त्यस बेलाका ठूला दार्शनिकहरू विलियम गोडविन र अन्य समकालीन आशावादीहरूलाई दह्रो प्रहार थियो । उनले जनसङ्ख्याको त्यो डरलाग्दो रुप प्रस्तुत गरे जसको त्यसबेलाका आशावादीहरूले कल्पना पनि गरेका थिएनन् । यो रुप प्रभावकारी पनि थियो साथै तथ्यहरूको आधार प्रस्तुत गरिएकोले विश्वसनीय पनि थियो । []

माल्थसको परिकल्पना

[सम्पादन गर्नुहोस्]

माल्थसको जनसङ्ख्या सिद्धान्तको सारांशलाई यस प्रकार व्याख्या गर्न सकिन्छ– मानिस लगायत सबै प्राणीहरूमा सन्तान उत्पादन गर्ने शक्ति स्थायी हुन्छ र जीवन स्तरमा वृद्धि हुँदा सन्तान उत्पादन गर्ने शक्तिमा पनि वृद्धि हुन्छ । त्यसैले कुनै नियन्त्रण गरिएन भने जनसङ्ख्या प्रत्येक २५ वर्षमा दोब्बर हुन्छ । यस अनुमान अनुसार प्रति परिवारमा औसत ६ जना बालबालिका जन्मन्छन् जस मध्ये चार जना मात्र हुर्कन्छन् र पुनः सन्तान उत्पादन गर्दछन् । तसर्थ जनसङ्ख्या ज्यामितीय अर्थात् १,२,४,८,... क्रममा बढछ । []तर भूमिको क्षमता सीमित हुन्छ तसर्थ खाद्य सामग्रीको वृद्धि दर अत्यन्त कम हुन्छ । अत्यन्त अनुकूल परिस्थितिमा पनि खाद्य सामग्रीमा अंकगणितीय क्रम अर्थात् १,२,३,४,...भन्दा तीव्र गतिमा वृद्धि गर्न सकिंदैन ।

जनसङ्ख्या वृद्धि र खाद्यसामग्री वृद्धि

[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या वृद्धि र खाद्य सामग्री वृद्धिको तुलना निम्नलिखित तालिकामा देखाइएको छ
जनसङ्ख्या वृद्धि र खाद्यसामग्री वृद्धिको तुलना

वर्ष २५ ५० ७५ १००
जनसङ्ख्या १६
खाद्यसामग्री
प्रतिव्यक्ति ३÷४ १÷२ ५÷१६


यी दुवै कुराको अत्यन्त सुन्दर तर प्रभावशाली गणितीय तुलना गर्दै माल्थसले भनेका छन्– जनसङ्ख्या ज्यामितीय क्रममा तथा खाद्य सामग्री अंकगणितीय क्रममा बढ्छ । यदि जनसङ्ख्या वृद्धिमा कुनै रोक लगाइएन भने त्यो खाद्य सामग्री भन्दा कैयौँ गुना धेरै बढ्ने छ । प्रत्येक २५ वर्षमा जनसङ्ख्या ज्यामितीय क्रममा र खाद्य सामग्री अंकगणितीय क्रममा बढछ भने १०० वर्षमा खाद्य सामग्री ४ हुँदा जनसङ्ख्या ८ हुन्छ । यसको सोझो अर्थ के हो भने आधा जनसङ्ख्यालाई खान पुग्दैन अथाव प्रति व्यक्ति अन्न उपलब्धि १÷२ हुन्छ । एक शय वर्षमा प्रति व्यक्ति खाद्यसामग्री घटर ५÷१६ हुन जान्छ । माल्थसको भनाई अनुसार, प्रकृतिको खाने टेबुलमा सीमित मानिसहरूलाई मात्र खाना छ । निम्तो नपाइकन आउनेहरु भोकभोकै मर्नु पर्दछ ।[१०]

सिद्धान्त प्रस्तुतिमा अन्तर

[सम्पादन गर्नुहोस्]

आफ्नो सिद्धान्तको ज्यादै आलोचना भए पछि उनले यी तीन कुरालाई पछि अलि नरम शब्दमा निम्नलिखित प्रकारले व्यक्त गरे [११][१२]
(प्रथम संस्करण)

  1. जनसङ्ख्या खाद्य सामग्री नभएमा बढ्न सक्दैन, यो यस्तो अवधारणा हो जसको व्याख्या गर्नु जरुरी छैन ।
  2. इतिहास यस कुराको साक्षी छ- खाद्य सामग्री राम्रो रहन्छ भने जनसंख्या बढेर गएको हुन्छ ।
  3. जनसङ्ख्या वृद्धिको शक्तिलाई बिना कुनै पाप र कष्ट रोक्न सकिंदैन । यी दुवै कुरा जनसंख्या अवरोध गर्न सहायक हुन्छन् ।


(सप्तम् संस्करण)

