रामबोले मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जुहारी विवाहका लागि प्रख्यात मानिने 'रामबोले' मेला दोलखा जिल्ला ठूलोपातल-४ स्थित रामबोले (कालीदेवी सेतीदेवी) मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीपछि पूर्णिमाको अघिल्लो रातदेखि पञ्चमीसम्म लाग्छ। उक्त मेलामा दर्जनौं युवायुवती रातभरी जुहारी खेलेर भोलिपल्ट कालीदेवीलाई साक्षी राखेर वैवाहिक बन्धनमा बाँधिने परम्परा छ। औद्योगिक व्यवसायमा लागेकाका लागि आराध्यदेवी मानिने यस मन्दिरमा लाग्ने पाँचदिने मेलामा सहभागी भएर पूजा आराधना गरेमा सोचेको पूरा हुने जनविश्वास छ। यस मेलामा दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र काठमाडौँ जिल्लाका हजारौं मानिस बाजागाजाका साथ डोली लिएर दर्शन गर्न आउँछन्। मेलाको सिलसिलामा उक्त मन्दिरमा पाठीको बलि पनि चढाइन्छ। मेलामा सोली, डोली र पाठी, परेवा लिएर पूजा गर्न आउने युवायुवती रातभरी जुहारी खेल्ने र भोलिपल्ट मन मिल्नेले देवीलाई साक्षी राखेर विवाह गर्ने गर्छन् भने जामा, पगरी गुथेर ढ्याङ्ग्रोको तालमा नाच्ने झाँक्रीले रोचकता प्रदान गर्छन्। परम्पराअनुसार यस मेलामा चर्तुदशीका दिन रातभरी भजनकीर्तन, लोकनृत्य, लोकदोहोरी र गीत गाएर रमाइलो गरिन्छ भने भोलिपल्टदेखि मन्दिरमा पाठी, परेवा तथा भालेको भोग चढाइन्छ। पाँचौं दिन अर्थात् पञ्चमीका दिन भव्यरूपमा पूजाआजा तथा नाचगान गरेपछि मेला सकिन्छ।