मूत्रमार्गको सङ्क्रमण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मूत्रमार्गको सङ्क्रमण
Pyuria.JPG
मूत्रमार्गको सङ्क्रमण भएको व्यक्तिको पिसाब सुक्ष्मदर्शक यन्त्रमा परीक्षण गर्दा देखिएका सेता रक्त कोषिकाहरू
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभाग सङ्क्रामक रोग
आइसिडी-१० N39.0
आइसिडी-९ सिएम 599.0
डिजिज-डिबी 13657
मेडलाइन प्लस 000521
इ-मेडिसिन emerg/625 emerg/626
प्यासेन्ट युके मूत्रमार्गको सङ्क्रमण
एमई-एसएच D014552

मूत्रमार्गको सङ्क्रमणलाई अङ्ग्रेजीमा युरिनरी ट्रयाक इन्फेक्सन (युटिआई) भनेर चिनिन्छ। कतैकतै एक्युट सिस्टिटिस वा ब्लाडर इन्फेक्सन भनेर चिनिने यो रोगले मूत्रमार्गका विभिन्न भागहरूमा असर पुर्‍याउँछ।[१] यदि सङ्क्रमणले मूत्रमार्गको तल्लो भागमा मात्र असर गर्यो भने यसलाई सामान्य सिस्टिटिस ( मूत्रथैलीको सङ्क्रमण) भनिन्छ भने माथिल्लो भागमा हुने सङ्क्रमणलाई पाइलनिफ्राइटिस (मृगौलाको सङ्क्रमण) भनिन्छ। मूत्रमार्गको तल्लो भागको सङ्क्रमण भयो भने पिसाब गर्दा दुख्ने तथा लगातार पिसाब लागिरहने वा पिसाब च्यापे जस्तो लाग्ने ( वा दुबै) जस्ता लक्षणहरू देखिन्छ। त्यस्तै माथिल्लो भागको सङ्क्रमणमा तल्लो भागको सङ्क्रमणमा देखा पर्ने लक्षणहरूका साथै ज्वरो आउने तथा कम्मर दुख्ने जस्ता थप लक्षणहरू देखा पर्छन्। केही अवस्थाहरूमा पिसाब नगरेको बेलामा पनि मूत्रनलीमा पोलेको महशुस पनि हुन सक्छ। बुढेसकालमा वा बच्चा बेलामा हुने युटिआईका लक्षणहरू सामान्यभन्दा केही फरक पनि हुन सक्छन्। यो सङ्क्रमणको मुख्य कारक एस्केरिकिया कोलाई नामक ब्याक्टेरियम हो। यद्यपी नगन्य मात्रामा अन्य ब्याक्टेरिया, भाइरस वा फन्जाईहरूका कारण पनि यो सङ्क्रमण भएको पाइन्छ।

मूत्रमार्गको सङ्क्रमण प्रायजसो पुरुषहरूमा भन्दा महिलाहरूमा बढी हुने गर्दछ। संसारभरका महिलाहरू मध्ये आधाजसो महिलाहरू जीवनको कुनै न कुनै समयमा कम्तिमा एकपटक यो रोगबाट सङ्क्रमित हुने गर्दछन्। यो रोग पटक पटक दोहोरिने गरेको पाइन्छ। यो रोगको सङ्क्रमणका कारक तत्वहरू महिलाहरूको शारीरिक संरचना, असुरक्षित यौनसम्पर्क तथा पारिवारिक सङ्क्रमण इतिहास आदि हुन्। पाइलनिफ्राइटिस (मृगौलाको सङ्क्रमण) प्रायजसो मूत्रथैलीको सङ्क्रमणपछि देखा पर्ने गर्दछ तर कहिलेकाहीँ यो रगतबाट सर्ने सङ्क्रमणको रूपमा पनि देखा पर्ने गर्दछ।

स्वस्थ तथा कम उमेरका महिलाहरूमा लक्षणहरू मात्र हेरेर यो रोगको पहिचान गर्न सकिन्छ। अप्रत्यासित खालका लक्षणहरू देखिएको अवस्थामा यसको पहिचान गर्न गाह्रो हुन्छ किनभने मूत्रमार्गमा सङ्क्रमण नभएको बेलामा पनि ब्याक्टेरिया उपस्थित हुन सक्छन्। यदि जटिल खालको अवस्था छ वा औषधिले काम गरेको छैन भने पिसाबको प्रयोगशाला परीक्षण (कल्चर) गर्नु उपयुक्त हुन सक्छ। बारम्बार सङ्क्रमण भएकाहरूले बचाउको लागि थोरै मात्रा (डोज)को एन्टिबायोटिक औषधि लिँदा उपयुक्त हुन सक्छ।