  1. जनसङ्ख्या खाद्य सामग्रीद्वारा सीमित हुन जान्छ ।
  2. यदि जनसङ्ख्या कुनै खास शक्तिशाली उपायद्वारा यिंत्रण गरिएन भने ती स्थानहरूको जनसङ्ख्या निरन्तर बढ्दै जान्छ जहा खाद्य सामग्री बढ्दो हुन्छ ।
  3. जनसङ्ख्या नियन्त्रणका ती उपायहरू जसले जनसङ्ख्या वृद्धिको अधिकतम शक्ति नियन्त्रण गरेर यसलाई खाद्यान्नसंग सन्तुलित गराउँछन तिनीहरूलाई आत्म संयम, पाप र कष्ट भन्न सकिन्छ ।

प्राकृतिक नियन्त्रण

[सम्पादन गर्नुहोस्]

माल्थसले जनसङ्ख्या वृद्धि रोक्ने जुन पहिलो उपाय बताएका छन् त्यसलाई उनले पोजिटिभ भनेका छन् । यसको अर्थ हुन्छ– स्वाभाविक वा सकारात्मक । तर नेपालीमा यसलाई प्राकृतिक भनी व्यवहार गरिन्छ । जनसङ्ख्या र खाद्य सामग्रीमा असन्तुलन भयो भने देशमा अनिकाल, युद्ध, अत्याधिक गरीबी, रोग व्याधि, खडेरी र अतिवृष्टि जस्ता स्वाभाविक उपायद्वारा प्रकृतिले अनिवार्य रूपमा जनसङ्ख्यालाई खाद्य सामग्रीसंग सन्तुलन स्तर हुने गरी घटाइदिन्छ । यो सन्तुलन केही समय पछि फेरि भत्किन्छ र प्रकृतिले त्यसलाई फेरि सन्तुलनमा ल्याइदिन्छ । यदि मानवीय उपाय प्रयोग नगर्ने हो भने असन्तुलन र सन्तुलनको यो दुष्चक्र चलिरहन्छ ।

योगवाशिष्ठमा प्राकृतिक नियन्त्रण

[सम्पादन गर्नुहोस्]

माल्थसभन्दा धेरै अघि रचना गरिएको एक ग्रन्थ योगवाशिष्ठमा माल्थसले उल्लेख गरेको जनसङ्ख्याको प्राकृतिक नियन्त्रणको जस्तो विवरण पाइन्छ । एघारौँ देखि १४ औँ शताब्दीको बीचमा पूर्णता प्राप्त गरेको यस ग्रन्थको रचनाकार वाल्मिीकि मानिएका छन् । यो ग्रन्थ वशिष्ठ र किशोर रामका बचिको संवाद हो । मुगलकालमा जहांगीर, अकबर, र दाराशिकोहले यसलाई फारसी भाषामा पटक पटक अनुवाद गरेका थिए भनिएको छ। महाभारत पछिको सबभन्दा विशालकाय ग्रन्थ योगवाशिष्ठ हो ।[१३] यस ग्रन्थमा तीव्र जनसङ्ख्या वृद्धिको परिणामबारे स्पष्ट शब्दमा चेतावनी दिंदै भनिएको छ– यदि कुनै देशको जनसङ्ख्या तीव्र गतिमा बढ्छ भने अनिकाल, महामारी, युद्ध वा भूकम्प आदि दैवी अथवा मानवीय विपत्ति उत्पन्न हुन गई कीरा फट्याङ्ग्रा जस्तै मानव जातिको विनाश हुन जान्छ ।[१४][१५]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]

An essay on the Principles of Population

  1. श्रीवास्तव, एस सीे, सन् १९९०, जनांकिी के प्रारुप, न्यु [[दिल्ली] : हिमालय पब्लिकेशन्स , पृ.४६
  2. श्रीवास्तव, सन् १९९०, ४९
  3. वैश्य, एम सी,सन् १९९३, आर्थिक विचारोंका इतिहास, आगरा : रतन प्रकाशन मन्दिर,पृ. १६५–१६७
  4. माल्थस, टी आर, सन् १९७६, एन एसे अन प्रिन्सीपल्स अफ् पपुलेशन, वाशिंगटन : डब्लु डब्लु नर्टन् एन्ड कम्पनी , पृ३–११
  5. माल्थस, सन् १९७६, ३–११
  6. श्रीवास्तव, सन् १९९०, ५४
  7. माल्थस, सन् १९७६, ३–११
  8. वैश्य, १९९३, १६३
  9. माल्थस, सन् १९७६, २३
  10. माल्थस, सन् १९७६, २३
  11. थोम्पसन एन्ड लेविस, २३, श्रीवास्तव, सन् १९९०, ५९बाट उद्धृत
  12. ज्ञवाली, बाबु राम, वि.सं.२०६७, पूर्वीय अर्थशास्त्र, प्राचीनतम तथ्य नवीनतम जानकारी, मणिग्राम, ज्ञानज्योति प्रकाशन, पृ. ७५ ।
  13. विकिपिडिया, १२ नवम्बर, सन् २०१२
  14. श्रीराम आचार्य, सन् २०१०, जनसङ्ख्या विस्फोट, मथुरा : युग निर्माण
  15. ज्ञवाली, बाबु राम, वि.सं.२०६७, पूर्वीय अर्थशास्त्र, प्राचीनतम तथ्य नवीनतम जानकारी, मणिग्राम, ज्ञानज्योति प्रकाशन, पृ. ७५ ।