मुलुकी बन्दोबस्त अड्डा
मुलुकी बन्दोबस्त अड्डा राणाकालीन सरकारी कार्यालयहरु मध्यको आन्तरिक मामिला, शान्ति सुव्यवस्था सम्बन्धि कार्यालय हो।[१] अड्डाको स्थापना जंगबहादर राणाले गराएका थिए। राणाकालीन मुलुकी बन्दोवस्त अड्डा वर्तमान सन्दर्भमा गृहमन्त्रालय सरहको दायित्व निर्वाह गर्ने कार्यालय थियो । निजामती प्रशासन सञ्चालनार्थ मुलुकी बन्दोवस्त अड्डा स्थापना गरिएको थियो। त्यसबेला यस अड्डाको नाम 'मुलुकी अड्डा’ राखिएको थियो ।
काम
[सम्पादन गर्नुहोस्]आन्तरिक मामिलामा यसको क्षेत्राधिकार विशाल थियो।
यसले देशमा शान्ति सुरक्षा कायम गर्ने, मालपोत सङ्कलनमा भूमिका खेल्ने र प्रशासनिक यन्त्रहरूमाथि नियन्त्रण गर्ने मुख्य कामहरू सम्पन्न गर्नुपर्दथ्यो । सम्पूर्ण कर्मचारीहरू सम्बन्धी नियम, ऐन, कानुन, आदि यस कार्यालयको स्वीकृतिपछि मात्र कार्यान्वयनमा ल्याउन सकिन्थ्यो । जिल्ला स्तरीय वडाहाकिम यसै अड्डाद्वारा नियुक्त हुन्थे । जिल्लाको शान्ति सुरक्षाको अवस्था मालपोतसम्बन्धी विवरणहरू प्रत्येक जिल्लाले मुलुकी वन्दोवस्त अड्डा समक्ष नियमित रूपमा प्रस्तुत गर्नुपर्दथ्यो । जिल्ला स्तरीय हाकिमहरूलाई आवश्यक निर्देशन, आदेश प्रदान गर्ने प्रक्रियामा पनि यस अड्डाको भूमिका रहन्थ्यो । नागरिकहरूले शान्ति सुरक्षा तथा मालपोतसम्बन्धी विषयहरूमा उत्पन्न विवाद, गुनासा, पीर मर्काहरू मुलुकी बन्दोवस्त अड्डा समक्ष प्रस्तुत गर्दथे र ती समस्याहरूलाई पहिचान गरी सिफारिससहित श्री ३ महाराज प्राइमिनिस्टर समक्ष पेश गरिन्थ्यो । प्रधानमन्त्रीले पनि यसै अड्डाको राय, सुझाव र सिफारिस अनुरूप आवश्यक कार्यवाही अगाडि बढाउने गर्दथे (पाण्डे, २०४२) । यसका साथै मुलुकको व्यापार–वाणिज्य, शिक्षा, कृषि तथा वन सुरक्षा सम्बन्धी आवश्यक व्यवस्था गर्ने क्रममा समेत यस अड्डाको प्रमुख हात रहने गर्दथ्यो (थापा, इ. १९९५) ।
यसले सरकारी कर्मचारीहरूको आचारसंहिता र जनताका लागि जारी गरिने कानूनहरू प्रधानमन्त्रीलाई सिफारिस गर्थ्यो। यसले यी कानूनहरू कार्यान्वयन पनि गर्थ्यो। यसले जनताबाट निवेदन र अपीलहरू प्राप्त गर्थ्यो र प्रधानमन्त्री समक्ष राख्थ्यो। यसले जिल्लाहरूबाट कानून व्यवस्था, राजस्व आदि बारे रिपोर्टहरू प्राप्त गर्थ्यो र सम्बन्धित अधिकारीहरूलाई निर्देशनहरू जारी गर्थ्यो। यसले राजस्व सङ्कलन र यसको अभिलेखहरूको मर्मतसम्भारको निरीक्षण र नियन्त्रण गर्थ्यो।[२]
जिल्लाका वडाहाकिमको सिफारिसमा पजनी–कागज यसै अड्डाले तयार पार्दथ्यो र दरबारको खर्चवर्चको हेरविचारसमेत यसै अड्डाले गर्ने गरेको हुनाले यो अड्डा राणाकालीन प्रशासनिक व्यवस्थाको ज्यादै महत्त्वपूर्ण साङ्गठनिक निकाय थियो ।
शाखा
[सम्पादन गर्नुहोस्]चन्द्र शमशेरको पालामा केन्द्रीय स्तरमा यस अड्डा अन्तर्गत निम्न शाखाहरु रहेका थिए :[३]
- मुलुकी अड्डा रिपोर्ट निकसारी फाँट,
- ऐन सवाल फाँट, [४]
- मुलुकी अड्डा पुर्जी फाँट
र जिल्ला तर्फबाट आएको मासिक रिपोट्को लेखाजोखा अनि परीक्षण गर्नको लागि निम्न फाँटहरूको व्यवस्था मिलाए ।
- मास्केबारी फाँट,
- नेपाल पहाड बन्दोबस्त फाँट
- मधेश बन्दोबस्त फाँट
- रकम बन्दोबस्त फाँट काठ महल निकसारी फाँट
कमान्डर–इन–चीफको मातहतमा मुलुकी अड्डा (गृह तथा साधारण) कुमारीचोक (लेखा तथा लेखा परीक्षण), ऐन खाना (कानुन), कौशल भारदारी, तोषाखाना, किताबखाना (निजामती तथा सैनिक दर्जा), मुलुकी खाना र कौषी (राष्ट्रिय ढुकुटी) बिन्तीपत्र निक्सारी अड्डा, मुलुकी बन्दोवस्त अड्डा थिए।[५]
राणाकालीन शासन व्यवस्थाको अन्त्यपछि यस अड्डालाई गृह मन्त्रालयमा परिणत गरियो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gautam, Murari Krishana (२०२४-०३-२०), "राणाकालमा मुलुकी बन्दोवस्त अड्डाको संक्षिप्त सिंहावलोकन", Historical Journal 15: 1 – Tribhuvan Universityद्वारा।
- ↑ Satish Kumar (१९३३), Rana Polity In Nepal, पृ: १०१।
- ↑ जोशी, कृष्ण, "नेपालको जिल्ला प्रशासन ऐतिहासिक अवलोकन", नेपालको जिल्ला प्रशासन ऐतिहासिक अवलोकन: 104।
- ↑ "मन्त्रालयको परिचय", www.moljpa.gov.np, अन्तिम पहुँच २०२६-०५-०४।
- ↑ पोखरेल, शोभा (SEPT. २००९), "नेपालको प्रशासनिक सुधारका आयामहरू", TUJ XXVI (1): 169।