सामान्य खालका अवस्थाहरूमा छोटो अवधिको एन्टिबायोटिक औषधिको प्रयोग गरेर पनि मूत्रमार्गको सङ्क्रमणको उपचार गर्न सकिन्छ। यद्यपी यस अवस्थाको उपचारमा प्रयोग हुने एन्टिबायोटिकहरूको प्रतिरोध बढ्दै गइरहेको छ। त्यस्तै जटिल अवस्थाहरूमा लामो अवधिको एन्टिबायोटिक उपचार वा एन्टिबायोटिकको सुई (इन्ट्राभेनस) लगाउनु आवस्यक हुन्छ। महिलाहरूमा ब्याक्टेरियाबाट हुने सङ्क्रमणहरू मध्ये मूत्रमार्गको सङ्क्रमण सबैभन्दा बढी देखापर्छ। प्रत्येक वर्ष यस्ता सङ्क्रमणहरूको लगभग १०% भाग मूत्रमार्गको सङ्क्रमणले ओगटेको पाइन्छ। साधारणतया पिसाबमा ब्याक्टेरिया वा सेता रक्तकोषहरू पाइए पनि यदि कुनै लक्षण देखिएको छैन भने यस्तो अवस्थामा एन्टिबायोटिक औषधिको आवस्यकता पर्दैन। यद्यपी गर्भवती महिलाहरूको लागि यो सिफारिस लागू हुँदैन।

लक्षण तथा चिह्नहरू[सम्पादन गर्ने]

मूत्रमार्गको तल्लो भागमा भएको सङ्क्रमणलाई मूत्रथैलीको सङ्क्रमण (ब्लाडर इन्फेक्सन) पनि भनिन्छ। यो रोग लागेपछि प्रायजसो उल्लेख्य पीडा तथा योनीस्राबबिना पिसाब पोल्ने तथा लगातार पिसाब लागिरहने (वा पिसाब च्यापे जस्तो लाग्ने) जस्ता लक्षणहरू देखा पर्छन्।[२] यस्ता लक्षणहरू मध्यमदेखि अत्यन्त पीडादायीसम्म हुने गर्दछन्[३] र स्वस्थ महिलाहरूमा औसत ६ दिनसम्म देखा पर्न सक्छन्।[४] यो सङ्क्रमणकै कारण कहिलेकाहीँ तल्लोपेट वा ढाडको तल्लो भाग दुख्ने समस्या पनि देखिन सक्छ। मूत्रमार्गको माथिल्लो भागको सङ्क्रमण भएका मानिसहरूमा तल्लो भागको सङ्क्रमणमा देखा पर्ने लक्षणहरूका साथै कम्मर दुख्ने, ज्वरो आउने, वाकवाक लाग्ने तथा बान्ता आउने जस्ता थप लक्षणहरू देखा पर्छन्।[३] कहिलेकाहीँ पिसाबमा रगत[५] वा पिप देखापर्न पनि सक्छ।[६]

कारण[सम्पादन गर्ने]

मानव समुदायमा विकसित हुने वा सर्ने मूत्रमार्गको सङ्क्रमणको ८०-८५% सङ्क्रमण ई. कोलाई नामको ब्याक्टेरियमको कारणले हुने गर्दछ। त्यस्तै ५-१०% सङ्क्रमण स्टेफाइलोककस स्याप्रोफाइटिकस नामको ब्याक्टेरियमका कारणले हुन्छ।[२] कहिलेकाहीँ भाइरस तथा ढुसीका कारणले पनि मूत्रमार्गको सङ्क्रमण हुने गरेको पाइन्छ।[७] स्वास्थ्य सेवासँग सम्बन्धित (पिसाब गर्न सहजताको लागि राखिने क्याथेटरबाट हुने) मूत्रमार्गको सङ्क्रमणमा अझ धेरै प्रकारका कीटाणुहरूको सम्लग्नता रहेको पाइन्छ। यस्तो सङ्क्रमणमा मुख्यतया ई. कोलाई (२७%) क्लेब्सिला (११%), सुडोमनस (११%), ढुसीजन्य कीटाणु क्यान्डिडा अल्बिकान्स (९%) र इन्टेरोककस (७%) सम्लग्न भएका हुन्छन्।[५][८][९] स्टेफाइलोककस अरिअसका कारणले हुने सङ्क्रमण प्रायजसो रगतबाट सर्ने सङ्क्रमणको परिणामस्वरुप हुने गर्दछ।[३] क्लामिडिया ट्राकोमाटिस तथा माइकोप्लाज्मा जेनिटालियमले मूत्रनलीको सङ्क्रमण गराउँछन् तर यिनीहरूले मूत्रथैलीमा सङ्क्रमण गराउँदैनन्। त्यसैले यस्तो सङ्क्रमणलाई मूत्रमार्गको सङ्क्रमण नभनेर युरेथ्राइटिस (मूत्रनलीको रोग) भन्ने गरिन्छ।[१०]


यौन[सम्पादन गर्ने]

सकृय रूपमा यौन क्रियाकलापमा सम्लग्न हुने युवतीहरूमा यस्ता क्रियाकलापहरूका कारण हुने सङ्क्रमणले मूत्रथैलीको सङ्क्रमणको ७५-९०% ओगटेको हुन्छ। सङ्क्रमणको जोखिम यौन क्रियाकलापको बारम्बारतासँग सम्बन्धित हुन्छ।[२] भर्खरै विवाह भएको अवस्थामा बारम्बार हुने युटिआईलाई हनिमुन सिस्टिसिस भनिन्छ। उमेर पुगेर महिनावारी रोकिइ सकेका महिलाहरूमा भने यौन क्रियाकलापहरूले यो रोगको सङ्क्रमणको जोखिमलाई कुनै असर गर्दैनन्। शुक्रकीटहरूलाई मार्न प्रयोग गरिने स्पर्मिसाइडहरूले पनि मूत्रमार्गको सङ्क्रमणको जोखिमलाई बढाउने गर्दछ।[२] त्यस्तै गर्भ निरोधको लागि प्रयोग गरिने डायफ्राम पनि यस्तो जोखिम बढाउन सम्लग्न हुन्छ।[११] स्पर्मिसाइडबिनाको कन्डम वा गर्भ निरोधक चक्की औषधिहरूले सामान्यतया मूत्रमार्गको सङ्क्रमणको जोखिमलाई कुनै असर गर्दैनन्।[२][१२]

महिलाहरूको मूत्रनली छोटो र मलद्वारको नजिक हुने हुनाले पुरुषको तुलनामा महिलामा यो सङ्क्रमण धेरै हुने गर्दछ।[१३] उमेर पुगेर महिनावारी रोकिएका महिलाहरूमा एस्ट्रोजेनको मात्रा घटेपछि भजाइनल फ्लोराको कमी हुने हुनाले यस्तो बेलामा मूत्रमार्गको सङ्क्रमणको जोखिम बढ्छ।[१३] त्यस्तै यो उमेरमा महिनावारी नभए पनि योनीबाट कहिलेकाहीँ निस्कने बिकार तत्वले (भजाइनल अट्रोफी) गर्दा बारम्बार दोहोरिने खालको सङ्क्रमण हुने गर्दछ।[१४]

लामो अवधिको अण्डकोष सुन्निने रोग (प्रोस्टेटाइटिस)ले पुरुषहरूमा बारम्बार दोहोरिने खालको सङ्क्रमण गराउन सक्छ। यस्तो प्रकारको सङ्क्रमणको जोखिम उमेरसँगै बढ्ने गर्दछ। साधारणतया पाको उमेरका पुरुषहरूको पिसाबमा ब्याक्टेरिया पाइने भएपनि यसले मूत्रमार्गको सङ्क्रमणको जोखिमलाई कुनै असर गर्दैन।[१५]

बचाउ तथा सुरक्षा[सम्पादन गर्ने]

मूत्रमार्गको सङ्क्रमणबाट बच्न निम्नकुरामा ध्यान दिनु जरुरी छ।[१६]

  • प्रसस्त मात्रामा पानी तथा अन्य तरल पदार्थहरू खानुपर्छ।
  • पोषणयुक्त खानेकुराहरू खानुपर्छ।
  • सम्भोग गरेपछि तत्काल पिसाब गर्ने तथा यौनाङ्गहरू सफा गर्ने गर्नुपर्छ।
  • दिशा गरेपछि पुछ्ने बेलामा अगाडिबाट पछाडितिर हुनेगरी पुछ्नु पर्छ।
  • लामो समयसम्म पिसाब रोकेर राख्नु हुँदैन।
  • पानीमा डुबेर नुहाउनेभन्दा माथिबाट झरेको पानीमा नुहाउने गर्नु पर्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Mayo Clinic Staff (अगस्ट २९, २०१२), "Diseases and Conditions - Urinary tract infection (UTI)", Mayo Clinic। 
  2. २.० २.१ २.२ २.३ २.४ Nicolle LE (२००८), "Uncomplicated urinary tract infection in adults including uncomplicated pyelonephritis", Urol Clin North Am 35 (1): 1–12, v, डिओआई:10.1016/j.ucl.2007.09.004, पिएमआइडी 18061019 
  3. ३.० ३.१ ३.२ Lane, DR; Takhar, SS (अगस्ट २०११), "Diagnosis and management of urinary tract infection and pyelonephritis.", Emergency medicine clinics of North America 29 (3): 539–52, डिओआई:10.1016/j.emc.2011.04.001, पिएमआइडी 21782073 
  4. Colgan, R; Williams, M (२०११-१०-०१), "Diagnosis and treatment of acute uncomplicated cystitis.", American family physician 84 (7): 771–6, पिएमआइडी 22010614 
  5. ५.० ५.१ Salvatore, S; Salvatore, S, Cattoni, E, Siesto, G, Serati, M, Sorice, P, Torella, M (जुन २०११), "Urinary tract infections in women.", European journal of obstetrics, gynecology, and reproductive biology 156 (2): 131–6, डिओआई:10.1016/j.ejogrb.2011.01.028, पिएमआइडी 21349630 
  6. Arellano, Ronald S.. Non-vascular interventional radiology of the abdomen. New York: Springer. प॰ 67. ISBN 978-1-4419-7731-1 . https://books.google.com/books?id=au-OpXwnibMC&pg=PA67. 
  7. Amdekar, S; Singh, V, Singh, DD (नोभेम्बर २०११), "Probiotic therapy: immunomodulating approach toward urinary tract infection.", Current microbiology 63 (5): 484–90, डिओआई:10.1007/s00284-011-0006-2, पिएमआइडी 21901556 
  8. Sievert DM, Ricks P, Edwards JR, etal (जनवरी २०१३), "Antimicrobial-resistant pathogens associated with healthcare-associated infections: summary of data reported to the National Healthcare Safety Network at the Centers for Disease Control and Prevention, 2009-2010", Infect Control Hosp Epidemiol 34 (1): 1–14, डिओआई:10.1086/668770, पिएमआइडी 23221186 
  9. Bagshaw, SM; Laupland, KB (Feb २००६), "Epidemiology of intensive care unit-acquired urinary tract infections.", Current opinion in infectious diseases 19 (1): 67–71, डिओआई:10.1097/01.qco.0000200292.37909.e0, पिएमआइडी 16374221 
  10. "Urinary Tract Infections in Adults", अभिगमन मिति जनवरी १, २०१५ 
  11. Franco, AV (डिसेम्बर २००५), "Recurrent urinary tract infections.", Best practice & research. Clinical obstetrics & gynaecology 19 (6): 861–73, डिओआई:10.1016/j.bpobgyn.2005.08.003, पिएमआइडी 16298166 
  12. Engleberg, N C; DiRita, V; Dermody, T S (2007). Schaechter's Mechanism of Microbial Disease. Baltimore: Lippincott Williams & Wilkins. ISBN 978-0-7817-5342-5 . 
  13. १३.० १३.१ Dielubanza, EJ; Schaeffer, AJ (जनवरी २०११), "Urinary tract infections in women.", The Medical clinics of North America 95 (1): 27–41, डिओआई:10.1016/j.mcna.2010.08.023, पिएमआइडी 21095409 
  14. Goldstein, I; Dicks, B; Kim, NN; Hartzell, R (डिसेम्बर २०१३), "Multidisciplinary overview of vaginal atrophy and associated genitourinary symptoms in postmenopausal women.", Sexual medicine 1 (2): 44–53, डिओआई:10.1002/sm2.17, पिएमआइडी 25356287 
  15. Lipsky, BA (मार्च १९९९), "Prostatitis and urinary tract infection in men: what's new; what's true?", The American journal of medicine 106 (3): 327–34, डिओआई:10.1016/s0002-9343(99)00017-0, पिएमआइडी 10190383 
  16. "How to Treat Urinary Tract Infection (UTI) Naturally", Healthy and Natural World, अभिगमन मिति ६ फेब्रुअरी २०१६